वास्तवमा नेपाल र भारतबीच बग्ने धेरै नदीमध्ये कोसी, कमला, बागमती र गंगाले लोककथा, गीत र कथाद्वारा लोकजीवनमा आफ्नो उपस्थिति कायम गरेका छन्। तीमध्ये कमला, कोसी र गंगालाई मिथिला क्षेत्रमा अलि बढी पूजनीय र सम्मानित नदी मानिन्छ।
राजा साल्हेस गाथामा गंगा नदीको महात्म्य, यसको प्रभाव र सम्पूर्ण कथानकमा भौतिक उपस्थितिले उनको दैवी रूपमा रहेको विश्वासलाई देखाउँछ भने कोसी नदीलाई लोककथामा अलि बढी अराजक र कठोर रूपमा वर्णन गरिएको छ।
कमला नदीलाई कल्याणकारी देवी, भक्त दयालु, निरन्तर सहयोगी र आफ्ना सन्तानको रक्षकका रूपमा पूजा गरिन्छ। त्यसकारण माछा मार्ने मलाहहरूले हरेक वर्ष कमलालाई जातीय देवीका रूपमा पूजा गर्ने चलन छ। कात्तिक महिनामा कमलामा स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ।
सामान्यतः माघ महिनामा मलाहहरूका देवदेवीहरूको भव्य पूजा गर्ने चलन छ, जसमा कमला माई प्रमुख देवीका रूपमा पुजिन्छिन्। नदी संस्कृतिको परम्परागत मान्यता अनुसार नदीजलबाट प्राप्त हुने माछा, मखानलगायत अन्य खाद्यसामग्रीहरूको जीविकामा सहायक हुनुका साथै भौतिक सुरक्षाको पनि जिम्मा लिइरहने हुँदा कमला माईको पूजाले महत्त्व राख्छ।
कोसी नदी तराईमा बग्ने प्रमुख नदी भए पनि सिँचाइका लागि त्यति उपयुक्त मानिँदैन। बरु कमला नदीको पानीले खेतमा सुन फलाउने मान्यता रहेको पाइन्छ। प्राचीन संस्कृत साहित्यमा भने यस्तो महत्त्व राख्ने कमलाबारे कुनै उल्लेख पाइँदैन। आदि ग्रन्थ रामायण, महाभारतमा पनि कुनै सङ्केत पाइएको छैन। जैन र बौद्ध साहित्यमा पनि अवस्था यस्तै छ।
लोककण्ठमा परम्परागत रूपमा नै आइरहेको कथाले कमलालाई अविवाहित कन्याका रूपमा चित्रण गरिएको छ। उनको सौन्दर्यप्रति मोहित भएर, उनको धारालाई बाँधेर रोक्ने प्रयास गरिएको र मल्लाह जातिकै अति शक्तिशाली कोइलावीरले बाँध भत्काएर कमलालाई स्वतन्त्र गरेको भनिएको छ।
कमलालाई पहिलो पटक पूजा गरेको दयालसिंहकै कारण कमलापूजाको प्रारम्भ भएको र आजसम्म मल्लाहहरू निष्ठापूर्वक पूजा गर्दै आइरहेका छन्। लोककण्ठमा जीवित रहेको कमला नदीको कथाकै एक प्रसङ्गमा भनिएको छ- एकचोटि झन् मजबुत बाँध बाँधेर कमलालाई रोक्ने प्रयास गर्दा उनी अरब देशका वीर योद्धा मिरा फकिर (लोक व्यवहारमा सुलतान भन्ने गरिएको छ) लाई आग्रह गरी बाँध काट्न लगाएकी थिइन्। यिनै कारणले गर्दा कमलापूजामा दयाल सिंह, कोइलावीर, मिरा सुल्तान आदिको पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने चलन रहेको छ।
दयालसिंहलाई दुलरा दयाल भनिन्थ्यो। दयाल सिंह छिमेकका चर्चित नर्तक थिए। उनले कमलालाई आफ्नो नृत्यले मोहित पारेर संस्थापक बनाएका थिए। कमलामाई पूजामा मलाहहरूले दुलरा दयालसिंहको पूजा गर्छन् र कमलालाई पाथी र दयालसिंहलाई खसी दिन्छन्।
कमला चुरे हिमालबाट उत्पत्ति भई सिन्धुलीको कमलामाई र कमलाखोंच हुँदै समुन्द्रमा विलीन भएर मिथिलाको भूमिलाई सुन्दर बनाएको छ। कोसी–कमलाको नेतृत्वमा मिथिलादेखि कामरूप–बंगालसम्मको बाढीपहिरो नदीको जीवनचक्रले यहाँको मानव जीवनशैलीलाई निरन्तर प्रभाव पारिरहेको छ।
लोकगाथाका महान् अन्वेषक डा. मणिपद्म कमलाको यसरी चर्चा गर्छन्, ‘माँ चिरवत्सला, स्रोतस्विनी, करुणामयी, विपत्तितारणी, मधुहासिनी, कमलमाई, तिरहुतिनी र नृत्य मोहिनी हुनुहुन्छ। रोहु माछामाथि छ नीलकमल।
कमलमा आसिन हुनुहुन्छ उहाँ। उहाँको एक हातमा धानको झुट्टी, दोस्रोमा अरूणकमल, तेस्रोमा कमण्डल र चौथोमा वरदमुद्रामा छन्। (मैथिली लोकगाथाक इतिहास, पृ. १३४–१३५) चुरे पर्वत शृंखलाबाट दक्षिणतिरको मधेसमा कमला नदीको यस्तै लोकप्रियता र आध्यात्मिक महत्त्वका कारण प्रारम्भिक विन्दुमा यसको स्वरूपसहितको मन्दिरको स्थापना गरिएको छ। जुन कमलामाई मन्दिर अथवा माईथान नाउँले प्रसिद्ध छ।
जनकपुरधामबाट करिब ६३ किलोमिटर उत्तरमा अवस्थित कमलामाई मन्दिरलाई माईस्थान भनिन्छ। कमलामाई नगरपालिका–१० मा रहेको यो मन्दिर कमलादेवी, कमलाको मन्दिरका रूपमा पनि चर्चित छ। लेखकलाई कमलामाई मन्दिर अन्यत्र रहेको थाहा छैन। नेपाल र भारतको विशाल भूभागमा कमला नदी समग्र मैथिल लोक संस्कृति र लोकजीवनलाई निरन्तर प्रभाव पार्ने साझा नदीका रूपमा प्रवाहमान छ।
कमला नदीको अवस्था
कमला नदी चुरिया हिमालको सिन्धुली गढीनजिकै माईथान टाँसिएर समुन्द्री सतहबाट ३९ सय फिट माथिबाट तल बग्छ। चिसापानीबाट दक्षिणी ढलानमा रहेको कमलाखोँच हुँदै तराई क्षेत्रमा प्रवेश गर्छ।
धनुषा र सिरहाको सिमानामा रहेको यो मधुवनी जिल्लाअन्तर्गत जयनगरबाट ३.५ किलोमिटर उत्तरमा भारत प्रवेश गर्छ। पछि यो बागमतीको बदलाघाट (खगरिया जिल्ला, विहार) मा मिल्छ भने अर्को धारा कोसीमा पनि मिल्छ।
प्रारम्भिक चरणमा यसको अवस्था निरन्तर परिवर्तन हुँदै आए पनि अहिले निश्चित दिशामा बगिरहेको छ। कमला नदीको लम्बाइ तीन सय २८ किलोमिटर छ जसमध्ये दुई सय आठ किलोमिटर नेपालमा र एक सय २० किलोमिटर भारतमा पर्छ। आफ्नो यस यात्रामा यो आफ्नाभित्रका ताओ, बैजनाथ नदी, मैनावती, धौरी, सोनी, बलान, विशूला र चडहा नदीलाई समेट्दै बगेकोे छ।
माईथान मन्दिरको इतिहास
माईथान मन्दिर जिल्ला सदरस्थानबाट बग्ने गौमती नदी र कमला नदीको संगममा अवस्थित छ। यो मन्दिर निकै पुरानो मन्दिर हो। यसको उत्पत्ति निश्चित रूपमा भन्न सकिँदैन तर यहाँ प्रदान गरिएका भेटीहरूबाट यसको निर्माणको समयको अनुमान गर्न सकिन्छ।
मकबानी राज्य अन्तर्गत रहेको समयमा यसमा सेन राजाहरू, इतिहासको विभिन्न कालखण्डमा यसलार्ई भ्रमण गर्ने प्रमुख व्यक्तित्वहरू र राज्य सञ्चालक प्रशासकहरूले यहाँ चढाएका वस्तुहरूबाट यसको समयको अनुमान गर्न सकिन्छ। १८८६ सालको माघमा काजी भीमसेन थापा आफ्नी कान्छी पत्नी भक्त कुमारीसँग चाँदीको मुकुट चढाउन आएका थिए भन्ने कुरा मुकुटमा उल्लेख गरिएको छ।
मकवानी राजा हरईन्द्र सेनको पालामा कमलामाई मन्दिरमा चाँदीका पानसहरू चढाइएका छन्। एउटा पानसमा १६९२ साल माघ बदी ३ रोज शुभम प्रस्ट अक्षरमा लेखिएको छ-प्रदान गर्नेहरूमा श्री दलदीपबहादुर पाण्डे लेखिएको छ। यसले यो पनि देखाउँछ कि मन्दिर तीन सय ८१ वर्ष पहिले बनेको थियो।
एउटा स्रोतले कुशेश्वर महादेवबारे महानन्द सापकोटाको एउटा लेखमा १५३० सालमा मकवानी राज्यका राजा राघव नरेन्द्र सेनले कमलामाई मन्दिरको जीर्णोद्धार गरेको देखाउँछ तर पंक्तिलेखकले यस लेखको स्रोत पत्ता लगाउन नसके पनि मन्दिर लगभग चार सय वर्षअघि निर्माण भएको तथ्य भने स्पष्ट छ।
माईथान मन्दिरको आध्यात्मिक पक्ष
प्रथम, प्राचीन आध्यात्मिक केन्द्र भएकाले यो मन्दिर भक्तजनहरूको आस्थाको केन्द्र बनेको छ। कमला नदीलाई देवीका रूपमा यति धेरै अनुष्ठानहरू भएका पुरातन मन्दिरहरू अरू कतै होला जस्तो लाग्दैन।
लोक आस्थाको केन्द्रका रूपमा पूजा गरिएको यो स्थान फलाफल दिने र मनोकामना पूरा गर्नका लागि पनि प्रसिद्ध छ। यहाँ आएर धार्मिक आस्था सन्तुष्ट हुन्छ। जीवनदायनी कमलाको साक्षात् मूर्त रूपको दर्शन आफैंमा अलौकिक अनुभूति प्रदान गर्छ।
दोस्रो, यो राजमार्ग (बर्दिबास) बाट २५–३० किलोमिटर उत्तरमा अवस्थित छ र सडकबाट अब सजिलो पहुँचका लागि महत्वपूर्ण गन्तव्य बनेको छ।
तेस्रो, यो ठाउँ प्राकृतिक सौन्दर्यका कारण निकै आकर्षक र सुन्दर रहेको छ। पानी रहेको समयमा कमला नदीमा रहेको झोलुंगे पुलबाट मन्दिर पुग्न सकिन्छ। सुक्खा समयमा खोला हुँदै पैदलै मन्दिर पुग्ने गरिन्छ।
यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिमा मेला लाग्ने गरेको छ। जहाँ हाँस र भेडाको बलि दिइन्छ। मेला हेर्न नेपाल र भारतबाट हजारौं तीर्थयात्री त्यहाँ पुग्छन् र रमाइलो गर्छन्।
सारमा
धार्मिक आस्था, सांस्कृतिक पहिचानका यथार्थपरक अवशेष, लोकजीवनकी देवी कमलाको मन्दिर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण ठाउँ र एकै ठाउँमा सहज यातायातको गन्तव्य भएको कमलामाई मन्दिरपरिसर निश्चय पनि जिज्ञासु तथा पर्यटनप्रेमीका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ।
-लेखक मधेस प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हुन्।
प्रकाशित: १ असार २०८१ १०:५७ शनिबार