पत्रकार महासंघको चुनावपछि मतगणनाको लागि मतपत्र पत्रकार महासंघमा लगिएको थियो । जाँदाजाँदै अँध्यारो देखिएको भवनको गेटमै बाला अधिकारी बिजुली किन आएन भनेर मिटर हेर्नेदेखि फोन गरेर बुझ्न लागिरहेकी थिइन् । दुई दशक पत्रकारिता गरिसकेको अनुभवले कुनै स्थानमा डर लाग्ने कुरै भएन ।
तर मत गन्न रातभर बस्दा अनिंदो र भोकोभन्दा बढी रातको २/३ बजे पनि एक किसिमको सन्तुष्टि र खुशीले मलाई यो लेख्न प्रेरित गरिरहेको थियो । महासंघको अध्यक्षको उम्मेदवार थिइन्, निर्मला शर्मा । महिला उठ्दा महिला नै चाहिने त होइन तर मतगणनामा पुरुष जत्ति नै महिला पनि थिए त्यहाँ ।
त्यसमा उनीहरूको आत्मविश्वास ह्वात्तै बढेको थियो । यो स्थान र घर हाम्रो पनि हो र हामी यहाँ सुरक्षित छांै भन्ने धेरैको अनुहारले बोल्थ्यो । रातभर मतगणना गर्नु मात्र हैन, नतिजा सुन्न र खुशी मनाउन समेत महिलाहरू बढी नै आएका थिए । राति ३/४ बजे घर फर्कंदा समेत उम्मेदवारले नै ‘यति राति कसरी जान्छौ, बस’ भन्दा मेरो इनड्राइभ ट्याक्सी आइसकेको थियो ।
ल राति पनि पठाओ चल्छ र ? रातभर जतिबेला भन्यो उतिबेला सवारी साधन पाइन्छ भन्ने थाहा हुन पनि धेरैलाई मतगणनामा बस्नु पर्यो । धेरैले पठाओ मगाएर घर गए । मत गन्नेदेखि नतिजा घोषणाको दिनसम्म रातभर नै पत्रकार महिला आउने–जाने क्रम जारी रह्यो । केही पत्रकार पुरुषले आरक्षण खोज्न आउनु समेत भनेर व्यङ्ग्य पनि गरे ।
यसको अर्थ हो महिलाले नेतृत्व गर्दा कसरी समग्र महिलालाई त्यो स्थान आफ्नो लाग्छ र आत्मविश्वास बढ्छ भन्ने हो । पछाडि आउनेलाई लाग्छ अगाडि कोही पुगिसक्यो त म पनि किन सक्दिनँ ? त्यसैले पत्रकार महासंघमा निर्मला शर्माले बनाएको बाटो धेरैको लागि आशा र साहसको बाटो हो ।
निर्मला शर्मा चुनाव लड्दा साथमा पुरुष कमै हिंडे । महिला हिंड्न पाउनुले खुशी त पक्कै हुन्थ्यो तर पुरुष पनि साथै भए हुने भन्ने हामीलाई लागि नै रह्यो । किनकि धेरै अध्यक्ष पुरुष हुँदा हामी सुनधाराका गल्लीदेखि प्रज्ञा–प्रतिष्ठानसम्म भोट माग्न सँगै हिंडेका थियौं ।
पत्रकारितामा महिलाको संख्या बढाउने र एकीकृत गर्ने उद्देश्यले शुरू भएको सञ्चारिका समूहको अहिलेको मूल उद्देश्य पत्रकार महिलालाई नेतृत्वमा पुर्याउने भन्ने हो । यसमा पूर्व अध्यक्ष बन्दना राणा, बविता बस्नेतदेखि सबै सदस्यको आ–आफ्नो भूमिका छ ।
हाम्रो पालामै पनि पत्रकारिता महिलाको लागि होइन अर्को जागिर खोज भन्ने पत्रकार पुरुष नै थिए भने हामीभन्दा पहिला काम गर्ने दिदीहरूको दुःख बयान नै गर्न सकिंदैन । एक वर्षअघि हामीले चार प्रदेशमा नेतृत्व विकास तालिम गर्दा धेरै पत्रकार महिलाले आफूले सक्ने पद पनि दाबी नगरेको र कुनै पद दिंदा समेत चलाउन सक्ने आत्मविश्वास नभएको बताएका थिए । निर्मला शर्माको जितले भने अहिले स्थिति बदलिंदै गएको संकेत गरेको छ ।
सञ्चारिका समूहले वर्षेनि सम्पादकसँग छलफल कार्यक्रम गरिनै राख्थ्यो । पहिला सम्पादकहरू भन्थे ‘रातिसम्म महिला बस्दैनन्, काम गर्न सक्दैनन् ।’ अघिल्लो वर्षको छलफलमा एक सम्पादकले भने, ‘महिलालाई काम लगाउन सकिंदैन ।’
अर्का सम्पादकले भने ‘केटाहरू बहाना बनाउँछन् बरु केटीहरूलाई काम लगाउन सजिलो छ । हाम्रोमा धेरै प्रमुख भनिएका समाचार महिलाले नै लेखिरहेका छन् ।’ यसले पनि के देखाउँछ भने हाम्रा समाचार कक्ष समावेशी भएका छन् र विस्तारै महिलालाई काम गर्ने वातावरण बन्दैछ ।
त्यसो त आरक्षण र अवसर फरक कुरा हुन् । नसक्नेलाई सक्ने बनाउन आरक्षण र सक्नेलाई प्रमाणित गर्न अवसर आवश्यक छ । जब आरक्षणको प्रावधान आयो पत्रकार महासंघमा पनि आरक्षणको कोटा आयो ।
मैले सोचें, महिला नेतृत्वमा आउनु भनेको महिला मात्र हुनु पनि त हैन । हामीले त समावेशी खोजेको हो । घर, समाज, संघ-संस्था र अफिस सबै स्थानमा महिला–पुरुष दुवै हुनु र मिलेर काम गर्नुमा परिणाम राम्रो हुन्छ
मैले पत्रकार महासंघ तनहुँको सचिवमा उम्मेदवारी दिंदा महिला सदस्यमा को बस्छ भनेर प्रश्न गरी मलाई सदस्यमा बस्न दबाब दिएदेखि मलाई आरक्षण मन पर्न छाडेको हो । तर मैले सचिव पद छाडिनँ । मलाई अहिलेसम्म आरक्षणले फाइदा हैन घाटा मात्र लगाएको अनुभव छ ।
महासंघमा यसअघि महिलाले उपाध्यक्षसम्मको पद सजिलै सम्हालेका छन् । राधा बुढाथोकी, यशोदा तिम्सिना, अनिता बिन्दु, बाला अधिकारी एकसे एक सक्षम नाम हुन् । लक्ष्मी पुनले सचिव पद राम्ररी चलाएर विदा भएको उदाहरण छ । अघिल्लो पटक नै पत्रकार महासंघको दुई ठूला जिल्ला धनुषा र कास्कीमा मनिका झा र विमला भण्डारीले अध्यक्ष बनेर काम देखाइसकेका छन् ।
यसपटक भने केन्द्र सहित चार वटा जिल्ला काठमाडौंमा शोभा अर्याल, मोरङमा सुशीला पाठक, रोल्पामा खुबिना सुनारी मगर र मुस्ताङमा सुनदेवी रसाइली महिला अध्यक्ष बनेका छन् । कोशी प्रदेशमा हिमा चेम्जोङ र गण्डकी प्रदेशमा जमुना शर्मा महासचिव बनेका छन् ।
एक्लै महिला बागी उठ्ने हिम्मत समेत अमृता अनमोलले देखाइन् र राम्रो मत समेत ल्याइन् । यसरी महिलाले साहस गरेर बाटो बनाएपछि नै अर्को महिलालाई त्यही बाटो हिंड्न सजिलो हुन्छ । संघ-संस्थामा काम गर्नु त परको कुरा कार्यक्रममा जाँदा समेत पत्रकार महिला भेटिंदैनथे र आयोजकलाई एक जना महिला बोलाउन समेत अप्ठ्यारो पथ्र्यो ।
म स्याङ्जामा कान्तिपुर दैनिकको रिपोर्टर थिएँ । दशैंमा नेपाली सेनाले आयोजना गरेको साँझको चियापान कार्यक्रम थियो । सरकारी कार्यालयका प्रमुखदेखि पत्रकारसम्म थिए । मेजरले भने, ‘वसन्तीजी, तपाईंलाई एक्लै आउन अप्ठ्यारो होला, एक जना साथी लिएर आउनु न ।’
एक्लै म जान सक्थें तर पनि मैले एक गैरसरकारी संस्थामा काम गर्ने साथी लिएर गएँ । सहायक सिडिओले मदिरा सेवन गरेर मेरी साथीलाई ‘तपाईंले पानी खाएको तरिका नै वाइन खाने जस्तो’ भनिरहे । मेरी साथीलाई बेलाबेला यसो भन्दा मलाई नराम्रो लाग्यो । अहिले सम्झन्छु त्यो पनि एक किसिमको हिंसा थियो ।
फेरि म काम गर्न पोखरा आएँ । महिला नेतृत्वमा हुनुले महिलालाई कसरी रातिको कार्यक्रम समेत सहज बन्छ भन्ने पहिलो पटक अनुभव मैले प्रहरी प्रमुख भएर पोखरामा पार्वती थापा हुँदाको कार्यक्रम थियो । अफिस होस् या फिल्डमा धेरै पुरुषहरू हुँदा बोल्ने भाषा उनीहरूलाई सामान्य लाग्ने तर हामीलाई असामान्य लाग्नेदेखि दुई अर्थ लाग्ने शब्द सुन्दा हुन सक्ने सम्भावित हिंसाको लागि लड्न र बोल्न दिमाग तयार गरेर बस्नुपर्ने हुन्थ्यो ।
यसपटक पत्रकार महासंघमा मत गन्दा मदिरा सेवन गरेर आएका केही पुरुष पत्रकार समेत धेरै महिला देखेपछि लाजले निस्किएर हिंडेको अनुभव पत्रकार कमला पन्थीले सुनाउँदा सविता शर्माले भनिन्, ‘मलाई रात र दिन उस्तै लाग्छ, हिंड्न डर लाग्दैन तर वातावरणले हो असहज हुने ।’ सलोजा दाहाल ज्वरो आउँदा समेत रातभर महासंघमा थिइन् ।
सबै ठाउँ असुरक्षित मात्र थिएनन् । राति २ बजेसम्म काम गर्ने स्थान पनि अरू केही चिन्ता गर्न नपरी काम गर्न सक्ने थिए तर धेरै अनुभव सहज छैनन् । जब म सञ्चारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष थिएँ, त्यस समय जहिले पुरुषहरू बस्ने बैठक र लगिने यात्रामा महिला पत्रकारलाई समावेश गरिंदैनथ्यो ।
त्यसपछि मैले महिला पत्रकारलाई पनि जान सक्ने वातावरण हुनुपर्छ भनेर भनिरहें । पश्चिमाञ्चल होटल संघले वर्षेनि ‘जाउँ है पोखरा’ कार्यक्रम सञ्चालन गथ्र्यो । त्यो यात्रा भारत र देशका विभिन्न स्थानमा हुन्थ्यो । एक जना पत्रकारले फोन गरेर भने ‘वसन्ती, तिमीले त्यसमा महिला पत्रकार नि हुनुपर्छ भनेको रहेछौ । तिमीहरू नजाऊ ल !’
मैले सोधें, ‘किन नजाने ?’ उनले भने, ‘केटाहरू रक्सी पिएर बवाल गर्छन् ।’ ल भन्नुहोस् रक्सी खाएर बवाल गर्ने वातावरण कसले सिर्जना गर्यो ? के यसरी पर्यटन प्रवद्र्धन हुन्छ त ? मातेर रक्सी खान नपाइने, छाडा शब्द बोल्न नपाइने कारण महिला पत्रकारलाई धेरै अवसर र कार्यक्रमबाट वञ्चित गरिन्छ ।
यो कुरा १७ वर्षपछि फेरि मैले सम्झिएँ, जब अनिता विन्दु प्रेस युनियन अध्यक्षको चुनाव लड्दै थिइन् । राति १२ बजे बोलाएर सडकमा अनिता आउँछ ? उनको कमजोरी यति मात्र देखाइयो । त्यसपछि पत्रकार महासंघको चुनाव आयो । धेरैले भने १२ बजे रक्सी पिएर निर्मला शर्मालाई फोन गर्न मिल्दैन ।
यो पनि कुनै उम्मेदवार छनोट गर्ने मापदण्ड हो ? रक्सी पिएर किन फोन गर्नु ? काम परेपछि रातको १२ होस् या २ बजे किन नहोस् फोन गर्नलाई महिला या पुरुष हेर्नुपर्दैन । हामीलाई पनि काम गर्दा समाचार छाप्नु अगाडि द्विविधा हुँदा राति २ बजे डेस्कबाट फोन आएको अनुभव छ । मैले नै त्यही समयमा समाचारको स्रोत पुरुषलाई फोन गरेकी छु ।
जनजाति, दलित, आदिवासी, तेस्रोलिङ्गी सबैको सहभागिता र आवाज समेटिनुपर्छ । हामीले जसरी अपनत्व अनुभव गर्यौं त्यसरी नै सबैले अपनत्व लिन सक्ने महासंघ बनोस् ।
मलाई डेस्कबाट फोन गर्ने र मैले फोन गर्ने दुवै पुरुष थिए । २० वर्ष पहिले हामीले गरेको अभ्यासलाई अझै एजेण्डा बनाइरहेको देख्दा मलाई अचम्म लाग्छ । यी सबै स्थितिबाट माथि उठेर क्षमतालाई विश्वास गर्ने पुरुष बढिरहेका छन् । यसको उदाहरण हो अहिले पत्रकार महासंघको अध्यक्षमा महिलाले जित्नु ।
भन्नेले भन्छन् पनि प्रेस चौतारी र प्रेस युनियन मिलेर जिताए । तर दुवै संगठनले मान्नु पनि महिला नेतृत्व स्वीकार गर्नु हो । यस पटक प्रेस युनियनका अध्यक्ष शिव लम्साल र प्रेस चौतारी अध्यक्ष गणेश बस्नेतको सुझबुझलाई मान्नैपर्छ । त्यसमा साथ सहयोग सबैको थियो । उम्मेदवारले जितेको घोषणा कार्यक्रममा माला लगाइदिंदै बधाई दिनेमा कार्यवाहक अध्यक्ष बाला अधिकारी थिइन् ।
उनी महिला कोटाको उपाध्यक्षमा निर्वाचित थिइन् । तर, खुल्ला कोटाका अध्यक्ष र उपाध्यक्षले सम्हाल्न नसकेको महासंघलाई सम्हालेर जसरी उनले चुनाव गराइन् यो सानोतिनो काम थिएन । घरी–घरी त लाग्थ्यो यो सञ्चारिका समूहकै कार्यक्रम त हैन ?
तर जेहोस् यस पटक चुनावदेखि मतगणना र नतिजा प्रकाशित कार्यक्रमसम्म रातभर महिला बढी भएको, उनीहरू नडराएको, डराएका एक दुई पनि बसेको देख्दा हामीलाई लाग्यो पत्रकार महासंघ पनि पहिलो पटक हाम्रो संस्था भयो ।
‘दिदी महासंघमा बिग्रेको त धेरै रहेछ, जिते पनि बनाउन त गाह्रो पो छ त !’ मैले भनें पनि । पानी नभएको शौचालय, मधुरो बत्ती देखेर पत्रकार महिला भन्दैथिए, ‘व्यवस्थित हुन त महिला नै चाहिन्छ के ! अफिस राम्रो त महिलाले बनाउँछन् ।’
यसको मतलब पुरुषले सबै बिगारे या उनीहरू सक्षम थिएनन् भन्ने होइन । चुनावमा आएका सबै उम्मेदवार महासंघलाई चाहिने र सक्षम थिए । उनीहरूको वर्षौंदेखिको योगदानलाई कदर गर्दै महिला–पुरुष मिलेर पत्रकारको पक्षमा काम गर्ने संस्था बनाउने भन्ने हो ।
मलाई लाग्छ पुरुषसँग मात्र वा महिलासँग मात्र काम गरेको अनुभव दुवै पर्याप्त छैन । म तनहुँ र स्याङ्जामा रिपोर्टर हुँदा होस् या पोखरा अफिसमा रहँदा सबै पुरुष नै थिए । विकट स्थानमा त पुरुष पनि नभई एक्लै फिल्ड गएका अनुभव धेरै छन् ।
हामी सञ्चारिका समूहको केन्द्रमा काम गर्दा दुई/तीन जना पुरुष बाहेक सबै महिला थिए । कहिलेकाहीं पुरुष एक्लै पर्थे । उनीहरूलाई हामी वर्थडे, वेबिसावर र निबुवा साँध्ने बेला समूहमा बोलाउँथ्यौं तर उनीहरू विरलै आउँथे । हामीले खानेकुरा कोठामा नै लगिदिन्थ्यौं । हामी पुरुषको समूहमा हुँदा खाजा खाने साथी समेत पाइँदैनथ्यो । उनीहरू आफ्नो समूह बनाएर गइहाल्थे ।
कोही खाजा खान जान बोलाउन चाहन्थे तर कुरा काट्लान् भनेर डराउँथे । म सञ्चारिकामा हुँदा सोचिरहन्थें, किन हामीले यति बोलाउँदा नि उनीहरू कम आउँछन् र लजाउँछन् । हामीले भोगे जस्तो असहज वातावरण नभए तापनि पुरुषहरूलाई महिला बढी भएको ठाउँमा काम गर्न झन् गाह्रो भएको मैले देख्थें ।
महासंघमा अध्यक्षले बधाई लिंदै गर्दा नै उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष धेरै पुरुष निस्किसकेका थिए । मैले सोचें, महिला नेतृत्वमा आउनु भनेको महिला मात्र हुनु पनि त हैन । हामीले त समावेशी खोजेको हो । घर, समाज, संघ-संस्था र अफिस सबै स्थानमा महिला–पुरुष दुवै हुनु र मिलेर काम गर्नुमा परिणाम राम्रो हुन्छ । त्यसमा जनजाति, दलित, आदिवासी, तेस्रोलिङ्गी सबैको सहभागिता र आवाज समेटिनुपर्छ । हामीले जसरी अपनत्व अनुभव गर्यौं त्यसरी नै सबैले अपनत्व लिन सक्ने महासंघ बनोस् । नयाँ कार्यसमितिलाई बधाई र शुभकामना !
(पोखराबाट पत्रकारिता गर्ने बास्तोला सञ्चारिका समूहकी महासचिव हुन् ।)