उहिलेको दर : घिउ भात, दही, तरकारी र अचार


अहिले गाउँगाउँमा तीजको वास्तविक रौनक अलिअलि जीवित छ, सहरमा भने तीज कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको छ। तीज आमा-दिदीबहिनीको त्यागले विजय प्राप्त गरेको उमङ्गको पर्व हो। माता पार्वतीले आफूले मन पराएका पुरुष अर्थात् महादेव पाऊँ भनेर गरेको तपस्याले विजय प्राप्त गरेको सन्दर्भ तीजसँगै जोडिएर आउँछ।

त्यसकारण त्यागमार्फत मनोकाङ्क्षा पूरा भएको सांस्कृतिक-आध्यात्मिक पर्व हो तीज। त्यसैले तीजमा मनोकाङ्क्षा पूरा होओस् भन्ने कामनासाथ व्रत बसिन्छ, तीजको अघिल्लो दिन दही, घिउसहितको सात्विक दर खाइन्छ, दुःखसुखका गीत गाइन्छ, पर्व र व्रतमा रौनक भर्न सकेसम्म जन्मघर नै पुगिन्छ।

काठमाडौंमा तीजको भडक देखिरहँदा बाल्यकालको तीजको सम्झना आउँछ। तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन अद्भुत उत्साहको दिन हुन्थ्यो। दर खानकै लागि भनेर स्कुलमा हापछुट्टी हुन्थ्यो। छुट्टी हुनासाथ हामी उत्साहित हुँदै घर जान्थ्यौं। हजुरआमाले बडो मिहिनेतसाथ दर पकाइरहनुभएको हुन्थ्यो।

हामीलाई बुझाइएको थियो कि तीजभन्दा अघिल्लो दिन दिउँसो र बेलुका खाने घिउ–दहीसहितको दर्विलो खाना हो दही। घिउमा भुटेको भात, दही, तरकारी र अचार। गाईवस्तु सबैका गोठमा हुन्थे। कसैका घरमा पनि दुधघिउको कमी हुँदैनथ्यो।

कुनै कुनै तीजको दरमा हजुरआमाले खिर पनि पकाउनुहुन्थ्यो। भर्खर बर्खा सकिएको मौसम भएकाले बाँसघारीमा प्रशस्त तामा पलाएका हुन्थे। करेसाबारीमा मादलजत्रा काँक्रा अनि झालभरि घिरौंला र स्कुस। गाउँमा फलफूल खासै हुँदैनथ्यो। विशेषतः यिनै परिकार हुन्थे दरमा। सानामा सबैभन्दा बढी ध्यान खानमै हुन्थ्यो। यति परिकारसहितको दर खाँदा संसार नै जितेजस्तो लाग्थ्यो।

दरमा माछामासु हुँदैनथ्यो। भोलिपल्ट व्रत बस्नुपर्ने दिन, अघिल्लो रात माछामासु खानु शोभनीय मानिँदैनथ्यो। दुधघिउमा माछामासु मिसाउनुहुँदैन, गाइवस्तु बिग्रन्छन् भन्थे बुढापाका। बुढापाकाले भनेको यो भनाइमा पनि वैज्ञानिक तथ्य लुकेको रहेछ। दुधघिउ र माछामासु सँगै खानु स्वास्थ्यका लागि प्रतिकूल हुने कुरा अहिले पनि खाद्यविद्हरूले बताइ नै रहन्छन्। बुढापाका र खाद्यविद्को तर्क फरक होला, तथ्य एउटै छ।

हरितालिका तीजको दिन घरनजिकै रहेको विद्यालयको ठुलो चौरमा भव्य मेला लाग्थ्यो। तीज गीत प्रतियोगिताका साथै फुटबल, भलिबलजस्ता खेलकुद प्रतियोगिता हुन्थे। गाउँमा भलिबलका राम्रा खेलाडी थिए। अहिले राष्ट्रिय प्रतियोगिता हेर्दा भन्दा गाउँमा भएका गाविसस्तरीय भलिबल प्रतियोगिता उत्कृष्ट लाग्थे।

ती खेलाडी उत्कृष्ट हुँदाहुँदै पनि राज्यले चिन्ने गरी उनीहरूले ठाउँमा भने कहिल्यै खेल देखाउन पाएनन्। त्यो दिन चौरवरपर गाउँले प्रवृत्तिका सेलरोटी, गुलिया-नुनिला छुट्टछुट्टै पकौडा, जेरीपुरी, ढुम्रीजस्ता परिकारको बजार लाग्थ्यो। गुलिया पकौडा खुब मिठो लाग्थ्यो। किनेर सेलरोटी चाख्दै हिँड्दाको मजा छुट्टै थियो।

आमा दर खाने दिनभन्दा अघिल्लो दिन नै मामाघर गइसक्नुहुन्थ्यो। आमालाई लिन मामाघरबाट हिँडेरै कहिले हजुरबा आउनुहुन्थ्यो, कहिले मामाहरू आउनुहुन्थ्यो। उहाँहरू डाँडापारि जङ्गलको अप्ठ्यारो बाटो तीनचार घण्टा हिँडेर आउनुहुन्थ्यो। गाउँमा हुलाक कार्यालय थियो। हुलाकीले दिनहुँ त्यही बाटो भएर चिठी ओसारप्रसार गर्थे। आमालाई लिन आउँदा मामाहरूका साथी प्रायः तिनै हुलाकी हुन्थे। हुलाकीलाई पनि साथी, मामाहरूलाई पनि साथी हुने हुनाले हुलाकी–मामा दुवै खुसी हुन्थे। मामाघरबाट यसरी आफन्त आउँदा साह्रै खुसी लाग्थ्यो।

अझै कुनै तीजमा त आमासँग दाइ र म पनि मामाघर जान्थ्यौं। मामाघर जाने भनेपछि हामीमा छुट्टै उत्साह थपिन्थ्यो। मामाघर जानुभन्दा अघिल्लो रात खासै निद्रा लाग्दैनथ्यो, मनमा कतिबेला बिहान होला जस्तो मात्रै लाग्थ्यो। बिहान भएपछि त आहा ! हामीले प्रतीक्षा गरेको दिन आयो भनेजस्तो लाग्थ्यो।

सबैभन्दा बढी तीजमै गइयो मामाघर। तीजमा मामाघरमा छुट्टै रौनक हुन्थ्यो। दर खाने दिन दिउँसोबाटै ‘घिन्ताङ घिन्ताङ’ मादल बजाएर आमा–सानिमाहरूले तीज गीत गाउनुहुन्थ्यो, नाच्नुहुन्थ्यो। गीत मध्यरातसम्म गाउनुहुन्थ्यो। मध्यरातमा आमाले सुतिसकेका हामीलाई उठाउनुहुन्थ्यो र ‘दर त मध्यरातमा खानुपर्छ’ भन्दै खिर खुवाउनुहुन्थ्यो। आहा ! कति सुन्दर अनि गमिलो थियो तीज।

‘माइती राजैले चिनाएको चौतारी

ढलक्कै ढल्कियो मौलो बरिलै

दाजुभाइले बिर्संदै गए

किन किन माइती देश नौलो बरिलै’

(हरिदेवी कोइराला)

०००

‘बाबाको दैलामुनि ढुङ्गे धारो पँधेरो

हामी चेली घर जाँदा मनै अँधेरो

सम्झ्यौला नि बाले मैले पानी भरेको

सम्झेलिन् नि आमाले दुःख गरेको’

०००

आमा-

‘किन बाबु झोक्रिएको ज्यानमा सन्चो छैन र ?

तीज आयो दिदी लिन जाने होइन र ?’

छोरा-

‘हुनीखानी भइन् दिदी टेरपुच्छरै लाउँदिनन्,

जानु मात्रै हुन्छ आमा आउँदै आउँदिनन्।’

(रमेश बिजीको शब्द, पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुरालगायतको स्वर)

०००

‘गाऔं स्वर खुलेर दिदी र बैनी

नाचौं न मिलेर दामली सैनी

तीजको लहर आयो बरिलै…

नौडाँडा काटेर गएका चेली

भाग्यले भेटन पाएछौं फेरि

को कहाँ पुग्ने हो केही थाहा छैन

आगुम भेट फेरि हुने हो हैन

तीजको लहर आयो बरिलै…’

(शब्द : चेतन कार्की, स्वर : दीपा झा र सुषमा श्रेष्ठ)

त्यतिबेला विरह, दुःखसुख बकिएका गीत सुन्दा बालकै भए पनि बडो भावुक बनिन्थ्यो। ती गीतमा दुःखका गाथा हुन्थे, बेमेलका शृंखला हुन्थे। तीजका गीतमा नारीका वेदना पोखिएका हुन्थे। घरमा पाएका दुःखसुख माइत गएर यस्ता गीतमार्फत पोखिन्थे।

ती गीतमा सासूबाट बुहारीले पाएका प्रताडनाका कथा हुन्थे, बिदेसिएका श्रीमान्लाई घर फर्कने आग्रह हुन्थे। यस्तै यस्तै हुन्थे गीतका भाव अनि भाका पनि त्यस्तै गमिला र मिठा। यस्ता गीत गाएर मादलको तालमा छमछम नाचिन्थ्यो। दर खाने दिनदेखि ऋषिपञ्चमीका दिनसम्म गाइन्थे यस्ता गीत।

अहिले बजारमा सार्वजनिक तीज गीत कुनै त राम्रा छन्, तर अधिकांश चर्चा मात्र बटुल्ने प्रवृत्तिका, युट्युबमा चल्ने खालका, उच्छृङ्खल शब्द र भाषाको प्रयोग गर्ने प्रवृत्तिका भेटिन्छन्। पहिलेका गीत सुनिन्थे, अहिलेका गीत हेरिन्छन्। सुन्ने गीत हेर्ने गीतमा बदलिएपछि गीतको मिठास सकिएको हो। अहिलेका कतिपय तीज गीत त परिवारसँगै बसेर सुन्न÷हेर्न नै नसकिने खालका छन्। 

भाइरल बन्ने होडमा तीज गीत उत्ताउला बनिरहेका छन्। अहिलेका तीज गीतको मुख्य समस्या दृश्याङ्कनमा हो। राम्रै शब्द छन् भने पनि शब्द र दृश्याङ्कनको तालमेल नमिलाई बजारको मागअनुसारका भड्किला दृश्य राख्दा भिडियोसँगै गीतको मिठास सकिएको अनुभूत हुन्छ। अहिलेको तीजमा बज्ने ‘डड्ययाङडुडुङ’ आवाज र पहिला तीजमा बज्ने ‘घिङ्ताङ घिङ्ताङ’ आवाज।

पर्व उही तर पर्व सङ्गीत कति फरक। अहिले दर खाने कार्यक्रम भन्दै गाइएका गीतसङ्गीत सुन्दा वास्तवमै उदेक लागेर आउँछ। अझै सामाजिक सञ्जालमा देखिने तीजगीत-नृत्यका कतिपय अशिष्ट दृश्य हेर्दा मान्छेले संस्कृतिलाई कति विकृत काँचुली फेर्न बाध्य पार्दै छ भनेजस्तो लाग्छ। यो सबै मान्छेको विकृत मनस्थितिको उपज हो।

तीज पर्व आउनुभन्दा केही दिन अगाडिदेखि सहरी क्षेत्रमा बाजाको ड्याङड्याङ आवाज आउन थालेको हो। तीज जति नजिकिँदै गयो, त्यो ड्याङड्याङ आवाज झनै बाक्लिँदै गयो। तीज आसपासमा सहरी क्षेत्रका पार्टी प्यालेस पूर्ण व्यस्त बने।

लग्नको मान्यताअनुसार भदौमा विवाह, व्रतबन्धको साइत नहुने भएकाले हामीले सहजै अनुमान गर्न सक्थ्यौं, यी ड्याङड्याङ आवाजसँगै विवाह भइरहेको छैन, हाम्रो पूर्वीय मान्यताअनुरूपको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक पर्व तीज मनाइँदै छ।

पहिलाको दर र अहिलेको दरमा धेरै अन्तर आइसक्यो। अहिले सहरतिर दर र विवाहको भोजमा कुनै अन्तर छैन। तीज नजिकिँदै गर्दा सहरी क्षेत्रका पार्टी प्यालेसको व्यस्तता अजिबले बढ्न थाल्छ। विवाहको मौसममा भन्दा तीजको आउनुभन्दा एक महिनाअघि देखि पार्टी प्यालेस पूर्णतः बुक भइसक्ने बताउँछन् पार्टी प्यालेस तथा होटल व्यवसायीहरू।

अहिलेको सबैभन्दा ठुलो विकृति खर्चिलो दर नै हो। सहरका आमा–दिदीबहिनीहरू सहकारी, टोल, अभिभावक, स्कुल, क्लबलगायत सानाठुला धेरै संस्थामा आबद्ध हुन्छन्। प्रायः सबै संस्थाले पैसा उठाएर तीज कार्यक्रम गर्छन्।

पार्टी प्यालेसमा दरकार्यक्रम प्रतिव्यक्ति हाराहारी एक हजारदेखि १५ सय रूपैयाँसम्म लाग्ने गर्छ। नयाँ साडी, गरगहना, मेकअप, यातायातलगायतको खर्च छँदैछ। यसरी हेर्दा एक वर्षको तीज मनाउँदा हजारौं खर्च हुने देखिन्छ।

अझै डरलाग्दो कुरा त एउटा समूहका सबै दिदीबहिनीले सल्लाह गरेर सारीब्लाउजको रङ मिलाएर नाच्दा रहेछन्। सबैको एउटै रङको सारी नहुन सक्छ। रङ मिलेन भने नयाँ सारी किन्नुप¥यो। धेरै संस्थामा आबद्ध हुँदा यस्ता आवश्यकता पनि धेरै नै हुन्छन्। यसरी हेर्दा अहिलेको तीज अत्यन्तै खर्चिलो र भड्किलो बन्दै गएको देखिन्छ।

दुःखको प्रमुख कारक नै भड्किलो जीवनशैली हो। जीवनशैली जति सरल बनाउन सक्यो, जिन्दगी त्यति नै सहज बन्छ। भडकले डो¥याउन थाल्यो भने हामी बेबारिस बन्न थाल्छौं। बाहिरी जगत्ले हामीलाई नडोर्‍याओस् भन्नेमा हामी सचेत हुनुपर्छ। म नै मेरो जगत् हुँ भन्ने मनोभावसाथ समयका भड्किला आवरणबाट बचेर आफूलाई समयसँगै डोर्‍याउनुपर्छ।

सरलता जिन्दगीको सबैभन्दा ठुलो गहना हो। हाम्रा चाडपर्व, रीतिरिवाजलाई सरल बनाउँदै मनोरञ्जन गर्न सकियो भने यस्ता संस्कार सदैव जीवित रहन्छन्। भड्किलो जिन्दगीको आयु छोटो भएजस्तै भड्किलोपनले पर्वलाई पनि अवसानतर्फ उन्मुख बनाइराखेको हुन्छ। हाम्रा पर्व हजारौं वर्षदेखि जीवन्त छन्। यिनलाई सदैव जीवित बनाइराख्न यिनको मौलिक स्वरूपमा ध्यान दिनैपर्छ।

प्रकाशित: २२ भाद्र २०८१ ०८:०६ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School