News Summary
Generated by OK AI. Editorially reviewed.
- शिक्षाविद् सोनम वाङचुकले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिए जुन ६ मा कक्रोच जनता पार्टीको दिल्ली प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।
- कक्रोच जनता पार्टीले परीक्षा अनियमितताको विरोधमा जुन ६ मा दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गर्दै तीन जना प्रवक्ता नियुक्त गरेको छ ।
- परीक्षामा भएको अनियमितता छानबिन गर्न भारत सरकारले केन्द्रीय माध्यमिक शिक्षा बोर्डका अध्यक्ष र सचिवलाई पदबाट हटाएर एक सदस्यीय समिति गठन गरेको छ ।
२१ जेठ, काठमाडौं । गत मे १५ मा भारतको सर्वोच्च अदालतमा भएको एउटा सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले व्यक्त गरेको मौखिक टिप्पणीले ‘कक्रोच जनता पार्टी’ ( सीजेपी ) लाई सामाजिक सञ्जालमा जन्म दियो ।
भारतका नवयुवाहरूलाई कक्रोचसँग तुलना गरेपछि त्यसको प्रतिक्रियास्वरूप यो पार्टी जन्मन पुग्यो । सामाजिक सञ्जालमा पदार्पण गरिसकेपछि यो पार्टीले तहल्का पिट्यो । चार दिनभित्रै भारतीय जनता पार्टीको भन्दा धेरै फलोवर्स बटुलिसकेको थियो ।
सामाजिक सञ्जाल मार्फत यसका संस्थापक अभिजित दिपकेले युवाहरूमा व्याप्त आक्रोशलाई व्यंग्यात्मक लेपन लागेर प्रस्तुत गरिरहे । सीजेपीको ‘एक्स’ अकाउन्ट हटाइए पनि यसले सिर्जना गरेको लहर भने रोक्न सकिएन ।
एक अन्तर्वार्तामा उनी भन्छन्, ‘मैले कहिल्यै पनि यति ठूलो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ। यो पूर्ण रूपमा अप्रत्याशित र अर्गानिक समर्थन हो। यो अभियान बेरोजगारी र पेपर लिक जस्ता युवाका वास्तविक मुद्दाहरूमाथिको साझा आक्रोशको प्रतिबिम्ब हो।’
यही लहरलाई मध्यनजर गरेर धेरैले अभिजित राष्ट्रिय राजनीतिमा होमिने अनुमान पनि गरेका थिए । तर, दिपकेले भने आफू राजनीतिमा नआउने कुरा गरेका थिए । सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टीको सोसल मिडिया टोलीमा स्वयंसेवक रूपमा काम गरेका हुनाले उनीमाथि शंका गरिएको थियो ।
000
यद्यपि, अब भने सीजेपीले राजनीतिक रूप लिँदै गरेको दृश्य देख्न सकिन्छ । सामाजिक सञ्जालको व्यङ्ग्य र सडकको आन्दोलनबाट जन्मिएको यो पार्टी विस्तारै संगठित राजनीतिक शक्तिका रूपमा देखा पर्न थालेको छ।
जुन १ मा दिपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीको जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शन गर्न आफू जुन ६ मा भारत फर्कने घोषणा गरेका थिए । यसअघि पनि सीजेपीले इन्टरनेटको सिमाना पार गरेर संसद्को ढोकासम्म पुगेको देखिन्छ । तृणमूल कङ्ग्रेस (टीएमसी) की सांसद महुवा मोइत्रा सार्वजनिक रूपमा यस पार्टीमा सामेल हुने इच्छा व्यक्त गर्ने पहिलो प्रमुख राजनीतिक हस्ती बनेकी थिइन् ।
उनले एक्स प्लेटफर्ममा सदस्यता लिनका लागि नम्र अनुरोध गरेपछि सीजेपीको आधिकारिक एकाउन्टले उनलाई ‘लोकतन्त्रलाई आवश्यक लडाकु’ भन्दै स्वागत गरेको थियो । टीएमसीका अर्का सांसद तथा पूर्वक्रिकेटर कीर्ति आजादले पनि पार्टीमा सामेल हुन आवश्यक योग्यताका बारेमा सोधेपछि सीजेपीले सन् १९८३ को विश्वकप जित्नु नै पर्याप्त योग्यता भएको जवाफ दिएको थियो।
आफ्नो भ्रमणको घोषणा गर्दै दिपकेले एक्समा सार्वजनिक गरेको एउटा भिडियोमा भनेका छन्, ‘नीटको प्रश्नपत्र लिकका कारण आत्महत्या गरेका विद्यार्थीहरूको पक्षमा हामीले धेरै दिनदेखि सामाजिक सञ्जालमा आवाज उठाइरहेका छौँ। लाखौँ विद्यार्थीहरूको खेर गएको मिहिनेतका लागि धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ।’
सीजेपीले आन्दोलनका पक्षमा सर्वसाधारण र सञ्चारमाध्यमसमक्ष कुरा राख्न बुधबार तीन जना प्रवक्ता नियुक्त गरेको छ। सीजेपीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोज पत्रकार सौरभ दासले मुख्य प्रवक्ताको भूमिका सम्हाल्नेछन्। दाससँगै राजनीतिक अनुसन्धानकर्ता, लेखक तथा वृत्तचित्र निर्माता विजेता दहिया र आशुतोष रङ्काले पनि प्रवक्ताको भूमिका निभाउनेछन् ।’
आफ्नो उद्देश्य प्रष्ट पार्दै समूहले विज्ञप्तिमा अगाडि लेखेको छ, ‘सीजेपी भारतको राजनीतिक भाष्य परिवर्तन गर्न प्रतिबद्ध छ र यसको नेतृत्व नयाँ पुस्ताका नेताहरूले गर्नेछन्।’ समूहका अनुसार मुख्य प्रवक्ता सौरभ दास सन् २०२५ को नोभेम्बरमा दिल्लीको इन्डिया गेटमा भएको प्रदूषण विरोधी प्रदर्शनको नेतृत्व गर्ने व्यक्तिहरूमध्ये एक हुन् ।
तीनै जना प्रवक्ताले आन्दोलनमा फरक-फरक दक्षता भित्र्याउनेछन् । दासले जवाफदेहितामुखी सन्देश प्रवाह गर्नेछन् । दहियाले नागरिक समाजसँगको सहकार्यलाई अघि बढाउनेछन् । र, रङ्काले शिक्षित युवा तथा प्राविधिक क्षेत्रका पेशेवरहरू माझ समूहको आकर्षण बलियो बनाउनेछन्।
प्रवक्ताहरूको नियुक्तिले जुन ६ मा हुन गइरहेको विरोध प्रदर्शन अगाडि आन्दोलनलाई थप व्यवस्थित र सार्वजनिक रूपमा अगाडि बढाउने सीजेपीको मनसायलाई सङ्केत गर्छ। उनीहरूले ‘नीट’ को प्रश्नपत्र बाहिरिएको आरोप र अन्य परीक्षाका अनियमितताहरूलाई लिएर केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जुन ६ मा प्रदर्शन गर्ने घोषणा गरेका छन्।
सीजेपीका संस्थापक अभिजीत दिपकेले जुन ६ मा भारत फर्किएपछि दिल्लीको जन्तरमन्तरमा ‘शान्तिपूर्ण प्रदर्शन’ को नेतृत्व गर्नका लागि पार्लियामेन्ट स्ट्रिट प्रहरी स्टेशनमा आवश्यक अनुमतिका लागि आवेदन दिने बताएका छन्।
यो आन्दोलनले विभिन्न राष्ट्रिय तहका परीक्षाहरूमा भएका अनियमितताका कारण समग्रमा करिब ९५ लाख विद्यार्थी प्रभावित भएको दाबी गरेको छ। शिक्षामन्त्रीको राजीनामा माग गर्दै सुरु गरिएको अनलाइन याचिकामा ८ लाखभन्दा बढीले हस्ताक्षर गरिसकेका छन्।
यसैबीच, सरकारले मंगलबार केन्द्रीय माध्यमिक शिक्षा बोर्डका अध्यक्ष राहुल सिंह र सचिव हिमांशु गुप्तालाई पदबाट हटाएको छ। साथै बोर्डको ‘अन-स्क्रिन मार्किङ सिस्टम’ मा भएका भनिएका अनियमितताहरूको छानबिन गर्न एक सदस्यीय समिति गठन गरेको छ।
000
पर्यावरण अभियन्ता एवं शिक्षाविद् सोनम वाङचुक सीजेपीको नयाँ नेतृत्व अनुहारका रूपमा अगाडि आएका छन् । उनले लद्दाखको पहाडि भूमिबाट सुरु भएको ‘दिल्ली चलो’ आन्दोलन र त्यसपछिको जेल यात्रा झेलिसकेका छन् ।
सन् २०१९ मा केन्द्र सरकारले धारा ३७० हटाएर लद्दाखलाई बिना विधानसभाको केन्द्रशासित प्रदेश बनायो ।
त्यसपछि त्यस क्षेत्रमा जनताहरूमा असन्तोष चुलिएको थियो। त्यसैबेलादेखि सुधारवादी शिक्षाविद्का रूपमा चिनिएका वाङचुकले लद्दाखको भूमि, संस्कृति र रोजगारी संरक्षणका लागि संविधानको छैठौं अनुसूचीमा समावेश गर्न माग गर्दै आएका छन्। यसै मागलाई लिएर उनले सन् २०२० देखि अनशन र मार्च गर्दै आएका थिए । सन् २०२४ को सेप्टेम्बरमा लेहबाट दिल्लीसम्मको ‘दिल्ली चलो’ पदयात्रा सुरु गरेका थिए।
यो शान्तिपूर्ण पदयात्रा अक्टोबर १ मा दिल्ली सीमामा पुग्दा प्रहरीले बल प्रयोग गरी वाङचुक र उनका समर्थकहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूमाथि सुरक्षा ब्यारिकेड तोडेको र ढुङ्गामुढा गरेको आरोप लगाउँदै दण्ड प्रक्रिया संहिताको धारा १५१ अन्तर्गत निवारक हिरासतमा राखेको थियो।
साथै, उनका सहयोगीहरूविरुद्ध गैरकानूनी भेला, दंगा र राज्यविरुद्धको अपराध जस्ता गम्भीर मुद्दाहरू दर्ता गरिएका थिए । हिरासतमा रहँदा पनि भोक हडताल जारी राखेका वाङचुकको नजरबन्दलाई लिएर दिल्ली उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो।
अदालतले अक्टोबर १० मा प्रहरीको कदमलाई ‘कानूनको गलत व्याख्या’ ठहर गर्दै लोकतन्त्रमा असहमतिको अधिकार मौलिक हुने र समस्याको समाधान दमनबाट नभई संवादबाट खोज्नुपर्ने भन्दै उनलाई तत्काल रिहा गर्न आदेश दियो ।
रिहाइपछि वाङचुकले लद्दाखको मुद्दालाई सदनसम्म पुर्याउन राजनीतिक मोर्चाको आवश्यकता महसुस गर्दै सङ्घीय स्वायत्तता र जनजातीय अधिकारलाई प्राथमिकता दिने सीजेपीसँग हात मिलाएका छन् ।
यद्यपि, उनी र उनका सहयोगीमाथि लागेका आपराधिक मुद्दाहरूमा अझै अनुसन्धान जारी रहेकाले वाङचुकको यो राजनीतिक यात्रा कानूनी रूपमा पेचिलो बन्ने देखिएको छ।
प्रहरीले नयाँ आन्दोलन गरेमा पुराना मुद्दाका आधारमा पुनः पक्राउ गर्न सक्ने चेतावनी दिएको छ ।
विपक्षीहरूले आपराधिक पृष्ठभूमि भएका भनिएका सीजेपीका नेता अभिजीतसँग उनको निकटतालाई लिएर जनप्रतिनिधित्व ऐनअन्तर्गत कारबाही हुन सक्ने आशंका गरेका छन् । तर, सीजेपीले भने यी सबै कुरा अनुमान मात्र भएको र पार्टी पूर्ण रूपमा कानूनसम्मत चल्ने दाबी गरेको छ।
वाङचुकले यसघि पनि सीजेपीको उदयलाई लिएर सकारात्मक रूपमा लिनुपर्ने कुरा गरेका थिए । २३ मे मा उनले आफूलाई आन्दोलनको ‘मानार्थ ककरोच’ (अनररी ककरोच) को रूपमा चिनाएका थिए । उनले युवाहरूको डिजिटल अभिव्यक्तिलाई दबाउनुको सट्टा सरकारलाई उनीहरूका चिन्ता र सरोकारहरूलाई सम्बोधन गर्न आग्रह गरेका थिए ।
प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) सँगको अन्तर्वार्तामा यस विवादबारे बोल्दै वाङचुकले यस अभियानलाई लोकतान्त्रिक पृष्ठपोषण (फिडब्याक) का रूपमा हेरिनुपर्ने र यसलाई खतराको रूपमा लिन नहुने बताए।
वाङचुकले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई ) भनेका थिए, ‘पहिलो कुरा त, म यसबाट निकै प्रभावित भएको छु। हाम्रा युवाहरूको यस्तो रचनात्मक अभिव्यक्तिबाट चिन्तित हुनुपर्ने वा डराउनुपर्ने कुनै कारण छैन। सरकारले यसको सन्देश बुझ्नुपर्छ ‘मेसेन्जर’ (सन्देशवाहक) लाई नमार्नुहोस्। यदि हामीले सन्देशवाहकलाई नै मार्यौँ भने पनि सन्देश समाप्त हुने छैन।’
यस आन्दोलनमा औपचारिक रूपमा आबद्ध हुने कि नहुने भन्ने प्रश्नमा वाङचुकले ठट्टा गर्दै आफू यसको सदस्यताका लागि योग्य नभए पनि यसको सन्देशसँग भने आफ्नो सहमति रहेको बताए।
वाङचुकले अनलाइनमा सिर्जनशील अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउँदा अप्रत्याशित परिणामहरू आउन सक्ने तर्क समेत गरे । यस सन्दर्भमा उनले नेपालको जेन – जी आन्दोलनको उदाहरण पनि दिएका थिए । उनले भने, ‘नेपालमा हिंसा त्यसै भएको होइन। जब उनीहरूले इन्टरनेट बन्द गरे र अनलाइनमा रचनात्मक अभिव्यक्तिहरू रोके, तब युवाहरू सडकमा उत्रिए र स्थिति कुरुप बन्यो।’
000
मंगलबार वाङचुकले पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले जुन ५ सम्ममा राजीनामा नदिए आफू जुन ६ मा दिल्लीमा हुने ककरोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शनमा सहभागी हुने घोषणा गरेका थिए ।
एक्समा एउटा पोस्ट गर्दै वाङचुकले लेखेका छन्, ‘हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने ? यदि जुन ५ सम्ममा केही परिवर्तन भएन भने जुन ६ मा दिल्लीमा सीजेपीका सदस्यहरूसँग सामेल हुनेछु। कुनै पनि स्वाभिमानी मन्त्रीले परिस्थिति यसरी बिग्रँदा राजीनामा दिनुपर्छ… लाखौँ युवाहरूको जीवन र वास्तवमा भारतको भविष्यमा परेको असरको त कुरै छोडौँ।’
सीजेपीको आधिकारिक एक्स ह्यान्डलले हिजो आफ्नो आन्दोलनमा एक ‘प्रतिष्ठित व्यक्तित्व’ जोडिन लागेको घोषणा गरेपछि वाङचुकको यो निर्णय सार्वजनिक भएको हो।
उनले एक्समा एउटा भिडियो पोस्ट गर्दै नीट प्रश्नपत्र लिक र सीबीएसई मूल्याङ्कन विवादका अतिरिक्त शिक्षा प्रणालीमा रहेका ठूला संरचनागत समस्याहरूका कारण आफूले प्रधानको राजीनामा मागेको बताएका छन्।
भिडियोमा उनले भनेका छन्, “तपाईंहरूका कारण नीट र सीबीएसई परीक्षाहरू हुन्, तर मेरा लागि यो अझ ठूलो मुद्दा हो। विगत चार दशकदेखि मैले दुर्गम क्षेत्रका सरकारी विद्यालयहरूको शिक्षा सुधार गर्ने प्रयास गरिरहेको छु। जब म केही पनि परिवर्तन भएको देख्दिनँ, तब म निराश हुन्छु र केही गर्नुपर्ने आवश्यकता महसुस गर्छु ।’
वाङचुकले राष्ट्रिय शिक्षा नीति २०२० र ‘विकसित भारत २०४७’ जस्ता सरकारी नीतिहरूको उद्देश्य शिक्षा प्रणाली सुधार गर्ने सही भए तापनि तिनको कार्यान्वयन फितलो रहेको बताएका छन्।
‘म सरकारको उद्देश्यलाई १० मा १० अङ्क दिन्छु, तर उनीहरूको कदमले नै विकासको दायरा निर्धारण गर्नेछ। पछिल्ला ३-४ जना शिक्षा मन्त्रीहरूलाई हेर्दा हामी एउटा विकसित राष्ट्र बन्नेछौँ भन्ने कुरामा मलाई विश्वास लाग्दैन,’ उनले भनेका छन्।
देशभरका सरकारी विद्यालयका बालबालिकाको तस्बिर देखाउँदै वाङचुकले ती बालबालिका नै विकसित भारतको भविष्य भएको उल्लेख गरे। उनले शिक्षा प्रणालीमा सुधार नआएसम्म सन् २०४७ सम्ममा विकसित राष्ट्र बन्ने परिकल्पना पूरा हुन नसक्ने कुरामा जोड दिए।
वाङचुकले अगाडि भनेका छन्, ‘त्यसैले, यी सबै कुरामा सुधार ल्याउन म प्रधानमन्त्रीसँग अनुरोध गर्नेछु कि कुनै पनि स्वाभिमानी देशमा, लोकतन्त्रमा, यदि त्यहाँ कोही स्वाभिमानी शिक्षा मन्त्री छन् र यदि त्यस्तो केही अस्तित्व छ भने, प्रश्नपत्रहरू बाहिरिँदा र केही कुरा ठीक नचल्दा उनले राजीनामा दिनेछन् ।’
सीजेपीलाई आफ्नो स्थापना देखी नै विदेशी शक्तिबाट परिचालित भएको आरोपहरू लाग्दै आएको छ। केन्द्रीय मन्त्री सुकान्त मजुमदारले सीजेपीको सामाजिक सञ्जालका फलोअर्सहरूमध्ये झन्डै ४९ प्रतिशत पाकिस्तानबाट आएको दाबी गरेका थिए । उनले यसलाई भारतलाई अस्थिर बनाउन रचिएको ‘क्रस-बोर्डर इन्फ्लुएन्स अपरेसन’ भएको आरोप लगाएका थिए।
केन्द्रीय मन्त्री किरण रिजिजुले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पाकिस्तान र जर्ज सोरोसको ग्याङबाट फलोअर्स खोज्नेहरू प्रति व्यङ्ग्य र आलोचना गरेका थिए।
केराला भाजपा अध्यक्ष राजीव चन्द्रशेखर उनले यो आन्दोलन मोदी सरकार र भारत विरोधी बाह्य तत्वहरू तथा विपक्षी दलहरूको इसारामा अघि बढेको आरोप लगाउँदै यसको आधिकारिक अनुसन्धान हुनुपर्ने माग राखेका थिए।
वाङचुकले यस्ता प्रतिक्रियाहरूको पनि खण्डन गरेका छन् । दिपकेले आफूसँग सीजेपीको सामाजिक सञ्जाल ह्यान्डलहरूको डाटा साझा गरेको र त्यसकै आधारमा यो पार्टीलाई कुनै पनि ‘विदेशी शक्ति’ को समर्थन नरहेको निष्कर्षमा आफू पुगेको वाङचुकले बताए।
भिडियोमा दिपकेले पठाएको डाटा देखाउँदै उनले भनेका छन्, ‘ककरोच जनता पार्टी भारतीय युवाहरूको एउटा अभिव्यक्ति हो, न कि विदेशी शक्तिहरूको कुनै षड्यन्त्र… उनीसँग कुरा गरेपछि मैले बुझेँ कि उनको कुनै गलत नियत छैन। बरु, उनी देश सुधार्नका लागि एउटा बलिदान, एउटा त्याग गरिरहेका छन् ।’
दिपकेले पनि वाङचुक आन्दोलनमा जोडिएकाले आफू हर्षित भएको बताएका थिए । उनले एक्समा लेखेका छन्, ‘सोनाम वाङचुक ककरोच आन्दोलनमा सामेल हुनुभएको छ! सर, आन्दोलनमा जोडिनुभएकोमा धन्यवाद। हामी सबै ककरोचहरूका लागि यो ठूलो सम्मानको कुरा हो! जुन ६ मा तपाईंलाई भेट्न उत्सुक छु। जय हिन्द।’
(एजेन्सीहरूको सहयोगमा )
