वैदेशिक रोजगारीमा ठगिएको भन्दै झण्डै ४ हजार उजुरी: सरकारले थाल्यो ऐन संशोधनको प्रक्रिया



प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार


वैदेशिक रोजगार ऐन, २०६४ लाई संशोधन गर्ने प्रक्रिया सुरु भएको छ। वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या समाधान र थप व्यवस्थित बनाउने योजनासहित विभागले ऐन संशोधनको पहल गरेको हो।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यका अनुसार, ऐन संशोधनको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेस गरिएको छ। विभागीय मन्त्रालयले सरोकारवाला पक्षहरूसँग समन्वय गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ र त्यहाँ थप छलफलपछि यसलाई अनुमोदन गरिनेछ।

प्रस्तावित ऐनमा वैदेशिक रोजगारीमा हुने ठगी न्यूनीकरण, पीडितलाई न्याय, छिटो-छरितो एवं पारदर्शी सेवा, तत्काल क्षतिपूर्ति र परामर्श सेवाका साथै श्रमिकमैत्री कानुनी व्यवस्थामा जोड दिइएको छ।

विभागले श्रम स्वीकृतिसम्बन्धी कानुनी प्रक्रिया पूरा भएमा एक दिनभित्रै सेवा प्रवाह गर्ने प्रबन्ध मिलाएको छ। साथै, इजाजतपत्र नलिई वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने कम्पनी तथा समूहलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यसैबीच, विभागले चालु आर्थिक वर्षको फागुन २० गतेसम्म पीडित परिवारलाई ३ करोड ३८ लाख ७९ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको छ। महानिर्देशक आचार्यका अनुसार, विभागमा दर्ता भएका ३०८ वटा उजुरीमा पीडित र पीडक पक्षबीच मिलापत्र गराई सो रकम उपलब्ध गराइएको हो।

चालु आर्थिक वर्षको हालसम्म ३ हजार ६७२ वटा उजुरी तथा जाहेरी प्राप्त भएका छन्। ठगी न्यूनीकरणका लागि विभागले प्रतिवादीको नाम, ठेगाना र बिगो रकम सार्वजनिक गर्न सुरु गरेको छ। यसका लागि विभागले छुट्टै वेबसाइट सञ्चालनमा ल्याई दर्ता भएका मुद्दाहरूको विवरण सार्वजनिक गर्न थालेको छ। रासस 





Source link

Leave a Comment