कसरी भएको थियो खनियाबास विद्रोह ? : RajdhaniDaily.com


खनियाबास घर भएकी पुतली तामाङको घरबाट धान बरामद भयो । यस स्थानको सल्लाघारी गाउँबाट चोरी भएको धान खोजी गर्दैजाँदा यिनको घरमा भेटिएको थियो । यसपछि सो घटनालाई स्थानीयस्तरबाटै समाधान गर्न सकिन्थ्यो । त्यो धान चोरी हुनुको मुख्य कारण के थियो ? यसको कारण खोजी गरेर समस्यालाई सहजै रूपमा समाधान गर्न सकिन्थ्यो । तर, त्यसतर्फ कोही लागेको देखिएन ।

यस कमजोरीका कारण समाजमा ध्रुवीकरण सुरु भयो । पारिवारिक, सामाजिक र राजनीतिकलगायतका कारणहरू जोडिँदै गए । यस घटनाले तामाङ परिवार र समुदायले पहिलेदेखि नै गर्दै आएको अन्यायको अनुभूतिलाई बलियो बनायो । न्यायको खोजी गर्दैगर्दा समयमा न्याय प्राप्त हुन सकेन । कमजोर वर्गले सहजै न्याय नपाउने समय थियो नै । सशक्त आवाज उठाउनु एउटा बाध्यात्मक विकल्प बन्यो । अर्कोतर्फ जीवनयापनको न्यूनतम आवश्यकता पूरा गर्न निकै संघर्ष गर्नुपर्ने समय पनि थियो ।

वास्तवमा चोरीको घटना नितान्त व्यक्तिगत वा पारिवारिक मात्र थियो । हराएको सामान भेटिएपछि आइन्दा यस्तो नगर्ने सर्तमा पनि सामाजिक सद्भाव कायम राख्न सकिन्थ्यो तर यसका लागि उचित पहल कसैले लिएन । उल्टै यस घटनामा खेल्ने काम भयो । विभिन्न स्वार्थी समूहले यसलाई एउटा अवसरका रूपमा लिए ।

चर्को ब्याजको परिणाम
तामाङ समुदायको बस्तीमा बाहुनहरूले जमिन दिएर राख्नु तामाङ समुदायको सामाजिक सद्भावप्रतिको महानता हो । आफूहरूले नै जमिन दिएर राखेको भए पनि यसकै कारणले हो वा अरू नै कुनै कारणले हो, तामाङ समुदायले आफूहरू गरिब बन्दै गएको अनुभव गरे ।

आफैंले जग्गा दिएर राखेका बाहुन समुदाय नगद ऋण सापटी दिनसक्ने बन्दा तामाङ समुदाय किन कमजोर बनेका थिए ? यसका आफ्नै कारण होलान् तर तामाङ समुदायले रिजाल आदिबाट लिएको ऋणको ब्याज सयकडाको सय नै बुझाउनुपर्ने पीडा एकातर्फ छ भने अर्कोतर्फ विदेशमा गएर जति कमाए पनि ब्याज तिर्न मात्र पुग्ने पीडा छ ।

यसले आफ्नो भएको जग्गा जमिन साहुले लिएर आफूहरू थप गरिब बन्दै गएको पीडा पनि मुख्य विषयका रूपमा देखिन्छ । चर्को ब्याजदरले तामाङ समुदाय निकै ठूलो मारमा परेको र यसका लागि संगठित भएर अगाडि बढ्नुको विकल्प छैन भन्ने विषयमा सबैको सहमति भएको पाइन्छ । यिनीहरूले आफ्नो यस पीडालाई व्यक्त गर्न सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति र राजनीतिक प्रतिनिधिलाई भेट्ने निर्णय गरे । यसपछि उनीहरू त्यतिबेलाका जल्दाबल्दा र प्रभावशाली नेता ललितबहादुर घले (राष्ट्रवादी गोरखा परिषद्का सदस्य सचिव)लाई भेट्न गेर्खु गए ।

लुटपाट आरम्भ
स्थानीयस्तरमा चिरपरिचित र जान्नेमान्ने व्यक्ति ललितबहादुर घलेले तामाङ समुदायका सबै कुरा सुने । यसपछि यिनीसहितको समूह सल्लाघारी गाउँमा पुगेर रिजालहरूलाई बोलाउन लगाए । तर, त्यहाँ जगन्नाथ रिजाल उपस्थित भए । रिजालसँग त्यहाँ तमसुक मागियो तर उनले दिन अस्वीकार गरे ।

यसपछि घले स्वयंले जग्गा तामाङ समुदायकै हो, त्यसैले जग्गाको बाली लुट्नु भनेर आदेश दिए । यो सल्लाह वा आदेशबाट तामाङ समुदाय हौसिए । यसपछि योक्रम बढ्दै गयो । अब रिजालहरू स्वयं पीडित बन्न थाले । त्यसपछि रिजालहरूले त्यो स्थान छोड्न थाले ।

रिजालहरू नुवाकोटको टुँडिखेलमा गएर शरणार्थी भएर बसे । शरणार्थीका रूपमा थातथलोबाट विस्थापित हुने क्रममा सरकारी निकायमा उजुरी गर्ने मनसायले गएका थिए । रिजालहरू नुवाकोटको टुँडिखेल जाँदा तामाङ समुदाय ३ सयआसपासको संख्यामा पुगे । यिनीहरू पनि त्यहाँ उजुरी गर्न भनी गएका थिए । तर, यसको मनोविज्ञान भने प्रतिकारात्मक आक्रमणको संकेत थियो । यो संकेतपछि बाहुनहरू टुँडिखेलबाट भागेर काठमाडौं गएर उजुरी दिए । त्यसपछि तामाङ समुदाय पनि काठमाडौं गई उजुरी गरे । यसरी यो घटना बिस्तारै बढ्दै र एक–अर्काप्रतिको अविश्वास थप विस्तारित हुँदै गयो । यसपछि यसले एउटा घटनाको स्वरूप लिन थाल्यो र हरेकलाई पक्ष–विपक्षमा विभाजित गरायो ।

प्रशासनको प्रारम्भिक प्रयास
तामाङ र रिजाल समुदायले आआफ्नै तरिकाले प्रहरी हेडक्वार्टर काठमाडौंमा उजुरी दिएका थिए । प्रहरी हेडक्वार्टरको पत्र लिएर एक जना इन्स्पेक्टर नुवाकोट प्रहरी कार्यालयमा हाजिर हुन गए । उनलाई त्यहाँ सुव्यवस्था मिलाउनु भन्ने आदेश थियो ।

इन्स्पेक्टर रामप्रसादको कमान्डमा पहलमान, धर्मानन्द, नन्दबहादुर, गोपालबहादुर, नरबहादुरलगायत खनियाबास पुगे र रिजाल (गोपाल रिजाल) को घरमा बसेको भन्ने थाहा पाएपछि तामाङ समुदाय रुष्ट बने ।

यसपछि तामाङहरू प्रहरी इन्स्पेक्टरसहित बसेको रिजालको घरमा पुगे । त्यहाँ प्रहरी बसेको उनीहरूलाई मन परेन । प्रहरीले पनि तामाङहरूलाई ‘तिमीहरूले अन्याय गर्छौ, त्यसैले ब्राह्मणकामा बसेको’ भन्ने जवाफ दिए । यसपछि तामाङहरू रिसले चुर भएर ब्राह्मणहरूलाई पिट्न थाले ।

छुट्याउन लागेका प्रहरीलाई पनि यिनीहरूले कुटपिट गरे । इन्स्पेक्टरले पेस्तोल निकालेर फायर गर्दा एक जना तामाङको कान्छी औंलामा लागेपछि सबै प्रहरीलाई समातेर तामाङहरूले गुम्बामा लगेर थुनेका थिए । उनीहरूले प्रहरीको पेस्तोल र झोलासमेत खोसेका थिए । यसरी यस घटनापछि रिजालहरू समस्या समाधान गरी मिलाइदिन गेर्खु बस्ने ललितबहादुर घलेकामा गए । ललितबहादुरकामा तामाङ समुदाय आफ्ना समस्या राख्न गएका बखत यिनले ब्राह्मण समुदायको अन्नबाली लुट्न आदेश दिएका थिए । तैपनि, रिजालहरूको यी घलेप्रति अझै पनि भरोसा रहेको यिनलाई भेटेर समस्या समाधान गरिदिन सहयोग माग्न गएकोबाट बुझ्न सकिन्छ ।

आपसी मेलमिलाप गर्न–गराउन ललितबहादुरले १० हजार मागे । तर, रिजालहरूले यति रकम दिन नसक्ने भएपछि ५ हजार रुपैयाँ दिने कुरामा सहमत भए । यो कुरा तामाङहरूलाई सम्झाउँदा उनीहरूले स्वीकार गरेनन् । यसरी मिलाप गर्ने गराउने प्रयास सफल हुन सकेन । ललितबहादुरले अझै पनि प्रयास गरेको भए सम्भव हुन सक्थ्यो भन्ने पनि पाइन्छ तर उनले थप प्रयत्न किन गरेनन् र मिलाउन सकेनन् भन्ने’bout खास कुरा खुल्दैन ।

गुम्बामा थुनिएकाको खबर
त्यस समयमा सञ्चारमाध्यमको सहजता थिएन । त्यसैले घटना’bout थाहा पाउन निकै दिन लाग्थ्यो । प्रहरी इन्स्पेक्टर रामप्रसादसहित प्रहरीको समूह गुम्बामा थुनिएको विषय केही दिनसम्म जिल्ला सदरमुकामस्थित प्रशासनलाई थाहा भएन । खोजतलास हुँदै गयो । गुम्बामा राखिएको भनेर केही दिनपछि क. भीमबहादुरमार्फत थाहा भयो । यसका लागि काठमाडौंबाट थप सहयोग मागियो ।

काठमाडौंबाट दुई जना इन्स्पेक्टरसहित ३५ नाल राइफलसहितका प्रहरी त्यस स्थानतर्फ खटिए । यसरी प्रहरीको अर्को फोर्स पुगेपछि ललितबहादुर घले (स.स.) र बडाहाकिम कुलबहादुर शाही घटनास्थल गुम्बामा पुगे । त्यहाँ भेला भएका तामाङ समुदायसँग छलफल भयो । छलफलपछि तामाङ समुदायले इन्स्पेक्टरसहितका प्रहरी, पेस्तोल र ब्याग फिर्ता गरिदिए र अब लुटपाट नगरी शान्तिपूर्वक बस्नेछौं भन्ने कागजसमेत गरेपछि त्यस स्थानमा शान्ति छाउने अपेक्षा गरियो । तर, त्यस घटनाका सम्बन्धमा जिल्लादेखि केन्द्र सरकारसम्म र विभिन्न पत्रपत्रिकासमेतमा पक्ष–विपक्षमा आफ्नै तरिकाका समाचार र विश्लेषण प्रकाशित भए ।

राजनीतिक स्वार्थको लडाइँ
यस विषयले राजनीतिक रूप, रङ लिनेसम्मको माथिल्लो स्तरमा पुग्यो । लुट्ने समूह र लुटिने समूहका पक्ष र विपक्षमा विभिन्न राजनीतिक संगठनले आफ्नो भूमिका बढाउन थाले । नेपाली कांग्रेसले तामाङ समुदायलाई साथ दियो, राष्ट्रवादी गोरखा परिषद् पनि तामाङहरूकै पक्षमा देखियो । नेपाली कांगे्रसले शान्ति स्थापना गर्ने नाममा गोपालचन्द्र, मोहनध्वज, भरतबहादुरलगायत नेतालाई पठायो । यिनीहरूले प्रधानमन्त्री बीपी कोइरालाकै पत्र लिएर गएका थिए, भनिन्छ । तर, यो पत्र वा पत्रको प्रतिलिपि हालसम्म कतै फेला नपरेकाले यसको आधिकारिकता पुष्टि हुँदैन । नेपाली कांग्रेसले शान्ति स्थापना गर्न भनी पठाएका यी नेताले स्थानीय तारा लामाको घरमा बसेर तामाङ समुदायलाई साथ दिन थाले ।

झडप र मृत्यु
वास्तवमा आन्दोलन यसरी अगाडि बढिरहेको थियो कि यसको समाधानका लागि प्रशासनले गरेको प्रयास सफल भइरहेको थिएन । यसैबीच, ३५ स्थान राइफलसहितको प्रहरी टोली आन्दोलनस्थलतर्फ गयो । तर, त्यहाँ प्रहरीको हतियार खोस्ने प्रयास भयो । प्रहरीले गोली चलाउँदा औंले तामाङसहित ६ जनाको निधन भयो । यसपछि परिस्थितिले झन् उग्ररूप लियो । तामाङहरूको ठूलो भीड जम्मा भयो । प्रहरीलाई घेरा हाल्यो । प्रहरीको हातबाट केही राइफल खोसिए भने प्रहरीहरू पनि कुटिए । यसपछि त्यो भीड त्यहाँबाट तितरबितर भयो । उनीहरूले खोसेका तीन नाल राइफल पनि आफैंसँग लिएर गए । पछि राइफल खोजी गर्दा गोगने भन्ने स्थान र जंगलमा ती राइफल फेला परे । त्यसपछि प्रशासनले गाउँमा गस्ती गर्न थाल्यो । प्रहरीले स्थानीय तामाङहरूलाई सम्झाउन बुझाउन थाले र लुटिएका सामग्री फिर्ता गराउने प्रयासमा लागे । यसपछि परिस्थिति केही शान्तजस्तो भए पनि लुटपाटका घटना भने भइरहेका थिए ।

रिजालहरूको भागाभाग
वास्तवमा लुटपाट, कुटपिटलगायतका त्यस शृंखलाले यस्तो रूप लियो, अब आफ्नै घरमा बस्न नसकिने अवस्था आयो । पूर्णतया असुरक्षित महसुस गरेर आआफ्नो बासस्थान छाडेर लुटिने समूह विभिन्न स्थानमा गई आश्रय लिन थाले । गोपाल रिजाल र लुटिने अरू रिजालसमेतले आफ्नो भएको सुन–चाँदी, नगद, कागजपत्र आदि दुईवटा बाकसमा राखे र एक जना हलीलाई बोकाएर बाटो लागे । तर, बीचमै तामाङहरूको एउटा समूहले फेला पा¥यो । यसपछि रिजालहरू त्यहीँ बाटोमै कुटिए ।

तामाङहरूको त्यस समूहले ती दुई बाकस लुटेर आफूसँग राखे । त्यो बाकस नेपाली कांगे्रसबाट शान्ति स्थापना गर्न भनी गएका गोपालचन्द्रलाई दिइयो । यसपछि गोपालचन्द्र काठमाडौं आए । उनले नेता गणेशमान सिंहलाई भेटेर घटनाको विवरण सुनाए । यी वास्तवमा चलाख पनि रहेछन् । यिनले सरकारी नियुक्ति पाए । उनी डीडीओको नियुक्ति लिएर जिल्ला गए । यसरी रिजालहरू आफ्नो बासस्थान छाडेर अन्यत्र शरणमा गए ।

वास्तवमा रिजालबाहेक कतिपय अरू पनि त्यहाँबाट आफ्नो स्थान छाडेर गएका थिए । कतिपय तामाङ समुदायको पनि यस्तै अवस्था थियो । अर्थात्, वास्तविकताको खोजी गरी यसको समाधानभन्दा पनि समस्या विस्तार गर्ने काममा अरू टाठाबाटा लागे । सोझा–सीधाहरू टाठाबाठाकै पछाडि दौडिए । शरणार्थीका रूपमा काठमाडौंमा गएर लुटिनेहरूको समूहले मागेरै भए पनि खानुपर्ने अवस्था आयो । कतिपयले काठमाडौंको कालमोचनमा सरकारको सिधा खाएर पनि बसे । उनीहरूको अवस्था थप जटिल बन्दै गयो । आफ्नो अवस्था’bout उनीहरूले काठमाडौंमा भन्न थाले र यो पीडा व्यक्त गरेपछि झन् पक्ष–विपक्षको माहोल विस्तार भयो । अर्कोतर्फ नेपाली कांगे्रसले तामाङहरूको समूहलाई काठमाडौं झिकायो र सडकमा त्यहाँ ब्राह्मणहरूले नै अन्याय, अत्याचार गरेको भन्ने प्रचार गरायो । यस विषयमा सडक प्रदर्शन नै भएको थियो । यसैबीचमा लुटिएका सामान फिर्ता गराउन पुलिस खटाइयो । पुलिसले लुटिएका सामग्री बरामद गरे । वास्तवमा कांगे्रस नेता–कार्यकर्ता गोपालचन्द्र यी सामान’bout जानकारी पाएका आधिकारिक व्यक्ति थिए ।

स्थानीयस्तरमा लुटपिटको घटना झन् बढ्न थाल्यो । उनीहरू त्यहाँ गएर बसेपछि परिस्थिति आगोमा घिउ थपेजस्तै भयो । अर्कोतर्फ राष्ट्रिय प्रजातान्त्रिक मोर्चाले ब्राह्मण जातिको नेतृत्व गरेर परिस्थिति बिगार्ने बाटोमा लाग्यो । यसैबीच यस घटनालाई थप विस्तार र थप मलजल गर्दै गोरखा परिषद् आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्ने बाटोमा अघि बढ्यो । यसरी यो घटना राजनीतीकरण गरियो ।

वास्तविकताको विवरण दुवै पक्षले थाहा पाउन सकेनन् । दुवै पक्ष आआफ्ना राजनीतिक स्वार्थ भएका समूहको आदेशमा परिचालित भए । यो घटना खनियाबास क्षेत्रमा मात्र नभएर अन्य गाउँमा पनि विस्तार भयो ।

एकअर्काप्रतिको रिसिइबीका कारण लुटपाट, गालीगलौजका घटना बढ्दै गई कांगे्रसबाट शान्ति स्थापना गर्न गएका भनिएका गोपालचन्द्रले मार्पाकका स्थानीय होमबहादुरलाई अपशब्द प्रयोग गरे । यसको बदलामा गोपालचन्द्र कुटिए । यसपछि यी गोपालचन्द्रले मार्पाकका तामाङहरूलाई आफ्नो पक्षमा लिए र लुटपाटको क्रम बढाए । मार्पाकका लुटिनेहरू घर छाडेर नुवाकोट सदरमुकाम टुँडिखेलमा जम्मा भएर बसे । यसरी मार्पाकमा पनि लुटपाटका घटनाले उग्र रूप लियो ।

बिपीको भ्रमणपछि आन्दोलन बढ्यो
प्रधानमन्त्री बीपी कोइराला विभिन्न स्थानको भ्रमणका क्रममा २०१७ साल मंसिरमा पश्चिम २ नम्बरको भ्रमणमा निस्किए । भ्रमणका क्रममा गोरखा हुँदै नुवाकोटतर्फ जाने क्रममा मार्पाक, खनियाबास, दार्खा, मापाखर्कलगायतको भ्रमणमा पुगी त्यहाँ तामाङ समुदायका नेताहरूसँग भेटघाट गरे । त्यहाँ के कुरा भयो, त्यो बाहिर आएन तर त्यसपछि लुटपाटको आन्दोलन झन् विस्तार भयो र यसले बिस्तारै अराजक गतिविधि बढायो । आन्दोलन यसरी अगाडि बढ्यो कि यसलाई समाधानसहित नियन्त्रण गर्ने कार्यमा सरकारी प्रशासन पूर्ण रूपमा असफल भयो । यसैको परिणामस्वरूप जगतप्रकाश, अमृतमान, मोहनध्वजमाथि सुरक्षा कानुन लाग्यो । यिनीहरू नुवाकोट जेलमा थुनिनुप¥यो । प्रशासनको प्रयासले काम नगर्नुका पछाडि यस घटनाले राजनीतिक स्वरूप ग्रहण गरिसकेको थियो । सबैले आआफ्नो स्वार्थ हेरे र त्यहीअनुरूपका खेल खेले । बिस्तारै कल्याणपुर र रिप इलाकामा पनि लुटपाटका आन्दोलन अगाडि बढ्यो । यसरी बीपी कोइरालाको भ्रमणपछि आन्दोलनले झन् उग्ररूप लियो । वास्तवमा प्रधानमन्त्रीको भ्रमणले समस्या बढाउनेभन्दा समाधान दिन सक्नुपथ्र्यो ।

प्रधानमन्त्रीले चाहँदा समाधान गर्न नसकिने भन्ने थिएन । तर, फेरि पनि आन्दोलन कायमै रहनुका पछाडि अरू के कारण थियो ? यो स्पष्ट छैन कि त प्रधानमन्त्री नै असफल भएको भन्नुपयो वा भित्रभित्रै कतै व्यवस्थाकै विरुद्धको आन्दोलन थियो भनेर बुझ्नुपर्ने हुन्छ । तर, यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने आधार अन्ततः व्यवस्थाविरुद्धकै गतिविधि थियो भन्ने नै बुझिन्छ ।

यसरी पक्राउ परे सेक्के तामाङ
पुतली तामाङको घरबाट चोरी भएको धान बरामद भएपछि धान चोरीको आरोप लगाएर सल्लाघारीकै स्थानीय सेक्के तामाङलाई केही स्थानीयले पक्राउ गरे । यसपछि उनलाई निर्घात कुटपिट गरियो । ६ सय रुपैयाँको तमसुक गराइयो । वास्तवमा धान यिनैले चोरेका थिए वा अरू कसैले, यस’bout निष्पक्ष छानबिन र खोजबिन नगरिएको हुन पनि सक्छ । सेक्केलाई प्रतिशोधकै आधारमा पक्राउ गरिएको पनि हुन सक्छ । त्यसबेलाको समय आफूलाई मन नपरेको व्यक्तिलाई नभएको आरोप लगाएर पक्रिने र कुटपिट गर्ने अराजक प्रवृत्ति थियो । यसरी कुटपिटमा परेका सेक्के तामाङलाई तमसुक बनाएर छाडिएको थियो। यसपछि तामाङमा आक्रोश बढ्यो । उनले यो आक्रोश र असन्तुष्टि सल्लाघारी बस्ने लालबहादुर तामाङसँग व्यक्त गरे । उनले यसरी आफू अन्यायमा परेको भनेर आफ्नो कुरा राख्नुका पछाडि धान चोरी गर्ने सेक्के नभएर अरू कोही हुन सक्छ । तर अनुमानकै भरमा यिनलाई कारबाही गरिएको कुरा यिनले न्याय खोज्न गरेको प्रयासबाट बुझ्न सकिन्छ । यदि, यिनले धान चोरेको भए यसरी खुला रूपमा न्याय माग्न अग्रसर नहुन सक्थे । त्यसैले यिनको पक्राउ प्रतिशोध मात्रै थियो कि भन्ने आधार छन् ।

घटना यसरी अगाडि बढेपछि तामाङ समुदायबाटै वास्तविक धान चोरी गर्ने को थियो भनेर खोजी गरेको देखिएन । चोरको खोजी नगरी एक–अर्कामा प्रतिशोध लिने काममा तामाङ समुदाय पनि सहयोगी बनेको हुनसक्ने देखिन्छ ।

किनकि यस घटनाले पछि जुन स्वरूप ग्रहण ग¥यो, त्यसको पछाडि यो घटना एउटा बहाना बन्यो । किनकि, समाजमा वास्तविक चोरलाई नखोजी अनुमानकै आधारमा पक्राउ गरी कारबाही गर्ने केही रिजाल समूह र कारबाही भोग्ने सेक्के तामाङसहितको एउटा समूह एक–अर्काप्रति प्रतिशोध लिने सोचबाट अगाडि बढेको देखिन्छ । चोरी गर्ने व्यक्तिको पहिचान गरेर सबै पक्ष बसेर सहमति गरेको भए यसले ठूलो स्वरूप लिनुपर्ने कारण बन्ने थिएन । अर्थात् तामाङ समुदायले रिजाल समुदायबाट पहिलेदेखि नै अन्यायको अनुभूति गरिरहेका थिए । यसपछि खनियाबासमा तामाङहरूले एउटा भेलाको आयोजना गरे । तामाङ समुदायमाथि भएको अन्याय र अत्याचारका विषयमा खुलेर छलफल गरे । यिनीहरूले रिजालहरूलाई आफूहरूले जग्गा दिएर राखेको विषयमा छलफल गरे । तर, जग्गा सित्तैमा दिइएको हो वा बिक्री गरिएको हो भन्ने’bout त्यहाँ लामो छलफल भएन । जग्गा दिएर राखेको विषय जोडदारका साथ उठ्यो । यस समुदायले पहिलेदेखि नै गरेको अन्यायको अनुभूतिलाई त्यहाँ सबैले महसुस गरे । यस भेलाले अन्याय नसहने र यसका लागि संगठित भएर प्रतिकार गर्ने वातावरण तयार गर्न भूमिका खेल्यो ।

कांग्रेसविरुद्ध कांग्रेस
नेपालमा प्रजातन्त्र ल्याउन नेपाली कांगे्रसले गरेको नेतृत्व इतिहासमा सुनौला अक्षरले लेखिएको छ । यसपछि नेपाली कांगे्रसकै नेतृत्वमा भएको सरकारले देशमा जातीय र क्षेत्रीय विभाजनको कार्य ग¥यो वा गरेन ? यस’bout सामाजिक अध्ययनको विषय आफ्नो ठाउँमा छ । तर, यही विषयलाई प्रश्रय दिनेगरी नेपाली कांगे्रस जिन्दावाद, क्षत्री–बाहुन मुर्दावादको नारा घन्किनु आफैंमा यसभित्रको रहस्य के हो ? यो प्रश्न उब्जिन्छ ।

नेपाली कांगे्रसको चारतारे झन्डा बोकेर हजारौं मानिस यस्तै प्रकारका नारा लगाउँदै क्षत्री–बाहुनका घरमा प्रवेश गरेर नगदी, जिन्सी लुट्नु र तमसुकलगायतका कागजपत्र च्यात्नु आफैंमा सुन्दा नै सहज लाग्दैन, भोग्नेले कसरी भोगे ? यो २०१६ साल पुस २५ देखिको परिकल्पनाबाहिरको आन्दोलनको सामाजिक र राजनीतिक आदर्शभन्दा टाढाको फरक प्रकृतिको अराजकता थियो । यो त्यतिबेलाको विषय भएकाले वर्तमानमा यसको व्याख्या र विश्लेषण अपूरो मात्र होइन, नमिल्ने पनि हुनसक्छ । किनकि, वर्तमान समय २०१६ सालमा पुग्न सम्भव हुँदैन । गृहमन्त्री, सहायकमन्त्री वा प्रधानमन्त्रीकै भ्रमण भए पनि यसपछि परिस्थिति थप उग्र बन्दै जान्थ्यो । धादिङ जिल्ला र नुवाकोट जिल्लाका प्रायः सबैजसो गाउँमा यसप्रकारका गतिविधि भए ।

नेपाली कांगे्रसको नेतृत्वमा सरकार भएर पनि यसले समयमै उचित निकास दिन सकेन भन्ने कुरा लिपिबद्ध भएका कतिपय सामग्रीबाट बुझिन्छ । बडाहाकिम, अञ्चलाधीश, नेता–मन्त्री कसैको केही नलाग्नेगरी विद्रोह भएको थियो । तत्कालीन समयमा नेपाली कांगे्रसले नबुझेको तर नेपाली कांगे्रस र प्रजातन्त्रलाई कमजोर मात्र होइन, व्यवस्था नै अन्त्य गर्ने गराउनेगरी राजनीतिक दलको आवरणमा घुसपैठ गरेर स्थानीय सोझा–सीधा जनतालाई उचालिएको थिएन होला भनेर घटनाक्रम हेर्दा भन्न नसकिने देखिँदैन ।

त्यस समयमा धादिङ र नुवाकोट मात्र होइन, यसप्रकारका आन्दोलन र विद्रोह देशका अन्य भूभागमा पनि भएका थिए । जसलाई घरघरमा कांगे्रस पसेको घटनाका रूपमा बुझिन्छ । कांगे्रसलाई कमजोर बनाउन कांगे्रसकै झन्डा बोकेर देशका अन्य भूभागमा पनि लुटपाटका घटना घटाइएको थियो । यस’bout कतिपय जीवित रहेका बूढापाकाको मुखबाट सुन्न सकिन्छ भने कतै–कतै यस’bout लेखेको पनि पाइन्छ ।

खनियाबास, बामाङ, कराखे, खराङ, सिलिङ, टोडकी, महाकाल, घुस्सा बगर, दार्खा, सल्यान, मार्पाक, बोर्लाङलगायत धादिङ, गोर्खा र नुवाकोट जिल्लाका दर्जनौं गाउँमा यो आन्दोलन विस्तार भएको थियो । आन्दोलनकारीलाई सरकारले पक्राउ गथ्र्यो तर नेपाली कांगे्रसकै पहलमा छुटाइन्थ्यो ।

यसले के बताउँछ भने आन्दोलन गर्न नेपाली कांगे्रसले प्रेरित ग¥यो वा परिस्थितिको गम्भीर अध्ययन नगरी सहयोग ग¥यो । यस’bout यकिन भन्न नसकिए पनि राजा महेन्द्रलाई प्रजातन्त्र ‘कु’ गर्न यस्ता घटनाक्रम सहयोगी बनेको पक्का हो । किनकि, नेपाली कांगे्रसको नेतृत्वमा भएको सरकारले समाजमा शान्ति स्थापना गर्न असफल भएको भन्ने कुरा सत्य नै हो । त्यतिबेलाको इतिहास र यसप्रकारका देशका विभिन्न भूभागमा भएका अशान्तिपूर्ण गतिविधिले पनि यो कुरा प्रमाणित गर्छ ।

पश्चिम १ नम्बर, पूर्व १ नम्बर, पश्चिम २ र ३ नम्बर क्षेत्रमा त्यो आन्दोलन विस्तार भयो । सुरुमा यस आन्दोलनलाई प्रोत्साहन गर्ने नेपाली कांगे्रसकै गोपालचन्द्र श्रेष्ठ, मोहनविक्रमध्वज जोशी, हरिबहादुर थापालगायतको नाम लिइएको थियो । यो आरोप थियो वा सत्य थियो भन्न सकिन्न तर त्यति बेलाका पत्रपत्रिकाले समेत नाम किटान गरी लेखे । त्यसैले आन्दोलन यसरी अगाडि बढ्नु र बढाउनुका पछाडि निश्चित पनि केही रहस्यात्मक पात्रहरूको भूमिका देखिन्छ ।

प्रशासनले गरिब जनतालाई सामन्ती प्रथाबाट मुक्त गर्न गराउन वैधानिक बाटो अपनाउन भनिरहेको थियो भने अर्कोतर्फ जनताको प्रतिनिधित्व गर्ने सांसद नै यस आन्दोलनलाई उक्साइरहेका थिए । यही आरोपमा प्रतिनिधिसभा सदस्य ललितबहादुर घलेलाई पक्राउ गरी डिल्लीबजार जेल चलान गरिएको थियो । यसपछि गोर्खा परिषद्ले लुटपाटलाई थप प्रोत्साहन दिँदै गएको थियो । यसले पनि आन्दोलनको अवैधानिक शैली रोकिन सकेन ।

गरिब जनतालाई अवैधानिक ध्वंसात्मक बाटोमा जानबाट रोक्ने र उनीहरूलाई शान्तिपूर्ण तरिकाले सामन्ती शोषणविरुद्ध लड्ने प्रेरणा दिनुपर्ने भनेर नेपाली कांगे्रसका महामन्त्री शर्माले प्रयास गरेको भन्ने बुझिन्छ । तर, यिनको प्रयास पनि विवादास्पद नै पाइन्छ ।

उता, गोर्खा परिषद्ले आफूलाई यसको विपक्षमा उभ्यायो । नाजायज तमसुक च्यात्न र गरिब किसानलाई अधिकार दिन सहमति भए पनि यसलाई करकाप भनेर फेरि परिवेश बिथोल्ने प्रयास भएको थियो । कांगे्रसकै पराजित उम्मेदवार र स्थानीय ठूला ठालुसमेत यसलाई बढावा दिनेमा केन्द्रित भए ।

कांगे्रस र गोर्खा परिषद्बीच एकआपसमा ढुंगा हानाहानको स्थिति बन्यो । दुवै पक्षका १ सय ३५ व्यक्ति घाइते भए । त्यस क्षेत्रमा भएको लुटपाट आन्दोलनबाट सुत्केरी भएका, सुत्केरी हुनेवाला, घाइते, वृद्धलगायतले पनि घरबार छाड्नुपरेको थियो । उनीहरू काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बसेर वा पुगेर भिख मागेर खानुपर्ने अवस्थामा पुगे ।

यसप्रकारले अत्यन्त दयनीय अवस्थाको त्यो परिवेश वास्तवमै कहालीलाग्दो थियो । यस आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले डीआईजी रोमबहादुरको अध्यक्षतामा एक आयोग गठन ग¥यो ।

यसमा प्रधानमन्त्रीका एक जना व्यक्ति र एक जना सैनिक अधिकारी रहने व्यवस्था गरियो । यस आयोगले घटनास्थल पुगेर काम थाल्यो । राजा महेन्द्र पनि घटना विवरण बुझ्न गएका थिए । राजाका अगाडि टुँडिखेलमा जम्मा भएका शरणार्थीले चारतारेले लुट्यो भनेर गुनासो गरे । काठमाडौंमा रहेका पश्चिम १ नम्बरका शरणार्थीले भने प्रधानमन्त्री बीपी कोइरालाले राजा महेन्द्रलाई भेट्न जाँदा दरबारविरुद्ध नारा लगाए ।

यसरी पश्चिम १ नम्बरको आन्दोलनमा मुख्य दोषी नेपाली कांगे्रस भएको आरोप लाग्यो । वास्तवमा पार्टीकै आवरणमा कतिपयले आन्दोलनको वैधानिक बाटो छाडेर सर्वसाधारणलाई लुटपाटमा प्रेरित गर्न पुगेका थिए ।

‘कू’पछिको शान्ति
त्यतिबेला गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले भनेका थिए, ‘पश्चिम १ नम्बरमा जुन किसिमको अशान्ति मच्चिएको थियो, त्यो सदीयौंदेखि शोषित ६५ हजार भोटे र त्यहाँका सामन्त बाहुन–क्षत्रीबीचको संघर्ष हो ।’ उनले भनेको यो कुरा सत्य भए पनि यिनकै पार्टीका अरू केही नेताले गृहमन्त्रीको यस भनाइलाई यसको वैधानिक बाटो नलिएर अराजक परिस्थिति उत्पन्न हुनु राम्रो नभएको प्रतिक्रिया दिएका थिए र उनको यस भनाइको शैलीप्रति कडा टिप्पणी गरेका थिए । तैपनि परिस्थितिलाई साम्य पार्न सरकारले अन्तिममा आएर निकै प्रयास गरेको देखिन्छ ।

वि.सं. २०१७–४–१७ मा त्यहाँको वास्तविक स्थितिको अध्ययन गर्न गएको तीन सदस्य प्रतिनिधिमण्डल राजधानी फर्किएपछि सरकारले एउटा रणनीति बनाएर काम गरेको पाइन्छ । जस्तो, घटनाको वास्तविक विवरण प्राप्त नहुँदासम्म शरणार्थीलाई काठमाडौंको त्रिपुरेश्वरमा सरकारले नै खाने बस्ने प्रबन्ध गरेर राखेको थियो । लुटिएको सम्पत्तिको विवरण र लुट्ने कार्यमा संलग्न हुनेलाई कारबाही गर्ने वचन पनि दिइयो । साथै, लुटिएकालाई सरकारी ऋण पनि दिने घोषणा गरिएको थियो । राजा महेन्द्रबाट आएको यो प्रतिबद्धता थियो । यसमा राजा स्वयंले नजिकबाट नियालिरहेका थिए र भेट्न जानेहरूलाई सहयोग गर्ने वचन पनि दिए । यसरी यो घटना एउटा राष्ट्रिय केन्द्रविन्दुको घटना बन्यो । यसपछि शरणार्थी नुवाकोट फर्किए तर उनीहरूले दुई दिनसम्म खाने अनाज पाएनन् । पीडित भनी प्रमाणित भएकाले ३० रुपैयाँ ऋण पाउने भए पनि यसबाट उनीहरूलाई राहत नहुने महसुस भएपछि उनीहरूले यो ऋण लिएनन् ।

यसपछि ६०–७० जनाजतिको समूह भएर तत्कालीन श्री ५ को ढोकाअगाडि बसेपछि ४० जनालाई प्रहरीले पक्राउ गरी भद्रगोल जेलमा पुग्यो । अरू कतिपय त्यस स्थानमा बसिरहेका थिए । यसरी बस्नेहरूमा दूध खाने बच्चा साथमा रहेका महिला पनि थिए । दिनहुँ श्री ५ को ढोकामा गई काममा बाधा दिएको आरोपमा पक्राउ परेका उनीहरूलाई हामी दसैंमा घर जान्छौं र काठमाडौंमा यताउति घुम्नेछैनौं भन्ने गराएर ८४ जना शरणार्थीलाई जेलबाट छुटाइएको विवरण भेटिन्छ । यसरी घर जानेहरूलाई दैनिक १ रुपैयाँ ५० पैसाका दरले रकम दिने सरकारी नीति थियो । साथै, सरकारले यस विद्रोह वा घटनाका सम्बन्धमा परेका उजुरीमाथि विचार गरी फैसला गर्न पश्चिमाञ्चल उच्च अदालतका न्यायाधीश पशुपतिप्रसाद कोइरालाको अध्यक्षतामा तीन जना न्यायाधीशको एउटा आयोग गठन गरी यस आयोगलाई पुर्जी पठाउने, वारेन्ट गर्ने, मुद्दा फैसला गर्नेलगायतका अधिकार दिएपछि यस आयोगले आफ्नो काम थालनी गरेको थियो ।

परिस्थिति नसुध्रिएकाले लुटपाटको क्रम पूर्ण रूपमा रोकिएको थिएन । जामुनी डाँडामा रहेको माइला पाठकको पसलमा झन्डै ३ हजार जनाको समूह उपस्थित भई चारतारे झन्डासहित लिएर लुटपाट भएको थियो । यसको प्रतिकारमा भएको झडपमा केही घाइते पनि भएका थिए ।

यसरी यो घटना साम्य हुन निकै समय लागेको इतिहासका घटना– विवरणबाट थाहा हुन्छ । धादिङको कल्लेरी, आमडाँडा, भोलेलगायतका स्थानमा खेतको धान मात्र होइन, घरभित्र ल्याइसकिएका धान पनि लुटिएका थिए । २०१७ सालको मंसिर महिनासम्म यो क्रम चलिरह्यो । यसरी धादिङ, नुवाकोट र पूर्व–पश्चिमका अन्य स्थानमा पनि यस्ता घटना भए । राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातान्त्रिक व्यवस्थालाई ‘कु’ गरी आफ्नो हातमा शासन व्यवस्था लिएपछि यसको औपचारिक समाधान भएको पाइन्छ ।

सुरुमै त्रुटिको परिणाम
यस घटनाले यसरी उग्ररूप लिनुभन्दा पहिले समस्याको पहिचान गरी समाधान गर्न सकिन्थ्यो । गाउँमा ठूला ठालु, सामन्तवाद, धनी वर्गले लिने चर्को ब्याज बन्द गर्न गराउन सकिन्थ्यो । यसबाट गरिब जनताले समयमै न्याय पाउँथे र घटना यो स्तरसम्म अगाडि बढ्ने थिएन । विभिन्न प्रकारका जाली तमसुक च्यात्न सकिन्थ्यो । यो आन्दोलनले समयमै निकास पाउन सकेन । यसरी हेर्दा पीडित पक्ष जुन विषयबाट पीडित थियो, त्यसको मर्म बुझेर निकास दिनबाट स्थानीय प्रशासनका सबैजसो व्यक्तिहरू यस कार्यमा असफल भए । त्यसैले यो घटनाबाट धेरै ठूलो धनजनको क्षति हुन पुग्यो ।

(Visited 4 times, 1 visits today)





Source link

Leave a Comment