नेकपा एमालेले २०८४ सालमा बहुमत ल्याउने उद्देश्य बोकेर तीन महिने वडाकेन्द्रित (जरा अभियान) चलाइरहेको छ । गत चुनावयता संगठन निर्माण र पार्टी परिचालनमा मिसन ग्रासरुटदेखि मध्यपहाडी संकल्प यात्रा सम्पन्न गरेको एमाले यतिखेर पार्टीका तमाम विकृति र विसंगति अन्त्य गर्दै आगामी चुनावमा बहुमत हासिल गर्ने सन्देश सहित जरा अभियानमा केन्द्रित छ ।
संघीय उपनिर्वाचनबाट हौसिएको एमालेलाई स्थानीय तहको उपनिर्वाचनको परिणामले नराम्रोसँग झस्काएको छ। पछिल्लो समय पार्टीको जराका रूपमा रहेका वडा, टोलस्तरका संगठनलाई यथोचित ध्यान नदिएको, आधारभूत तहमा पार्टीको पकड गुम्दै गएको, कार्यकर्ताहरू लाखापाखा लाग्न थाालेको र पार्टीमा स्वार्थकेन्द्रित प्रवृत्ति हावी हुँदै गएकोले त्यसको निदानका लागि भन्दै एमाले पार्टीको जरा-जरामा पुग्दैछ । तर यो जरा अभियानमा एमाले कार्यकर्ताले आफ्नै नेता र नेतृत्वप्रति थुप्रै प्रश्न उठाउने सम्भावना देखिन्छ ।
एमालेले आगामी चुनावमा सबैभन्दा ठूलो दल बन्ने उद्घोषसँगै गत वर्ष ६ बुँदे सङ्कल्प पनि गरेको थियो । आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने निर्णय भएको थियो।
नेताहरूले देश, जनता र पार्टीका लागि निर्मम रूपान्तरण गर्न आफूहरू तयार हुने सामूहिक सङ्कल्प पनि गरेका थिए । यो सङ्कल्पबाट नेताहरूमा के-कस्तो व्यावहारिक, सैद्धान्तिक र शैलीगत परिवर्तन आयो ? वडाकेन्द्रित जरा अभियानमा आम कार्यकर्ताले यो प्रश्न उठाउन सक्छन् ।
यतिखेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा आउने हल्ला चलेको छ। कतिपयले विद्या भण्डारीलाई एमालेको भावी अध्यक्षका रूपमा समेत प्रचार गर्न थालिसकेका छन्।
पार्टीका एकथरी नेताहरूले यसबारे आन्तरिक चलखेल सुरु गरेको भए पनि पार्टीकै अर्काथरी नेताहरू भने वाहियात् प्रयास भन्दै अर्कैखाले तर्क गरिरहेका छन् । पार्टीभित्रको यो अन्योल र विवादास्पद अभियानको खास अन्तर्य के हो ? यसबारेमा पार्टीको आधिकारिक धारणा के छ ? यो सब पार्टी अध्यक्ष केपी ओली र पूर्व राष्ट्रपति भण्डारीबीचको आपसी द्वन्द्व हो वा आन्तरिक सहमति ? आम कार्यकर्ताले प्रश्न गर्नेछन् ।
यतिबेला नेकपा एमाले आन्तरिक र बाह्य दुवै कारणले तमाम समस्यामा फसेको छ । नेताहरूमा व्यक्तिगत महत्वाकांक्षा र पदीय हानथाप बढ्दै गएका छन्। पार्टीमा सांगठनिक, वैचारिक, नीतिगत र व्यावहारिक लगायत तमाम समस्या छन् । पार्टीमा कुनै गुटबन्दी छैन भनिए पनि अमूक-अमूक व्यक्ति र समूहले आ-आफ्ना झुण्डहरू बनाएका छन्। ती समूह र झुण्डहरूले पार्टीमा एक-अर्कालाई सिध्याउने र अस्तित्व मेटाउने आन्तरिक चलखेल पार्टी भित्रैबाट गर्ने गरेका छन् । तिनै गुट-उपगुटका घात-अन्तर्घातका कृत्य-कुकृत्यले चुनावमा पार्टीले पराजय भोग्नुपरेका दृष्टान्त पनि तमाम छन् । एउटै पार्टीभित्र यस्तो अन्तर्घाती खेल र कुप्रवृत्तिको अन्त्य कहिले हुन्छ ? कार्यकर्ताले नेतालाई प्रश्न गर्नेछन् ।
केही समययता एमालेमा जनवादी केन्द्रीयता र लेनिनवादी सांगठनिक पद्धति हराउँदै गएको छ। पार्टीमा बहुदलीय जनवादको मर्म र आन्तरिक लोकतान्त्रिक अभ्यास समाप्त हुँदै गएको छ। सांगठनिक निर्णय र पद्धति लोप भइरहेको छ । केन्द्रका नेताको चाकरी गरेपछि सबथोक हुने भएपछि नेताहरूले कार्यकर्तालाई दास सम्झिने प्रवृत्ति बढ्दो छ।
वडाकेन्द्रित जरा अभियानमा नेताका फगत लामा भाषण होइन, समस्याको सही पहिचान र उपचार हुनुपर्छ । कार्यकर्ताका गुनासा, असन्तुष्टि र मनोभावलाई बुझेर तदनुरुपको नेतृत्व र नीति निर्माणमा पार्टी सक्षम हुनु जरूरी छ ।
पार्टी पद्धति, संगठन र कार्यकर्ताका भावनाको कुनै मान्यता छैन । कमिटीगत नेतृत्व कार्यकर्तामुखी हुनुपर्नेमा नेतामुखी हुने नकारात्मक प्रवृत्ति बढ्दै गएको छ । कार्यकर्ता दास जस्तै बनाइएका छन् भने नेता पञ्चायती हाकिम जस्ता बनेका छन् । पार्टीमा चाकरी प्रथा बढिरहेको छ । नेता/कार्यकर्ता बीचमा विगतको जस्तो सौहार्दता, आत्मीयता र अन्तरसम्बन्ध अब कसरी र कहिलेदेखि सुरु हुन्छ ? कार्यकर्ताले एमाले नेतृत्वसँग प्रश्न गर्न सक्छन् ।
एमालेका धेरैजसो नेताहरू हिजोका जस्ता सैद्धान्तिक, जनप्रेमी र अनुशासित देखिंदैनन्। पार्टी नेतृत्वको फगत चाकडी, चाप्लुसी र भरणपोषण गरेकै कारण उनीहरूले तमाम अवसर पाएका छन्। एमालेमा हिजोको जस्तो कम्युनिस्ट क्रान्तिकारी स्पिरिट र ऊर्जा देखिंदैन।
आम नागरिकले भोग्नुपरेका तमाम समस्याको चिन्तन पार्टीका नेताहरूमा हराउँदै जान थालेको छ। कम्युनिस्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्त हुँदै गएको छ। पार्टी नेतृत्व, कार्यकर्ता र आम नागरिक बीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गएको छ । पार्टीमा योगदान गरेका असली कम्युनिस्ट नेता–कार्यकर्ताहरू पछाडि पारिएका छन् । गुण्डा, डन, दलाल, कमिसनखोर र पूँजीपतिहरूको चंगुलमा पार्टी फसेको छ । तिनैको बोलवाला र स्वार्थअनुरूप पार्टीका गतिविधि सञ्चालन हुन लागेका छन् ।
सिङ्गो पार्टी माथिदेखि तलसम्म पूँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार कतै देखिंदैन । हिजोका अप्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता-कार्यकर्ताले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ । यस्तो प्रवृत्ति र अवस्थाको अन्त्य कहिले हुन्छ ? वडा तहका कार्यकर्ताले एमाले नेतृत्वसँग प्रश्न गर्नेछन् ।
एमालेका असली कार्यकर्तालाई आफ्नो पार्टीले कम्युनिष्ट सिद्धान्त र आचरणलाई त्याग्दै र नेताहरू सिद्धान्तच्युत हुँदै गएकोमा गहिरो चिन्ता छ । ती नेता÷कार्यकर्ताहरू आफूले अनेकन् सङ्घर्ष गरी निर्माण गरेको, हुर्काएको पार्टीमा दक्षिणपन्थी अवसरवाद र दलाल पूँजीवादी प्रवृत्तिको वर्चस्व बढेकोमा निराश भएका छन् । पार्टीभित्रै विकृति, अनुशासनहीनता र अराजकता बग्रेल्ती बढेकोमा खिन्न छन् । चिन्तित, निराश र खिन्न बनेका ती पुराना कार्यकर्ताका योगदानको उचित मूल्याङ्कन र उनीहरूको यथोचित सम्मान हुने परिपाटी पार्टीमा कहिले र कसरी हुन्छ ? कार्यकर्ताले प्रश्न गर्न सक्छन् ।
स्पष्ट सिद्धान्त र विचार भएको पार्टीका नेता र कार्यकर्ताहरू शक्तिहीन जस्ता किन भइरहेका छन् ? यी सब कमजोरीको जिम्मा नेतृत्वले लिने कि नलिने ? कार्यकर्ताले खुट्याउन खोज्नेछन् ।
यतिखेर एमालेका धेरैजसो केन्द्रीय नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा गएर ढुक्कले संगठन निर्माणमा गाउँ बस्ने अवस्था छैन । स्थानीय कार्यकर्ता र आम नागरिकहरू तत्–तत् क्षेत्रका नेताप्रति असन्तुष्ट छन् । चुनावमा रातदिन खटेर जिताएका आफ्नै नेताप्रति तमाम गुनासा, असन्तुष्टि र विरोध छन् । नेताहरूमा बदलिंदै गएको व्यावहारिक र आचरण शैलीप्रति आम कार्यकर्ताको गुनासो छ । यो गुनासो पनि प्रश्नात्मक रूपमा पक्कै पनि उठ्नेछ ।
२०४६ सालदेखि हालसम्मको अवधिमा नेकपा एमालेले पटक–पटक सरकारमा सहभागी हुँदै ७ पटक सरकारको नेतृत्व नै गरिसकेको छ । पटक पटक सरकारमा सहभागी भएको छ । एमाले नेतृत्व र सहभागी सरकारहरूले देश, जनता र कार्यकर्ताको हितमा के–कति काम गरे ? त्यत्रो वर्षको बलिदान, संघर्ष र निरन्तर आन्दोलनको प्रतिफल आम नागरिकलाई खोइ ? वृद्ध भत्ताको शुरुआत र ‘आफ्नो गाउँ आफैं बनाऔं’ को ब्याज कहिलेसम्म खाइरहने ? एमाले नेतृत्वमा भएका अन्य राम्रा कामको फेहरिस्त खोइ ? यी प्रश्नका उत्तर पनि वडा तहका कार्यकर्ताले अवश्य माग्ने छन् ।
एमालेमा करिब ५ लाखभन्दा बढी संगठित सदस्य भएको बताइन्छ । एमालेको केन्द्रीय कमिटी विशाल संख्यामा छ । पार्टीको स्थायी कमिटीमा थुप्रै नेता छन् । पोलिटब्युरोमा पनि तमाम नेता छन् । केन्द्रीय नेता त लगभग सबैजसो पालिकामा तमाम भेटिन्छन् । सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट र अनुशासन लगायत तथानामका आयोग र विभागमा पनि त्यतिकै संख्याका नेताहरू छन् ।
करिब २४ वटा वर्गीय संगठन छन् । सातै वटा प्रदेश कमिटीमा थुप्रै नेता छन् । तिनका पनि तमाम विभाग, आयोगमा तमाम नेता छन् । ७७ वटै जिल्ला कमिटीमा पनि थुप्रै नेताको लर्को छ । कतिपय नेताहरू आसन ग्रहणका बेला मात्रै झुल्किन्छन् । पार्टीको कार्यक्रममा, मञ्चमा आसन ग्रहण गराउँदा गराउँदै एक/आधा घन्टा बित्छ ।
तर, पार्टी र पार्टी अध्यक्षका विरुद्धमा चारैतिरबाट आक्रमण भइरहँदा, एमाले नेतृत्व, नेता र नीति विरुद्ध विषवमन भइरहँदा, समाजिक सञ्जालमा घृणा र अफवाह फैलिइरहँदा, नानाथरी दोषारोपण र तथानामका आरोप लागिरहँदा पनि त्यसको प्रतिरक्षा, बहस र प्रतिवाद गर्न नेता÷कार्यकताले किन सकिरहेका छैनन् ? एमालेको प्रतिरक्षा प्रणाली किन यति धेरै कमजोर भइरहेको छ ? आफ्नो पार्टी र पार्टी नेतृत्व विरुद्ध निरन्तर हमला र भ्रमपूर्ण प्रचार भइरहँदा पनि त्यसविरुद्ध प्रतिरोध गर्न नसक्ने यस्ता नेता÷कार्यकर्ताहरूको फगत झुन्डको के अर्थ ? यो प्रश्न पनि कार्यकर्ताले पक्कै उठाउने छन् ।
संगठनमा सबैभन्दा बलियो देखिएको भए पनि नेकपा एमाले आन्तरिक रूपमा भने निरन्तर कमजोर भइरहेको छ । एकपछि अर्को संकटमा फस्दै जान थालेको छ । नेताहरू सुविधाभोगी भएका छन् । आम जनतासँग एकाकार हुनुपर्नेमा उनीहरूको सम्बन्ध, उठबस र लेनदेन माफिया, दलाल र देशद्रोहीहरूसँग हुन थालेको छ ।
एमाले नेतृत्वमा भएका अन्य राम्रा कामको फेहरिस्त खोइ ? यी प्रश्नका उत्तर पनि वडा तहका कार्यकर्ताले अवश्य माग्ने छन् ।
जनतासँग नेताहरूको सम्बन्ध टुटेको छ । संगठन नै संगठन भएको पार्टी असंगठित जस्तो देखिन थालेको छ । पार्टीको नीति र कार्यक्रम जनतासम्म पुर्याउन सकिएको छैन । सरकारले गरेका राम्रा कामको प्रचार–प्रसार र सम्प्रेषण जनताबीच हुनसकेको छैन ।
स्पष्ट सिद्धान्त र विचार भएको पार्टीका नेता र कार्यकर्ताहरू शक्तिहीन जस्ता किन भइरहेका छन् ? यी सब कमजोरीको जिम्मा नेतृत्वले लिने कि नलिने ? यो कमजोरी नेतृत्वको हो वा नेता कार्यकर्ताको ? कार्यकर्ताले खुट्याउन खोज्नेछन् ।
अन्त्यमा, वडाकेन्द्रित जरा अभियानमा नेताका फगत लामा भाषण होइन, समस्याको सही पहिचान र उपचार हुनुपर्छ । कार्यकर्ताका गुनासा, असन्तुष्टि र मनोभावलाई बुझेर तदनुरुपको नेतृत्व र नीति निर्माणमा पार्टी सक्षम हुनु जरूरी छ । कार्यकर्ताका प्रश्न र नेताका सङ्कल्पले एमालेको गिरेको साखलाई पुनर्जीवित गर्न वडाकेन्द्रित अभियान सघन उपचार कक्ष बन्नु आवश्यक छ ।
(ज्ञवाली एमाले लुम्बिनी प्रदेशका सल्लाहकार हुन् ।)