प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार

भारतमा नौ जना प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ। हिरासतमा रहेका बाबु–छोराको मृत्यु प्रकरणमा ती प्रहरी अधिकारीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको हो।
सन् २०२० मा दक्षिणी राज्य तमिलनाडुमा ५८ वर्षीय पी. जेयराज र उनका ३८ वर्षीय छोरा बेनिक्सको प्रहरी हिरासतमा मृत्यु भएको थियो। उनीहरूलाई कोभिड–१९ महामारीका बेला लकडाउनको नियम उल्लङ्घन गर्दै मोबाइल पसल खुला राखेको आरोपमा पक्राउ गरिएको थियो।
अदालतका न्यायाधीशले फैसला सुनाउँदै उनीहरूलाई नग्न बनाई निर्दयी रूपमा कुटपिट गरिएको बताएका छन्। उनले यो घटनालाई अधिकारको स्पष्ट दुरुपयोग भएको भन्दै “उनीहरूले मार्ने नियतले नै यस्तो गरेका हुन्” भनेर आदेश दिएका छन्।
हत्या अभियोगमा दोषी ठहर भएका ती प्रहरी अधिकारीहरूले आफ्नो सजायविरुद्ध पुनरावेदन गर्न सक्नेछन्। न्यायाधीशले भने, “उनीहरूले निहत्था व्यक्तिमाथि आक्रमण गरे। उनीहरूलाई माफी दिनु हुँदैन। उमेर वा पारिवारिक अवस्थाका आधारमा सजाय घटाइनु हुँदैन। उनीहरू सबै शिक्षित छन्।”
यस घटनामा १० जना प्रहरी अधिकारी पक्राउ परेका थिए, तर एक जना आरोपितको सन् २०२० मा कोभिडका कारण मृत्यु भएको थियो। यो घटनापछि तमिलनाडुमा व्यापक विरोध प्रदर्शन भएका थिए। विपक्षी नेताहरू पनि सडकमा उत्रिएर विरोध जनाएका थिए।
विपक्षी नेता राहुल गान्धी र भारतीय क्रिकेट खेलाडी शिखर धवनले सामाजिक सञ्जालमार्फत पीडितका लागि न्यायको माग गरेका थिए। यस घटनाले भारतमा प्रहरीको दुर्व्यवहारको विषयलाई पुनः चर्चामा ल्याएको छ।
मानवअधिकार समूहका अनुसार भारतमा प्रत्येक वर्ष सयौँ व्यक्तिको हिरासतमा मृत्यु हुने गरेको छ। उनीहरूले स्वीकारोक्ति गराउन यातना र दुर्व्यवहार सामान्य जस्तै भएको पनि बताएका छन्। यसै वर्ष संयुक्त राष्ट्रसङ्घका केही विज्ञहरूले भारतलाई अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुसार प्रहरी प्रणाली सुधार गर्न आग्रह गरेका छन्।