जब कहीं मेरो लेखनको प्रसङ्ग उठ्छ मलाई सुदूर अतीतमा आफ्नो किशोर वयको याद आउँछ।
अझ बढी त्यो साथीको सम्झना आउँछ जो दाङ जिल्लाको पश्चिमतिर पर्ने एक गाउँमा मसँगसँगै हुर्किंदै थियो। प्रकृतिको काखमा खेलिरहेको त्यो गाउँले किशोरलाई के थाहा कि भविष्यको अज्ञात बाटो कस्तो हुनेछ! कुन सपनाहरू कसरी फक्रिनेछन्! कति घुम्ती र जङ्घार छन् लामो यात्रामा!
सरल, भावुक र अन्तर्मुखी ऊ एक यस्तो अन्तरङ्ग आत्मा थियो मानौं ऊ भनेको म नै हो।
उसको बुवा प्रधानपञ्च हुनुहुन्थ्यो र ठूलो बुवा जिल्ला सभापति। उहाँहरू राजनीतिमा भएकोले उतै पुरानो घरमा बस्नुहुन्थ्यो अर्कै जिल्लामा। ऊ भने अध्ययनका लागि परिवारबाट टाढा अर्को पैतृक घरमा बस्थ्यो। पारिवारिक लाडप्यार र अभिभावकत्वमा हुर्किनुपर्ने बेलामा के खायो कहाँ गयो त्यो चासो राख्ने नभएपछि उसले स्वतन्त्रताको भरपुर फाइदा उठाउँथ्यो। बरालिन्थ्यो। स्कुल छोडेर हराउँथ्यो।
स्कुलको पश्चिमतिर सानो खोल्सो थियो र त्यसको किनारमा रूख र बाक्ला झ्याङहरू थिए जहाँ अहिलेको भाषामा ‘स्कुल बङ्क’ गर्ने केटाहरूको झुन्ड भइरहन्थ्यो। एक दिन ऊ त्यहाँ पुग्दा माथिल्लो कक्षाका केटाहरू बिंडी तान्दै गरेका देखिए।
त्यहाँ पुग्नासाथ तिनीहरूले भने ‘ल आज त यो भाइले पनि बिडी तान्छ।’
‘नाइँ नाइँ भनेर ऊ भाग्न खोजे पनि उनीहरूले हात तानेर उसलाई राखे। आखिर उसले बिंडी तान्नै पर्यो। ‘शेर छाप बिंडी’को प्रचलन थियो। चुरोट कमै देखिन्थ्यो। उसले बिंडी तानेपछि आफू परिपक्व मानिस भइसकेको सोच्यो तर पिरो धूवाँ फोक्सोमा रङमङिएपछि ख्वाकख्वाक खोक्न थाल्यो। उसको खोकीले अरू केटाहरू चाहिं हाँसिरहे। त्यस दिनदेखि केही समयसम्म ऊ त्यो ‘बङ्क’ समूहको साधारण सदस्यको रूपमा सक्रिय भयो।
स्कुलमा गुरुले जीवनका हिसाब र कर्मको व्याकरण सिकाइरहेको बेला केही महिनासम्म ऊ प्राय: यतै आवारगीको होमवर्क गरिरहेको भेटिन्थ्यो। कहिले बिंडी तानिरहेको कहिले त्यहाँ जम्मा भएका केटाहरूको कुरा चाखपूर्वक सुनिरहेको। कहिले पैसाले खेल्ने गाई कि त्रिशूल खेलिरहेको।
ऊ आफैंसँग सम्वाद गर्थ्यो। स्कुलबाट फर्केर आफ्नो कपडा आफैं धुन्थ्यो। कौसीमा बसेर जून हेर्थ्यो। खोला, जङ्गल, चरा र तोरी फूलेका बारीहरु उसलाई मन पर्थे। किताब पढ्थ्यो। रेडियोमा गीत र गीतिकथा सुन्थ्यो।
गाउँको वातावरण मोहक थियो। घर अगाडिको चौडा बाटोको किनारमा पीपलको बोटमुनि बसेर ऊ पनि अरू जस्तै नामी लेखक हुने सपना देख्थ्यो। किताबहरू पढ्नु र गीत सुन्नु उसको सबसे प्रिय कर्म थियो।
आफ्नो मनका कुराहरू उसले कापीका पानभरि पोखेको थियो- कविता र कथाहरू नाम दिएर। उसले लेखेको पहिलो उपन्यास त्यही गाउँको थियो। आँखै अगाडि देखेको पीडित बठनियाको कथालाई बुनेर उसले तीनवटा बाक्ला कापी भरेको थियो। बाहिरी पानामा उपन्यासको नाम र कापीको बीचतिर आफ्नो नाम लेखेको थियो। नाम मात्र कहाँ र आफ्नो नाम अगाडि ‘उपन्यासकार’ पनि लेखेको थियो। उसले कुनै दिन ठूलो भएर पैसा कमाएर आफैंले किताब छपाउने सपना देखिरहन्थ्यो।
त्यो त उसको सपनाको एक झिल्का थियो। पछिपछिसम्म दशैं–तिहारमा गाउँ जाँदा म उसको उपन्यास पढ्थें र मुस्कुराउँथें। खासमा त्यो उपन्यास भन्दा पनि उसको किशोर मनमा उर्लिएको भावना थियो। उसको एक्लोपना, उकुसमुकुस र भावुकताको लहर थियो। किताब पढ्ने सोख भएको मेरा लागि भने प्रत्यक्ष भेटेको पहिलो आख्यानकार ऊ नै थियो।
जब म स्कुलको पढाइ सकेर काठमाडौंतिर लागें ऊ त्यतै कहीं छुटिगयो।
कहिलेकाहीं अनेक मोडमा म उसलाई सम्झिन्थें र सोच्थें– कहाँ हरायो होला त्यो किशोर आख्यानकार ? सायद जीवनको भाग–दौडमा हरायो। सायद पेटका लागि। सायद परिवारका लागि। सायद भविष्यका लागि। जीवनमा यति धेरै कर्महरूको दायित्व हुन्छ कि मानिसले आफ्ना सपनाहरु नै कहीं छोडिदिन्छ र लाग्छ अर्कै बाटोतिर।
त्यो आख्यानकार साथीका आक्कलझुक्कल एक दुईवटा कथाहरू पत्रिकामा छापिए पनि खासै सम्झना भएन पाठकलाई।
अलिक फुर्सदमा भेटुला भन्दाभन्दै कैयन् दशक बितिगएपछि मात्र मलाई थाहा भयो अहो जीवनमा फुर्सद भनेको कहाँ हुन्छ र ! त्यो त समय निकाल्ने कुरा रहेछ।
ऊ मेरो सपनाहरू पछ्याउँदै आइरहन्थ्यो। मेरो स्मृतिमा झुल्किरहन्थ्यो। यदाकदा उसलाई भेट्न र स्वागत गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो मलाई तर म पनि त जीवनको उकालोमा पसिना बगाउँदै कुदिरहेको थिएँ।
म यो दुनियाँको रङ्गीचङ्गी मेलामा भुलिरहे पनि सुदूर गाउँमा छुटिगएको त्यो साथी मेरो हृदयमा थियो !
**** ****
कविता संग्रहको भूमिकाको लागि पाण्डुलिपि बोकेर एक मध्याह्नमा वरिष्ठ कवि तुलसी दिवसको घर पुल्चोक चाकुपाट पुगेर गेट ढक्ढक्याएँ। दाइको अग्लो कुकुर भुक्न थालेपछि उहाँ आएर ढोका खोल्नुभयो। भित्र आएर टुसुक्क सोफामा बस्नासाथ उहाँले त अन्तर्वार्ता लिन थाल्नुभयो।
साहित्यमा गहिरो अभिरूचि भएको म कानूनको अध्ययनको लागि चालीसको दशकको आरम्भतिर काठमाडौं हिंडेको थिएँ। घरमा के पढ्ने भनेर चर्चा भइरहन्थ्यो। विषय जे भए पनि मलाई चाहिं काठमाडौंमा आफ्नो साहित्यिक यात्रालाई अगाडि बढाउन पाउनेछु भन्ने आशाले उत्साहित बनाउँथ्यो। तिहारलगत्तै काठमाडौंको पहिलो यात्रा रात्रिबसमा मुडामा विराजमान भएर शुरू भएको थियो मेरो।
उसबेला तुल्सीपुरबाट एउटा मात्र बस चल्ने भएकोले भीडभाड निकै हुन्थ्यो। कोही सिटमा, कोही सिटबीचको खाली ठाउँमा र कोही छतमा। दुवैतिरका सिटको बीचमा मुडाहरू राखिएका हुन्थे त्यसमा पनि सिट नपाए छतमा बस्नुपर्थ्यो।
म र मेरो रूम पार्टनर तीर्थ काकाले मुडावाला सिट फेला पारेका थियौं। सोह्र सत्र घन्टाको रातिको लामो यात्रा, खराब बाटो र त्यसमा पनि मुडामा हल्लिंदै यात्रा गर्नु सहज त थिएन नै। हल्लिंदा हल्लिंदा यस्तो हुन्थ्यो मानौं पेटमा हुलिएको खानाले पनि बाहिर आउने निकास खोजिरहेछ।
जति बढी निद्राले छोप्दै लग्थ्यो उति बढी मुडा हल्लिन थाल्थ्यो। वरिपरिको सिटको आड लिएर मुडामा हल्लिंदा टाउको चाहिं कहिले यता ठोकिन्थ्यो कहिले उता। कतै सिटको मान्छेतिर टाउको सोझियो भने उसले यसो कोट्याएर भन्थ्यो ‘सिधा बसौं न !
‘हल्लिने मुडामा कसरी बस्ने सिधा ?’ भनौं जस्तो त हुन्थ्यो तर कृष्णहरि बराल दाइले धैरे वर्षपछि ‘भन्न त भन्छन् सबै जमाना खराब छ’ भन्ने गीत लेखे पनि त्यो खराब जमाना त उहिले पनि थियो होला र त केही नभनी आफूलाई सिधा राख्ने कोशिश गरियो होला !
‘ढ्वाङ्ग’ टाउको सिटमा ठोकिएर हल्का दुखे पनि ‘म काठमाडौं जाँदैछु’ भन्ने भावनाले आफैं सुम्सुम्याउँथ्यो चोट लागेको ठाउँमा।
‘मुनाल सेवाको नौलो प्रस्तुति’ लेखेको बस पुरानै शैलीमा ठाउँठाउँमा रोकिइरहन्थ्यो। यसरी ठोकिंदै र रोकिंदै बिहान काठमाडौं आइपुग्दा काठमाडौं झल्लमल्ल आफ्नो सुन्दरता फैलाएर बसेको थियो।
काठमाडौं त्यसै राजधानी भएको होइन यो उदार नगर हो। सहिष्णु शहर हो। लाखौं मानिसले यहाँ आफ्नो सपना खोज्छन् र जीवनको मार्ग पहिल्याउँछन्। मैले पनि यही शहरमा आफ्नो सपनाको उज्यालो खोज्दै हिंडें।
काठमाडौंसँग जोडिएका हजारौं स्मृतिहरू मेरो मनमा ताजै छन्। अहिले पनि सफा बाग्मती, मैतीदेवी फाँट र अनामनगर भनिने ठाउँमा उहिलेका लहलह धान फल्ने खेतहरू, फाट्टफुट्ट गाडीहरू र थोरै मानिसहरू हिंडिरहेको शान्त सडकको तस्वीर आँखैमा आउँछ।
चालीसको दशकमा लेखनका लागि सृजनशील समय थियो। म कलेज पढ्थें तर कवि गोष्ठी र पत्रिकाको अफिसतिर कुदिहिंड्नु मेरो दैनिकी हुन्थ्यो। साथी–सङ्गत पनि कवि, साहित्यकार वा गायक सङ्गीतकार, चर्चा–परिचर्चा पनि साहित्य, सङ्गीत र कलाको। यसरी किशोर र तरूण वयको धेरै समय साहित्यको आराधनामा बितेको थाहै भएन।
गरिमा, मधुपर्क, रेडियो नेपालको साहित्य संसार कार्यक्रम, नवकविता, अभिव्यक्ति, रचना आदि जस्ता सीमित साहित्यिक मञ्च मार्फत आफ्नो व्यक्तित्वको विस्तार गर्नुपर्ने अवस्था थियो। एकैपालि आठ दशवटा खाम र टिकट किनेर ल्यायो खाममा ठेगाना लेख्यो हुलाकको रातो ढ्वाङमा खसाएर फर्क्यो अनि महिनौंपछि आफ्नो नाम देखेर खुशी भयो। कति पत्रिकामा छापिएर पुरानो भइसक्दा आफूलाई थाहा नै नहुने पनि भइरहन्थ्यो त्यसो त !
यसैले जब कसैले मलाई सोध्छ- तपाईंको पहिलो रचना कुन हो ? म अलमलमा पर्छु।
कुनलाई पहिलो भन्नू कुनलाई दोस्रो ! त्यसो त उसबेलाको लोकप्रिय पत्रिका मधुपर्कमा ‘एउटा यस्तो यथार्थ’ नामको कथा र त्यसपछि फाट्टफुट्ट एकदुई वटा कथा प्रकाशित भए पनि मैले कवितामा नै आफूलाई सहज ठानें। बरू गीतहरू लेखें।
कविता लेखनको एक दशक बितिसकेपछि कविता सङ्ग्रह प्रकाशनको तयारी गर्न थालें। दश–बाह्र वर्षका कविताहरू जम्मा गर्दा चालीस नाँघेनन्। पहिलो कविता सङ्ग्रह भएकोले राम्रो आवरण, साजसज्जा र स्तरीय कविताहरू अनि त्यसलाई सुहाउँदो भूमिका भए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो।
भूमिकाको लागि पाण्डुलिपि बोकेर एक मध्याह्नमा वरिष्ठ कवि तुलसी दिवसको घर पुल्चोक चाकुपाट पुगेर गेट ढक्ढक्याएँ। दाइको अग्लो कुकुर भुक्न थालेपछि उहाँ आएर ढोका खोल्नुभयो।
भित्र आएर टुसुक्क सोफामा बस्नासाथ उहाँले त अन्तर्वार्ता लिन थाल्नुभयो। यो विसं २०५४ तिरको कुरा हो तर केही प्रश्न अझै पनि सम्झनामा छन्।
-तिमीले कविता चाहिं किन लेख्छौ ?
-तिमीले कविता नलेख्दैमा नेपाली साहित्यलाई के घाटा हुन्छ ?
-तिम्रा लागि कविता के हो ?
न तास न जुवा बरू बिदा वा फुर्सदमा मैले गर्ने भनेकै पठन हुन्थ्यो जिल्लातिर बस्दा। पछि मात्र थाहा भयो पढ्ने बानी मन नपर्ने पनि हुँदोरहेछ कसैलाई। जिल्लाबाट कसैले गुनासो गरिदिएर नै उहाँले यसो भन्नुभएको थियो।
-कविता सम्बन्धी के कति पढेका छौ ?
-तिमीलाई मन पर्ने कविहरू को हुन् ?
प्रश्न सुनेपछि म यो कुन झ्याउलोमा आएर फसें भन्ने लागिरह्यो। कानूनको विद्यार्थी म। सँगसँगै लोकसेवा आयोगको जटिल पाठ्यक्रम तयारी गरिरहेको मसँग उहाँलाई दिने चित्तबुझ्दो जवाफ त थिएन होला तथापि स्कुलदेखि नै किताब पढ्ने बानी भएकोले केही दृष्टिकोण कमलो रूपमा मैले पनि बनाइसकेको थिएँ।
कहाँ आएर फसियो भन्ने अनुभूति भित्र कहीं लुकाएर आफूले जाने बुझेको कुरा राखें।
‘ल बेलाबेलामा आउँदै गर्नू, तिमी राम्रो लेख्छौ तर अबको कवि आफ्नो कविताको बारेमा आफैं बोल्नसक्ने हुनु पर्छ’ छुट्नेबेला उहाँले प्रेमपूर्वक भन्नुभयो।
यसपछि कैयौंपटक जानु फेरि दाइका नयाँ प्रश्नको सामना गर्नू र एउटा नयाँ
आशा बोकेर फर्किने क्रम चल्दाचल्दै एक वर्ष त बितिगयो। यता प्रेस जाने तयारीमा किताब अड्केको अड्केकै भएपछि मैले प्रकाशनको काम थाती राख्ने कि भनेर सोच्दै थिएँ तर भूमिका पूरा भयो एक दिन।
तुलसी दाइका प्रश्नहरू र भूमिकाको लामो पर्खाइले मलाई के फाइदा गर्यो भने ती प्रश्नहरू माथि चिन्तन गर्न थालें मैले। मेरो उत्सुकता खोज र सोचको सिलसिला शुरु भयो। सङ्ग्रहमा राख्ने कविताको छनोटमा गम्भीर बनें म। जेहोस् ढिलो भए पनि त्यसले एक प्रकारको फाइदा नै गर्यो।
वि.सं.२०५७ वैशाखमा मेरो कविता सङ्ग्रह ‘अर्को साँझ पर्खेर साँझमा’ हिसी प्रेस जमलबाट छापिएर राम्रो साजसज्जा सहित प्रकाशन भयो।
साँझसँग मेरो गहिरो लगाव भएको र मेरा कविताहरूमा प्रशस्त मात्रामा साँझको वर्णन र साँझ शब्दको प्रयोग भएकोले मैले यो नाम जुराएको थिएँ। नाम मात्र होइन यो सङ्ग्रह कविताप्रेमी पाठकमाझ लोकप्रिय बन्यो।
नेपाल राष्ट्र बैंकको थापाथली हलमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्रसिद्ध समालोचक निबन्धकार कृष्णचन्द्रसिंह प्रधान र वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले वैशाख महिनामा आयोजित एक भव्य कार्यक्रममा यो सङ्ग्रहको विमोचन गर्नुभयो। हौसलायुक्त र लेखनका लागि उत्प्रेरणा भर्ने मन्तव्य राख्नुभयो। त्यो मेरा लागि अमूल्य आशीर्वचन थियो नै !
कविताको आफ्नो सौन्दर्य त छँदैछ समय व्यवस्थापनका कारणले पनि यो विधा सहज हुने भयो मलाई। दिनभरि अफिसमा काम गरे पनि रातको समय र बिदाको दिन सदुपयोग गर्दै मैले तीनवटा कविता सङ्ग्रह एउटा गीति कविताको सङ्ग्रह, एउटा गीतको सिडी, केही संस्मरण र लेखहरू लेखें।
म जहाँ पुगे पनि मसँग केही किताब सधैं साथमा हुन्थे। लेखनको गहिरो अनुराग कहिले कम भएन तर त्यसले म काम गरिरहेको संगठनमा बेलाबखत उल्झन पैदा गरिरहन्थ्यो। आर्थिक उपार्जनसँग जोडेर मूल्याङ्कन गर्नेहरूलाई साहित्यको महत्व नहुन सक्छ अथवा जीवनलाई एकपक्षीय भएर हेर्नेका लागि साहित्य बेकाम लाग्न सक्छ। यसै पनि कवि लेखक वा दार्शनिक भन्नासाथ हाम्रो समाजमा विभिन्न मिथ बनाउने प्रचलन पनि छ। यो समाजको मनोविज्ञान र चेतनासँग जोडिएको विषय नै हो।
एकदम मेकानिकल मानिसहरूले भन्ने गरेको– यो विषयमा एउटा कविता जाओस् न भन्ने वाक्य असहज लाग्छ मलाई। यसै पनि एउटै कविता लेख्न कति गहिरो चिन्तन र साधना चहिन्छ। भन्नासाथ कुनै विषयमा कविता ‘गइहाल्ने’ विषय होइन।
कोभिडको सङ्क्रमणपछि करिब पन्ध्र दिन काठमाडौंमा आराम गरेर जिल्ला फर्किंदै थिएँ। मुलकोट भन्ने ठाउँमा चिया पिउन गाडीबाट ओर्लेर बसेको मात्र थिएँ किरिर्र हाते फोन बज्यो। मैले सम्मान गर्नुपर्ने उच्च व्यक्तित्वको नम्बर स्क्रिनमा देखियो। मैले अभिवादन गरेपछि छोटो सम्वाद भयो।
सम्वादको अन्त्यतिर उहाँले भन्नुभयो ‘तपाईंले त काठमाडौंबाट किताब लगेर जानुहुन्छ रे! कोठामा पढेर बसिरहनुहुन्छ भन्ने गुनासो छ। रिटायर्ड भएपछि पढ्दा भइहाल्छ पढ्ने कुरा। अहिले त बिदाको दिन र अफिस अघिपछि त घुम्नुस् जिल्लाभरि। ल अर्कोपालि गुनासो नआओस् !’
म गहन भावनासँग थिएँ। मानौं किनारमा आएँ। अनुहारको रङ फेरियो। न तास न जुवा बरू बिदा वा फुर्सदमा मैले गर्ने भनेकै पठन हुन्थ्यो जिल्लातिर बस्दा। पछि मात्र थाहा भयो पढ्ने बानी मन नपर्ने पनि हुँदोरहेछ कसैलाई। जिल्लाबाट कसैले गुनासो गरिदिएर नै उहाँले यसो भन्नुभएको थियो।
मेरो दैनिक कर्मको राम्रो कुरा के थियो भने हजारौं मानिसहरू कामको सिलसिलामा भेट हुन्थ्यो। हजारौं कथाहरूसँग म यसरी साक्षात्कार हुन्थें। हिमालदेखि समुद्रसम्म दुर्गमदेखि अत्याधुनिक शहरसम्म यात्रा गर्दै बास बस्दै र फरक अनुभूति गर्दै जीवनलाई पर्गेल्ने अवसर मिल्थ्यो।
अनेक जाति, भेषभुषा र संस्कृतिलाई नजिकबाट नियाल्ने र विविध समुदायका मानिससँग सँगै काम गर्ने कुराले पनि लेखनमा ऊर्जा भर्थ्यो। अनुभवको विविधताले मानिसको दृष्टिकोणलाई फर्याक बनाउँछ। कामकै सिलसिलामा केही अश्वेत र पश्चिमका विदेशी साथीहरुसँग सङ्गत भयो। मित्रता भयो। प्रेम भयो।
कोपेनहेगनबाट बर्लिनतिर जाँदै गर्दा बङ्गाली इन्जिनियर रेबिकाले समुद्रको निस्सिम निलीमा देखाउँदै सम्झाइन् ‘रमेश, समुद्र र महासागर त फरक कुरा हुन्। तपाईं त दुवैलाई समुद्र भनिरहनुभएको छ।’
कुनै बेला थाइल्यान्डको जिरावत भन्ने साथीले टोकियोको एउटा भवनको सत्रौं तल्लाको कोरिडरमा भुइँमा बसेर बात मार्दै भन्यो ‘हेर साथी ! कि गरिरहेको काम मन पराउनु कि मन परेको काम गर्नू। नत्र त जिन्दगी खत्तम हुन्छ।’
लामो समयको सहयात्री एक मित्रले ‘मलाई नाँच्न आउँदैन’ भन्दा यस्तो भनेकी थिइन्- ‘नाँच्नू, चाहे जतिसुकै खराब नाँच, नाँच भनेको कहिल्यै नराम्रो हुँदैन।’
सिल्भिया भन्थी– जीवनमा असल मित्र वा आफूलाई गहिरो प्रेम गर्ने मानिस भेट्नु सबैभन्दा ठूलो सौभाग्य हो।
तर, एक मित्र यस्तो पनि थियो जसले कहिल्यै केही भनेन तर नभनेर नै धेरै कुरा भनिदियो।
यो सन् २००९ को नोभेम्बर महिनाको कुरा थियो। त्यसबेला म दुर्गम जिल्लातिर कार्यरत थिएँ। जीटीजेडको एउटा कार्यक्रममा भाग लिन म्युनिख शहरमा जाने अवसर मिल्यो। म्युनिख जर्मनीको बवेरिया राज्यमा पर्ने सुन्दर शहर हो तर कार्यक्रम चाहिं शहरबाट अलिक टाढा वरिपरि जङ्गलले घेरिएको एउटा शान्त ठाउँमा थियो।
अग्लो र मोटो ज्यानको ऊ रूसबाट टुक्रिएको राज्यबाट उही कार्यक्रममा भाग लिन आएको थियो। हामी आमनेसामने कोठामा बस्थ्यौं। आफ्नो कोठाभित्र पस्दा र निस्कँदा जम्काभेट भइरहन्थ्यो। विस्तारै हाम्रो निकटता बढ्यो। यसो भेट हुँदा मुस्कुरायो र हातको इशारा गर्यो, बस् ! उसलाई अङ्ग्रेजी नआउने र मलाई उसको भाषा तर दोस्ती गजबको।
ऊ चुरोटको ज्यादै अम्मली रहेछ। हामी बसेको ठाउँ आवास सहितको प्रशिक्षण केन्द्र थियो जहाँ चुरोट पाइँदैनथ्यो। करिब पन्ध्र बीस मिनेट हिंडेपछि पसल पुगिन्थ्यो। दिनहुँजसो हामी त्यहाँ पुगेकै हुन्थ्यौं। ऊ चुरोट किन्थ्यो र धूवाँ फुक्दै हिंड्थ्यो। हामी जता हिंडे पनि सँगै हुन्थ्यौं। हाम्रो निकटता अजिबको थियो। एकअर्कासँग बोल्ने शब्द नभए पनि सरसङ्गत, बस–उठ बाक्लो।
घर फर्किने दिन म सामान प्याकिङ गरिरहेको थिएँ। ढोकामा ‘टकटक’को आवाज आएपछि खोलेर हेरें– ऊ उभिएर मुस्कुराइरहेको थियो। मलाई देख्नासाथ उसले हात तानेर आफ्नो कोठामा लग्यो। एउटा ह्याट मेरो शिरमा लगाइदियो र मलाई ऐना अगाडि उभ्याएर हातले ‘सुहायो’ भन्ने सङ्केत गर्यो। एक न्यानो आलिङ्गनपछि म फर्किएँ। मैले उपहार दिएका नेपाली खुकुरी र बुद्धको सानो मूर्ति देखेर कतै दूर परदेशमा उसले पनि मलाई सम्झिन्छ होला कि भनेर मैले कतै आफ्नो किताबको भूमिकामा लेखें पनि !
जेहोस् जीवनका अनेकौं मोडहरूमा लड्दै भिड्दै हिंड्नुको अर्थ मानिस आन्तरिक रूपमा समृद्ध हुँदै जानु हो। समयले मलाई विविध अनुभव हासिल गर्ने अवसर दियो। मैले भोगेका कुराहरूले मेरो लेखनलाई निर्देश गर्थे।
मसँग लेख्नलाई अनेक विषय थिए। जीवनभर लेखेर नसकिने अनुभव र संस्मरणहरू भए पनि म अर्कै व्यस्तताहरूमा थिएँ। यसैले उपन्यास लेख्छु भनेको कति कुरा कवितामा टुङ्गिन्थे।
विसं २०६५ को अन्त्यतिर म रोल्पा जाने तयारीमा थिएँ। कर्नाली ब्लुज लेख्दै गरेका बुद्धिसागरका चाखलाग्दा पात्रका धेरै कथाहरू मैले चिया पिउँदै उनकै मुखारविन्दबाट सुनिसकेको थिएँ। एकैतिर बस्ने भएकोले प्राय: हाम्रो भेट भइरहन्थ्यो। स्कुल पढ्दादेखि नै उपन्यास धेरै पढ्ने भएकोले उपन्यास लेख्ने सपना मेरो पनि थियो।
काठमाडौं छोड्नु अघिल्लो साँझ हामी सँगै थियौं। भविष्यको योजना सुनाउँदै मैले भनें ‘बल्ल अब मैले उपन्यास लेख्ने मौका पाउने भएँ। कथैकथा भएको ठाउँमा जाँदैछु। एक वर्ष जतिमा त म पनि उपन्यासकार हुने भएँ। यो सरूवा त मलाई सरकारले लेखनवृत्ति दिए जस्तो हुने भयो।’
‘कविता पनि लेख्नुस् तर तपाईं उपन्यास नै लेख्नुहुन्छ होला अब’, उनले ठोकुवा गरे।
उता पुगेपछि अनेकौं कथा र पात्रसँग जम्काभेट भयो। एउटा उपन्यासको खाका पनि बनाएँ। चिन्तनमनन पनि चलिरह्यो जागिरको दौडधुप पनि उसैगरी चल्यो। उपन्यास लेख्न लामो साधना, धैर्य र समय चाहिन्छ। मलाई त्यो व्यवस्थापन गर्न सम्भव भएन।
विसं २०६९ भदौमा मेरो अर्को सङ्ग्रह ‘घर फर्किरहेको मानिस’ प्रकाशन हुने भएपछि बीस पेजको लामो भूमिका ‘पहिलो प्रेम र प्रिय कविताको आत्मकथा’ आफैंले लेखें। धेरैले यो भूमिकाको सराहना गरे पनि बुद्धिसागरले चाहिं भने ‘तर अब तपाईंको उपन्यास त गयो। त्यो कथामा अब तपाईं फेरि लेख्न सक्नुहुन्न। भूमिकाको चार पंक्तिमा त्यो कथा निथ्रिसकेछ।’
भयो पनि त्यस्तै, मैले बुनिरहेको कथा त्यतै कहीं हरायो। म कविताकै सौन्दर्यको उपासनामा मुग्ध रहें। कवितामा मेरो पहिलो प्रेम र समर्पण भए पनि म उपन्यास पनि लेख्न चाहन्थें तर लामो र धेरै समय लाग्ने कथा वा उपन्यास मेरो ‘बसको बात’ हुँदै भएन !
**** ****
‘दाइ यो कथाकार खोज्नु पर्यो। उहाँको पत्रिकामा छापिएको एउटा कथा फरक र गजबको लागेर मैले पटक–पटक रेडियोमा वाचन समेत गरें। नयाँ कथाहरू लेखाएर सङ्ग्रह निकाल्न पाए हुने !’ यो कथन भूपेन्द्र खड्काको थियो। त्यसो त उनी सयौं गीतका सर्जक हुन् तर यी चाहिं प्रकाशक भूपेन्द्र खड्का बोलिरहेका थिए।
जावलाखेलको एउटा शान्त रेस्टुरेन्टमा पारि टेबुलमा दुईजना मानिसहरू केही पिउँदै बसिरहेका थिए। कुनै हल्ला, आवाज वा चहलपहल थिएन। एक दुईपल्ट के पुगेको थिएँ यो मलाई मन पर्ने ठाउँ भइगयो। रूख बोट भएका घर वा रेस्टुरेन्ट मलाई नि:शर्त मन परिजान्छ त म के गरूँ !
मैले नजिकैको बोटमा आएर खेलिरहेका चरा हेर्दै भनें ‘कथाकारको नाम के हो ?’
मलाई विश्वास छ ‘मायी नगर’ त्यो अद्भुत नगरी हुनेछ जहाँ विचित्रका तर परिचित/अपरिचित पात्रहरू आएर आफ्नो कथा भन्दै एक रहस्यमय यात्रामा हामीलाई लैजानेछन् !
लौ, कस्तो आश्चर्य !! उनले लिएको नाम उही मित्रको थियो जसलाई मैले वर्षौंअघि दाङको एउटा गाउँमा छोडेर हिंडेको थिएँ।
‘खोइ सम्भव होला जस्तो लाग्दैन। कथा सङ्ग्रहका लागि त पर्याप्त समय चाहिएला किनभने अब सङ्ग्रह नै निकाल्ने हो भने केही नयाँ कुरा आउनु पर्यो। नयाँ शैली, नयाँ विषय र केही फरक हुनुपर्यो नत्र लामो लाइनको पुछारतिर उभिन उही कथाकार किन आउनु पर्यो। फेरि मेरो त उसँग भेट नभएको वर्षौं भइसक्यो’, मैले भनें।
‘फरक र नयाँ भएर त मैले भनेको हुँ दाइ ! बरू म एक वर्ष पर्खिन्छु। कतै एकान्त रिसोर्ट वा होमस्टेमा बसेर उहाँले लेख्ने हो भने त्यो व्यवस्था पनि गर्छु। अनि यस्तो क्वालिटीको किताब निकाल्छु कि देखेर नै सुम्सुम्याउन मन लागोस्’, भूपेन्द्रको दृढता कडा थियो।
‘यस्तै फरक र नयाँ शैलीका कथा लेखाउन सकियो भने त्यो गजबको सङ्ग्रह बन्छ दाइ तर कथा नछापिएका ‘फ्रेस’ हुनुपर्यो। तपाईंले यो कुरा गम्भीरतापूर्वक लिएर कथाकारलाई ल्याइदिनुपर्यो।’ उनले रिदम मिलाउँदै भने ‘नलेखेर बस्नुभन्दा लेखिदिए जाती हुन्थ्यो, हामीबीचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो !’
लेख रचनाका लागि दिपक सापकोटा र किताबका लागि भूपेन्द्रले गर्ने मिहिनेतको साहित्यिक जगतमा चर्चा परिचर्चा भइरहन्छ। यसपछिको भेटमा पनि भूपेन्द्र त्यो कथाकारको खोजीमा तल्लीन देखिन्थे।
मलाई पनि कथा, उपन्यास र संस्मरण लेख्न मन त थियो। लेख्ने धेरै कुरा हृदयमा सङ्ग्रहित भएर बसेका थिए। बेला बेलामा तिनले निकास खोज्थे। सबै कुरा कवितामा अट्नु संभव थिएन तर समय व्यवस्थापनको कठिनाइ थियो। जीवनका अनेक मोड र घुम्तीहरू छिचोल्दै हिंडिरहेको मैले कति सपना यसैले थाती राखेको थिएँ।
तर, एक वर्षपछि एक दिन अचम्म भयो ! कुनै छुटिगएको मित्र वा प्रेमी वर्षौंपछि अचानक भेटिंदा गह भरिन्छ। वाक्य फुट्दैन। के गरूँ गरूँ जस्तो हुन्छ नि !
भूपेन्द्र र त्यो सुदूर गाउँमा छुटेको मेरो अन्तरङ्ग कथाकार साथी मायी नगरमा सँगसँगै झुल्किए। यो भेट यति छिटो र सहज भएकोले मेरो हृदय पनि खुशी जस्तो केहीले भरिएको थियो। उसको आगमन त म वर्षौंदेखि पर्खिरहेको थिएँ।
मभित्र मलाई मन पर्ने एउटा सुमधुर गीत गुन्जियो ‘तुमको देखा तो ये ख्याल आया, जिन्दगी धूप….
जावलाखेलको उही शान्त रेस्टुरेन्टमा हामीले भेट्यौं। रूख बोट भएको त्यो ठाउँमा हामी अगाडि टेबुलमा मग्मगाउँदो कफी राखेर धेरैबेर गफियौं। पुराना कुरा गर्यौं। कथा र आख्यानका सन्दर्भहरू निस्किए।
भूपेन्द्रको अनुहार आज उज्यालो थियो खुशीले। मैले पुरानो मित्र भेटेको थिएँ र उनले नयाँ कथाकार।
मैले एउटा मायी नगरमा रहेकी ‘आर्या, पर्ख आर्या’ कथाकी पात्र प्रार्थना शाहलाई सम्झिएँ।
उनले अर्को पात्र अतीतसँग सधैंलाई छुटेपछि लेखेकी थिइन्– तिम्रो जीवन खुशीमय होस् भन्ने मेरो कामना छ। यसो भयो भने ब्रह्माण्डमा घुमिरहेको उज्यालो प्रेमको ऊर्जा केही अंशमा मसम्म पनि पुग्नेछ। मेरो जीवनमा तिमी आयौ र मैले धेरै कुरा अनुभव गर्न पाएँ। म कृतज्ञ छु, तिमीप्रति। अस्तित्व प्रति।
म पनि त कथाकारको आगमनप्रति कृतज्ञ भएको थिएँ !
‘यत्रो वर्षपछि भेटेको म त तिमीले बिर्सियौ कि भनेको’ उसले मुस्कुराउँदै भन्यो– म रमेश क्षितिज, अब सङ्ग्रह नै प्रकाशन हुने भएपछि तिमीले मलाई कथाकार भन्न सक्छौ।’
‘म रमेश क्षितिज, तिमीले चाहिं मलाई कवि गीतकार भन्न सक्छौ त्यसो त’, मैले भनें।
हामी दुवै जना अझ तीन जना नै दिल खोलेर हाँस्यौं।
‘ल कवि र कथाकारको यो अपूर्व भेट भयो। प्रकाशक भएको नाताले यसमा म प्रकाश पार्छु’, भूपेन्द्रको तालीले वातावरणमा उमङ्ग थपियो।
प्राय: जीवनको नितान्त एक्लो बाटोहरूमा म नै मेरो साथी थिएँ।
र, यसरी कुनैबेला ‘आफैं आफ्नो साथी भएँ’ गीति कविता सङ्ग्रह प्रकाशन गरेको मैले भन्छु- त्यो सुदूर गाउँमा छुटिगएको कथाकार साथी म आफैं थिएँ। मेरो कथाकार अंश त्यतै छुटे पनि वर्षौंपछि मैले उसलाई फेरि पाएको थिएँ।
म त भाग्यमानी थिएँ यस अर्थमा नत्र छुटिगएको आफू होस् वा अरू जीवनमा फेरि नभेटिन पनि सक्छ !
र, अन्त्यमा
कवि र कथाकारको सम्मिलनपछि अबको रोमाञ्चक भेट प्रिय पाठकसँग र भेट हुने थलो– एउटा मायी नगरमा !
मलाई विश्वास छ ‘मायी नगर’ त्यो अद्भुत नगरी हुनेछ जहाँ विचित्रका तर परिचित/अपरिचित पात्रहरू आएर आफ्नो कथा भन्दै एक रहस्यमय यात्रामा हामीलाई लैजानेछन् !