कक्षा कोठामा विद्यार्थीसँगै महानगरप्रमुख सिंह : RajdhaniDaily.com

कक्षा कोठामा विद्यार्थीसँगै महानगरप्रमुख सिंह : RajdhaniDaily.com


वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह १० कक्षाका विद्यार्थीसँग कक्षा कोठामा सँगै भेटिन्छन् । शिक्षक–शिक्षिकाले उनलाई पनि पढाउनुपर्छ । विद्यार्थीसरह उनी कक्षा कोठामा नै भेटिन थालेको एक–दुईपटक मात्र भएको छैन । चालू वर्षको शैक्षिक सत्र सुरु भएयता उनी अनिवार्यजस्तो १० कक्षाका विद्यार्थीसँगै कक्षा कोठामा बसेका भेटिन्छन् । तर, एउटै विद्यालयमा भने उनी हरेकपटक भेटिँदैनन् । फरक–फरक विद्यालयका १० कक्षाकै विद्यार्थीसँग सातामा एकपटक भेटिनु उनको दिनचर्याजस्तै बनेको छ ।

वीरगन्ज महानगरका नगरप्रमुख पुनः विद्यालयमा गएर विद्यार्थीसँगै बसेर पढ्न थालेका चाहिँ होइनन् । तथापि, विद्यार्थीसँगै बेन्चमा नै बसी पूरा घण्टी कक्षा कोठामा समय बिताउन थालेको भने गत २० वैशाखदेखि भएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । उनी पनि धेरैपटक नगरप्रमुख सिंहसँगै कक्षा कोठामा भेटिए । कक्षा कोठामा शिक्षक–शिक्षिकाले पढाएको ध्यानपूर्वक सुन्ने, सुनिसकेपछि शिक्षक र विद्यार्थीलाई पनि आवश्यक निर्देशन र सुझाव तथा हौसला दिएर फर्कने क्रमलाई नगरप्रमुख सिंहले निरन्तरता दिएका छन् ।

‘म भविष्यका कर्णधार बालबालिकाको पनि अभिभावक हुँ, उनीहरूको पढाइ कस्तो भइरहेको छ भनी मैले सूक्ष्म रूपले बुझ्न र विद्यालयको शिक्षा सुधार गर्न नयाँ कदम चालेको हुँ,’ उनले भने । यस कदमलाई निरन्तरता दिने मात्र नभई अझ अरू कक्षामा पनि विशेष रूपले निगरानी बढाएर लाने सोचमा महानगर रहेको उनको भनाइ छ । कम जनशक्ति, विषय शिक्षकको अभाव र शिक्षकहरूको लापर्बाही तथा विद्यार्थीको पनि हेलचेक्र्याइँले सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर भएको निष्कर्षसहित त्यसलाई सुधार्न महानगरले फरक ढंगले कडाइ सुरु गरेको उनको भनाइ छ । यो निगरानी र सुझावले राम्रो प्रतिफल दिन्छ भन्ने महानगरलाई विश्वास रहेको महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णले पनि बताए ।

कमजोर ट्याग हटाउन महानगर अग्रसर
मधेसको शैक्षिकस्तर कमजोर भएको प्रति नकारात्मक ढंगले अरू मानिसले भनेको सुन्दा साह्रै मन दुखेको र आफू ठाउँमा पुग्दा शिक्षाको अवस्था सुधार्ने अठोटनुसार शिक्षातर्फ सुधारका लागि विभिन्न कदम थालिएको नगरप्रमुख सिंहको दाबी छ । यता, वीरगन्ज महानगरले यो कदम मात्र नभई अन्य विभिन्न कार्य पनि गरिरहेको छ ।

‘पूरा मधेसमा राम्रो गर्न नसकिएला, तर आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको पढाइस्तर उकासेरै छाड्ने अठोट छ महानगरको,’ नगरप्रमुख सिंहले भने, ‘नीति राम्रो भएर मात्र पनि हुँदैन, नीतिअनुसार कार्यसम्पादन पनि ठोस रूपमा निकाल्न महानगर अग्रसर छ ।’

पढाइको अवस्था र स्तर सूक्ष्म रूपमा बुझ्न र भूइँ तहबाट शिक्षाको सुधार गर्न शिक्षक र विद्यार्थीलाई नै जागरुक गराउन महानगरको सोच व्यवहारतः प्रयोग भएको महानगरले जनाएको छ । महानगरले पनि के सहयोग गर्नुपर्छ ? त्यसको सहकार्यका लागि पनि विद्यालयभित्र अझ कक्षा कोठाको नै अवस्था बुझ्ने प्रयास थालनी गरिएको नगरप्रमुख सिंहले बताएका छन् । ‘बिस्तारै विषय शिक्षकको व्यवस्थापन पनि मिलाउँदै गएका छौं,’ नगरप्रमुख सिंहले भने, ‘कक्षाभित्रको पढाइस्तर पनि सुधार्न आवश्यक महसुस गर्दै महानगर अभियानका साथ अगाडि बढेको छ ।’

शिक्षा सुधारका लागि महानगरको फरक कदम
शिक्षाको अवस्था सुधार्न अपनाइएका विभिन्न नीतिअनुसार विद्यालयको कक्षा कोठासम्म नै महानगरको पहुँच पुग्न थालेको यो मात्र पहिलो कदम होइन । विपन्न र गरिब जनताका छोरोछोरीले अंग्रेजी माध्यमबाट निःशुल्क शिक्षा लिन पाऊन् भनी गत शैक्षिक सत्रबाट नै महानगरले वीरगन्ज महानगरपालिकाभित्रका चारवटा सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यमबाट मात्र शिक्षा दिन सुरुवात गरिसकेको छ । पहिलो वर्ष भए पनि ती विद्यालयले एसईईको परिणाम अन्य विद्यालयको तुलनामा राम्रै ल्याएको तथ्यले देखाएको छ ।

अंग्रेजी माध्यममा मात्र पढाइ गरेका विद्यालयहरू त्रिजुद्ध मावि ५४ प्रतिशत, सिद्धार्थ मावि ४५ प्रतिशत, नृसिंह मावि ४१ प्रतिशत र माईस्थान माविले पनि ३५ प्रतिशतको हाराहारीमा नतिजा ल्याएको तथ्यांकले देखाएको छ । विषय शिक्षकको अभाव र स्वयंसेवक शिक्षकको भर पछि मात्र घण्टीवाइज केही शिक्षक व्यवस्थान गरेर वीरगन्जका चारवटा माविले अंग्रेजी माध्यम पढाएर पनि यो परिणाम ल्याउनु सकारात्मक भएको महानगरले खुलासा गरेको छ । एसईईको समग्र जिल्लाको अवस्था भने ३६ दशमलव ४२ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख मोतिप्रसाद भट्टराईले बताए ।

विद्यालय र शिक्षक विद्यार्थीमा सकारात्मक दबाब दिन महानगरले चालेको कदम फलदायी हुने महानगरको शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत आनन्द लामिछानेको पनि भनाइ छ । विद्यालयको कक्षा कोठाको पढाइ नै हेर्ने र बुझ्ने प्रयासले शिक्षक विद्यार्थी दुवैलाई नैतिक दबाब सिर्जना भई शिक्षाको स्तर सुधारमा बल पुग्ने उनले बताए । यो भिजनको पनि अगुवा महानगरप्रमुख सिंह स्वयं भएकाले नतिजा सकारात्मक आउने विश्वास बढेर गएको उनको भनाइ छ । विद्यालयको पढाइको सूक्ष्म जानकारी विद्यालयमा बाहिर गएर एकछिन हेरेर थाहा नहुने हुन्छ । तर, पुरै घण्टी कक्षा कोठामा बसेर सूक्ष्म निगरानी गर्दा शिक्षक र विद्यार्थी दुवैमा, हामीमाथि अर्को निकाय पनि छ भन्ने नैतिक दबाब थपिएको पाइएको हो । शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकारको यो कदम सराहनीय रहेको वीरगन्ज महानगरको शैक्षिक प्रशासन महाशाखाका अर्का शिक्षा अधिकृत हरि राउतले बताए ।

कार्यक्रम नै ‘विद्यार्थीसँग नगरप्रमुख’
‘विद्यार्थीसँग नगरप्रमुख’ कार्यक्रम नै तय गरी स्थानीय सरकारलाई आइपरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न विशेष कदम चालिएको वीरगन्ज महानगरले खुलासा गरेको छ । यो कदम शिक्षा सुधारका लागि अनुकरणीय कदम हुने महानगरको ठहर छ । यता, महानगरले समग्र विद्यालयको शिक्षा सुधार्न तल्लो कक्षा अर्थात् ८ कक्षादेखि पनि निगरानी कडा पारिसकेको छ । उनले ८ कक्षाको निजी र सामुदायिक सबै किसिमका विद्यालयलाई एकै किसिमको प्रश्नपत्र बनाइ एकैपटक परीक्षा लिई त्यसको कापी काट्ने कामचाहिँ एकद्वार प्रणालीका रूपमा महानगर आफैंले सुरुवात गरी नतिजा पनि निकालेको छ । कमजोरी कहाँ–कहाँ छ ? भनी सानो कक्षाबाट पनि विभिन्न क्रस कदम बढाइएको महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख कर्णले बताए ।

हरित विद्यालय अवधारणासहित विविध कार्य
‘ग्रिन स्कुल क्लिन स्कुल’ भन्ने नारासहित विद्यालयलाई हरित विद्यालय बनाउन हरेक विद्यालयको खाली जग्गामा अनिवार्य बिरुवा रोप्नुपर्ने नीति पनि वीरगन्ज महानगरले कार्यान्वयनमा लगेको छ । वातावरण र मानव स्वास्थ्यप्रति विद्यार्थीलाई सजग गराउन यो नीति अवलम्बन गरिएको भेटिएको हो । विद्यालयमा रोप्ने बिरुवा भने महाननगर आफैंले निःशुल्क उपलब्ध गराउने जनाइएको छ ।

महानगरपालिकामा मात्र २ सय ९९ विषय शिक्षकको आवश्यकता छ । यसको परिपूर्ति गर्न पनि वीरगन्ज महानगरले क्षमता भएका प्रावि शिक्षकलाई माथिल्लो कक्षामा अवसर दिएको पाइएको हो । विद्यार्थीसँग जस्तै ‘अभिभावकसँग नगरप्रमुख’ भन्ने कार्य पनि गत २१ असारबाट सुरुवात भइसकेको छ । सबै प्रकारका विद्यालय निःशुल्क गर्नुपर्ने भएपछि विद्यालयको सरसफाइलगायतको व्यवस्थापनका लागि आगामी आर्थिक वर्षबाट १ देखि ५ कक्षासम्मका विद्यालयलाई ५० हजार, १ देखि ८ कक्षासम्मका विद्यालयलाई ७५ हजार, १ देखि १० कक्षासम्मका विद्यालयलाई १ लाख र १ देखि १२ कक्षासम्म भएका विद्यालयलाई १ लाख ५० हजार थप रकम उपलब्ध गराउने नीति वीरगन्ज महानगरले लिएको पाइएको हो ।

सुधारको पहल सकारात्मक
मधेस प्रदेशमा शिक्षाको अवस्था निकै कमजोर रहेको तथ्यांकले पनि देखाएको छ । यो वास्तविकता परिवर्तन गर्न कहीं न कहींबाट विकल्प खोजिनुपर्ने हुन्थ्यो । वीरगन्ज महानगर विकल्पको खोजीमा निकै सक्रिय हुन थालेको सराहनीय कदम भएको स्थानीय बुद्धिजीवीहरूले बताए । ‘सामुदायिक विद्यालयको लगानी बालुवामा पानी’ हुन नदिन शिक्षा सुधारमा वीरगन्ज महानगरको शिक्षा समिति नै सक्रिय भएको सुन्दा खुसी लागेको बुद्धिजीवी डा. विश्वम्भर शर्माले बताए । मधेस प्रदेशकै एक मात्र महानगरपालिका भएकाले ‘वीरगन्ज’ स्वाभाविक रूपमा यस प्रदेशका १ सय ३६ पालिकाहरूमध्ये शिक्षामा नमुना पालिका बन्नैपर्ने उनको भनाइ थियो ।

मधेसका १ सय ३६ मध्ये एक मात्र महानगरपालिका ‘वीरगन्ज’ र सुदूर पश्चिममा अवस्थित ठोरी गाउँपालिकाले समेत शिक्षा सुधारका लागि विभिन्न नयाँ रणनीति अवलम्बन गरी कार्यसम्पादन गरिरहेको छ । गत वर्ष ठोरी गाउँपालिकाले पनि १ देखि १२ कक्षासम्मका सबै प्रकारका विद्यालयलाई निःशुल्क शिक्षा दिने नीति लिएको थियो । त्यो नीति यसपटक पनि ठोरी गाउँपालिकाले बजेट नै विनियोजन गरी कार्यान्वय गरिरहेको छ । अर्को सुधारात्मक पक्ष भनेको ठोरी गाउँपालिकाले त्यहाँभित्रका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकका छोराछोरीहरू अनिवार्य रूपमा नजिकका सामुदायिक विद्यालयहरूमा नै अध्ययन गराउनुपर्ने नीति अवलम्बन गरेको यस वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरी पारित गरिसकेको छ । यसले पनि सामुदायिक विद्यालयमा शिक्षा सुधार गर्न दबाब थपिएको पाइएको हो ।

मधेस प्रदेशकै राजधानी रहेको धनुषा जिल्लामा श्री जनता नमुना मावि गिद्धावेलापटीले गत एसईईको नतिजा मधेसकै उच्च अर्थात् ६४ प्रतिशत ल्याएको छ । सो विद्यालय अवस्थित पालिकाले अझ रणनीति रूपमा शिक्षा सुधार गर्न नीतिगत कार्य गरिरहेको सो माविका प्रधानाध्यापक पवन मण्डलले बताए । धनुषाका प्रधानाध्यापकहरू पनि अब शिक्षाको अवस्था सुधार गर्न कसरी सकिन्छ ? भनी गोलबन्द भई पालिकाको साथमा अझ जुटेर लागेको उनको भनाइ छ ।

यसरी समग्रमा हेर्ने हो भने मुलुकको पछिल्लो संरचनानुसार तीन थरी सरकारमध्ये भूइँ तहमा रहेको सरकारका रूपमा चिनिने पालिकाहरूले आफ्नो क्षेत्रभित्रको शिक्षा सुधार गर्न विभिन्न नीति अवलम्बन गरी प्रभावकारी कदम चाल्न सुरुवात गरिरहेको भेटिएको छ । मधेसको शिक्षा अवस्था पछि परेको परिवेशमा यहाँभित्रकै पालिकाहरूमध्ये मधेस प्रदेशको सूदूरपश्चिममा पर्ने पर्साको ठोरी गाउँपालिका, मधेसको एक मात्र महानगरपालिका ‘वीरगन्ज’को शिक्षा अवस्थालाई नमुनाका रूपमा यहाँ प्रस्तुत गरिएको हो ।

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School