एलन मस्कको ‘राजनीतिक रकेट’ : रिपब्लिकन फुटाउन ‘अमेरिका पार्टी’, ट्रम्पविरुद्ध खुला जङ्ग !



प्रकाशित मिति : असार २४, २०८२ मंगलबार


विश्वकै धनी व्यक्ति एलन मस्कले हालै अमेरिकाको राजनीतिक परिदृश्यमा ठूलो तरंग ल्याउने घोषणा गरे । टेस्ला र स्पेसएक्सका संस्थापक मस्कले “अमेरिका पार्टी” नामक नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्दै डोनाल्ड ट्रम्पप्रति तीव्र असन्तोष पोखे । नयाँ दल गठन गर्ने निर्णयसँगै उनले अमेरिकी दुई-दलीय प्रणालीविरुद्ध सीधा चुनौती दिए ।

गत शनिबार राति, मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा नयाँ पार्टीको घोषणा गर्दै लेखे, “हामीले टेक्नोलोजी-मैत्री, बजेट-सन्तुलित, उर्जा-समर्थक र केन्द्रीय सोच बोकेको अमेरिका पार्टी गठन गरेका छौं। यो पार्टी अबको अमेरिका हो — कट्टरपन्थी वा चरम वामको होइन।”

उनका अनुसार यो पार्टीले असन्तुष्ट डेमोक्र्याट र रिपब्लिकन दुबैलाई समेट्नेछ। मस्कको मुख्य लक्ष्य भने ट्रम्प प्रभावित रिपब्लिकन नेताहरूलाई हराउनु हो । विशेषगरी ती नेताहरू जसले ट्रम्पको कर कटौती विधेयकलाई समर्थन गरे। उक्त विधेयकले अमेरिकाको ऋण ३ दशमलव ४ ट्रिलियन डलरले बढाउने अनुमान गरिएको छ।

एलन मस्कको ‘राजनीतिक रकेट’ : रिपब्लिकन फुटाउन ‘अमेरिका पार्टी’, ट्रम्पविरुद्ध खुला जङ्ग !

एलन मस्कको ‘राजनीतिक रकेट’ : रिपब्लिकन फुटाउन ‘अमेरिका पार्टी’, ट्रम्पविरुद्ध खुला जङ्ग !

एलन मस्क सन् २०२४ को निर्वाचन चक्रमा सबैभन्दा ठूलो दाता बनेका थिए, उनले झन्डै ३०० मिलियन डलर ट्रम्प समर्थक उम्मेदवारहरूलाई सहयोग गरे। तर, अहिले उनी नै ट्रम्पको विपक्षमा नयाँ मोर्चा खोल्दैछन्।

यसअघि ट्रम्प प्रशासनमा रहेको ‘सरकारी दक्षता विभाग’को नेतृत्व गरी मस्क केही महिनामै बाहिरिएका थिए। उनले प्रतिवद्धता गरेजस्तो बजेट बचत नगरेको भन्दै आलोचना समेत भएको थियो।

राजनीतिक विश्लेषकहरूका अनुसार अमेरिका जस्तो दुई दलको बलियो पकड भएको देशमा नयाँ पार्टी गठन गर्नु लगभग असम्भवजस्तै छ। बस्टन कलेजका राजनीतिक विज्ञ डा. डेविड ए. हप्किन्स भन्छन्, “५० वटा राज्यमा पार्टी दर्ता, कार्यकर्ता परिचालन, मतदाता नेटवर्क बनाउने कुरा यो केवल पैसा भएर सम्भव हुने कुरा होइन।”

फ्लोरिडाका पूर्व रिपब्लिकन सांसद डेविड जोलीका अनुसार, नयाँ पार्टी सफल बनाउन कम्तीमा १० वर्ष र करिब १ अर्ब डलर लाग्न सक्छ।

“अहिलेसम्म स्वतन्त्र राजनीति क्षेत्रमा स्रोतको खड्को थियो, मस्क त्यो अभाव पूर्ति गर्न सक्छन्,” जोलीले बताए।

एलन मस्कको ‘राजनीतिक रकेट’ : रिपब्लिकन फुटाउन ‘अमेरिका पार्टी’, ट्रम्पविरुद्ध खुला जङ्ग !

ट्रम्पको व्यंग्य : “मस्क रमाइलो गरून्”

मस्कको घोषणापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडियामा प्रतिक्रिया दिँदै हाँस्दै भनेका थिए, “तेस्रो पार्टीहरूले कहिल्यै काम गरेनन्, मस्क रमाइलो गरून्, तर मलाई यो हास्यास्पद लाग्छ।”

रॉयटर्सर-प्सोसको ताजा सर्वेक्षण अनुसार लोकप्रियता : ट्रम्प भर्सेस् मस्क
– ट्रम्पको लोकप्रियता : ४२ प्रतिशत
– मस्कको लोकप्रियता : ३६ प्रतिशत
– मस्कलाई नपत्याउने अमेरिकी : ५९ प्रतिशत
– ट्रम्पलाई नपत्याउने अमेरिकी : ५५ प्रतिशत

मजाले हेर्ने हो भने, मस्कको लोकप्रियता ट्रम्पभन्दा कम देखिन्छ। झन् चुनौती के भने, मस्कको सबैभन्दा बलियो समर्थक समूह पनि ट्रम्प समर्थकहरू नै हुन्। ट्रम्पलाई सन् २०२० मा मत दिने ७८ प्रतिशत व्यक्तिले मस्कलाई मन पराउँछन्।

अब के हुन्छ ?

‘अमेरिका पार्टी’को भावी रणनीति सार्वजनिक गरिएको छैन, तर मस्कले अब २०२६ को मध्यावधि निर्वाचनमा उम्मेदवारहरू उतार्ने संकेत गरेका छन्। उनले पार्टीका ५० वटै राज्य इकाइ बनाउन सुरु गरेका छन्।

विश्लेषकहरू भन्छन्, “यदि मस्कले यो प्रयास गम्भीरतापूर्वक निरन्तरता दिन सके, यो अमेरिकी इतिहासकै ठूलो राजनीतिक प्रयोग बन्न सक्छ।”

तर, यसबीच केही यथार्थ के हो भने — अमेरिकी राजनीतिमा ठूला विचारभन्दा ठूला सञ्जाल, पार्टी संरचना र सामाजिक पहुँच खेल्दछन्।

एलन मस्कको नयाँ अमेरिका पार्टी अमेरिकी राजनीतिक इतिहासमा अभूतपूर्व प्रयोग बन्ने सम्भावना बोकेको छ। तर, उनको राजनीतिक यात्राको सुरुआत चुनौतिपूर्ण छ, ट्रम्प जस्ता लोकप्रिय कट्टर राजनीतिज्ञसँग जुध्न केवल पैसा र नामले मात्र पुग्दैन। समय, योजना र जनसंपर्कको दीर्घकालीन लगानी जरुरी छ।

अब हेर्न बाँकी छ — मस्कको ‘राजनीतिक मून मिसन’ सफल हुन्छ कि यो पनि उनका अधुरा योजनामध्ये एक बन्न पुग्छ ! – रोयटर्स लगायतको सहयोगमा





Source link

Leave a Comment