२५ असोज, काठमाडौं । पैसा (मुद्रा) को चलन हुँदैन थियो भने वस्तु तथा सेवाको कारोबार कसरी हुन्थ्यो होला ? यसको मूल्य तोक्ने विश्वव्यापी सिद्धान्त नहुने भए अहिलेको विश्व बजारमा मूल्य कसरी निर्धारण हुन्थ्यो होला ?
यसलाई परिचालन गर्ने बैंकिङ प्रणाली नहुँदो हो त कसरी कारोबार हुन्थ्यो होला ? यी प्रश्न आममानिसको मनमा आउँछ । पैसा विनिमयको अभिन्न माध्यम हो । पैसा राज्यद्वारा कानुनी मान्यता प्राप्त वस्तु हो, जसलाई आमनागरिकले विनिमय (साटफेर) माध्यमका रूपमा प्रयोग गर्छन् ।
संसारमा पैसाको आविष्कार हुनुपूर्व पनि विनिमय चलेको थियो । मानिसले आफूसँग भएको वस्तु दिएर अरूबाट आफूलाई चाहिएको वस्तु साटेर लिन्थे । यसरी हुने विनिमयमा वस्तुहरूको मूल्यांकन प्रणालीमा समानता नहुने, एकअर्कासँग भएका वस्तु दुवै पक्षलाई आवश्यक नपर्ने, वस्तुलाई स–साना इकाइमा विभाजन गर्न नसकिने लगायत समस्या देखिएपछि त्यसको विकल्पका रूपमा पैसाको आविष्कार भयो ।
विश्वमा मुद्राको इतिहास धेरै पुरानो छ । बदलिँदो समाज र बढ्दो आवश्यकताबीच एउटा सहज विनिमयको माध्यम कसरी विकास गर्ने भन्ने चिन्तनले नै पैसाको विकास हुन पुगेको मानिन्छ । कुनै एउटा यस्तो वस्तु जसले आफ्नो उपभोग्य वस्तु सहज किन्न सकियोस् र त्यसलाई सहज बोकेर हिँड्न पनि सकियोस्, जसले त्यसको निश्चित मूल्य निर्धारण होस् भन्ने खोजमा मानिस लागे ।
त्यही खोजमा जनावरको छाला, अंग आदि हुँदै धातुलाई मुद्राका लागि चलनमा ल्याएको मानिन्छ । फलाम, तामा, काँसजस्ता धातुलाई निश्चित तौलमा ढलौट गरी मुद्राका रूपमा प्रयोग गर्न थालियो । पैसाको सुरुवात यसैबाट भएको मानिन्छ ।
मानव सभ्यता विकाससँगै पशुधन, बाघको छाला, बाँदरको पुच्छर, समुद्रमा पाइने मुगाजस्ता विभिन्न वस्तुलाई पैसाका रूपमा प्रयोग गरियो । त्यसपछि अर्को चरणमा सुन, चाँदी, तामा, पित्तल, फलाम लगायत धातुका मुद्रा बनाउन थालियो ।
सुरुमा मुद्रा (सिक्का) को थालनी इसापूर्व पाँचौं वा छैटौं शताब्दीमा ग्रिसबाट भएको मानिन्छ । इसापूर्व ५४६ मा लिदियाका राजा कोरेससले टकमरी गरेको सिक्का विश्वमा आधुनिक सिक्काको थालनी मानिन्छ ।
धातुका मुद्रा ओसारपसारमा समस्या भएपछि कागजी मुद्रा चलनमा आयो । हाल प्रयोगमा रहेको कागजी मुद्राको काम गर्ने गरी बैंक तथा वित्तीय संस्थाले विभिन्न कागजात जस्तै, चेक, निक्षेप प्रमाणपत्र, ग्यारेन्टी पेपर जस्ता औजार प्रयोगमा ल्याएका छन् । तिनलाई ‘बैंक मनी’ अथवा ‘क्रेडिट क्रिएसन’ भनिन्छ ।
पछिल्ला वर्षहरूमा भने कतिपय देशमा डिजिटल मुद्रासमेत प्रयोगमा छन् । नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सी अध्ययन गरिरहेको छ ।
नेपालमा मुद्रा इतिहास
विभिन्न दस्तावेजले नेपालको मौद्रिक इतिहास धेरै पुरानो रहेको देखाउँछ । नेपाल राष्ट्र बैंकले २०३८ सालमा प्रकाशित गरेको ‘नेपाल राष्ट्र बैंकको २५ वर्ष’ पुस्तकमा नेपालको मुद्रा इतिहासबारे केही खोजी गर्ने प्रयास गरेको देखिन्छ ।
उक्त प्रकाशनमा नेपालमा मुद्राको चलन प्राचीनकालदेखि नै सुरु भएको पाइएको उल्लेख छ । काठमाडौं हाडीगाउँको शिलालेखमा पुराण, पण तथा थानकोटको अभिलेखमा कार्यापण मुद्राहरूको नाम उल्लेख गरिएको प्रमाण भेटिएको उल्लेख छ ।
श्रीमानांक, श्रीगुणांक, पशुपति, वृष आदि प्राचीनकालीन तामाका मुद्राहरू पनि फेला परेका छन् । यसले नेपालको मौद्रिक इतिहास धेरै लामो भएको पुष्टि हुने उक्त प्रकाशनमा उल्लेख छ ।
प्राचीनकालदेखि वर्तमान अवस्थासम्म चलनचल्तीमा आएका मुद्रालाई लिच्छवीकालीन र यसको समकालीन ठकुरी वंशीय, मल्लकालीन तथा शाहकालीन गरी तीन समूहमा राखेर हेर्न सकिन्छ ।
पाँचौं शताब्दीमा लिच्छवीकालका सूर्यवंशीय राजा मानदेवबाट मुद्रित श्रीमानांक मुद्रालाई नेपालको पहिलो मुद्रा मानिएको छ । त्यसबखत प्रसारित सर्वमुद्राहरू तामा (धातु) बाट बनेको मात्र पाइएको छ ।
बाह्रौं शताब्दीमा मल्लकालका मुद्राहरूमा काठमाडौंका मल्लकालीन अन्तिम राजा जयप्रकाश मल्लले विक्रम संवत् १८०० को सुरुतिर सुनको मुद्रा समेत चलाएको पाइएको उक्त प्रकाशनमा उल्लेख छ ।
मल्लकालमा नेपालको तिब्बतसँगको व्यापारिक सम्बन्ध विकसित भएकाले त्यसताका नेपाली मुद्राको क्षेत्र तिब्बतसम्म पनि फैलिसकेको थियो । तिब्बती मुद्रा पनि त्यसबखत नेपालमा टकमरी हुने गरेको इतिहासबाट बुझन् सकिन्छ । काठमाडौं उपत्यका बाहिर टक्सार नाम गरेका धेरै ठाउँ भएकाले यसबाट नेपाली मुद्राको चलन अघिदेखि नै उपत्यका बाहिर पनि मुद्रा टकमरी हुने गरेको अनुमान गर्न सकिन्छ ।
सीमावर्ती भारतीय क्षेत्रमा रेलमार्ग निर्माण भएपछि भारतसँगको नेपालको व्यापार थप विस्तार भयो । तराई क्षेत्रबाट भारतमा हुने गरेको निर्यात व्यापार पनि बढ्दा निर्यातबाट प्राप्त भारतीय रुपैयाँलाई नेपाली मुद्रामा परिणत गर्ने र आयात कारोबारका लागि भारतीय रुपैयाँ प्रयोग गर्ने प्रक्रिया सुरू भयो ।
भारतीय रुपैयाँलाई नियन्त्रण गरी नेपाली रुपैयाँमात्र चलनमा ल्याउने राम्रो व्यवस्था हुन सकेन । भारतीय मुद्रा प्रभाव आर्थिक कारोबारमा मात्रै सीमित नभई नेपालमा धेरै कालसम्म चलनमा रह्यो।
नेपालमा आधुनिक मुद्रा सुरुवात
१९८७ सालमा काठमाडौं सुन्धारामा टक्सार स्थापना गरी नेपाली सिक्काको प्रसार बढाउन सुरु भयो । २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन गर्न सुरु भएको थियो । त्यससँगै नेपाली मुद्रा प्रयोग तथा प्रसार गर्नेतर्फ प्रभावकारी प्रयास थालनी भयो । नेपाली मुद्राको क्षेत्र विस्तार गर्न कुनै ठोस कार्यक्रम नहुँदा नेपाली मुद्राको प्रयोग अपेक्षित सुधार हुन सकेको थिएन ।
२००७ सालको राजनैतिक परिवर्तनपछि नेपालमा आर्थिक तथा सामाजिक चेतना बढ्दै गयो । देशमा राष्ट्र निर्माण र विकासतर्फ बढी चिन्तन हुन थाल्यो । नेपाली मुद्रालाई राष्ट्रिय मुद्राका रूपमा विकसित र सुदृढ गराउने कुरामा जोड दिँदै निष्कासन र चलनचल्ती सुव्यवस्थित गर्न एक व्यवस्थित तथा संगठित संस्थाको परिकल्पना फलस्वरूप राष्ट्र बैंकको स्थापना भयो । नेपालको मौद्रिक इतिहासमा यो एक महत्त्वपूर्ण घटना थियो ।
त्यसपछि नेपालको मौद्रिक इतिहासमा उल्लेखनीय प्रगति हुँदै गएको हो ।
नेपालमा पहिलो बैंकका रूपमा नेपाल बैंकको स्थापना १९९४ सालमा नै भएको थियो । नेपाल बैंक स्थापना भएको करिब दुई दशकपछि मात्रै नेपालमा केन्द्रीय बैंकका रूपमा राष्ट्र बैंकको स्थापना भएको थियो । नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार १४ वैशाख २०१३ मा स्थापना भएको थियो ।
राष्ट्र बैंक स्थापनाकालमा नेपाली मुद्रा चलनचल्तीको क्षेत्र काठमाडौ उपत्यका र केही पहाडी भागमा मात्र सीमित थियो । अधिकांश सरकारी राजस्व र खर्च भारतीय मुद्रामा हुने गथ्र्यो ।
राष्ट्र बैंक ऐन, २०१२ मा ‘नेपाल राष्ट्र बैंकका उद्देश्यहरू नेपाली नोट निष्कासन व्यवस्था गरी अधिराज्यभरि नेपाली मुद्रा चलनचल्तीमा ल्याउन सुव्यवस्था मिलाउनू, नेपाली मुद्राको विनिमय दरमा स्थिरता कायम राख्नु, विकासको निमित्त पूँजीलाई गतिशील बनाइ राज्यको उद्योगधन्दालाई समेत प्रोत्साहन दिनू र नेपालमा बैंक प्रथाको विकास गराउनु रहेको’ उल्लेख छ ।
राष्ट्र बैंक स्थापना हुनुअघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन सुरु गरिएको थियो । सदर मुलुकी खानाको स्थपनापछि नै नेपालमा कागजी मुद्रा सुरुवात भएको थियो । उक्त समयमा कागजी मुद्रा १००, १०, ५ मोरुका थिए । त्यसमा पहिलो खजाञ्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए । त्यसपछि दुई जना खजाञ्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्रराज पाण्डेले हस्ताक्षर गरी मोरु नै नोट निष्कासन भएका थिए । यी नोट सदर मुलुकी खानाबाट निष्कासन भएका थिए ।
केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि ७ फागुन २०१६ देखि हिमालयशमसेर जबराको हस्ताक्षरमा केन्द्रीय बैंकमार्फत कागजी नोट निष्कासन सुरु भएको थियोे ।
तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले १ वैशाख २०१७ बाट नेपालमा त्यस दिनदेखि नेपाली मुद्रा मात्रै चलनमा हुने घोषणा गरेका थिए । त्यसपछि बिस्तारै नेपालबाट भारु चलन हटेर नेपाली रुपैयाँको चलन हुन थाल्यो ।
त्यसबेला भारुसँग नेरुको स्थिर विनिमयदर १ सयबराबर १ सय ६० तय भएको थियो । त्यसपछि विभिन्न समयमा यसमा परिवर्तन भए पनि हाल फेरि त्यही विनिमय दर चलिरहेको छ ।
नेपालमा हालसम्म ११ दरका नोट निष्कासन भएका छन् । विगतमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५०० र १००० रुपैयाँ दरका नोट निष्कासन गरिएको थियो । हाल १, २, २५ र २५० रुपैयाँ दरका नोट छपाइ हुन छाडेको छ । ५, १०, २०, ५०, १००, ५०० र १००० रुपैयाँका नोट निष्कासन हुँदै आएका छन् ।