यो स्वतन्त्रता भन्ने चिज पनि अचम्मको रहेछ। जति बुझ्यो बुझ्न नसकिने। तर जीवनको सम्पूर्णता भने योसँगै जोडिएकोछ जस्तो हुने। हुन त कुनै पनि दार्शनिकको कुरा कुनै एउटा कोणबाट मात्रै हेर्न खोजियो भने त्यो पूर्ण नहुन सक्छ। तर पनि आज स्वतन्त्रताको कुरा गर्दा मलाई आचार्य रजनिशका यी भनाइ उद्धृत गर्न मन लाग्यो। उहाँ भन्नुहुन्छ– ‘मेरो दृष्टिकोणमा स्वतन्त्रता भनेको स्वयं बन्नु हो।’ यो सुन्दा सरल जस्तो लागे पनि बुझ्न निकै कठिन लाग्ने भनाइ हो।
स्वतन्त्रता सबै व्यक्तिको जीवनमा एकै ढंगको नहुन सक्ला। यसको उपभोग एकै ढंगले गर्न नसकिएला। तर स्वतन्त्रताको न्यूनतम मानक भने सारमा एकै हो। भर्खरै मेरा नजिकका एकजना मित्रको विवाह भयो। दुवैजना सामाजिक/मानव अधिकारको क्षेत्रमा लामो समय काम गरेका व्यक्ति हुन्। उनीहरू दुवैको सम्बन्ध समान पीडाले जोडिएको भन्ने मेरो बुझाइ छ। दुवैलाई शुभेच्छा र शुभकामना यही लेखमार्फत दिन पनि चाहन्छु। यसरी जीवनलाई बहुपक्षीय दृष्टिकोणले विश्लेषण गर्न सक्ने, समाज परिवर्तनका संवाहक भनिनेले जीवनको मध्य समयमा गरिएको सहवरण भने पुरातन, यथास्थितिवादी र सांस्कृतिक विकृतिको अनुमोदनसहित गरेको अनुभूति सामाजिक सञ्जालमा फैलिएका तस्बिरबाट लख काट्न सकिन्थ्यो। जुन नैतिकरूपमा प्रश्नलायक थियो। सामाजिक/सांस्कृतिक परिवर्तनका लागि भोलिका दिनमा बोल्ने न्यूनतम आधारको हेक्कासमेत नगरिएको आभाष गराउँथ्यो।
यस्तो तस्बिर देखेपछि मलाई प्रश्न गर्न मन लाग्यो। किन यस्तो भयो त ? हामीले देख्दा उनीहरू दुवै स्वतन्त्र र आत्मनिर्णयको अधिकार पूर्णरूपले उपभोग गर्ने ल्याकत भएका व्यक्ति हुन्। तथापि यो समाजको विकृत संस्कार वरण गर्न उनीहरूलाई कसले बाध्य गरायो ? अरूले वा उनीहरूभित्र रहेको आफ्नै कारणले ? समाजका केही अवयवले होला शायद। तर, धेरै भने उनीहरूभित्र रहेको असुरक्षा भावले हो भन्ने मेरो ठम्याइ हो।
आफूमाथिको असुरक्षा आफ्नो निजत्व अनुभूत गर्न नसक्दा पनि हुन्छ । यो आफू बाहिरीरूपमा स्वतन्त्र छु भन्ने देखिए तापनि साँचो अर्थमा आफू अझै स्वतन्त्र हुन नसकेको स्थितिको मानक हो। हाम्रो जस्तो पितृसत्तात्मक सामाजिक, सांस्कृतिक संरचनायुक्त समाजमा खासगरी महिला स्वतन्त्रतालाई खरिद गर्न धेरै नियम बनाइन्छन् र महिलामाथि नै थोपरिन्छन्।
म एउटी नेपाली महिला देखिँदा स्वतन्त्र देखिए पनि स्वतन्त्र छु त ? के मैले मेरो आफ्नो छनोटमा रमाउने छूट पाएकी छु ? यो प्रश्नले मलाई बेला–बेलामा पिरोलिरहन्छ। हरेकको भोगाइ आफ्नै हुन्छन्। त्यसैले मैले यहाँ अरू कसैको उदाहरणभन्दा आफ्नै जीवन अनुभवलाई स्वतन्त्रता र निजत्वसँग राखेर पस्कने कोसिस गर्दैछु। म एउटी पुरातनवादी सोच भएको ब्राह्मण परिवारमा मधेसको गाउँमा हुर्केकी छोरी हुँ। मेरो हुर्काइको दायरालाइ म हुर्केको समाज र भूगोलले पक्कै प्रभाव पार्यो होला। जसको कारण मलाई मेरो स्वतन्त्रता र निजत्व बुझ्न अप्ठ्यारो भयो होला। (तर अझ पनि त्यसमा धेरै फरक परेको छैन)।
कहिलेकाहीँ हुर्कने क्रममा अभिभावकहरू भन्ने गर्नुहुन्थ्यो–तिमीहरूलाई हामीले यसरी स्वतन्त्र छाडिदिएका छौँ। तिमीहरूले हाम्रो इज्जत फ्याँक्ने काम नगर्नू नि। यो भनाइलाई मात्रै हेर्ने हो भने पनि हामी प्रश्न गर्न सक्छौँ कि हामी स्वतन्त्र थियौँ वा त्यो भनाइका कारण म जस्ता छोरीहरूले कहिले निजत्व महसुस गर्न सक्यौँ ? त्यही बेलादेखि नै मभित्र मेरो शरीरमाथि कसको नियन्त्रण हुने, मैले के/के काम गर्ने ? मैले कस/कसलाई खुसी बनाउने जस्ता सिकाइ मेरो परिवारले मलाई दिएको स्वतन्त्रता (उनीहरूको भनाइअनुसार) को सोधभर्ना गर्न आवश्यक छ भन्ने आत्मसात गर्दै त्यस्ता व्यवहार सिक्न थालेँ।
यो क्रममा मैले पल–पलमा नजानिकनै मभित्रको मलाई फस्टाउने मौका दिन पाइन। फलस्वरूप मेरो मलाई हेर्ने दृष्टिकोण बन्यो। मभित्र कुन सही र कुन गलत भन्ने आफ्नै परिभाषा तयार हँुदै गयो। मभित्र उब्जेका आफ्ना अन्तरंग भित्री चाहना/भावनालाई मार्ने संस्कृति विकास भयो। यौनिकता, यौन आनन्दसँग जोडिएका चाहनाहरूलाई मैले आफैँ बुझ्न पनि नखोजी विकृतिका रूपमा गन्न थाले। त्यसले मेरो आत्मविश्वासमा नै प्रभाव पार्यो। मेरो बाहिरी दुनियाँसँग बोल्ने, प्रश्न गर्ने, नयाँ कुराहरूको खोजी गर्ने, गलत संस्कारको विरोध गर्ने जस्ता आधारभूत सिर्जनशील व्यवहारहरू नै प्रभावित भए। फलस्वरूप मैले धेरैवटा गलत कुरा, ममाथि भएका गलत व्यवहारहरूलाई कहिले संस्कृति, कहिले सामाजिक परम्परा त कहिले हाम्रो परिवारको चलन भन्दै स्वीकार गर्न थालेँ।
परिणामस्वरूप मेरो घर–छिमेकमा, मेरो नाकै अगाडि भएका गलत कार्यहरू, गरिएका अपराधहरूलाई न देख्न सकेँ न त विरोध नै। त्यसकै निरन्तरता अहिले नयाँ पुस्तामा वा अझ भनौँ मेरै पुस्तामा अझ म जस्तै महिला स्वतन्त्रताको वकालत गर्नेहरूमा देख्दा, त्यसको साक्षी बन्नु पर्दा, मनभित्रैदेखि पोल्छ। उदाहरणका रूपमा हामीकहाँ प्रचलनका रूपमा रहेको वैवाहिक संस्कारलाई हेरौँ न। मैले आजभन्दा करिब ४५ वर्ष पहिला विधवा भएर, त्यसमा पनि जात पनि फरक भएको मानिससँग (त्यतिखेर मैले विदेशमा भएका कारण अलिकति आफ्नो व्यक्तिगत निर्णय प्रयोग गर्ने जमर्को गरेकी थिएँ) विवाह गरेँ।
विदेशबाट नेपाल फर्केपछि विवाह संस्कारका सामाजिक/सांस्कृतिक/जातीय आदि मापदण्ड नमिलेकै आधारमा केही समयसम्मै अपराधी जस्तो भावनाका साथ बाँच्न बाध्य बनाइएँ। त्यसलाई मैले आफैँले गरेको गल्ती हो भन्ने मान्दै चूपचाप स्वीकार गर्दै समयसँगै आफैँ ठीक हुन्छ भनी बसेँ। मलाई विभेद गर्नेहरूले गरेको व्यवहार अपराध हो भन्ने थाहा भए पनि प्रतिरोध गर्ने आँट जुटाउन सकिन। आफ्नै तरिकाले जीवनको संघर्षमा अघि बढेँ। म गलत हैन भनी परिवारलाई बुझाउन मैले निकै कठिन परिस्थिति सामना गर्नुपर्यो।
दोस्रो विवाह गर्ने महिला र पुरुषलाई हेर्ने दृष्टिकोणको तराजुमा उनीहरूको निर्णयको तौल कसरी निर्धारण हुन्छ ? त्यो हेर्न अन्त जानै पर्दैन, सामाजिक सञ्जालमा गरिएका टिप्पणी हेर्दा हाम्रो स्वतन्त्रता कहिले रातो साडी र टीका लगाउन पाउने स्वतन्त्रतासँग जोडिन्छ भने कहिले हाम्रो परिवारको वा हामीसँग बिहे गर्ने पुरुषको महानतासँग। अलि गहिरो गरी हेर्ने हो भने अवस्थामा त फरक छ तर सारमा भने त्यस्ता वैवाहिक सम्बन्धमा अझै महिलाले आफ्नो छनोटमा स्वतन्त्र भएर निर्णय लिनसक्ने स्थिति छैन।
हाम्रो (महिलाको) आँट, निर्णय र चाहनाभन्दा माथि पहिला परिवार र पुरुष जोडिन्छ। आफ्नी विधवा छोरी वा बुहारीलाई झ्याइँझ्याइँ विवाह गराएर पठाउने कस्तो राम्रो परिवार अनि एकल/विधवा महिला पनि स्वीकार्ने कति महान् पुरुष जस्ता अभिव्यक्ति यो समाजका एक–एक व्यक्ति÷संस्थागत तहबाट आउँछ। विडम्वना, यो दुवै स्थितिमा मजस्ता विधवा भएर दोस्रो विवाह गर्ने महिलाको स्वतन्त्रताले कुनै ठाउँ पाउँदैन। यो उसको अधिकार हो भनी लेखिने बोलिने अनि सामाजिक सञ्जालमा टिप्पणी गर्ने स्थिति अझै बनेको छैन।
तर पुरुषका लागि भने हामो सामाजिक सोच फराकिलो छ। पुरुषले चाहँदा परिवर्तनको अगुवाइ गर्न सक्छ। यहाँ फेरि म मेरो साथीको विवाहको प्रसंग दोहोर्याउन चाहन्छु। उनीहरूको विवाह हुँदैछ भन्ने थाहा पाउँदा मलाई धेरै खुसी लागेको थियो। दुवै सामाजिक क्षेत्रमा काम गर्ने, प्रगतिशील मानिने व्यक्तिहरू जति खुसी बिहे हुन लागेकामा थियो, त्योभन्दा अझ बढी खुसी उनीहरूको विवाहले दिनसक्ने सन्देशलाई लिएर थियो। तर अपसोच, उनीहरूको विवाहको तस्बिर देखेपछि भित्रैदेखि परिवर्तन गर्छु भनी भन्नु र परिवर्तनको अगुवाइ गर्ने हिम्मत गर्नु दुई नित्तान्त फरक कुरा रहेछ भन्ने आभाष भयो। अनि आफैँमाथि गर्व गर्न मन लाग्यो।
जेहोस्, आजभन्दा ४० वर्षअगाडि मैले परिवर्तन गर्ने आँट गरेकी रहेछु। आफ्नो निजत्वलाई प्रयोग गर्ने हिम्मत बटुलेकी थिएँ भन्ने लाग्यो। तर मलाई त्यो आँट हिम्मत आफू स्वतन्त्र छु भन्ने अनुभूत गर्ने वातावरण नपाएको भए शायद आउँदैनथ्यो र त्यो वातावरण म देशबाहिर भएको र हाम्रो सामाजिक दायराबाट पर भएर मात्र पाए जस्तो लाग्छ। यसले मलाई अझ बलियो गरी सामाजिक/सांस्कृतिक सोचको रूपान्तरणबिना मानिस स्वतन्त्र बन्न सक्ने, आफ्नो निजत्व अनुभूत गर्न सक्ने वातावरण बन्दैनकि भन्ने लाग्छ। यस अवस्थामा समाजले पुरुषलाई दिएको अधिकारको प्रयोग गररेर रूपान्तरणको अगुवाइ पुरुषले नै गनुपर्ने आवश्यक्ता अझ गहिरो गरी महसुस भएर आयो। त्यसैले मेरो मनभित्र साथीको विवाहको तस्बिरले खिन्नता जन्मायो।
मलाई लाग्यो–मानिस कसरी बाहिर स्वतन्त्र देखिए पनि भित्रबाट आफू स्वतन्त्र छु भन्ने अनुभूत गर्न नसकेकै कारण आफैँले हिजो भन्ने गरेको विकृत संस्कार आत्मसात गर्न पुग्छ। अनि सोँचे, हामीभित्रैदेखि स्वतन्त्रता अनुभूत गर्न सक्ने नहुँदासम्म हाम्रो चेतनाको श्रेणीक्रम यसरी नै सुस्त ढंगले उक्लिन्छ होला। व्यक्तिले के भन्छ, ऊ शिक्षित छ वा छैनभन्दा पनि ऊ आफ्नो निजत्वलाई प्रयोग गर्न कति स्वतन्त्र छ भन्नेले निर्धारण गर्छ। के कारणहरूले हिजो आफैँले यो गलत हो, त्यसलाई हामी परिवर्तन गर्छौँ भन्नेहरू नै त्यसरी यथास्थितिवादी/विभेदकारी सामाजिक/सांस्कृतिक मूल्य/मान्यतालाई आत्मसात गर्दै समाजलाई ‘परिवर्तन गर्छु’ भन्नेहरू पनि मुखले ठूला ठूला कुरा मात्र त गर्ने रहेछन् नि भन्ने सन्देश दिने वातावरण बनाउन बाध्य भए होलान्, त्यसलाई आखिर कसले र कहिले परिवर्तन गर्ने होला ?
मैले बुझेकी छु, अहिले मैले लेखेका कुरा अरूको जीवनका कुरा हुन्। व्यक्ति आफ्नो जीवनबारे निर्णय लिन आफैँ जिम्मेवार हुन्छ। उसले आफ्नो जीवनमा के गर्छ, कसरी गर्छ, के स्वीकार्छ, के दुत्कार्छ, त्यो उसको निजी अधिकार हो। अरूको जीवनसँग जोडिएका यस्ता नित्तान्त निजी मामलामा टिका टिप्पणी गर्ने अधिकार कसैको छैन। तर कुनै–कुनै जीवन हाम्रो जस्तो मुलुकमा निजी नरहेर सार्वजनिक बन्न पुग्छन्। तिनले दिने सन्देशहरूले ठूलो महत्व राख्छन्। धेरैको जीवनमा प्रभाव पार्दछन्।
त्यसैले त्यस्ता व्यक्ति जसबाट परिवर्तनको अपेक्षा गरिएको हुन्छ,तिनलाई पनि यो विभेदपूर्ण सामाजिक संरचना मान्न केले बाध्य गरायो भन्ने जान्नु/सुन्नु सबैलाई आवश्यक छ। त्यसैले हामी जो आफू स्वतन्त्र छौँ भन्ने मान्छौँ, त्यो पनि साँचो अर्थमा, हामी स्वतन्त्र छौँ त भनी मनन गर्नु र त्यो स्वतन्त्र हुने स्थितिसम्म पुग्ने बाटो निर्माण गर्नु अत्यन्तै जरुरी छ भन्ने लाग्छ। यसका लागि हामीलाई आवश्यक छ–आफैँले आफूलाई चिन्ने कलाको विकास, आफ्नै अठोट र अडानमा अडिन सक्ने ल्याकत, जो स्वतन्त्रताको पहिलो आधार पनि हो।
मानिस जबसम्म स्वयंलाई चिन्दैन, आफ्नो निजत्वमा बाँच्न सक्दैन तबसम्म ऊ सही अर्थमा स्वतन्त्र हुन सक्दैन। जबसम्म ऊ स्वतन्त्र हुन सक्दैन तबसम्म उसले न आफूलाई माया गर्न सक्छ नत आफ्नो कामलाई गति नै दिन सक्छ। न आफूमाथि गर्व नै गर्न सक्छ। आफूले गरेका उदाहरणीय कामहरूमा पनि अरूलाई नै श्रेय दिन्छ। भनौँ, उसको भित्रबाट आत्मविश्वास कहिल्यै बलियो हुन सक्दैन।
स्वतन्त्रता भनेको अरूले दिने कुरा होइन, आफूले अनुभूत गर्ने कुरा हो। त्यस्तो समाज जहाँ हरेक चरणमा अभिभावकले हामीले त आफ्नी छोरीलाई स्वतन्त्र छाडेका छौँ, श्रीमान्ले मेरो घरमा श्रीमती स्वतन्त्र छिन्, मैले स्वतन्त्र छाडेको छु भन्छ, नेतृत्वले राजनीतिक दल वा कुनै पनि कार्यस्थलमा हाम्रा साथीहरू स्वतन्त्र हुनुहुन्छ भनिन्छ, त्यहाँ स्वतन्त्रता छैन भन्ने बुझ्नुपर्ने हुन्छ। किनभने स्वतन्त्रता अरूले दिने कुरा होइन, आफैँले अनुभूत गर्ने कुरा हो। आफैँले तय गर्ने कुरा हो। त्यसैले आफ्नो स्वतन्त्रता आफँैले प्रयोग गर्ने वातावरण आफैँ निर्माण गरौँ।