एउटा गल्तीको प्रायश्चित्त


धनकुटा क्याम्पसमा पढ्दाको कुरा हो, २०३५ साल तिरको । सेमेष्टर परीक्षाका लागि ‘पोलिटिक्स इन नेपाल’ भन्ने अंग्रेजी भाषामा भारतीय लेखकद्वारा लेखिएको पुस्तक चाहिएको थियो, कतै भेटिनँ । त्यही सिलसिलामा एकदिन क्याम्पसको पुस्तकालयभित्र पसेको थिएँ । पुस्तकाध्यक्ष अर्कै कोठामा गफ गर्दै हुनुहुन्थ्यो ।

पुस्तकालयमा रेफ्रेन्सका लागि मात्र राखिएको रहेछ, त्यो पुस्तक । घर लान सकिने कुरै भएन । मैले त्यो पुस्तक र्‍याकबाट सुटुक्क झिकें । कम्मरको पछाडि पेन्टमा सिउरिएर उम्काउन खोजें तर पुस्तक निकै मोटो भएकोले सम्भव भएन ।

यताउति आँखा घुमाएँ । त्यहाँ कोही थिएनन् । मौका यही हो भन्ने ठानेर पहिले किताबका पाना पल्टाएँ र आफूलाई चाहिएका आठपाना च्याप्प समातेर उक्काएँ । पाना सजिलै उक्किए । ती पाना आफूसित भएको कपीभित्र हालेर कम्मरमा दरोसित च्यापें । आफ्नो इरादा पूरा भएपछि पुस्तकालयबाट फुत्त बाहिर निस्किएँ ।

त्यसबेला म निकै डराएको थिएँ । कसैले च्याप्प समात्ने पो हुन् कि भन्ने भयले भित्रभित्रै आक्रान्त थिएँ । हातखुट्टा कामेजस्तो लागेको थियो । झालझालबाट चितुवाले च्याएजस्तो मनका मझेरीबाट शंकाले च्याइरहेको थियो ।

क्याम्पसबाहिर निस्किए । क्याम्पस चिफ पुष्पमान श्रेष्ठ र उहाँकी पत्नी कृष्णप्यारी घाम तापेर बसिरहनुभएको रहेछ । कृष्णप्यारीलाई पुष्पसर ठट्टा गरेर पुष्पप्यारी भन्नुहुन्थ्यो । मैले उहाँहरू दुवैजनालाई अभिवादन गरें ।
‘के छ मिस्टर गुरागाईं ?’ पुष्पसरले सोध्नुभयो ।
‘ठीकै छ सर, केही छैन ।’ मैले कम्पित स्वरमा जवाफ दिएँ ।
‘किन हो, आत्तिएजस्तो देख्दैछु आज । केही समस्या भएको छ ?’ उहाँले सोध्नुभयो ।
मैले पछाडि कम्मरमा हात राख्दै भने ‘त्यस्तो त केही होइन सर ।’

म हतारहतार बाटो लागें । अलि पर पुगेर कम्मरमा सिउरेर राखेका पाना बाहिर निकालें अनि सीधै च्यानेको बाटो हुँदै लागें कागते हुँदै मेरी सानिमाको घर वारि पात्लेतिर । त्यसबेला म मेरी सानिमाको पात्लेस्थित घरमा बसेर धनकुटा क्याम्पस पढ्ने गर्दथें ।

धनकुटा क्याम्पसबाट कागते पात्ले पुग्न अरु दिन मलाई डेढ घण्टा जति लाग्थ्यो । घर पुगेर घडी हेरें, एक घण्टामै पो घर छिरेंछु ।

म आफ्ना कोठामा पसें । पुस्तकबाट थुतेर ल्याएका पाना पल्टाएँ, तिनीहरूलाई एउटा कपीमा सारें । सारिसक्न मलाई झण्डै दुईदिन लाग्यो । घरमा माध्यमिक तहमा पढ्ने भाइ थिए, श्रीधर । किताबका पाना थुतेर ल्याएको उनले थाहा नपाउने भन्ने थियो । किनभने, उनले मलाई आदर्श मान्ने गरेका थिए । यस्तो बदमासी थाहा पाए भने मप्रति उनको दृष्टिकोण कस्तो होला ? उनका दृष्टिमा म चुर्लुम्म डुब्न बेर लाग्ने छुइँन भन्ने सोचेर पूर्ण सतर्क अनि सचेत थिएँ ।

मैले गर्नै नहुने काम गरेको जस्तो लाग्यो । त्यसैले बेचैन थिएँ । सामान्यतया, बेचैन हुँदा म आफ्नी आमालाई सम्झिन्थें । मनी ब्यागमा सधैं बोक्ने गरेको आमाको सानो फोटो झिकेर हेर्थें । यसपटक त्यही गरेँ । आमाले गाली गर्नुभयो जस्तो लाग्यो, ‘अमिके, तैले आज गर्नै नहुने काम गरिस्, तैंले साँच्चिकै नकाम गरिस् । हामीले तँलाई दिएको संस्कार त्यही हो ?’ आमा मसित खुसी हुँदा मलाई घरमा माया गरेर बोलाउने नाम रामजी भन्नुहुन्थ्यो अनि रिसाउँदा मलाई अमिके । किनकि, मेरो अर्को पनि नाम थियो अम्बिकाप्रसाद । रिस उठ्दा म सबैको अमिके ।

अब म के गरुँ ? ठूलो पछुतो लाग्यो । तर अब गर्न के सक्थें म ? च्यतिएका पाना लगेर जोड्न पनि सक्दिन थें । के गरुँ कसो गरुँ भयो, सबैथोक लुकाउने ठाउँ हुन्छ डर लुकाउने हुँदैन भन्थे, हो रहेछ । अव्यक्त चिन्ताको तातो हावाले एक्कासि छाती भरिएजस्तो भयो । हुन त ठुलो किताबका आठदस पाना फुत्त झिकिएको अरुले त थाहा पाए कि पाएनन् थाहा छैन, तर मलाई चाहिं भित्रभित्रै त्यसले साँच्चै बेचैन बनायो । रात निद न दिन भोक जस्तै भयो ।

तीनदिनपछि म क्याम्पस पुगेँ । क्याम्पस प्राङ्गणममा प्रहरीहरू भरिभराउ थिए । मेरा मनमा चिसो पस्यो । म पुग्नासाथ उनीहरूले मलाई च्याप्प समाते । त्यस बेलाको डीएसपी महेन्द्रबहादुर केसी र सुदर्शनशम्शेर थापा दुवैजना मलाई लिन क्याम्पस पो आएका रहेछन् । ती दुईजना डीएसपीले मेरा पाखुरामा दुईतिर समातेर तान्दै लान थाले । मैले चिच्याएर कराएँ, ‘म जान्न, म जान्न, म जाँदै जान्न । म तिर्छु ।’ भाइ श्रीधरले कोट्याउँदै भने, ‘दाजु, मध्येरातमा कहाँ जान्न भन्नुभएको ?” उनी मेरा छेउमा सुतेका थिए ।

झल्याँस्स बिउँझिएँ म । अनि भने ‘कस्तो नराम्रो सपना देखेंछु ।’

सानिमाकी ठूली छोरी गीता आफ्नोघर कुरुले तेनुपा गइसकेकी थिइन् । सानिमा, सानुबा, दुईजना बहिनी सुभद्रा र सुशीला, भाइ श्रीधर, श्रीनिवास अनि म साँझमा अगेनाका वरिपरि बस्थ्यौं । अनेक कथाकुथुङग्री, हाँसखेल र ठट्टा गर्दथ्यौं । सबैजनालाई केही चुट्किलाहरू, अनेक उटाङ्गे कुरा सुनाएर हँसाउने प्रायः म नै हुन्थें । त्यसदिन भने म केही बोलेको थिइन । टाढा क्षितिजको एक टुक्रा आकाशलाई हेरेर आफूभित्रको पीडाको घाउलाई म सेकिरहेको थिएँ ।

सधैंभरि कुनै पीर चिन्ता नलिने म त्यसदिन निकै गम्भीर बनेको थिएँ । कसैसित पनि फुक्न सकेकै थिइन । अरुथोक लुकाउने ठाउँ भए पनि पीर, चिन्ता लुकाउने ठाउँ नहुने रहेछ । त्यसैले अंग्रेजीमा अनुहार नै चिन्ता, पीर, खुसीको परिचायक हो भनेका होलान् जस्तो लाग्यो ।

‘होइन आज तँलाई के भयो केटा ? तँ यस्तो चुपचाप लागेर बस्ने गम्भीर मान्छे त हुँदै होइनस् , आज के भयो लु भन्,’ सानाबाले मलाई र्‍याखर्‍याख्ती पार्नथाल्नुभयो । उहाँले फेरि भन्नुभयो ‘कि सँगै पढ्ने कोही केटीले सातो लगी हौ तेरो ? लु भन् केटा के भयो ? अचेल लबरपाँडे केटीहरू पनि धेरै हुन्छन् रे !’ सानुबा लभ गर्ने केटीलाई उडाएर लबरपाँडे भन्नुहुन्थ्यो । कि तँलाई कसैले केही गरी ? लु भन् भन् केटा भनिहाल् !’

अनि बिस्तारै केही त मैले भन्नै पर्‍यो भन्ने सोचें । बिस्तारै सम्हालिएर भने ‘त्यस्तो त केही होइन सानुबा, आज हाम्री सीता दिदीको चिया पसल छैन ?, त्यहाँ नराम्रो घटना भएछ,’ मैले गम्भीर भएर भने ।

‘देब्रेवासकी सीता कहाँ ? के भएछ ? कि गुरुङले ठटाएछ ?’ सानुबाले सोध्नुभयो ।
‘होइन सानुबा, झाडापखाला फैलियो भनेर नगरपालिकाले सबै चिया पसलहरू बन्द गरेको रहेछ सीता दिदीले चाहिं खोल्नुभएछ ।’ मैले भने ।

‘प्रहरीले पक्रेर लगेछ कि के हो ?’ सानुबाले हतारहतार सोध्नुभयो ।
‘होइन, पक्रेको पनि होइन, एकजना मानिस चिया खान भनेर आएछन् ।’ मैले भने । ‘अनि के भयो भन्न ।’ सुन्न हतार मानेर सानुबाले भन्नुभयो ।
‘सीता दिदीले चिया पकाएर दिनुभएछ तर चिनी हाल्न भुसुक्कै बिर्सिनुभएछ ।’मैले भने ।
‘साहुनी चियामा त चिनी हाल्न बिर्सनुभएछ, मलाई दुई चम्चा जति चिनी दिनु न,’ उनले भनेछन् । सीतादिदीले दिनुभएको चिनी ती मानिसले फाँको हालेछन् । चिनी फाँको हालेपछि ती मानिस त भुइँमा लडिबडी पो गर्न थालेछन् ।

त्यो देख्दा सीतादिदीको सातो गएछ, निकै आत्तिनुभएछ । लौ, यो मानिसलाई त हैजा लागेछ, मार्ने भए अब मलाई ! आफूले चिया बेचेको छैन भन्ने पार्न उहाँले तताएर राखेको ठूलो कराहीको दूध पर लगेर घोप्ट्याउनु भएछ । हतारहतार त्यो कराही माझेर राख्नु भएछ । चियाका भाँडा हतारहतार माझेर थन्क्याउनु भएछ । बलिरहेको आगो निभाएर हतारहतार चुलो पोत्नु भएछ ।

सीता दिदीले सबै काम सकेर ती मानिस नजिकै जाँदा उनी त उठेर मेचमा पो बसेका रहेछन् । सीता दिदीले उनलाई सोध्नुभएछ ‘तपाईंलाई अहिले कस्तो छ नि दाइ ? अलि आराम भयो ?’
‘मलाई के भएको थियो र बहिनी, म ठिकठाक छु, केही भएको छैन ।’ उनले भनेछन् ।

अघि लडिबडि पो गर्दै हुनुहुन्थ्यो त ?’ दिदीले सोध्नुभएछ ।
‘ए, त्यो ?’ यति भनेर उनी हाँसेछन् । अनि फेरि भनेछन् ‘ए, त्यतिखेर त मैले चियामा चिनी पो घोलेको ।’

उनका कुरा सुनेर सीता दिदी त त्यहीं बेहोस हुनुभएछ ।

मैले साँच्चे हो जस्तै गरेर एउटा चुट्किला भनिदिएपछि सबैजना खैलाबैला गरेर हाँस्नथाले । गम्भीरबाट वातावरण रमाइलोमा अनुवाद भयो ।

धनकुटा क्याम्पसको पढाइ सकेर म त्यसैबीच विराटनगर गएँ । ठाकुरबाडी रोडको सरस्वती माविमा पढाउन थालें । विद्यार्थीहरूलाई नैतिकताका बारेमा मैले पाठ पढाउन सकिरहेको थिइन, किनकि म नसम्झौं भन्दा पनि त्यही किताबकाण्ड झलझली सम्झन्थें । केही समयको विराटनगर बसाइपछि सरस्वती माध्यमिक विद्यालय इटहराको प्रधानाध्यापक पनि भएँ, त्यस विद्यालयमा केही वर्ष बिताएपछि म एम. ए. पढ्न काठमाडौं आएँ, पढ्ने र जागिर खाने काममा अल्झिन थालें, तर मलाई धनकुटा क्याम्पसको किताब काण्डले झन्झन् पीडामा पारिरहेको थियो ।

त्यसैबीच अमेरिकामा एउटा किताब चोरी सम्बन्धी घटना नेपाली पत्रपत्रिकामा भाइरल भयो ।

मानिस कोही घडी प्रेमी, कोही बाख्रा प्रेमी, भएजस्तै एकजना नेपाली हुनुहुँदोरहेछ पुस्तक प्रेमी । उहाँ एकदिन अमेरिकाको एउटा ठूलो पुस्तकालायमा छिर्नुभएछ । त्यहाँ उहाँले एउटा किताब देख्नुभएछ, त्यसको मूल्य रहेछ पाँच डलर ।

उहाँले त्यो किताब फुत्काउने विचार गर्नुभएछ । सबै मान्छेका आँखा छलेर उहाँले त्यो किताब आफ्ना कम्मरमा सिउरिएर बाहिर निस्कनुभएछ । उहाँ पुस्तकप्रेमी ढोकाबाट बाहिर निस्कँदा ठूलो आवाजमा ढोकाको एलार्म पो बज्न थालेछ ।

तुरुन्तै गार्डहरू आएर उहाँलाई त्यहीं पक्रेछन् । शरीरबाट एउटा किताब निस्केछ । उहाँ चुपचाप बस्नुभएको भए सायद एकछिन राखेर छाडिदिने थिए । तर, पुस्तकप्रेमीले निकै शान दिएर भन्नुभएछ ‘तिमीहरूले मलाई चिनेका छौ ? म को हुँ ? म त अमेरिकाका लागि नेपालको राजदूत हुँ ।’

नेपालमा भए गार्डहरूले सलाम ठोकेर पठाउँथे होला अमेरिका त कानुनले राज्य गरेको देश हुनाले गार्डहरू उहाँका कुराबाट पटक्कै विचलित भएनछन् ।

गार्डहरूले त्यो कुरा सुरक्षा प्रमुख कहाँ पुर्‍याएछन् । सुरक्षा प्रमुखले त्यसैबेला त्यहाँ मिडियाहरू बोलाइदिएछन् । अमेरिकाका विद्युतीय र छापामाध्यममा राजदूतबाट पुस्तक चोरी भएको घटना छ्याप्छ्याप्ती भएपछि, नेपालको अन्तराष्ट्रिय बेइज्जत भएछ ।

त्यसपछि नेपालका पत्रपत्रिकाले पनि त्यस समाचार भाइरल बनाए । त्यसपछि पुस्तकप्रेमी राजदूतलाई राजाले अमेरिकाबाट फिर्ता बोलाए । त्यसबेला नेपालका राजा वीरेन्द्र थिए ।

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भन्छन् । पुस्तकप्रेमीका बाल्यकालका घटना पनि खोजेर सानैछँदा उहाँ साथीहरूका सिसाकलम, पेन्सिल, इरेजर सुटुक्क आफ्ना ब्यागमा हाल्नुहुन्थ्यो रे । ठूलो भएपछि बिहान घुम्न निस्किनुभयो भने घर फर्कंदा उहाँको हात रित्तो कहिले हुँदैन थियो रे, उहाँका हातमा केही भएन भने दुईवटा ईंटा मात्र भएपनि हुन्थ्यो रे भन्नेसम्मका खोजी समाचार त्यसबेलाको हट केक ‘साप्ताहिक विमर्श’ले छाप्न भ्याएको थियो ।

यो प्रसंगमा क्याम्पसकी एक प्राध्यापकले एकदिन विगत सम्झँदै भन्नुभयो, ‘उहाँ पुस्तकप्रेमी हाम्रो पुस्तकपसलमा पनि आइरहनुहुन्थ्यो । त्यसबेला वेभ क्यामेरा थिएन, उहाँ आउनुभयो भने एकजना मानिसले उहाँको पिछा छाड्नै नहुने थियो । एकदिन त ओभरकोटका खल्तीमा हालेर एउटा किताब लगिहाल्नुभएछ, म पछ्याउँदै गएँ, वीर अस्पताल अगाडि उहाँलाई भेटेर मैले नै किताब फिर्ता ल्याएकी छु । त्यसपछि उहाँ हाम्रो पसलमा कहिल्यै आउनुभएन ’”

उहाँका कुराले मलाई त झन् आत्मग्लानि भयो । एक साँझ सधैंका लागि पुस्तकालयको किताब काण्डको पीडाबाट मुक्त हुने एउटा उपाय निकालें । मैले सोचे,ं ‘रत्नाकर डाँकु वाल्मीकि बने, अंगुलीमाल भगवान् बुद्धका प्यारा चेला बन्न सके भने म त्यो किताबका पाना च्यातेर लगेको पापबाट कसरी मुक्त नहुँला र ।’

भोलिपल्ट मैले भोटाहिटी गएर ‘पोलिटिक्स इन नेपाल’ नामको पुस्तक किनें । एउटा ठूलो नेपाली खाममा त्यसलाई हालें । बाहिर धनकुटा बहुमुखी क्याम्पस, धनकुटा, कोशी अञ्चल नेपाल लेखें ।

एउटा कागजमा सानो चिठी पनि लेखें ।

श्रीमान् क्याम्पस प्रमुखज्यू ,
धनकुटा बहुमुखी क्याम्पस , धनकुटा

विषय : सग्लो पुस्तक फिर्ता गरेको बारे ।

महोदय,
दशकभन्दा पहिले म धनकुटा क्याम्पसको विद्यार्थी थिएँ । त्यसबेला मैले ‘पोलिटिक्स इन नेपाल’ पुस्तकको भित्री केही पृष्ठहरू च्यातेर लगेको थिएँ । त्यसले मलाई जीवनमा भित्रभित्रै पोलिरह्यो, पीडित बनायो, म ठूलो पश्चातापमा परें । त्यही पछुतोबाट मुक्त हुन सकुँला कि भनेर यो पुस्तक किनेर रजिष्ट्री गरी प्रायश्चित्त स्वरुप पठाएको छु ।
यसलाई स्वीकार गर्नु हुन विनम्र अनुरोध छ । अज्ञानतावश मैले गरेको गल्तीबाट क्याम्पसलाई पर्न गएको कठिनाइ प्रति हृदयदेखि नै क्षमा चाहन्छु ।

 आज्ञाकारी छात्र
लक्ष्मीधर गुरागाईं, हाल : काठमाडौं

गोश्वारा हुलाक सुन्धाराबाट रजिष्ट्री गरी पुस्तक पठाइदिएँ । मेरो छातीमाथि वर्षौंदेखि थिचिरहेको एउटा ढुंगो त्यसदिन पन्छिएजस्तो भयो । म हलुका भएँ ।

केही वर्षपछि धनकुटा क्याम्पसका क्याम्पस प्रमुख उपेन्द्र पोखरेलसँग काठमाडौंमा अकस्मात भेट भयो । उहाँले मुसुक्क हाँसेर भन्नुभयो, ‘लक्ष्मीबाबु, क्याम्पसले सग्लै किताब पायो है, तिमीले पठाएको चिठी मैले, नोटिस बोर्डमा निकै दिनसम्म राखिदिएको थिएँ, धन्यवाद !’

मैले उहाँका अगाडि शीर निहुराएँ ।
(लेखक मधुपर्क, मुना, बालमञ्जलीका पूर्वसम्पादक तथा गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक हुन् ।)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School