एक लेस्बियन जोडीको प्रेमिल संघर्ष

एक लेस्बियन जोडीको प्रेमिल संघर्ष


प्रायः प्रेम कहानीमा एउटा केटा हुन्छ, एउटी केटी हुन्छे। यो परम्परागत परिभाषा मात्र हो। आज प्रत्येक व्यक्तिले आफ्नो प्रेम कहानी आफैं बनाउँछन्। समाजले तोकिदिएको सीमामा मात्र प्रेम बस्दैन।

दुई महिलाको प्रेम कहानीमा पनि जीवनको बहार हुन्छ। समाजमा महिला–महिलाबीचको प्रेमविरुद्ध जतिसुकै धारिलो हतियार चले पनि केहीले यसलाई निरन्तर अगाडि बढाउँछन्।

परिवार, समाजले स्वीकार गरेका दाङ तुलसीपुरस्थित ५१ वर्षीया पवित्रा परियार र सोही ठाउँकै ५० वर्षीया विमला विश्वकर्मा २७ वर्षदेखि सँगै बस्दै आएका छन्। एक अर्काका परिपूरक भएर उनीहरू दुवैले जीवन चलाइरहेका छन्। दुई महिला जीवनलाई एकै रथका दुई पाङ्ग्रा बनाउन सकिन्छ र ? उनीहरू कुनै बेला अविश्वासका पात्र थिए।

परिवार र समाजले दुई महिलाले आपसमा जीवन कसरी चलाउँछन्? भनेर खिसीट्युरी गर्थे। उनीहरूलाई पनि समाजको डर थियो। यसबीच उनीहरूले त्यो डरलाई जितेका छन्। विभिन्न आरोप लगाउँदै आएको समाजको मुख टालिदिएका छन्। त्यसैले वर्षौंदेखि पवित्रा र विमलाको जोडी एक साथ छ। जहाँ आत्मविश्वास, माया र साहस हुन्छ, त्यहाँ जीवन स्वर्गीय आनन्दले भरिएको हुन्छ। त्यसैले कुनै विग्रह वा अन्य कुराहरूले यो जोडीलाई फरक पारेन।

पवित्रालाई जीवनसँगिनी विमलाको घरको कोठा, भान्सादेखि पानी छुन पनि पूर्ण रूपमा वर्जित गरिएको उनी सुनाउँछिन्। तर, दलित समुदायभित्र पनि धेरै प्रकारको विभेद अझै छ। विभेदमा परेका जातिले समेत यस्तो कुप्रथा अझै मानिरहेको पवित्रा बताउँछिन्।

‘विगततिर फर्केर हेर्दा कहिलेकाहीं त आफैंलाई पनि कहाली लाग्छ। दुई केटी एक साथ बस्ने र केटासँग विवाह नगर्ने भन्दा परिवारमा धेरै असजिलो थियो। दुवैको घर एकै ठाउँ थियो। बाल्यकालदेखि नै सँगै हुर्किएका कारण एक अर्कालाई खुबै माया गर्थ्यौं,’ पवित्रा भन्छिन्।

उनका अनुसार जातीय विभेद हिजोआज केही घटेको छ। छोएकै खान हुँदैन भन्ने मान्यता हराउँदै गएको छ। तर, अलि अघिसम्म उनीहरूको बस्तीमा जातीय विभेद कडा रहेको पवित्रा सुनाउँछिन्। जीवनभर छुट्नै नसक्ने प्रेम कहानी दुवैबीच रहेका कारण यी सामाजिक अप्ठ्यारा सजिलै पार गर्न सकिएको हो।  

कथित जातीय मान्यताअनुसार परियारभन्दा विश्वकर्मा माथिल्लो जातको मानिन्थ्यो। ती पुराना कुरा सम्झिँदै पवित्रा भन्छिन्, ‘मेरोभन्दा विमलाको जात ठुलो थियो। विमलाको घर जाँदा भित्र प्रवेश दिइँदैनथ्यो, अनि बाहिरै बस्न मात्रै नभएर सुत्नु पनि पथ्र्यो। म एक्लै सुतेको देखेर विमला पनि मसँगै बाहिर सुत्थिन्। हामी छुट्नै नसक्ने प्रगाढ मायामा थियौं।’

पहिलेको तुलनामा अहिले धेरै सुधार आएको छ। सहर बजारतिर त विभेद धेरै नै घटेको अनुभव हुन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई एकआपसमा विवाह गर्न भने अझै पनि समाजमा निकै गाह्रो छ।

विशेषगरी दलित र गैरदलितबीचको बिहेवारी पुरुष–महिलामा समेत सामान्य रूपमा चलेको छैन भने समलिंगी विवाह सहज हुने कुरा भएन। कतिपय त जातीय रूपमा अझै कट्टर रहेको पवित्रा सुनाउँछिन्।

पवित्राका अनुसार विवाह हुन मन मिल्नुपर्छ, जात होइन। दुःखसुख गरेर हामी रमाएर बसेकै छौं। केटीकेटी बसेर के गर्न खोजेको हो ? बुढेसकालमा के गर्ने हो? केटीकेटी के गर्छौं भनेर समाजमा हाँस्नेहरू अहिले हेपेर बोल्न नसक्ने पवित्रा बताउँछिन्। समाजको भनाइलाई वास्तै नगरेर काम नै गरेर खाने गरेको उनी सुनाउँछिन्।

पवित्रा र विमलाको जीवनमा संघर्षसँगै सफलता पनि छ। बाँच्नका लागि पवित्राले दैनिक ज्याला मजदुरी पनि गरिन्। ज्याला मजदुरीका क्रममा धेरै अन्याय पनि सहेको उनी बताउँछिन्। अप्ठ्यारो समय आयो भनेर कहिल्यै भाग्न हुन्न भन्ने उनी ठान्छिन्। जसले समस्या सामना गर्छ, उसले सहजै जीवन जिउन सक्छ।

‘कसले के भन्छ भनेर हेर्ने र सुन्ने होइन। आफ्नो लक्ष्यमा अघि बढिरहनुपर्छ,’ पवित्रा भन्छिन्, ‘दुनियामा जति ठुला गफ गरेर हिँडे पनि जीवन चलाउन मेहनत गर्नुपर्छ। जीवन भनेको संघर्ष हो। जस्तो परिवार, परिवेश, समाजमा बसे पनि प्रत्येक मान्छेले संघर्ष गर्नुपर्छ। एउटा बच्चा पनि अनेकन् संघर्ष गरेर जन्मेको हुन्छ। जन्मेका जति सबै बाँच्दैनन्। बाँचेकाले पनि धेरै संघर्ष गर्नुपर्छ।’

पवित्राले जिन्दगी चलाउन धेरै प्रकारका पेसा अँगालिन्। केही वर्षदेखि मादलसँग उनको साइनो गासिएको छ। धेरै ठाउँमा काम गरेवापत हिजोआज उनको दिनचर्या मादलको ताल जाँच्नेमा बित्छ। उनी खमारीको मुडोलाई मादलको आकार दिने व्यवसायमा व्यस्त छिन्।

उनी मादल व्यवसायतिर व्यस्त रहँदा विमला भने घरायसी कामको भार सम्हालेकी छिन्। पवित्रा भन्छिन्, ‘विमला पनि साह्रै मेहनती छिन्। घरको काम मैले केही गर्नुपर्दैन। घरको काम खाना बनाउनेदेखि खेतीपातीसमेत उनकै टाउकोमा छ। मैले घरको केही चिन्ता लिनुपर्दैन। मेरा लागि खाना पनि मैले काम गर्ने स्थानमै बोकेर आउँछिन्।’ विमलाको मायाले गर्दा नै हरेक काम गर्न ऊर्जा आएको पवित्रा बताउँछिन्।

मादल बनाउन व्यस्त पवित्रा वर्षमा एक सय ५० वटाभन्दा बढी मादल आफैं बनाउँछिन्। ‘राम्रो मादल बनाउन काठ, छाला, खरी सबैको राम्रो संयोजन आवश्यक हुन्छ,’ उनले भनिन्, ‘खमारी भन्ने एक प्रकारको काठ हो, जो मादलका लागि सबैभन्दा उपयुक्त मानिन्छ। खरी हुने भागको छाला बाख्राको हुन्छ। त्यस्तै डोरी चाहिँ अन्य जनावरको भए पनि हुन्छ। कट र एक प्रकारको ढुंगाको धुलोबाट खरी भर्ने गरिन्छ।’

उनले बनाएका मादलहरू प्रायः आफ्नै घरबाट बिक्री हुने उनी बताउँछिन्। विभिन्न स्थानमा मादल बेच्ने गरेका पसलेहरू पवित्राले बनाएको मादल खोज्ने गरेको उनी आफैं बताइन्। काठलाई मादलको आकार दिन चाहिने एउटा मेसिनका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गरेको उनी सुनाउँछिन्।

‘उक्त मेसिन आएपछि हातले गर्नुपर्ने काम घटेको छ। तर, बाँकी काम पनि धेरै हुने भएकाले ती सबै आफैं गर्छु। दिनमा दुईदेखि तीन वटा मादल बनाउँछु। खासमा मादल सधैं बिक्री हुँदैन। नेपालीहरूका मुख्य चाडपर्वमा मात्रै मादलको माग बढी हुन्छ,’ उनले भनिन्। मादल दुई हजारदेखि १२ हजारसम्ममा बिक्री हुने गरेको पवित्रा बताउँछिन्।

मितिनी नेपालकी कार्यक्रम अधिकृत विमला गुरुङका अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक धेरैले पहिले जस्तो अहिले तिरस्कृत भएर बस्नुपरेको छैन। उपत्यकाभित्र शैक्षिक योग्यता भएका मानिसहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसलाई अहिले अपहेलना र दुर्व्यवहार भोग्नुपरेको छैन। तर, दूरदराजमा भएका त्यस्ता व्यक्ति खुलेर स्थानीय तहमा आफ्नो अधिकार माग्न जाँदा सरकारी निकायभित्रै रहेका कर्मचारीबाट यस्तो पनि हुन्छ र? भन्ने विविध प्रश्न आउने गरेको उनी सुनाउँछिन्।

‘उपत्यकाभन्दा बाहिर रहेका त्यस्ता व्यक्तिहरू आफू फलानो हो भन्दै सरकारी निकायमा जाँदा फर्काउने गरेको मितिनी नेपालमा उपस्थित भएका धेरै पीडितले एउटै गुनासो पोख्ने गरेका छन्,’ गुरुङले भनिन्, ‘अझै पनि दूरदराजमा यसको मूल्यांकन हुन सकेको छैन। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसका लागि विभिन्न किसिमका नीतिनियम बने तापनि त्यसको कार्यान्वयनसमेत भएको छैन।’

यस्ता समुदायका मानिसलाई एलजिबिटिआइक्यु संस्थाले मात्रै सम्मान गर्ने होइन। हरेक व्यक्तिले यसको सही मूल्यांकन गर्न जरुरी छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका मानिसका मुद्दालाई राज्यको आफ्नै मुद्दा मान्नुपर्‍यो र फराकिलो सोचविचारले हेर्नुपर्ने उनको सुझाव रहेको छ।

लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण समाजमा आफ्नो वास्तविक पहिचान लुकाएर बस्न बाध्य भएका केही व्यक्तिहरू अब भने खुल्न थालेका छन्।

 लैंगिक तथा यौनिक अल्पसंख्यक भएकै कारण धेरै व्यक्तिले राम्रोसँग व्यापार व्यवसाय गर्न सकेका छैनन। ‘यो समुदायका मानिस आफ्नो पहिचान देखाएर आफ्नै व्यवसाय गर्ने धेरै कम छन्। तर, पवित्रा र विमलाले गरेको व्यवसाय यी समुदायका मानिसलाई प्रेरणादायी मान्न सकिन्छ,’ मितिनी नेपालकी कार्यक्रम अधिकृत गुरुङले बताइन्।

प्रेमलाई जोगाउन प्रेमीप्रेमिकाबीच समझदारी आवश्यक हुन्छ। लेस्बियन जोडी पवित्रा र विमला आफूजस्तै अल्पसंख्यकको आवाज बन्न सफल भएका छन्। गायक गोपाल सूचीकारले गरेको यो आह्वान हाम्रो समाजकै सुधारका निम्ति हो– ‘के पूजा गर्छौ मन्दिरमा गई, पहिला आफ्नो बानी सुधार। जहाँ मान्छेले मान्छेलाई भेदभाव गर्छौ, त्यहाँ ईश्वर पाउने के आस गर्छौ।’

प्रकाशित: १९ जेष्ठ २०८१ ०९:०३ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School