ऐना


‘एक्सक्यूज मी, के म यहाँ बस्न सक्छु?’ एउटा मधुर स्त्रीस्वरले बिथोल्यो मेरो एकाग्रतालाई। हुन त यो कुनै नयाँ कुरा थिएन मेरो लागि। मेरो व्यक्तित्वको आकर्षणले हरेक स्वास्नीमान्छेलाई मतिर डोर्‍याएकै हुन्थ्यो। चाहे क्षणिक नै सही। मैले टाउको उचालेर ऊतर्फ हेरें।

एकैक्षण मेरो मुटु बेस्सरी हल्लियो। हातमा थामेको कफीको मग छचल्किएर केही थोपा कफी टेबलमा पोखियो।

‘सरी, सर !’ उसले खेदपूर्वक भनी– ‘आई डिन्ट मिन टु डिस्टर्भ यु! इट जस्ट द्याट कि यतिबेला यहाँ अरू कुनै टेबल खाली भेटिनँ, अनि यो टेबलमा तपाईं एक्लै हुनुहुन्छ। सो, मे आई?’ उसले मेरो सामुन्नेको कुर्सीतर्फ औंल्याई।

मेरा आँखा अझै उसको अनुहारबाट हटेको थिएन। मैले सहमतिपूर्वक टाउको हल्लाएपछि ऊ कृतज्ञता ज्ञापन गर्दै मेरो सामुन्नेको कुर्सीमा बसी अनि मेन्यु उठाएर पल्टाउन थाली।

कहाँ देखेको थिएँ मैले उसलाई? कहिले? बाईस–तेईस वर्षपछि यो शहरमा दोस्रो दिन थियो आज मेरो। कहिले देखें हुँला मैले उसलाई? कहाँ देखे“ हुँला?

’शायद उतै अमेरिकामा आउँदाजाँदा कतै देखेको हुनुपर्छ।’ मैले आफैँसँग भनें।

ऊ वेटरलाई आफ्नो अर्डर टिपाउँदै थिई अनि म आफ्नो उम्लिएर छताछुल्ल पोखिन तत्पर मनलाई सँभाल्ने कोशिश गर्दै एकटक उसलाई नै हेर्दै थिएँ।

अर्डर टिपाएर सकेपछि उसले ब्यागबाट मोबाइल झिकेर हेरी। लामो सास फेरी अनि मोबाइल ब्यागमा थन्क्याएर झ्यालबाट बाहिर हेर्न थाली। उसको सुन्दर अनुहारमा एक किसिमको उदासी स्थाई रुपमा जमेर बसेको थियो, जुन त्यो उमेरका केटाकेटीमा प्रायः हुँदैन।

मलाई उसको अनुहारको त्यो उदासी पटक्कै मनपरेन।

किन उदास थियो यति सुन्दर अनुहार?

‘एक्सक्यूज मी!’ मैले आफ्नो स्वभावको विपरीत बातचित शुरु गर्न खोज्दै भनें, ‘डु आई नो यु? आई मिन, हामी पहिले पनि कतै।’

‘आई डोन्ट थिङ्क सो।’ उसले मतिर नहेरी तटस्थ स्वरमा भनी।

उसको त्यो बेवास्तापूर्ण स्वरले मलाई अपमानित गरेझैं लाग्यो। किनकि, आजसम्म मैले आँखा उठाएर हेरेका कुनै स्वास्नीमानिसले मलाई यस्तरी इग्नोर गरेका थिएनन्। तर, रीस उठ्नुको सट्टा मभित्र झनै व्यग्रता जाग्यो उसको अटेन्सन पाउन, ऊसँग कुरा गर्न, उसको बारेमा जान्न।

वेटरले कफी र स्याण्डविच ल्याएर उसको सामु राख्यो। विना कुनै औपचारिकता, उसले खान शुरू गरी। मैले पनि आफ्नो कफीको मग उठाएँ अनि सेलाइसकेको कफी पिउँदै उसलाई हेरिरहें।

उसले हतारपूर्वक कफी र स्याण्डविच सकी अनि ब्याग उठाएर मतिर हेर्दै नहेरी एउटा भावहीन ‘थ्याङ्क यु’ मतिर फ्याँकेर अघि बढी।

उठेर उसको पछि लाग्ने तीव्र इच्छालाई जबरजस्ती रोक्दै म ऊ गएकैतिर हेरिरहें।

अर्को तीन दिन त्यही सुन्दर, शालीन अनुहार सम्झीसम्झी छटपटाउँदै बित्यो मेरो। यो पनि होइन कि मैले त्योभन्दा सुन्दर अनुहार र सर्लक्क परेको शरीर देखेको–भोगेको थिइनँ, तर त्यो अनुहारको कुरा बेग्लै थियो। त्यो उदास अनुहारको आकर्षण बेग्लै थियो। ती तीन दिनमा म त्यही समयमा त्यही क्याफेमा पुगिरहें उसलाई फेरि भेट्ने आशमा, तर ऊ देखापरिन।

चौथो दिन म मन मारेर अफिस गएँ।

यो एउटा अमेरिकन प्रोजेक्ट थियो, जसको हर्ताकर्ताको रूपमा नियुक्त भएर आएको थिएँ म अमेरिकाबाट।

लगभग तेईस वर्षपछि म नेपाल फर्केको थिएँ। यहाँ मेरा त्यस्ता कोही थिएनन् जसलाई म आफ्नो भन्थे“ वा मान्थें। यदि कोही थिए भने पनि यतिबेला मलाई उनीहरुको सम्झना थिएन।

मेरो अफिसको भव्य बिल्डिङ त्यो क्याफेको एकदम नजिक थियो। जहाँ मैले त्यो युवतीलाई पहिलोपटक देखेको थिएँ।

बिहान लगभग साढे ८ बजे अफिस पुगेको म सुखद् आश्चर्यले भरिएँ, जब मैले उसलाई रिसेप्सनमा देखें।

मन त्यसै–त्यसै पुलकित भयो यो जानेर कि ऊ मेरो स्टाफ थिई।

इन्टरडक्सन मिटिङमा मैले थाहा पाएँ, उसको नाम मीता रहेछ। मीता केसी।

म त्यसअफिसको हर्ताकर्ता थिएँ अनि ऊ अफिसको सबैभन्दा कनिष्ट लेवलको कर्मचारी। त्यसैले त्यस अफिसमा ऊसँगको सामीप्य लगभग असम्भव जस्तै थियो, आउँदा–जाँदा अभिवादनबाहेक। अनि म त्योभन्दा धेरै, एकदमै धेरै पाउन आतुर थिएँ उसबाट तर आफ्नो इमेज नबिगारीकन। आफ्नो प्रेस्टिजमा धक्का नपु¥याईकन।

उसलाई देखेर पनि बोल्न नपाउनु, साथमा हुन नपाउनु एक किसिमको सजायजस्तै भएको थियो मेरो लागि। त्यसैले म उसलाई आफ्नो वरिपरि राख्ने तिकडम भिडाइरहें। बहाना खोजिरहें।

आखिरमा मैले फ्नो स्वभाव र इमेजको विपरीत उसलाई आफ्नो पर्सनल सेक्रेट्रीमा बढुवा गरें, एक महिना बित्दानबित्दै। मेरो त्यो निर्णयमा कत्तिले जिब्रो टोके, कुरा काटे, कति त डढेर खरानी नै भए तर ऊ भने खुशी देखिइन। किन?

यत्रो ठूलो विदेशी प्रोजेक्टमा यति छोटो अवधिमै प्रमोशन पाएर पनि किन खुशी थिइन ऊ?

तर, म खुशी थिएँ। मैले चाहे जस्तै अब ऊ जत्तिखेर पनि मेरो साथमा हुन्थी।

काम हुँदा त हुँदा, नहुँदा पनि म उसलाई आफैंसँग अल्झाएर राख्थें। कहिलेकाहीं यसो झुक्किएर मसँग छोइँदा ऊ एकहात पर सर्थी अनि म झन् एकोहोरिन्थे उसलाई छुन, आफ्नो बनाउन र नजिक राखिराख्न।

हुन त मेरो अफिसमा ऊभन्दा सुन्दर केटीहरू पनि थिए, जो मेरो एक नजरको प्रतीक्षामा थिए। तर, मेरो मन र नजर उसबाट हट्थेन, जुन मेरो स्वभावको एकदम विपरीत थियो।

लगभग ४० वर्षको थिएँ। तर, मेरो अनुहार र शरीरमा त्यो उमेरको कुनै चिन्ह कतै देखिन्थेन। मैले भनिनँ भने मेरो सही उमेरको अडकल कसैले पनि गर्न सक्दैनथे। एकदमै सचेत थिएँ म, आफ्नो खानपान र व्यायामको मामिलामा। मेरो दिनचर्या व्यायामबाट शुरू हुन्थ्यो र व्यायाममै टुङ्गिन्थ्यो। मलाई नपुग्दो केही थिएन। तर पनि, बिहेवारी गरेर घरजम बसाउने सोच मेरो कहिल्यै भएन। मलाई ’बिहे गर’ भनेर दबाव दिने मेरा बाबुआमाले धेरै पहिले यो संसार छोडिसकेका थिए। एउटा मामा हुनुहुन्थ्यो, जसको आफ्नै वैवाहिक जीवन अस्तव्यस्त थियो। त्यसैले, उहाँले मलाई कहिल्यै विवाहको सल्लाह दिनुभएन।

अल्लारे उमेरमै हुँदादेखि नै म केटीहरुको साथको सोखिन थिएँ। स्कूलमा पनि मैले लिएर नडुलाएका केटीहरू कमै थिए। कतिपटक त मलाई लिएर केटीहरू बीचमा गलफती नै पर्थ्याे। केटीहरूसँग नजिकिन मलाई खासै कसरत कहिल्यै गर्नु परेन।

१२ क्लास सक्दानसक्दै ममी–ड्याडी एक्सिडेन्टमा परेर बिते। एक्लिएको मलाई मामाले आफ्नो साथमा अमेरिका लिएर जानुभयो। त्यहाँ पुगेर पनि म खासै सुध्रिनँ। हुन त पढाइमा अब्बल थिएँ। दिमाग एकदम तीखो थियो। कुनै पनि कुरा एकपटक कोशिश गरेको भरमा फत्ते गर्ने खूबी जन्मँदै साथमा लिएर आएको थिएँ। बोलीमा यति मिठास थियो, म बोली बेचेर पैसा कमाउथें। तर, केटीको मामलामा आफूलाई सँभाल्न सक्थिनँ। एउटै केटीसँग बाँधिएर बस्न पनि सक्थिनँ। हुन त केटीहरु नै मेरो सम्मोहनमा बाँधिन्थे र मसँग झुम्मिन आउँथे। शायद त्यसैले पनि होला, आफ्नो यो आदतमाथि म कहिल्यै लज्जित भइनँ।

समयसँगै मेरो व्यक्तित्व यति आकर्षक हुँदै गयो, मेरो वरिपरिबाट स्वास्नीमानीसहरूको भीड कहिल्यै टुटेन। स्वेच्छाले मसँग समय बिताउन आउने स्वास्नीमानिसहरूमध्ये म कहिल्यै कसैसँग भावनात्मक रूपमा जोडिइनँ। हाम्रो बीचमा जे हुन्थ्यो त्यो विशुद्ध शारीरिक र आर्थिक हुन्थ्यो।

यो पहिलोपटक थियो, जब म आफ्नो तर्फबाट कुनै स्वास्नीमानिसलाई आफूतर्फ आकर्षित गर्ने कोशिश गर्दै थिएँ, नत्र आजसम्म त कस्ताकस्ता मै हुँ भन्ने स्वास्नीमान्छेलाई मेरो सामु झुक्न बाध्य बनाउँथ्यो, मेरो व्यक्तित्वको आकर्षण र पैसाको पावरले।

मलाई साँच्चै घमण्ड थियो आफ्नो व्यक्तित्व, पैसा, पावर र खूबीमाथि।

त्यस दिन मैले मीतालाई साथमा लिएर तीन दिनको लागि पोखरा जाने प्रोग्राम बनाएको थिएँ । बहाना कामको भए पनि उद्देश्य केवल मीताको सामीप्यको थियो।

मिटिङ सकिएर कोठामा ऊ र म मात्रै हुनेबित्तिकै उसले तटस्थ स्वरमा भनी– ‘आई कान्ट गो विथ यु सर, आ’म सरी।’

उसको नजिक, एकदम नजिकको कल्पनामा चुर्लुम्म डुबिरहेको मलाई मानौ“ छालहरुले पाखामा मिल्काइदियो । मैले रीसले आँखा देखिनँ । जति म नजिकिन खोज्थे“, ऊ उति टाढा उभिन जान्थी । कत्रो हिम्मत यसको !

‘इफ यु कान्ट डु योर जब प्रपर्ली द्यान रिजाइन।’ मैले कठोर स्वरमा भनें। उसको अनुहार निरीह देखियो । मेरो मन उदास भयो । के गरुँ म यसलाई ?

‘सर आई कान्ट अफोर्ड टु लुज दिस जब।’ उसले काँतर स्वरमा भनी।

मेरो पारा फेरि चढ्यो ।

‘त्यसो भए मैले भनेको मान!’ मैले भनें। उसले शायद पहिलोपल्ट, आँखा उठाएर खालीखाली आँखाले मलाई हेरी। मेरो मुटु ढक्क फुल्यो। मलाई लाग्यो, अब मेरो यो सुन्दर, सुगठित शरीर, जादुइ अनुहार र व्यक्तित्वको जादु चल्नेछ उसमाथि पनि। तर, जब ऊ बोली उसको स्वरमा अरूचिबाहेक अरु केही थिएन।

– ‘के चाहनुहुन्छ तपाईं मबाट?’

‘यु नो द्याट भेरी वेल।’ अब म पनि निर्लज्जतामा ओर्लिएँ। दुःख पनि लाग्यो तर मैले अठोट गरें, म उसलाई पाएरै छोड्छु कुनै पनि मूल्यमा।

निक्कैबेर ऊ टाउको झुकाएर केही सोचिरही अनि मैले ऊ बोल्ने प्रतीक्षा गरिरहें।

अचानक ऊ उठी र पल्लो भित्तासँग जोडिएको बाथरूमभित्र पसी। म व्यग्रतापूर्वक कोठामा यताबाट उता गर्न थालें।

धेरैबेरपछि ऊ बाहिर निस्की।

आँसुसँगै उसको बिहानको हल्का मेकअप पनि पखालिएको थियो। उसका आँखाका डिल सुन्निएका थिए। नाकको टुप्पो रातो न रातो भएको थियो। मेरो मन धर्मरायो एकैछिन। यो के गरिरहेथें म?

‘ओके, तपाईं आफ्नो मनमानी गरेरै छोड्ने हो भने लेट्स मेक अ डिल !’ उसले गम्भीर स्वरमा भनी– ‘यदि तपाईं साँच्चि नै मेरो शरीर चाहनुहुन्छ यो जागिरको बदलामा भनें।’ उसले एकैछिन अडिएर मेरो अनुहारमा हेरी अनि दृढ स्वरमा भनी– ‘यु ह्याव टु गेट म्यारिड विथ मी ।’

– ‘ह्वाट्?’

– ‘यो मेरो एउटै मात्र शर्त हो। म यो जागिर कुनै पनि हालतमा छोड्न सक्ने अवस्थामा छैन। तर, रोज्नै पर्ने बाध्यतामा म जागिर छोडिदिन्छु तर तपाईंको खेलौना बन्दिनँ। अँ बिहे गर्नुहुन्छ भने हामी दुवैको समस्या समाधान हुन्छ। तपाईं आफ्नो मनमानी गर्न स्वतन्त्र हुनुहुनेछ अनि मेरो जागिर पनि बच्नेछ। यो जबभन्दा धेरै मलाई तपाईंबाट अरू केही चाहिन्न। यो कुरा म तपाईंलाई वकीलको रोहवरमा लेखेर दिन सक्छु तर बिहे लिगल हुनुपर्छ। कुनै मन्दिरमा फूलपाती लगाएर गरेको बिहेलाई म बिहे भएको मान्ने छैन।’

म रन्थनिएर छेउको कुर्सीमा बसें। एकमनले सोचे“, आ के मरिहत्ते गर्नु, एउटी केटी नै त हो। तर, अब यो एउटी केटीको मात्र नभएर मेरो हठ, मेरो इगोको पनि प्रश्न बनेको थियो।

‘म बाईस वर्षको भएँ।’ ऊ भन्दै थिई, ‘मास्टर्स गर्दै छु। अहिलेसम्म कसैसँग मेरो कुनै लभ अफेयर्स छैन।’

उसले पुलुक्क मतिर हेरी, ‘आजको जमानामा सुन्दा अपत्यारिलो लागे पनि, म अहिलेसम्म कुमारी छु।’

मैले टाउको उठाएर केहीबेरसम्म उसको आँखामा हेरें।

‘रबीस, आजको जमानामा कसले पत्याउँछ यो बकवास?’ त्यसरी ऊतिर हेरिरहँदा शायद यही भाव थियो मेरो अनुहारमा।

‘तपाईंले पत्याउन जरूरी छैन।’ उसले मेरो अनुहारको भाव बुझेर नै भनी शायद– ‘तर मेरो सत्य यही हो। घरको आर्थिक स्थिति एकदमै कमजोर छ। बुझ्ने भएदेखि आमालाई सधैं बिरामी, कमजोर देख्दै आएकी छु। आमाको र आफ्नो जीवनयापनको तारतम्यमा जेलिएकी मलाई जिन्दगीले आजसम्म मौकै दिएन, यो सब लक्जरीको अनुभव गर्न। शायद त्यसैले मेरो शरीरजस्तै मेरो भावना पनि अन टच छन्।’

मेरो अनुहार रातो भयो। मन छटपटायो तर मैले उसको भनाइमा विश्वास गरिहाल्न सकिनँ। शायद आफ्नो भाउ बढाउँदै थिई ऊ। आफूलाई विशेष दर्शाउँदै थिई।

‘कहीं न कहीं मलाई थाहा थियो शायद जिन्दगीमा यस्तो स्थिति आउन सक्छ। त्यसैले, मैले आफैंसँग बाचा गरेथें कि चाहे जोसुकै होस् मेरो शरीर प्राप्त गर्न चाहनेसँग मेरो एउटै शर्त हुनेछ, मसँग बिहे गर्ने।’ उसले बिस्तारै भनी।

यस्तो पनि हुन्छ कहीं ? एक त मलाई यो बिहेवारीमा विश्वास नै थिएन, अर्को मलाई आफ्नो स्वतन्त्रता सबैभन्दा प्यारो थियो। त्यसमाथि यो सिचुएसनमा म कसरी बिहे गर्न सक्थें? त्यो पनि आफूभन्दा आधा उमेरकी केटीसँग?

‘म तपाईंलाई तीन दिनको समय दिन्छु।’ उसले कोठाबाट निस्कने तरखर गर्दै भनी, ‘या त तीन दिनभित्रमा आएर मेरी आमासँग बिहेको कुरा गर्नुस्, या फेरि म कहिल्यै अफिस आउँदिनँ। मेरो घरको ठेगाना मेरो फाइलमा छ।’ त्यसपछि ऊ मतिर हेर्दा पनि नहेरी बाहिर निस्की।

दुई दिन मेरो मन र मस्तिष्कसँग वादविवाद गर्दै बित्यो । उसको घर नजाने दृढ निश्चय गरेर बसेको म आफ्नो मन र मस्तिष्कको विरूद्ध तेस्रो दिन साँझ उसको घरको सामु थिएँ।

रूमालले मुख छोपेर मैले कसै गरी त्यो अँध्यारो, गन्हाउने गल्ली पार गरें र उसको घरको ढोका ढकढकाएँ।

मलाई देखेर उसले यस्तो अनुहार बनाई, मानौं उसले कुनै अप्रिय खबर सुनेकी छ भरखरै।

त्यो एउटा आठ बाई दसको कोठा थियो, जसमा एउटा कुनामा टेबलमाथि उसको सिङ्गो भान्सा थियो। एकापट्टिको भित्तासँग जोडिएको खाटमा एउटा कृशकाय स्त्री शरीर गुटमुटिएको थियो। भुइँमा सतरञ्जा ओछ्याइएको थियो।

त्यो झ्याल नभएको बन्द कोठामा मलाई एक्कासि उकुसमुकुस भएर आयो। म फरक्क फर्केर बाहिर निस्कूँ कि त्यहीं उभिइरहूँ हुँदै थिएँ, उसले एउटा पुरानो टुल ल्याएर खाटको छेउमा राखी र मलाई बस्न इशारा गरी अनि मुख ढाकेर खाटमा पल्टिएकी स्वास्नीमान्छेलाई बिस्तारै घचघच्याउँदै कोमल स्वरमा भनी, ‘मामु! मैले तपाईंसँग कुरा गरेको थिएँ नि, मसँग बिहे गर्न इच्छुक मेरो बोसको बारेमा, उहाँ आउनुभएको छ।’

उसको कुरा सुनेर त्यो स्त्रीशरीरमा हलचल भयो। उनले आफ्नो अनुहारबाट ओढ्ने हटाइन् र मतिर हेरिन्। त्यो हाड र छालाको, पोषण नपुगे जस्तो अस्थिपञ्जर शरीर जसको अनुहारको रङ खरानीजस्तो थियो) तर्फ हात जोड्दै मैले बिस्तारै भनें,–‘म बिराज, बिराज थापा।’

उनले निक्कैबेर ध्यानपूर्वक मलाई हेरिन्। अचानक, एकबित्ता भित्र धसिएको उनका आँखामा अनौठो चमक उत्रियो।

‘पाहुनालाई चिया ख्वाउदिनस् मीतु?’ उनले मबाट आँखा नहटाईकन भनिन्।

‘दूध सकिएको छ मामु, म दूध लिएर आउँछु।’ मीता आफ्नो पछाडि ढोका ढप्काएर बाहिर निस्की।

उनको एकोहोरो, अनौठो हेराइ देखी विचिलत हुँदै मैले भनें, ‘तपाईं ढुक्क हुनुस्, म मीताको राम्रो ख्याल राख्नेछु।’

अचानक उनी हाँसिन्। मेरो शरीरको हड्डीसम्म चिसियो उनको त्यो डरलाग्दो हाँसोले। म हडबडाएर चुप लागें र ध्यानपूर्वक उनलाई हेर्न थालें।

‘सारा जीवन मैले तिम्रो बीभत्स मृत्युको कामना गरिरहें। तिमीलाई कुनै सजाय नदिएको आरोप लगाएर वर्षौंदेखि भगवान् मान्न छोडिदिएँ। तर, आज फेरि भगवान्को अस्तित्वमाथि भरोसा जाग्यो मेरो। साँच्चै भगवान्को घरमा देर हुने रहेछ, तर अँधेर कदापि नहुने रहेछ।’

उनले मेरा आँखामा हेरिन् अनि विचित्र स्वरमा भनिन्, ‘योभन्दा बीभत्स सजाय तिम्रा लागि अरू के हुन सक्छ बिराज थापा, उर्फ बिट्टु, कि तिमी मेरी छोरीसँग बिहे गर्न तयार भएर मेरो, मीरा रावतको, वर्षौंअघि एउटै स्कूलमा, एउटै क्लासमा पढ्ने अनि त्यो क्लासमेटको सामु उभिएका छौ; जसलाई गर्भवती बनाएर तिमी अचानक गायब भएका थियौं।’

यस्तो लाग्यो, मानौं सारा ब्रह्माण्ड डगमगायो। मानौं, गडगडाएर सिङ्गै आकाश ममाथि खस्यो। अब बल्ल मलाई याद आयो, मीता किन परिचित लाग्थी मलाई? किनभने, मीता मजस्ती देखिन्थी!

-सानु शर्मा (अष्ट्रेलिया)



Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School