प्रकाशित मिति : २० असार २०८३, शनिबार

संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस। सन् १७७६ मा स्वतन्त्रताको घोषणा भएपछि सन् २०२६ मा अमेरिकाले आफ्नो स्वतन्त्रताको ऐतिहासिक २५०औँ वार्षिकोत्सव मनाउँदैछ। यस विशेष अवसरलाई देशभर “अमेरिका २५०” अभियान अन्तर्गत वर्षभर विभिन्न ऐतिहासिक, सांस्कृतिक र शैक्षिक कार्यक्रममार्फत भव्य रूपमा मनाइँदै छ।
अमेरिकी स्वतन्त्रताको औपचारिक सुरुवात सन् १७७६ मा भएको हो। दोस्रो महाद्वीपीय कंग्रेसले जुलाई २ मा बेलायतबाट स्वतन्त्र हुने प्रस्ताव पारित गरेको थियो। तर स्वतन्त्रता घोषणापत्रको अन्तिम भाषा र संशोधनहरू स्वीकृत भएपछि जुलाई ४ मा उक्त दस्तावेज औपचारिक रूपमा अपनाइयो। त्यसैले हरेक वर्ष जुलाई ४ लाई नै अमेरिकामा स्वतन्त्रता दिवसका रूपमा मनाउने परम्परा बसेको हो।
स्वतन्त्रता अघि उत्तर अमेरिकाका १३ उपनिवेशहरू बेलायती शासनअन्तर्गत थिए। “प्रतिनिधित्वबिनाको कर”, व्यापारिक प्रतिबन्ध र राजनीतिक हस्तक्षेपजस्ता नीतिहरूप्रति उपनिवेशवासीहरू असन्तुष्ट थिए। यही असन्तुष्टिका बीच सन् १७७४ मा पहिलो महाद्वीपीय कंग्रेस फिलाडेल्फियामा बसेको थियो, जसमा जर्जिया बाहेक १२ उपनिवेशका प्रतिनिधिहरू सहभागी भएका थिए। त्यसपछि १७७५ मा सुरु भएको अमेरिकी क्रान्तिकारी युद्धले स्वतन्त्रता आन्दोलनलाई निर्णायक चरणमा पुर्यायो।
स्वतन्त्रता घोषणापत्र तयार पार्न थोमस जेफरसनको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो, जसमा जोन एडम्स, बेन्जामिन फ्र्याङ्कलिन, रोजर शरमन र रोबर्ट लिभिङ्स्टन पनि सहभागी थिए। जेफरसनले तयार पारेको मस्यौदालाई समितिले परिमार्जन गरेपछि कंग्रेसले अनुमोदन गरेको थियो।
स्वतन्त्रता प्राप्त गर्ने प्रारम्भिक १३ उपनिवेशहरूमा डेलावेयर, पेन्सिलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, म्यासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाइना, न्यू ह्याम्पशायर, भर्जिनिया, न्यूयोर्क, नर्थ क्यारोलाइना र रोड आइल्याण्ड रहेका थिए। तिनै उपनिवेशबाट सुरु भएको संयुक्त राज्य अमेरिका अहिले ५० राज्यसम्म विस्तार भइसकेको छ।
२५०औँ वार्षिकोत्सवको अवसरमा अमेरिकाभर विशेष कार्यक्रमहरू आयोजना भइरहेका छन्। “अमेरिका २५०” पहलअन्तर्गत ऐतिहासिक प्रदर्शनी, शैक्षिक कार्यक्रम, सामुदायिक उत्सव, परेड, कन्सर्ट र आतिशबाजी आयोजना गरिएका छन्। फिलाडेल्फिया, जहाँ स्वतन्त्रता घोषणापत्र अनुमोदन गरिएको थियो, विशेष केन्द्रका रूपमा विभिन्न राष्ट्रिय कार्यक्रमहरूको आयोजना भइरहेको छ।
राजधानी वासिङ्टन डीसीको नेशनल मलमा परम्परागत रूपमा ठूलो आतिशबाजी प्रदर्शन, सांगीतिक कार्यक्रम तथा देशभक्तिपूर्ण समारोहहरू हुँदै आएका छन्। न्यूयोर्क, बोस्टन, शिकागो लगायत प्रमुख शहरहरूमा पनि भव्य आतिशबाजी, परेड र सार्वजनिक समारोहहरू आयोजना गरिएका छन्।