नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराई (किसुनजी) को निधन (२०६७ फागुन २० गते) पछि ललितपुर बाँडेगाउँस्थित भट्टराई आश्रममा न दलका नेता तथा कार्यकर्ता पुग्छन् न त समाजका अन्य व्यक्ति नै ।
सक्रिय राजनीतिबाट टाढिँदै गए पनि भट्टराईको निधनपूर्व दलका नेता तथा कार्यकर्ता मात्र होइन, विभिन्न स्वार्थ समूहका व्यक्ति यो वा त्यो बहानामा त्यहाँ पुग्ने गर्थे । राज्य सञ्चालन गर्नेहरूको पनि ध्यान पुग्ने गरेका थियो । तर भट्टराई निधनपछि बाँडेगाउँमा शक्ति र स्वार्थ समूहका व्यक्ति मात्र होइन, उनले जीवन दिएको कांग्रेसका नेता तथा कार्यकर्ता पनि आश्रममा पुग्दैनन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता दीपकुमार उपाध्यायका साथै लोकतान्त्रिक समाजवादीका नेता शरतसिंह भण्डारीसहितका केही नेता भट्टराई आश्रम बाँडेगाउँ आक्कलझुक्कल पुग्ने गरेका छन् । तर उनीहरू पनि त्यहाँ नपुगेको वर्ष दिन बढी भइसक्यो भने कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा अहिले पनि यदाकदा आश्रममा पुग्ने गरेका छन् । किसुनजीसहित अन्य नेताहरूप्रति आफ्नो श्रद्धा र सम्मान रहेको बताउँदै खतिवडाले भने– किसुनजी नेपाली राजनीतिको एक आदर्श पुरुष हो । उहाँप्रति मेरो खास सम्मान र सामीप्यता छ । केही अलमल र असामञ्जस्यतामा मात्र होइन, खुसी हुँदा पनि अक्सर आश्रम पुग्ने गर्छु ।
राजनीतिमा धनवाद र डनवादसहित विकृति हावी भएका बेला भट्टराई बालुवाटारबाट टिनको एउटा ट्याङ्का, सुराही र छाता मात्र लिएर बाहिरिएका थिए । कांग्रेसभित्र सन्त नेताको परिचय बनाएका उनै भट्टराईको त्यो सरल र सादगी जीवनको सत्ता र शक्तिको भागदौडमा रहेकाहरूले पनि प्रशंसा गर्छन् ।
प्रजातन्त्रको दीर्घायुका लागि पत्रकारिता बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने भट्टराईले २०१२ सालमा नेपाल पत्रकार संघ स्थापना गरे । २०१५ सालमा प्रतिनिधिसभाको सभामुख जिम्मेवारी सम्हाले ।
२०४६ को राजनीतिक परिवर्तनपछि गठन भएको अन्तरिम सरकारको नेतृत्व गरेका भट्टराईले निर्धारित समयमा संविधान निर्माण गर्दै आमचुनाव गराए । पार्टीभित्र घात, प्रतिघात र गुट राजनीतिले पटक–पटक अपमान सहनुको साथै आफू पराजित भएर पनि २०४८ को आमनिर्वाचन गराए । पार्टीलाई विभाजन हुनबाट जोगाएका भट्टराई २०५६ को आमचुनावपछि फेरि प्रधानमन्त्री बने । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने प्रयासमा जुटेकै बेला पार्टीभित्रैबाट असहयोग हुँदा भट्टराई सत्ताच्युत भए । तर राजनीतिक, आर्थिक र समाजिकरूपमा भट्टराई बेदाग निस्के ।
मुलुकका कतिपय गम्भीर विषय पनि परिस्थितिअनुसार हाँसो ठट्टामै टारिदिन सक्ने भट्टराईलाई सत्ता र शक्तिमा स्थापित हुन धेरैले सिरानी हाले । तर उनले कहिल्यै आग्रह वा पूर्वाग्रह राखेनन् । सबैसँग आफ्नै किसिमले भेटिराखे । र, भेट्न आउनेको स्वागतका साथै उनको स्याहारसुसारमा अमिता कपालीले समय बिताइन् । त्यो पनि सत्ता र शक्तिमा हुँदा मात्र होइन, अन्तिम क्षणसम्म कपालीले नै उनलाई स्याहारिन् ।
यो पनि पढ्नुहोस्
किसुनजीको निधनपछि सत्ताको रोटी सेक्नेहरूको मात्र होइन, भट्टराई आश्रम अरूको पनि प्राथमिकतामा परेन र परेको छैन । उनको महाप्रस्थानपछि रित्तिएको आश्रममा अहिले पनि उनै कपालीले प्राण भर्न समय खर्चिरहेकी छिन् । किसुनजीको निधनपछि एक्लिएकी कपालीको दैनिकी बिहान उठेर आफ्नो नित्यकर्मसँगै सुरु हुन्छ । यतिबेला कपालीको एक्लो र निरस जीवन छ । तैपनि उनी किसुनजी बाँचेकै बेलाजस्तो गरेर अहिले पनि त्यतिबेला उनी सुत्ने कोठामा रहेको सुराहीमा हरेक बिहान पानी भर्छिन् ।
पाइलट बाबाकी भक्त उनी कम्तीमा दुई घन्टा लगाएर पूजापाठ र जप गर्छिन् । पूजा र आरती नित्य उनको जीवनका नित्य कर्म बनेका छन् । आश्रममा राखिएको किसुनजीको तस्बिरअगाडि नियमित बत्ती बल्छ । निरस र एकांकी जीवन भए पनि त्यही बत्तीले जगाएको आशाजस्तै भट्टराईप्रतिको श्रद्धाले कपालीलाई अहिले पनि आश्रममा बस्न प्रेरित गरिहेको छ ।
कपाली बिहानको खाना खानुअघि पकाएका सबै परिकार किसुनजीलाई भोग लगाउँछिन् जसरी भक्तहरूले भगवानलाई आफूले खानेकुरा प्रत्येक क्षण चढाउँछन् । बाहिर कुनै काम र भेटघाटबाहेक खानापछि धार्मिक पुस्तक पढ्ने तथा जप र ध्यानमै उनको दिनचर्या बित्ने गरेको छ । आफ्नै घरमा बसेझँै लामो समय किसुनजीसित बसेकी उनले आश्रम र भट्टराईको जीवनकालका महŒवपूर्ण वस्तुहरूको संरक्षणमै बिताउने गरेकी छिन् ।
किसुनजीलाई हजुरबा सम्बोधन गर्ने कपालीमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र होइन, आमनेपालीको भट्टराईप्रति सम्मान र श्रद्धा रहेको बुझाइ छ । सबैको आआफ्नै व्यस्तताले आश्रममा आउन नभ्याएको र कतिले चाहेर पनि आउन नसकेको हुन सक्ने उनकी बताउँछिन् । किसुनजीप्रतिको श्रद्धा र सम्मान रहेकाले नै त्यतिबेलाको सरकारले आश्रम बनाइदिएको बताउँदै उनले भनिन्– हजुरबालाई बिर्सिएको भन्दा पनि सबै आआफनो काममा व्यस्त भएर आश्रममा चाहिँ आउन नभ्याएको हुन सक्छ ।
अघिल्लो वर्ष गरेका कार्यक्रमहरूको अझै केही पैसा तिर्न बाँकी रहेकाले उनी यस वर्ष औपचारिक कार्यक्रम गर्ने भन्दा विभिन्न आश्रममा रहेका अशक्त र असहायलाई खाना खुवाउने तयारीमा छिन् ।
२०५९ असोज १८ को शाही कदमअघि शेरबहादुर देउवा नेतृत्वमा गठन भएको सरकारले भट्टराईको नाममा आश्रम निर्माणका लागि पाँच रोपनी जग्गा दिने निर्णय गरेको थियो । सोहीअनुसार पछिल्ला सरकारहरूले आश्रम निर्माण गरेका हुन । सरकारले बनाइदिएको आश्रममा भट्टराईले मनाएको अन्तिम जन्म दिनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले किसुनजीलाई सरकारी गाडी उपहार दिएका थिए । उनको निधनलगत्तै सरकारले त्यो गाडी फिर्ता लगेको छ ।
यो पनि पढ्नुहोस्
चिकित्सकको लापरबाही, महिलाको पिसाब थैलीमा प्वाल
किसुनजीले त्यसअघि प्रयोग गर्दै आएका वा ३ च ७७२१ नम्बरको गाडी आश्रममै थियो । केही समयअघि बिग्रेको गाडी मर्मतका लागि वर्कसपमा छाडिएको छ । तर त्यसबापत तिर्नुपर्ने रकम अभावमा थन्किएको छ । किसुनजीको स्याहारसुसारमा आफ्नो ऊर्वर यौवनकाल खर्चेकी कपालीले गाडी निकाल्न हारगुहार गर्दै आएकी छन् । तर गाडी मर्मतबापत दिनुपर्ने रकम जुटाउन भने सकेकी छैनन् । केही दिनअघि हामी पुग्दा गाडी नभएकै कारण पूर्वसभामुख दमननाथ ढुंगानाको परिवारलाई भेट्न जानसमेत नपाएको गुनासोसहित गाडी मर्मतबापत दिनुपर्ने रकम जोहोका लागि कपालीले टेलिफोनमा आग्रह गरिरहेकी थिइन् ।
चार करोड भन्दा बढी लागतमा निर्माण भएको आश्रमलाई संग्रहालयमा परिणत गर्ने नेता तथा कार्यकर्ता मात्र होइन, मन्त्रीदेखि प्रधानमन्त्रीसम्मले त्यतिबेला प्रतिबद्धता जनाएका थिए । किसुनजीको सादगीपना नेपालीको राजनीतिमा उदाहरणीय रहेको जनाउँदै उनको निधनपछि पुगेका सबैले त्यहाँ समाधिस्थल पनि बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही आश्वासन र प्रतिबद्धताअनुसार आश्रम संग्रहालयमा परिणत हुने र किसुनजीले प्रयोग गरेका सबै सामग्री हस्तान्तरणको प्रतीक्षामा छिन् कपाली ।
चौबीसै घन्टा हरप्रकारले सहयोगी बनेकी कपालीको अस्वाभाविक निकटताका साथै अनेक टीका–टिप्पणी पनि भए । तर उनले त्यसको कुनै प्रवाह गरिनन् । आफ्नो कर्ममा निरन्तर जुटेकी कपाली भट्टराई आश्रमलाई संग्रहालय बनाउन र किसुनजीले प्रयोग गरेका सबै सामग्री संरक्षण गरेर बसेकी छिन् । राज्य सञ्चालन गर्नेहरूको ध्यान नपुग्दा आश्रमलाई संग्रहालयमा परिणत गर्ने कार्य अघि बढ्न सकेको छैन् ।
त्यही आश्वासन र प्रतिबद्धताअनुसार आश्रम संग्रहालयमा परिणत हुने र किसुनजीले प्रयोग गरेका सबै सामग्री हस्तान्तरणको प्रतीक्षामा छिन् कपाली ।
केन्द्र, प्रदेश र स्थानीय सरकारमा सहभागी प्रतिनिधिसभाको ठूलो दल कांग्रेसले आफ्ना संस्थापक नेतामध्येका एक भट्टराईको नाममा रहेको आश्रमको स्याहार र सम्भारमा पनि कुनै चासो दिएको छैन । जसले गर्दा आश्रमभित्र निर्माणका कतिपय सामग्री असरल्ल छन् । आश्रम प्रवेशको मूल ढोका बाहिरको पर्खाल किसुनजीबिनाको आश्रम जस्तै फुङ्ग उडेको छ । मूल ढोकाको छेउमै राखिएको किसुनजीले चढ्ने पुरानो वा २ च १८४२ नम्बरको गाडी धुलोले छोपिने अवस्थामा पुगेको छ भने सुरक्षामा चुनौती पनि थपिँदै गएको छ ।
सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी किसुनजीको निधनपछि झण्डै एक वर्षपछि फिर्ता भए । सर्वोच्च अदालतले भूतपूर्व भिआइपीहरूलाई नियमावली बनाएर मात्र सुविधा लिन र दिन सरकारलाई आदेश दिएपछि आश्रममा रहेका सबै सुरक्षाकर्मी फिर्ता भएका थिए । त्यसपछि कपालीले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारलाई टेलिफोन गरी सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिन् । केही समयपछि एउटा प्रहरी टोली गृह मन्त्रालयले त्यहाँ पठाइदिएको पनि थियो ।
२०७९ को आमनिर्वाचनपछि पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रीको जिम्मेवारीमा मन्त्रालय प्रवेश गरे । लामिछानेले भट्टराई आश्रमसहित भूतपूर्व भिआइपीहरूलाई उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता बोलाए । कपालीले फेरि कांग्रेससहित आफ्नो सम्पर्क र सम्बन्धमा रहेकालाई हारगुहार गरिन् । केही दिनमा सुरक्षाकर्मी फेरि फिर्ता भए । एकान्तमा रहेको आश्रमको सुरक्षा चुनौती रहे पनि लामिछाने दोस्रोपटक गृहमन्त्री भएपछि फेरि त्यहाँका सुरक्षाकर्मी फिर्ता भएका छन् । अहिले सशस्त्र प्रहरीका राकेशकुमार मात्र त्यहाँ छन् ।
कसरी जोडिइन् कपाली ?
झन्डै ४० वर्र्षअघि किसुनजीसँग नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ताका रूपमा भेटेकी कपाली २०४६ सालको राजनीतिक परिर्वतनपछि सहयोगीका रूपमा काम गर्न थालेकी हुन् । काठमाडौँको नक्साल घर भएकी कपालीका बुबा कांग्रेस राजनीतिमा लागेकाले उनको घरमा नेताहरूको आवतजावत भइरहन्थ्यो । किसुनजीसँग भेट भएपछि उनलाई कार्यकर्ताका रूपमा राजनीतिक सहयोग गर्न थालेकी थिइन् । किसुनजी अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुअघि नै कपालीले घर–परिवार त्यागेर उनको स्याहारमा जुटेको जानकारहरू बताउँछन् ।
कांग्रेस नेता खतिवडा भने कपाली २०४३ मा भएको निर्वाचनमा उनी हालको काठमाडौँ महाननगरपालिका (काठमाडौँ नगरपालिका) को वडा नम्बर १ बाट वडा सदस्य निर्वाचित भइसकेको बताउँछन् । पञ्चायत विरोधी आन्दोलनमा उनको परिवारै लागेको जनाउँदै उनले भने– पञ्चायत विरोधी आन्दोलनमा सक्रिय हुने क्रममै अमिताजीसहित हामी किसुनजीसँग नजिक हुन पुग्यौँ । उहाँले निस्वार्थ किसुनजीको सेवा गर्नुभयो ।
कपाली बिहानको खाना खानुअघि पकाएका सबै परिकार किसुनजीलाई भोग लगाउँछिन् जसरी भक्तहरूले भगवानलाई आफूले खानेकुरा प्रत्येक क्षण चढाउँछन् ।
अविवाहित कपाली झण्डै तीन दशक किसुनजीको अभिन्न अंग बनेर रहिन् । भट्टराईको मृत्युपछि पनि कपाली उनकै सेवामा लागिरहेकी छिन् । भट्टराईको जन्मजयन्ती र स्मृति दिवस मनाउने जोहोमा उनी अहिलेदेखि नै लागेकी छन् । अघिल्लो वर्ष गरेका कार्यक्रमहरूको अझै केही पैसा तिर्न बाँकी रहेकाले उनी यस वर्ष औपचारिक कार्यक्रम गर्ने भन्दा विभिन्न आश्रममा रहेका अशक्त र असहायलाई खाना खुवाउने तयारीमा छिन् ।
को हुन् भट्टराई ?
पिता संकटाप्रसाद र माता ललितादेवीका पुत्रका रूपमा १९८१ पुस ८ गते कृष्ण द्वादशीका दिन बिहार (भारत) को चम्पारन जिल्लाको रामनगर रियासतमा जन्मेका भट्टराईले वनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा चासो राख्ने कृष्णप्रसाद विश्वविद्यालय अध्ययनका क्रममा सिटी स्टुडेन्ट युनियनको अध्यक्ष चुनिएका थिए । ‘भारत छोडो’ आन्दोलनमा सहभागी भट्टराई ४ मार्च १९४७ मा विराटनगरमा मजदुर हड्तालको घोषणापछि बिपी कोइरालाको आग्रहमा एमए अन्तिम वर्षको परीक्षा छाडेर वनारसबाट विराटनगर हिँडे ।
२००५ सालमा पहिलोपटक काठमाडौँ आएका भट्टराई २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस मिलाएर गठन भएको नेपाली कांग्रेसको सहमहामन्त्री बनेका थिए । प्रजातन्त्रको दीर्घायुका लागि पत्रकारिता बलियो हुनुपर्छ भन्ने मान्यता बोक्ने भट्टराईले २०१२ सालमा नेपाल पत्रकार संघ स्थापना गरे । २०१५ सालमा प्रतिनिधिसभाको सभामुख जिम्मेवारी सम्हाले । र, २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई विघटन गर्दै पञ्चायती व्यवस्थाको सूत्रपात गरेपछि तत्कालीन प्रधानमन्त्री बिपी कोइराला, वरिष्ठ मन्त्री गणेशमान सिंह, भट्टराईसहितका नेताहरूले झण्डै १० वर्ष कारावास भोगे । र, १९७० मार्च २७ मा जेल मुक्त भएपछि भट्टराई देशभित्रै रहेर पार्टीको संगठन निर्माणमा सक्रिय रहे ।
यो पनि पढ्नुहोस्
पर्सेन्टाइल चलखेलले संकटमा चिकित्सा शिक्षा
२०३३ मा भारतको पटनामा भएको सम्मेलनमा बिपी कोइरालाले स्वास्थ्यका कारण उनलाई पार्टीको कार्यबाहक सभापतिको जिम्मा दिए । २०३९ साउन ६ गते बिपीको निधन भएपछि मंसिरमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको सम्मेलनबाट भट्टराईले पुनः कार्यबाहक सभापतिको जिम्मेवारी पाए । डेढ दशक भन्दा लामो समय कार्यबाहक सभापति भएर पार्टी चलाए । २०४८ फागुन १ देखि झापाको कलवलगुडीमा सम्पन्न आठौँ महाधिवेशनबाट सर्वसम्मतिमा पार्टी सभापति चुनिएका भट्टराईले २०५३ सालसम्म पार्टीको नेतृत्व सम्हाले । २०५६ सालमा भएको आमनिर्वाचनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा २०५६ जेठ १३ गते दोस्रोपटक मुलुकको प्रधानमन्त्री भए । एघार महिना सरकारको नेतृत्व गरेका कृष्णप्रसादले पार्टीभित्रैबाट सहयोग नमिलेपछि २०५६ चैत ३ मा प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
यतिबेला कपालीको एक्लो र निरस जीवन छ । तैपनि उनी किसुनजी बाँचेकै बेलाजस्तो गरेरअहिले पनि त्यतिबेला उनी सुत्ने कोठामा रहेको सुराहीमा हरेक बिहान पानी भर्छिन् ।
आन्तरिक खिचातानी बढेर पार्टी विभाजन भएपछि भट्टराई सक्रिय राजनीतिबाट टाढिए । शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसप्रति भावनात्मक समर्थन जनाए पनि उनी खुलेर कुनै पक्षमा लागेनन् । २०६४ असोज ८ मा पार्टी एकीकरण समारोहपछि भट्टराई कांग्रेसका कुनै कार्यक्रममा सहभागी भएनन् । उक्त समारोहपछि बसेको कांग्रेसको संयुक्त महासमितिको बैठकले पार्टी विधानमा संशोधन गर्दै संवैधानिक राजतन्त्र हटाएर गणतन्त्रमा जाने निर्णय ग¥यो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै भट्टराईले कांग्रेस आफ्नो सिद्धान्त र विचारबाट विचलित भएको भन्दै पार्टीको साधारण सदस्यतासमेत परित्याग गरे । कांग्रेसका एकमात्र जीवित संस्थापक भट्टराई १२औँ महाधिवेशनमा पनि सहभागी भएनन् । व्यक्तिगतरूपमा स्पष्ट वक्ता र विनोदप्रेमी भट्टराई जीवनभर अविवाहित नै रहे ।
प्रतिमा गौतम (केन्द्रीय सदस्य, नेपाली कांग्रेस)
नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराई मात्र होइन, बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, महेन्द्रनारायण निधिसहितका हाम्रा अग्रज र पूर्वजप्रति पार्टीका नेता तथा कार्यकर्ताको उच्च सम्मान छ । उहाँले देखाएको बाटो र लिएको नीति हामीले आत्मसात गर्दै आएका छौँ । उहाँहरूको नाम स्थापना भएका संरचना र संगठनहरूलाई पनि पार्टीका नेता तथा कार्यकर्ताले ध्यानमा राख्नुपर्ने पर्छ । किसुनजीको आश्रम होस् वा अन्य ठाउँमा नजानुको मतलब उहाँहरूलाई भुल्यो भन्ने होइन । हामी सबैको आआफ्नो आस्था र विश्वासअनुसार धर्म मान्छौँ । हाम्रा तीर्थस्थल छन् । त्यहाँ हामी सधैँ र सबै पुग्छौँ र ? पुग्दैनौँ नि ।
त्यस्तै, नेपाली कांग्रेसका लागि बिपी कोइराला, किसुनजीसहितका अग्रज र पूर्वजहरू हाम्रो आस्था र विश्वासको धरोहरहरू हुनुहुन्छ । उहाँको नाममा स्थापना भएका संघ, संगठन र आश्रमहरू पुग्न नभ्याए पनि उहाँहरूले छाडेका पदचिह्न हामीले सम्झेका छौँ र त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरेका छौँ । जसरी हामीले मान्ने भगवानलाई चाहेर पनि बिर्सन सक्दैनौँ त्यसैगरी कांग्रेसजनले पनि उहाँहरूलाई बिर्सने भन्ने कुरा सम्भव नै छैन । तर गर्दा भन्दा पुग्न सकिएको छैन । त्यसलाई भने स्वीकार गर्नुपर्छ ।
प्रकाशित: ७ पुस २०८१ १७:२९ आइतबार