विश्व स्वास्थ्य संगठन र यूएनएड्सका तथ्यांकहरूले एचआईभी/एड्स महामारीको विश्वव्यापी अवस्था उजागर गर्छ । सन् १९८१ मा पहिलोपटक एचआईभी संक्रमण पहिचान भएदेखि सन् २०२३ को अन्त्यसम्म ८ करोड ८४ लाख मानिस यसबाट संक्रमित छन् । जसमा ४ करोड २३ लाख व्यक्तिको मृत्यु एड्सका कारण भएको छ ।
पछिल्लो तथ्यांकअनुसार सन् २०२३ मा करिब १३ लाख नयाँ संक्रमित थपिए भने ६ लाख ३० हजार जनाको मृत्यु भएको छ । यसले एचआईभी संक्रमणको गम्भीर सूचकतर्फ संकेत गर्छ । अहिले पनि ३ करोड ९९ लाख रुपैयाँ एचआईभीसँग बाँचिरहेका छन् । जसमा ७७ प्रतिशत एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) सेवामा पहुँचमा छन् ।
एआरटीको व्यापक उपलब्धताले संक्रमित व्यक्तिको जीवनस्तर सुधार्न, भाइरल लोडलाई नियन्त्रणमा राख्न र संक्रमणको प्रसार घटाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । तथापि, यो महामारी अन्त्य गर्न शिक्षा, सेवा पहुँच र सामाजिक समर्थन अझै आवश्यक छ ।
नेपालमा एचआईभीको स्थिति
नेपालमा एचआईभी संक्रमितको संख्या ३० हजार भन्दा बढी अनुमान छ । सन् २०२३ सम्म नेपालमा ५० भन्दा बढी एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) केन्द्रहरू स्थापना भइसकेका छन्, जसले संक्रमित व्यक्तिहरूलाई उपचारमा मद्दत पुर्याएको छ । नेपाल सरकारले एचआईभीको रोकथामका लागि सुरक्षित यौन शिक्षा, कण्डम वितरण र जनचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र उपचारमा अझै पनि चुनौती देखिन्छ । प्रत्येक दिन एक जना मानिसमा एचआईभी संक्रमण हुने तथ्यले जनस्वास्थ्यमा अझै सुधार गर्नुपर्ने आवश्यकता स्पष्ट पार्छ ।
नेपालमा एचआईभी र एड्सको संक्रमणको स्तर विभिन्न जोखिमपूर्ण समूहहरूमा उच्च छ । सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, महिला यौनकर्मी, पुरुष समलैङ्गिक र कैदीहरूमा सामान्य व्यक्तिमा भन्दा संक्रमण दर उच्च देखिन्छ । यूनएड्सका अनुसार सन् २०२३ मा नेपालमा ४५७ नयाँ संक्रमणका घटना दर्ता भएका थिए, जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको हो । यसले नेपालमा एचआईभी रोकथामका प्रयासहरूको प्रभाव देखाउँछ ।
नेपाल सरकारले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने लक्ष्य राख्दै ९५-९५-९५ रणनीति अपनाएको छ । जसमा एचआईभी संक्रमितका ९५ प्रतिशतले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ९५ प्रतिशत संक्रमितले उपचारमा पहुँच पाउने र ९५ प्रतिशत उपचाररत व्यक्तिहरूको भाइरल लोड न्यून हुने सुनिश्चित गर्न प्रगति भइरहेको छ ।
चालिएका कदमहरु
नेपालमा एचआईभी/एड्सको रोकथाम र उपचारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–०२६ को उद्देश्य सन् २०३० सम्ममा नेपालमा एड्स महामारीलाई अन्त्य गर्नु हो । यस योजनाले उच्च जोखिममा रहेका समूहहरू सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलैङ्गिक तथा तेस्रोलिंगी, विदेशिने कामदार र तिनका दम्पती, र कैदीहरूलाई लक्षित गरी एचआईभी रोकथाम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूमा एचआईभी संक्रमित र प्रभावित व्यक्तिको उपचार, हेरचाह र सहयोग सुनिश्चित गरिन्छ ।
नैतिक र स्वास्थ्यसम्बन्धी समानता सुनिश्चित गर्दै यस योजनाको मुख्य उद्देश्य एचआईभी संक्रमण रोकथाम, संक्रमित व्यक्तिको स्वास्थ्य सुधार र मुख्य जोखिम समूहहरूमा एचआईभी सम्बन्धी असमानता घटाउनु हो । साथै नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा एचआईभी संक्रमणको रोकथाम गर्ने र जन्मजात एचआईभी संक्रमणको दर घटाउने लक्ष्य पनि राखिएका छन् ।
नेपालमा एआरटी (एन्टीरेट्रोभाइरल थेरापी) सेवा निःशुल्क उपलब्ध गराइन्छ । ६३ जिल्लामा ९२ एआरटी केन्द्रबाट यो सेवा प्रदान भइरहेको छ । यी केन्द्रहरूले संक्रमित व्यक्तिलाई नियमित उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउँछन् । आमाबाट बच्चामा हुने एचआईभी संक्रमण रोकथामका लागि समुदाय आधारित कार्यक्रम पनि सञ्चालनमा छन्, जस अन्तर्गत गर्भवती महिलाको एचआईभी परीक्षण निःशुल्क उपलब्ध गराइन्छ ।
सामाजिक जनचेतना, कण्डम र लुब्रिकेन्टको प्रवर्द्धन, एचआईभी परामर्श र परीक्षण, यौनरोगको निदान तथा उपचार र जोखिम न्यूनीकरणका कार्यक्रम पनि विभिन्न सरकारी स्वास्थ्य केन्द्र र संघसंस्थाबाट सञ्चालन भइरहेका छन् । यस प्रकारका कार्यक्रमले एचआईभीको प्रभाव कम गर्ने र यसको रोकथाममा महत्त्वपूर्ण योगदान पुर्याउने काम गरिरहेका छन् ।
चुनौती र कार्यक्रम सुधारका प्राथमिकता
नेपालमा एचआईभी/एड्सको प्रभाव नियन्त्रण गर्न विभिन्न सुधारका प्राथमिकताहरू तय गरिएको छ ।
समुदायको अर्थपूर्ण सहभागिता र सहकार्य
एचआईभी कार्यक्रमहरूको सफलता र प्रभावकारिता बढाउन समुदायको सक्रिय सहभागिता र सहकार्य सुनिश्चित गर्न आवश्यक छ। समुदायको समावेशिताले एचआईभी रोकथाम र उपचारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्याउँछ ।
हेपाटाइटिस र यौनरोगको रोकथाम र उपचार
हेपाटाइटिस बी, हेपाटाइटिस सी र यौन संक्रमित रोगहरूको रोकथाम र उपचार कार्यक्रमलाई देशभर विस्तार गर्नु जरुरी छ । यसले एचआईभी संक्रमण जोखिमलाई घटाउन सहयोग पुर्याउँछ ।
एचआईभी रोकथाम कार्यक्रमका प्राथमिकता
नयाँ एचआईभी संक्रमण रोक्न र हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखेर समयमै गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्छ । यसका लागि नवीनतम परीक्षण रणनीतिहरूको कार्यान्वयन जस्तै एचआईभी स्वपरीक्षण र सामाजिक सञ्जालमा आधारित परीक्षणका सेवाहरू महत्त्वपूर्ण छन् ।
प्रयोगशाला सेवाको क्षमता अभिवृद्धि
प्रदेश र स्थानीय स्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता वृद्धि गर्न, आवश्यक मानव संशाधन, बजेट, पूर्वाधार र आपूर्ति व्यवस्थापनमा सुधार गर्नुपर्नेछ । यसले परीक्षण र उपचारका सेवालाई द्रुत र प्रभावकारी बनाउन मद्दत गर्नेछ ।
निरन्तर उपचार र परामर्श सेवा
एचआईभी संक्रमित व्यक्तिको जीवन बचाउन र उपचार प्रक्रिया स्थिर राख्न प्रभावकारी परामर्श सेवा हुनुपर्छ । यसले संक्रमित व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउने र जीवनस्तरमा वृद्धि गर्नेछ ।
भाइरल लोड परीक्षणको पहुँच
एचआईभी संक्रमित व्यक्तिका लागि भाइरल लोड परीक्षणमा पहुँच बढाउन, सातवटै प्रदेशमा यसका सेवा विस्तार गर्नुपर्छ । यसले उपचारको प्रभावकारिता बढाउनेछ ।
मुख्य चुनौती र समाधान
एचआईभी संक्रमित व्यक्तिलाई समाजमा भेदभाव र कलंकको सामना गर्नुपर्छ, जसले उनीहरूको उपचारको पहुँचलाई कठिन बनाउँछ । एचआईभी र एड्सको बारेमा सही जानकारी अभावले जोखिमपूर्ण व्यवहार र संक्रमणको फैलावट बढाउँछ ।
यस्तै ग्रामीण र दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाको अभाव र सीमित स्रोतका कारण एचआईभी रोकथाम र उपचारका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न समस्या भइरहेको छ । एचआईभी नियन्त्रण कार्यक्रमका लागि आवश्यक वित्तीय स्रोतको अभावले यसलाई प्रभावकारी बनाउन चुनौती भइरहेको छ ।
यी चुनौतीहरुको समाधान गर्न केही कदम चाल्न जरुरी छ । विद्यालयमा यौनिकता शिक्षा पाठ्यक्रमको समावेश गर्दा विद्यार्थीहरूलाई सुरक्षित यौन अभ्यासको महत्त्व बुझाउन मद्दत पुग्नेछ । यसका लागि समावेशी र वैज्ञानिक आधारमा आधारित पाठ्यक्रम तयार गर्नुपर्छ, जसले युवापुस्तालाई यौन स्वास्थ्य र सुरक्षित यौन अभ्यासका बारेमा सजग बनाउँछ । यसले असुरक्षित यौन गतिविधिबाट बच्न र एचआईभी/एड्सका जोखिमलाई कम गर्न मद्दत गर्छ ।
समाजमा खुल्ला छलफलको वातावरण तयार गर्नुपर्छ
समाजमा यौनिकता र स्वास्थ्यका विषयमा खुल्ला छलफलको वातावरण तयार गर्नु आवश्यक छ । यसले संक्रमित व्यक्तिको स्वास्थ्यमा सुधार ल्याउन मद्दत पुर्याउनुका साथै यसले समाजमा रहेका सामाजिक, सांस्कृतिक र लैङ्गिक भेदभावलाई पनि हटाउन सहयोग पुर्याउँछ ।
एचआईभी संक्रमित व्यक्तिको यौन र प्रजनन् स्वास्थ्य अवस्थाबारे अध्ययन र अनुसन्धान गरेर लक्षित वर्गका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्छ । यसले विशेषगरी जोखिममा रहेका समूहहरूमा एचआईभी/एड्सका बारेमा सचेतना फैलाउनेछ र उनीहरूको जीवनस्तर सुधार गर्न मद्दत गर्नेछ ।
लक्षित वर्गका लागि कार्यक्रम सञ्चालन
प्रभावित र संक्रमित व्यक्तिको यौन र प्रजनन् स्वास्थ्यको अवस्था अध्ययन गरेर विशेष समूहहरू (महिला यौनकर्मी, समलैङ्गिक पुरुष, सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने) र अन्य जोखिम समूहका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसले उनीहरूलाई एचआईभीको रोकथाम, उपचार र स्वास्थ्य सेवामा पहुँच पुर्याउने अवसर प्रदान गर्छ ।
मोबाइल क्लिनिक
दुर्गम स्थानमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न मोबाइल क्लिनिक सञ्चालन गर्नुपर्छ । यी क्लिनिकहरूले स्वास्थ्य परीक्षण, एचआईभी परामर्श, एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) उपचार र यौन स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । मोबाइल क्लिनिकले जनसाधारणलाई नजिकैको स्थानमा सहज र सस्तो स्वास्थ्य सेवा प्रदान गर्नेछ, जसले एचआईभी/एड्सको रोकथाम र उपचारमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
निःशुल्क परीक्षण र उपचार
स्वास्थ्य सेवामा पहुँचको असमानता घटाउन सबै नागरिकलाई निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्नुपर्छ । विशेषगरी एचआईभी/एड्स जस्ता जीवनघाती रोगहरूको रोकथाम र उपचारका लागि जनतालाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । यसले संक्रमित व्यक्तिलाई समयमै उपचार प्राप्त गर्न मद्दत गर्नेछ र नयाँ संक्रमणको जोखिम कम गर्नेछ ।
सामाजिक समावेशिता र जनचेतना
मोबाइल क्लिनिक सञ्चालनले केवल स्वास्थ्य सेवा मात्रै होइन, सामाजिक समावेशिता र जनचेतना फैलाउने काम पनि गर्नेछ । यसले दुर्गम स्थानमा एचआईभी र अन्य यौन संक्रमित रोगबारे जानकारी पुर्याउने र उपचारमा सामाजिक पूर्वाग्रह हटाउने अवसर प्रदान गर्नेछ ।
महिला यौनकर्मी, सुई प्रयोगकर्ता र जोखिम समूहलाई केन्द्रमा राखेर नीति निर्माण
महिला यौनकर्मी, सुई प्रयोगकर्ता र अन्य उच्च जोखिम समूहका लागि विशेष नीति र कार्यक्रम तयार गर्नुपर्छ । यी समूहलाई लक्षित गरी सुरक्षित यौन व्यवहारको प्रवर्द्धन, स्वास्थ्य परीक्षण, परामर्श र उपचारका सुविधा उपलब्ध गराउनुपर्नेछ ।
यौनकर्मीलाई सुरक्षित यौन व्यवहारका बारेमा सचेत पार्न शिक्षा र प्रशिक्षण प्रदान गर्नुपर्छ । यसले उनीहरूको जोखिम कम गर्न र एचआईभी/एड्सको फैलावट रोक्न सहयोग पुर्याउनेछ । समूहका व्यक्तिलाई स्वास्थ्य सेवामा सहज पहुँच दिनुपर्छ । अस्पताल र क्लिनिकमा भेदभाव रहित सेवा उपलब्ध गराउनु, साथै निःशुल्क परामर्श र परीक्षणको सुविधा दिनु आवश्यक छ । महिला यौनकर्मीहरूको हकको रक्षा गर्न कानुनी पहलहरू लागू गर्नु र भेदभावको अन्त्य गर्न आवश्यक छ ।
अन्तर्राष्ट्रिय साझेदारीमार्फत वित्तीय स्रोत र प्रविधिको सुदृढीकरण
एचआईभी/एड्सको प्रभाव नियन्त्रणका लागि नेपालले अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ पार्नुपर्छ । यसका लागि वित्तीय स्रोत र प्रविधिको सुदृढीकरण आवश्यक छ । अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट वित्तीय स्रोत जुटाउने र एचआईभी रोकथाम र उपचारका कार्यक्रमको प्रभावकारिता बढाउने उपाय अपनाउनुपर्छ । एचआईभी परीक्षण र उपचारका नवीनतम प्रविधिहरूको उपलब्धता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारको सहयोग आवश्यक छ । यसले उपचार प्रक्रिया सुधार गर्न र एचआईभी/एड्सका लागि नवीनतम उपायहरूको कार्यान्वयनमा मद्दत पुर्याउँछ ।
सन् २०३० सम्म एड्स अन्त्य गर्ने लक्ष्य हासिल गर्न सबै क्षेत्रबाट साझा प्रयास आवश्यक छ । नीतिगत सुधार, शिक्षा, स्वास्थ्य सेवाको पहुँच र सामाजिक समर्थनमार्फत मात्र एड्समुक्त भविष्यको परिकल्पना पूरा हुनसक्छ ।