नेपाली पाठकको रुचिभित्र पर्ने एउटा विधा निबन्ध हो। यसलाई कम लेखिने विधाका रूपमा पनि गणना गर्न थालिएको छ। …हरायो, छैन वा रित्तियो भन्दिनँ म। निबन्ध अहिले पातलिएको छ…। निबन्धकार युवराज नयाँघरेले आंशिक रूपमै भए पनि यो सत्यलाई स्वीकार्नुभएको छ। यसो भनेर दुर्लभ मानिएको निबन्ध विधामा आइपुगेको एउटा कृतिको नामहो-सोकेसको ऐना। यसका निबन्धकार हुनुहुन्छ-बोधराज पौडेल।
मलाई कहिले काहीँ नयाँ रचना सिर्जना गर्नुभन्दा पनि गाह्रो लाग्छ अरूको कृतिको समीक्षा गर्न। उसप्रति न्याय होला नहोला। उसले कति सोचविचार गरेर तयार गरेको भावभूमिलाई आफूले बाङ्गोटिङ्गो वा तोडमरोड पो पारिएला कि? उसको भर्खरै अङ्कुरित हुँदै गरेको कोपिला कतै मेरो कलमको टुँडोले निमोठ नामोठ वा क्षतविक्षत पारिदियो भने फेरि त्यसको मुना कहिले पलाउँला? यस्ता थुप्रैथुप्रै प्रश्न मेरो दिमागमा उठिरहन्छ। त्यसो हुँदा पनि यो काम मलाई सितिमिति गर्न मन लाग्दैन। फेरि कुनै पनि कृति राम्रो र नराम्रो भन्ने कुरा पनि व्यक्ति र उसको सोचअनुसार निर्धारित हुने गर्छ।
मेरो दृष्टिले राम्रो नमानेको कुनै सङ्ग्रह अरूको दृष्टिमा ठीक देखिन सक्छ, राम्रो लाग्न सक्ला। मानौं मेरो मन छोयो पुस्तकले, तर कसैको मन छुँदैमा पुस्तक सबैको निम्ति के राम्रो हुन्छ? यसमा पनि आआफ्ना दृष्टिकोणहरू हुन्छन्। कुनै लेखक जसले आफ्नो कृतिबारे राम्रो लेखिदेला भन्ने आशामा आएको हुन्छ अनि नराम्रो भनिहाल्न समीक्षकलाई पनि मनोवैज्ञानिक प्रभाव पर्ने गर्छ। यस परिस्थितिमा समीक्षकले कृति हेरेर समीक्षा गर्ने कि व्यक्ति हेरेर?
कहिलेकाहीं यस्ता जटिल मानवीय प्रश्नहरू पनि आउने गर्दछन्। समीक्षा लेख्न बस्दा म यस्तै यस्तै कुराहरू निकै सम्झन पुग्छु। यी विविध परिस्थितिका कारण आफू कत्तिको निरपेक्ष बन्न सकेँ वा सकौला भन्ने कुराले मलाई निकै सोचमग्न बनाउने गर्दछ। राम्रो कृतिलाई नराम्रो भनेर लेखिदियो भने सर्जकले मन दुखाउनु स्वभाविकै होला तर नराम्रो कृतिलाई नराम्रो लेखिदिंदा त्यसको लेखक झनै नराम्रो मान्छ। योचाहिं ज्यादै दुखद् कुरा हो। आजकाल धेरैजसो यही हुँदै आएको प्रत्यक्षदर्शी हुन पुगेको छु म। यसो हुँदा हुँदै पनि विडम्बनाचाहिं के छ भने यही काम मैले सबैभन्दा बढी गरिरहनु पनि परेको छ।
विमोचन वक्ताकै रूपमा मलाई आमन्त्रित गरेका थिए बोधराज पौडेलले काठमाडौको एक कार्यक्रममा। तर कति राम्रो संयोग परिदिएछ भने त्यतिखेर म राजधानीबाहिर जाने कार्यक्रम तय भइसकेको थियो। बहाना राम्रो जुर्यो मलाई। प्रायः कार्यक्रममा जान म त्यति रुचाउन्न। धेरैले यस्ता कार्यक्रममा जान भूमिका खोजेको पाउँछु तर मचाहिं भूमिका पाउँदा त झन् नराम्ररी दुख्छु भारी लाग्छ। उसले सम्झेर उचित पात्र ठानेर बोलाएको ठाउँमा आफूले इन्कार्नु झन् बढी अशीष्टता हो। त्यो नबुझेको पनि होइन तर यस्ता कुराहरू मलाई साह्रै बोझिला लाग्छन्। एउटा कुनामा बसेर कार्यक्रम सुन्न पाइयोस् र मन नलागेको बखत फुत्त कार्यक्रम छोडेर बाहिर हिड्न सकियोस् विना रोकतोक। न त तामझाम न त मालाखादा न त मञ्चासीन।
विषय प्रवेश गर्नुभन्दा पहिले वरिष्ठ सर्जक प्राडा गोविन्दराज भट्टराईको निबन्ध सम्बन्धी एउटा चोटिलो र मलाई मन परेको सन्दर्भ प्रस्तुत गर्न मन लाग्यो। उहाँ भन्नुहुन्छ ….निबन्ध मलाई सबैभन्दा धारिलो हतियार हो जस्तो लाग्दछ। त्यसलाई राम्ररी उध्याएर हान्न सक्यो भने राष्टै« जुरुक्क उचाल्न सक्दछ। भुल गर्नेहरू फत्र्याकफत्र्याक हुन्छन्। तिनीहरूलाई पानी पिउने बनाइन्छ। एउटा नाटक, कथा वा उपन्यासले धेरै ढिलो प्रभाव गर्छ र वर्षाै टिक्न सक्छ।….निबन्धमा म व्यड्ग्यको पाइन हाल्दछु, त्यसले एकै प्रहरमा चर्लक्क छिनाउँछ। निबन्धको महत्त्व दर्साउँदै गोविन्दराज भट्टराई यस्तो धारणा व्यक्त गर्नुभएको छ।
प्रस्तुत निबन्धको अन्तर्वस्तु बुझ्नुभन्दा पहिले अलिकति लेखकले भोगेको जीवन, उसको पारिवारिक पृष्ठभूमि र उ बाँचेको भूगोलको नेपथ्य बुझ्न सक्दा अझ राम्रो हुन्छ। अथवा निबन्धले भन्न खोजेको विषयवस्तु पर्गेल्न यसले अरु सजिलो बनाउँछ भन्ने मेरो धारणा छ।
प्रस्तुत सङ्ग्रह सोकेसको ऐनाका लेखक तथा निबन्धकार बोधराज पौडेल पूर्वी पहाडी जिल्ला खोटाङमा जन्मिएका सर्जक हुन्। त्यहाँका दुख, गरिबी, पीडा, अशिक्षा, अन्धविश्वास र विकटताका पहाडहरू उनले राम्ररी आरोहण गरिसकेका छन्। यस क्रममा आइपर्ने असुविधा र आगल ठेगलप्रति पनि लेखक भलिभाँती परिचित छन् साक्षात्कार गरिसकेका छन्।
त्यो परिवेश र भूगोल अनि त्यहींको आञ्चलिकता बोकेर शहर पसेका सर्जकले यहाँको रमझम, विकास, आधुनिक सभ्यता त देखेभोगेका नै हुन् त्यसभित्रका अनेकौ आडम्बरी जीवन, बाँच्नका लागि गर्नुपर्ने सङ्घर्ष लगायतका यावत् जीवन चक्रका पनि उनी भोक्ता हुन्। यही दुवै तर्फको जीवन भोगाइको समिश्रण उनले आफ्नो सिर्जनामा सर्लक्कै उतारे। समग्रमा भन्नु पर्दा सोकेसको ऐना त्यसैको उपज हो।
यस सङ्ग्रहभित्र विभिन्न शीर्षकका ३२ निबन्धका माला उनेर पाठकलाई पहिर्याइदिएका छन्। उनका ती प्रत्येक शीर्षक आफैमा पूर्णविराम हुन्। शीर्षक पढ्दा ठ्याक्कै जे अनुमानवा परिकल्पना गरिन्छ पढ्दै जाँदा त्यसले भित्र पनि त्यही बोलिरहेको हुन्छ।
लाग्छ, यो ऐनाभित्र एउटा सिङ्गो समाज छ, समाजभित्रका घटित यावत् विषयवस्तुहरू छन्। धर्म छ, अधर्म पनि छ, विकास छ विनाश छ, सत्य छ असत्य छ। यहाँ के छैन? गाउँ छ, शहर छ, पहाड छ, हिमाल छ, देश छ, देशभित्रको राजनीति छ, राजनीतिगर्ने नेता छन्। उनका नीति छन् अनीति छन्, सदाचार छन् भ्रष्टाचार छन्।
यी सबैलाई लिएर बोधराजले गर्ने गुनासाहरू पनि उत्तिकै छताछुल्ल छन्। यसरी बोधराजका विषवस्तुहरू धेरै छन्, अनेकन् छन्। लाग्छ यी सबै भएर त उनका निबन्धले सबैको ध्यान खिच्न सफल छ। निबन्ध उज्याला छन्। नराम्रो देखाएर राम्रोतर्फ लाग्न प्रेरित गरिएका सन्दर्भ छन्। यो उनको विशेषता हो, लेखकीय शिल्प हो।
खडेरी परेको विधामा यस्ता सङ्ग्रह लिएर झुल्किएका बोधराज आफ्नै करेसा बारीमा रुमल्लिंदै भन्छन्-मैले आफैसँग छोप्न नसकेका धेरै कुरा छन्। हो त्यसैले उनी उदाङ्गिन चाहन्छन्। यही उदाङ्गिने क्रममा उनी छताछुल्ल पार्न पुग्छन् आफ्नो रामकहानी। आफ्ना अतृप्त र बाफिएका अनुभव र अनुभूति। कहिले कथामा, कहिले गीतमा, कुनै बेला कवितामा, कुनै बेला गजलमा त कहिले सम्पादनमा जताततै दगुरेको छ उनको लेखनी यात्रा।
बगाइको आकार हुन्छ, म यो कुरा जान्दछु। तर बग्दै जाँदा त्यसमा नियम हुन्छ भन्ने कुरा म बिर्सन्छु। नदीले बग्न थालेपछि काठ, सिनो, ढुड्गा, माटो केही छान्दैन। सबैलाई बगाउँदै लग्छ। यो उसले नजानेर गरेको हो भन्ने म मान्दिनँ।
कतिपय वर्तमान घटना परिवेशबाट साँच्ची नै निबन्धकार आहात बन्छन्, तर बाहिर देखिंदैनन्, देखाउँदैनन्। आफै लड्छन्, फेरि आफै उठ्छन्। आफू रुन्छन्, आफै आँसु पुच्छन्। आफै पीडित बन्छन्, आफै पिल्सिन्छन्। अनि आफै सम्हालिन्छन् सम्झिन्छन् वा सम्झाउँछन्। अरूले उनलाई सहारा दिंदैनन् न त उनले त्यो खोजेका नै छन्। त्यसैले उनी अरु जस्तो पिलन्धरे देखिंदैनन्। दुखमा पनि साहस जुटाउने सामथ्र्य उनमा दृढ देखिन्छ। तर यो उनको मात्र घटना होइन आम मानिसको यथार्थ हो।
अहिलेका मानिसहरूको तीतो यथार्थ हो। जताततै कुरा ससाना मात्र छन्। जटिल विषयवस्तु पटक्कै छैन, लाग्दैन तर फेरि रचना संरचना बलिया छन्। घतलाग्दा छन्, चोटिला छन्। त्यो परिवेश भोगिरहेका भोक्ताका दृष्टिमा त्यो गहन छ, महत्वपूर्ण छ। प्रत्येक सन्दर्भहरू आफूभित्र समाहित गराएर प्रकटीकरण गर्न निबन्धकार खप्पिस देखिन्छन्।
यसरी सोकेसको ऐनाले आफ्नो मुहार त प्रष्ट देखाउँछ नै, त्योबाहेक यसले मनभित्रको दाग (जुन सामान्य ऐनाले देखाउन सक्दैन) यो देखाउन सक्नुचाहिं बोधराजको यो ऐनाको चमत्कार हो। यस्ता देश र समाजभित्र कट्कटिएर बसेका दाग र फोहरहरूका डुङ्गुरहरू यो ऐनाले देखाइदिन सक्नु पुस्तकको महत्त्वपूर्ण कार्य हो, सवल पक्ष हो।
यस प्रकृतिका पुस्तकहरू बजारमा थुप्रै आइसकेका र पढिसकिएको पनि हो। तर प्रस्तुत पुस्तकको विषय व्यवस्थापन, प्रस्तुति शैली केही नवीन र शिल्पले लेपन पनि गरिएकाले पठनीय लाग्यो। यसो हुँदा हुँदै पनि कहीं कतै असङ्गठित भावनाहरू देखिएका छन्, असामञ्जस्य र विद्रोहहरू पनि कहीं कतै नआएका होइनन्, त्यसलाई कलात्मक रूप दिएर सिंगार्न भने निबन्धकारले अलि नभ्याएको महसुस हुन्छ।
‘निबन्ध अचेल धेरै पातलिएको छ।’ हो, निबन्धकार युवराज नयाँघरेले कृतिमा भनेझैं धेरै पाललिंदै गरेको विधामा कलम चलाएर बोधराज पौडेलले धेरैको ध्यान तानेका छन्। उनका निवन्धमा गहन विचार धेरै पढिदै आइएको छ। तर कृतिले पाठकचाहिं कत्तिको तान्न सक्छ, त्यो भने हेर्न बाँकी छ। जुन कुरा भविश्यले बताउने नै छ।
प्रकाशित: २७ वैशाख २०८१ १०:०४ बिहीबार