प्रकाशित मिति : २० असार २०८३, शनिबार

क्यालिफोर्नियाको लिनवुडमा जुलाई ३, २०२६ मा स्वतन्त्रता दिवसको अवसरमा आतिशबाजी अवलोकन गर्दै स्थानीय बासिन्दा। तस्बिरः मारियो टामा/गेटी इमेजेस/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माउन्ट रसभोरमा २८ मिनेट लामो विशेष सम्बोधन गर्दै अमेरिकाको स्थापनाको २५० औं वर्षगाँठ समारोहको औपचारिक सुरुवात गरेका छन्। आफ्नो नियमित शैलीभन्दा केही छोटो यस भाषणमा ट्रम्पले अमेरिकी दृढता र देशभक्तिको प्रसंशा गरे।
सम्बोधनका क्रममा ट्रम्पले अमेरिकी सपना अझै जीवित रहेको र चुनौतीहरूका बाबजुद अमेरिकालाई कसैले हराउन नसक्ने दाबी गरे। ठीक त्यही समयमा, विश्वको अर्कोतर्फ इरानमा भने मानिसहरूले आफ्ना दिवङ्गत नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि गर्दै अमेरिकासँग बदला लिने नारा लगाइरहेका थिए।
आफ्नो भाषणमा अमेरिकी विशिष्टतालाई जोड दिँदै ट्रम्पले अमेरिकीहरू जस्तोसुकै असम्भव काम पनि फत्ते गर्न सक्षम रहेको बताएका छन्। यो २५० औं जन्मदिन अमेरिकाको अन्त्य नभएर “अमेरिकाको नयाँ स्वर्ण युगको सुरुवात” भएको समेत घोषणा उनले गरे।
भाषण सकिएलगत्तै माउन्ट रसभोरको आकाशमा २३ मिनेट लामो भव्य लाइट र आतसबाजी प्रदर्शन गरिएको थियो। यो प्रदर्शन चार पूर्व राष्ट्रपतिहरू जर्ज वासिङ्टन, थमस जेफर्सन, थियोडोर रुजवेल्ट, र अब्राहम लिन्कनको ६० फिट अग्लो मूर्ति कुँदिएको ऐतिहासिक पहाडमाथि गरिएको थियो।
उक्त आतसबाजीको ब्याकग्राउन्डमा अमेरिकाका चर्चित देशभक्तिपूर्ण गीतहरूका साथै जर्ज वासिङ्टन, अब्राहम लिन्कन, जोन एफ केनेडी, रोनाल्ड रेगन, बराक ओबामा र जो बाइडेन लगायतका पूर्व राष्ट्रपतिहरूका ऐतिहासिक भनाइहरू गुञ्जाइएका थिए।
माउन्ट रसभोरको यो भव्य कार्यक्रम त केवल सुरुवात मात्र थियो। राष्ट्रपति ट्रम्पले आज राति वासिङ्टन डीसीमा इतिहासकै सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरिने र त्यहाँ आफूले लामो विशेष सम्बोधन गर्ने प्रतिज्ञा गरेका छन्।