१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले आइतबार सम्पन्न उपचुनावबाट आफ्नो जित सुरक्षित गर्दै थप स्थानहरुमा जितेको छ । ०७९ मा माओवादीले जितेको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष सहित ८ स्थानमा उपचुनाव भएको थियो । यसपटक यी पालिकाहरु जोगाउनु माओवादीलाई चुनौती थियो ।
किनकि ०७९ को चुनाव हुँदै गर्दा नेपाली कांग्रेस सहितको पाँच दलीय गठबन्धनमा माओवादी सामेल थियो । जसका कारण धेरथोर सहज थियो । यसपटक भने माओवादी एक्लै बनेको मात्र होइन, पुथा उत्तरगंगा सहित केही स्थानमा माओवादीविरुद्ध कांग्रेस–एमालेबाट साझा उम्मेदवारी परेको थियो ।
तर नतिजा माओवादीकै पक्षमा आयो । धेरैले चासो दिएको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भइन् । सत्तारुढ गठबन्धनका केशकुमारी तुलाचनले २१२८ मत ल्याउँदा नरपुराले ३६२७ मत ल्याएर गाउँपालिका उपाध्यक्ष जितिन् ।
माओवादीले ०७९ मा पदाधिकारी जितेको अर्को क्षेत्र सुर्केगाडको अन्तिम नतिजा आइसकेको छैन । तर अरुतिर आइसकेको अन्तिम नतिजाबाट माओवादी पंक्ति उत्साहित छ । माओवादी बढी उत्साहित बनाउने उपनिर्वाचन मोरङको ग्रामथानमा भयो । २०७९ को चुनावमा यहाँ माओवादी उम्मेदवार तेस्रो बनेका थिए । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७६०५ मत ल्याएर अध्यक्ष जित्दा एमालेका शिवनारायण माझीले ६०९३ मतसहित दोस्रो र माओवादीका विजयकुमार सरदारले २७२७ मत ल्याएर तेस्रो भएका थिए ।
तर यो उपचुनावमा नतिजा उल्टियो । माओवादी उम्मेदवार नमोनारायण माझीले ६९६९ मत ल्याएर अध्यक्ष जिते । कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत र एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याए । अर्थात् ४२४२ मत थपेर माओवादीले पालिका अध्यक्ष जित्यो । यो चानचुने मेहनतले पुग्ने कुरा होइन ।
माओवादीले जितेको अर्को पालिका पदाधिकारी जाजरकोटको नलगाडमा जित्यो । यहाँ माओवादीकी देवका लामिछानेले ४२७२ मत ल्याएर उपमेयर जितेकी छन् । निकटतम प्रतिद्वन्द्वी बनेकी कांग्रेस उम्मेदवार इन्द्राचन्द सिंहले ३१४७ मत ल्याएकी छन् भने एमाले उम्मेदवार सुनिता बोहराले २५४२ मत ल्याइन् ।
२०७९ को चुनावमा नलगाडमा कांग्रेससँग माओवादीको गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । तर १७ कात्तिक २०८० को भूकम्पमा परी सिंहको मृत्यु भएपछि उपचुनाव भएको हो । उपचुनावमा उपमेयर जितेपछि नलगाडको दुवै पदाधिकारी माओवादीको पोल्टामा गएको छ ।
दोस्रो र तेस्रोबाट पहिलो
माओवादीले उपचुनावमा अधिकांश उम्मेदवार पुरानै उठाएको थियो । ती उम्मेदवारहरु अघिल्लो चुनावमा तेस्रो र दोस्रो भएका भएका थिए । अहिले जित्नेहरु तिनै उम्मेदवार छन् ।
तेस्रोबाट पहिलो बनेर वडाध्यक्ष उदाहरण हो, धनुषाधाम नगरपालिका–१, धनुषा र त्रियुगा नगरपालिका–१२, उदयपुर । धनुषाधाम–१ मा यसपटक माओवादीका शुनिल कापर केवट ६८४ मत ल्याएर विजयी भए । दोस्रो भएका कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डलले ६०२ मत पाए भने तेस्रो स्थानमा रोकिएका एमालेका अजयकुमार यादवले ४९९ मत ल्याए ।
०७९ सालको चुनावमा यो वडामा कांग्रेसका विश्वनाथ यादव ६१८ मत ल्याएर विजयी भएका थिए । त्यसबेला एमालेका प्रमोद यादव ३७७ मत ल्याएर दोस्रो हुँदा माओवादीका शुनिल कापर केवट ३६९ मत ल्याएर तेस्रो भएका थिए ।
अघिल्लो चुनावमा तेस्रो भएका केवटलाई नै माओवादीले उपचुनावमा पनि उम्मेदवार बनायो । अघिल्लो चुनावमा पाएको मतमा ३१५ मत थप्दै केवट विजयी भए । उदयपुरको त्रियुगा–१२ मा माओवादीका नविनकुमार वान्तवा विजयी भए । जबकि अघिल्लो चुनावमा उनी तेस्रो स्थानमा रोकिएका थिए ।
२०७९ सालमा कांग्रेसका चुडाराज काफ्ले ४३९ मतसहित विजयी भएका थिए । त्यसबेला एमालेका रमेश राउत ४०८ मत ल्याएर दोस्रो हुँदा माओवादीका वान्तवा ४०४ मत ल्याएर तेस्रो भएका थिए ।
उपचुनावमा माओवादीले उनै वान्तवालाई पुनः उम्मेदवार बनायो । वान्तवा ९२३ मत ल्याएर विजयी भए । चुनाव जित्न वान्तवाले अघिल्लो चुनावमा पाएकोभन्दा बढी मत अर्थात् ५०९ मत थपे । एमालेकी लक्ष्मी नारायण चौधरी ६०८ मत ल्याएर दोस्रो भइन् भने यसअघि चुनाव जितेको कांग्रेसका सञ्जीव काफ्ले ३५९ मत ल्याएर तेस्रो भए ।
गोरखाको गोरखा नगरपालिका–५, मा भने माओवादी दोस्रोबाट पहिलो भयो । यो वडामा २०७९ सालमा कांग्रेसका ओमराज वली ५१४ मत ल्याएर विजयी हुँदा माओवादीकी कमलाकुमारी शाही ४९८ मत ल्याएर दोस्रो भएकी थिइन् ।
यसपटकको उपचुनावमा भने माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भाइकाजी आलेले ४०२ मत पाए ।डोल्पाको त्रिपुरासुन्दरी–५ र नुवाकोटको ककनी गाउँपालिका–२ मा पनि माओवादी केन्द्र दोस्रोबाट पहिलो भएको छ ।
त्रिपुरासुन्दरी–५ मा १६१ मत ल्याएर माओवादीका नरबहादुर झाँक्री विजयी भए । एमालेमा नरबहादुर रोका ११६ मत ल्याएर दोस्रो भए । जम्मा २१ मत ल्याएर कांग्रेसका राजेन्द्रप्रसाद न्यौपाने तेस्रो भए ।
यो वडामा २०७९ को चुनावमा एमालेका नन्दलाल रोका १०८ मत ल्याएर विजयी भएका थिए । त्यसबेला माओवादीका जंगबहादुर रोकाया १०२ मत पाएर दोस्रो भएका थिए भने कांग्रेसका नरबहादुर झाक्री ८२ मतसहित तेस्रो भएका थिए । उनै झाक्री यसपटक माओवादीबाट उम्मेदवार भए र चुनाव जिते ।
ककनी गाउँपालिका २ मा यसपटक १ हजार ८५ मत ल्याएर कृष्ण घिमिरे विजयी भए । कांग्रेसका सूर्य तामाङ ५८७ मत ल्याएर दोस्रो हुँदा एमालेका यमबहादुर लामा ३४२ मत ल्याएर तेस्रो भए ।
२०७९ सालको चुनावमा यो वडामा कांग्रेसका तिलकबहादुर लामा ८८८ मत ल्याएर विजयी भएका थिए । त्यसबेला माओवादीका कृष्ण घिमिरे ७३४ मत पाएर दोस्रो हुँदा एमालेका प्रेमबहादुर तामाङ २०५ मतसहित तेस्रो भएका थिए ।
यसपटक यो वडामा माओवादीका घिमिरे मत बढाएर विजयी भए । एमालेका उम्मेदवार लामा पनि मत बढाएर दोस्रो स्थानमा उक्लिन सफल भए । तर कांग्रेसका उम्मेदवार तामाङ भोट घटाएर तेस्रोमा झरे ।
चुनाव हारेको क्षेत्रमा पनि माओवादी केन्द्रले मत बढाएको छ । रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६ मा सम्पन्न उपचुनावमा कांग्रेसका समसे आलम ७४४ मत ल्याएर विजयी भए । निकटत प्रतिद्वन्द्वी माओवादीका जिकरुलाहले ४६३ मत पाए । तेस्रो भएका एमालेका मोहम्मद नसिम अख्तरले ४३१ मत ल्याए ।
जबकि यो वडामा साढे दुई वर्षअघि माओवादी केन्द्रले जम्मा १७ मत पाएको थियो । यसपटक चुनाव हारेर पनि माओवादीले यो वडामा ४६३ मत थपेको छ ।
वडा फेरिए, संख्या उही
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्ष माओवादीले बचाएको हो । यो पालिकामा यसपटक जगत घर्ती निर्विरोध निर्वाचित भए । यसअघि माओवादीकै जसबहादुर श्रीपाली वडाअध्यक्ष थिए । उनको निधन भएपछि उपचुनाव भएको हो ।
बाँकी पाँच वटा वडाअध्यक्ष माओवादीले गुमाएको छ । माओवादी केन्द्रले २०७९ मा चुनाव जितेको हेटौंडा उपमहानगर पालिका वडा नम्बर १२, जाजरकोट कुशे गाउँपालिका ७, दार्चुला दुहु गाउँपालिका ५, महोत्तरी रामगोलापुर नगरपालिका २, कालिकोट तिलागुफा गाउँपालिका वडा नम्बर ४ को वडाअध्यक्ष गुमाएको हो ।
हेटौंडा उपमहानगर पालिका वडा नम्बर १२ मा यसपटक कांग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भए । यसअघि यो वडामा माओवादीका ललतिबहादुर घलान निर्वाचित भएका थिए । यसपटक माओवादीका उम्मेदवार रविकुमार प्रधान दोस्रो भए ।
जाजरकोट कुशे गाउँपालिका ७ को वडाअध्यक्षमा यसपटक कांग्रेसका खम्बहादुर सिंह निर्वाचित भए । अघिल्लो पटक यो वडामा माओवादीका मनबहादुर घर्ती निर्वाचित भएका थिए । यसपटक माओवादीका गोरख बहादुर नेपाली दोस्रो भए ।
दार्चुला दुहु गाउपालिका ५ मा यसपटक कांग्रेसका धनबहादुर कुँवर विजयी भए । अघिल्लो चुनावमा यो वडामा माओवादीका मनोरथ भट्ट निर्वाचित भएका थिए । यसपटकको उपचुनावमा माओवादीका विरबहादुर कार्की तेस्रो भए ।
महोत्तरी रामगोलापुर नगरपालिका २ मा यसपटक एमालेका सकिवुल खाँ निर्वाचित भए । माओवादीका आइती कुमारी यादव दोस्रो भइन् । जबकि २०७९ को चुनावमा यो वडाको अध्यक्षमा माओवादीका मुकेशकुमार यादव विजयी भएका थिए ।
कालिकोट तिलागुफा गाउँपालिका वडा नम्बर ४ को वडाअध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही निर्वाचित भए । माओवादीका नैसोभा शाही दोस्रो भइन् । अघिल्लो चुनावमा यो वडाको अध्यक्षमा परबहादुर शाही निर्वाचित भएका थिए ।
यसअघि जितेका पाँच वटा वडा अध्यक्ष पद गुमाएपनि सोही संख्या कायम राख्न माओवादीले यसअघि कांग्रेसले जितेका र एमालेले जितेका वडा अध्यक्षमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको हो ।
माओवादीलाई ढाढस, सबैलाई सन्देश
बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीका अनुसार उपचुनावले जनमत यथास्थानमा बस्दैन भन्ने शिक्षा दिएको छ । माओवादीले एक्लै चुनाव लडे सकिन्छ भन्ने कतिपयको पुर्वानुमान खण्डन गरिदिएको छ ।
उनी भन्छन्, ‘माओवादी केन्द्रले पुराना आधार इलाकामा मात्रै भर गर्ने हो त्यो पनि हामी भत्काइदिन्छौं’ भन्ने विपक्षी दलका कतिपय नेताको टिप्पणीलाई उपनिर्वाचनले अस्वीकार गरिदिएको छ ।’
उपचुनावले माओवादी स्वयमलाई पनि महत्वपूर्ण शिक्षा प्रदान गरेको उनलाई लाग्छ । अध्यक्ष सहयात्री भन्छन्, ‘माओवादी केन्द्रका लागि आफ्ना आधार ईलाका वा जितेका ठाउँ भनेर ढुक्क नबस र हारेका क्षेत्रहरू भनेर निराश नबन भन्ने महत्वपूर्ण शिक्षा प्रदान गर्दै माओवादी केन्द्रको उकालो यात्रा सुरु भएको छ ।’
माओवादी केन्द्रले यसअघि चुनाव जितेका र उपचुनावमा हारेको अवस्थालाई समेत ख्याल गर्दै बागमती प्रदेशका अध्यक्षले जितेको ठाउँ भनेर ढुक्क नबस्न शिक्षा प्राप्त भएको बताएका हुन् ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल उपचुनावले माओवादीलाई ढाढस दिनुका साथै नयाँ र पुराना सबै दललाई महत्वपूर्ण सन्देश दिएको बताउँछन् । ‘उपचुनावको दुइटा सन्देश छ । एउटा– माओवादीले कमब्याक गर्न सक्छ । अर्को– अब देशमा दुइटा मात्रै शक्ति रहन्छन् भन्ने भाष्यलाई यो उपनिर्वाचनले ध्वस्त गरिदियो ।’
पोखरेलका अनुसार कांग्रेस र एमालेले दुई दल मिलेपछि मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने सन्देश उपचनावबाट दिन चाहन्थे । यसका लागि २०८४ का लागि समेत सन्देश दिने भनेर केही स्थानमा कांग्रेस र एमालेले चुनावी तालमेल नै गरे । पोखरेल भन्छन्, ‘चुनावी परिणामले माओवादीले पूर्वमा, पश्चिममा, मधेशमा पनि उपलब्धि गरेको देखिन्छ ।’
बरु अहिलेको चुनावले २०८४ पछिको सरकार बनाउन फेरि पनि कांग्रेस र एमाले नमिल्ने हो भने माओवादीको साथ चाहिने जस्तो देखिन पुगेको पोखरेलको बुझाइ छ ।
अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा उपचुनावले माओवादी कमजोर भईसकेको रहेनछ भन्ने देखाएको बताउँछन् । उपनिर्वाचनको सन्देशबारे उनी भन्छन्, ‘…एमाले सोचेजस्तो बलियो छैन रैछ, माओवादी भनिएजस्तो कमजोर भईसकेको रहेनछ ।’
बरु कम्युनिस्टहरु एक अर्कोको प्रतिस्पर्धामा रहँदा कांग्रेसले फाइदा लिइरहेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘कांग्रेसलाई कम्युनिस्टका तीन ठुला घटक एमाले, माओवादी र एसबीचको भोट काटाकाटले सिटमा रामै फाईदा भयो, तर लोकप्रिय मतमा खासै उन्नति छैन ।’