उद्योग होइन, सेवाले नेतृत्व गरेको विकास सम्भव छ ?

उद्योग होइन, सेवाले नेतृत्व गरेको विकास सम्भव छ ?


३० भदौ, जेनेभा । विश्व बैंक र विश्व व्यापार संगठन (डब्लूटीओ) ले प्रकाशित गरेको एउटा प्रतिवेदनले सेवा व्यापारले विकासशील देशका लागि ठूलो अवसर सिर्जना गरेको देखाएको छ ।

यसले अल्पविकसित र विकासशील देशलाई निर्यात केन्द्रित आर्थिक वृद्धिको मोडेलमा जान, आर्थिक क्षेत्र विविधीकरण गर्न, विदेशी लगानी भित्र्याउन तथा विश्वव्यापी आपूर्ति शृंखलामा जोडिन महत्त्वपूर्ण योगदान गर्ने पनि प्रतिवेदनमा छ ।

खासगरी युरोपेली देशमा पहिला कृषि, त्यसपछि उद्योग र त्यसपछि मात्रै सेवा क्षेत्रको विकास भएको र अन्य देशले पनि त्यही मार्ग पछ्याइरहेको सन्दर्भमा ‘ट्रेड इन सर्भिसेस इन डेभलपमेन्ट’ शीर्षकको यो प्रतिवेदनले नयाँ बहस सुरुवात गरेको छ । नेपालजस्ता अल्पविकसित मुलुकमा उद्योग क्षेत्रको विकास नभई सेवा क्षेत्र प्रभावशाली छ ।

नेपालमात्र होइन, अहिले विश्व अर्थतन्त्रमा सेवा क्षेत्र नै प्रभावशाली देखिन्छ । ‘विश्वको कुल गाहस्र्थ उत्पादन (जीडीपी) को दुई तिहाइ हिस्सा सेवा क्षेत्रले ओगटेको छ । यो कृषि र उत्पादनमूलक क्षेत्र दुवैको योगदानभन्दा पनि बढी हो,’ उक्त प्रतिवेदनमा छ, ‘साथै, विश्वको कुल रोजगारीमा सेवा क्षेत्रले आधाभन्दा बढी योगदान गरेको छ ।’

धेरै अर्थशास्त्रीले सेवा क्षेत्रले नेतृत्व गरेको विकास दिगो नहुने बताइरहेका बेला यो प्रतिवेदन र विज्ञहरूले भने अबको विकासको मूलधार यही नै भएको बताएका छन् ।

रिचार्ड बाल्डविन ।

‘तपाईंलाई मन परोस् वा नपरोस्, संसार अब सेवा क्षेत्रले नेतृत्व गरेको विकासको बाटोमा गइसक्यो,’ स्वीट्जरल्यान्डमा हालै सम्पन्न डब्लूटीओको ‘डब्लूटीओ पब्लिक फोरम २०२४’ मा अन्तर्राष्ट्रिय अर्थशास्त्रका चर्चित प्राध्यापक रिचार्ड बाल्डविनले भने, ‘इतिहासमा ‘जी७’ देशले जुन बाटो हिँडे, संसारका अन्य देश पनि त्यही बाटो हिँड्न आवश्यक छैन तपाईं अहिले सन् १९९० को दशकमा हुनुहुन्न । यसबीच संसारमा धेरै परिवर्तन भइसक्यो ।’

सन् २००८ पछि संसारमा वस्तु माग बढ्न नसकी स्थिर भएर बसेको उनको भनाइ छ । ‘त्यसो हुँदा उत्पादनमूलक उद्योगका नाममा देशहरू अड्किएर बस्न हुन्न,’ उनले भने ।

यसै पनि चीनले औद्योगिक उत्पादनमा संसारमा प्रभुत्व कायम गरिसकेका कारण अन्य देशले उmसँग प्रतिस्पर्धा गर्न नसक्ने उनले बताए । ‘तपाईं चीनसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्न किनभने उसले पहिल्यै गरिसक्यो, ऊ औद्योगिक उत्पादनको सुपरपावर बनेको छ भने तपाईंले त्यसको विकल्पबारे सोच्नु उचित हुन्छ,’ उनले भने ।

संसारमा सेवा क्षेत्र विस्तार तीव्र गतिमा भएको उनको भनाइ थियो । यस क्षेत्रले रोजगारी सिर्जना पनि धेरै गरिहेको उनले बताए । ‘अब यो दोस्रो प्राथमिकता होइन, पहिलो प्राथमिकता हो,’ उनले भने ।

भारतले खासगरी डिजिटल सेवा निर्यातमा चमत्कार गरेको उनको भनाइ थियो । ‘संसारका कुनै पनि देशसँग सेवासँग सम्बन्धित खुला व्यापार सम्झौता नगरी पनि भारतले सेवा निर्यातमा ठूलो उपलब्धि हासिल गरेको छ, यो अन्य देशका लागि पनि सिकाइ हुन्छ,’ उनले भने ।

धेरै विकासशील देशका सहरी क्षेत्रमा शिक्षित बेरोजगार संख्या थपिँदै गएको उनको भनाइ छ । उनले यो समस्या समाधान गर्न सक्ने क्षेत्र नै सेवा भएको बताए ।

अहिले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ का माध्यमबाट एउटा भाषामा बोल्दाबोल्दै अर्को भाषामा अनुवाद हुन थालेको छ । यसको प्रयोग आमरूपमा बढ्ने बित्तिकै यसले सेवा क्षेत्रको व्यपारमा आमूल परिवर्तन ल्याउने उनको भनाइ थियो ।

‘जी७ देशहरू उदीयमान अर्थतन्त्रको जनशक्तितर्फ आँखा लगाइरहेका छन । एक भाषामा बोल्दा तत्कालै अर्को भाषामा अनुवाद हुन थालेपछि उनीहरूको प्रयासलाई निकै सहयोग पुग्ने छ,’ उनले थपे ।

उद्योग होइन, सेवाले नेतृत्व गरेको विकास सम्भव छ ?
एंगोजी ओकोन्जो इवेला ।

डब्लूटीओ महानिर्देशक एंगोजी ओकोन्जो इवेलाले सन् २००५ को तुलनामा डिजिटल सेवा निर्यात चार गुणा बढेको बताइन् । विकासशील देशबाट हुने डिजिटल सेवा निर्यात कम नै रहे पनि २००५ को दाँजोमा त्यहाँ पनि चार गुणा बढेको उनले जानकारी दिइन् ।

अबको भविष्य डिजिटल सेवा निर्यात नै भएकाले अब पनि उद्योगको उत्पादन कति भयो भनेर पछि लाग्नुको कुनै तुक नरहेको उनको भनाइ थियो ।

२०२२ मा विश्व व्यापारमा सेवा निर्यात हिस्सा ४२ प्रतिशत पुगेको उनको भनाइ थियो । ‘सेवा क्षेत्रले संसारमा कुल रोजगारीको आधा सिर्जना गरिरहेको छ । सेवा क्षेत्रको कुल निर्यातमध्ये दुई तिहाइ अन्तिम उत्पादन होइन । यसले अर्को सेवा उत्पादनमा सघाइरहेको छ,’ उनले भनिन् ।

सेवा क्षेत्रको विकास गर्न शिक्षा र सिप विकासमा लगानी गर्नुपर्ने उनले बताइन् । विश्व बैंक र डब्लूटीओले सेवा निर्यात प्रवर्द्धन गर्न सहकार्य गरेको उनको भनाइ थियो ।

सेवा क्षेत्रले महिलाको विकासमा पनि महत्त्वपूर्ण योगदान गर्ने पनि उक्त प्रतिवेदनमा छ । ‘सन् २०२१ मा कुल कामकाजी महिलामध्ये ५९ प्रतिशत सेवा क्षेत्रमा काम गरिरहेका छन्,’ प्रतिवेदनमा छ, ‘उनीहरूले काम गर्ने १० मध्ये नौ कम्पनी साना तथा मझौला हुन् ।

डिजिटल सेवा अल्पविकसित देशको मेरुदण्ड

नेपालबाट वार्षिक १ अर्ब अमेरिकी डलर बराबर डिजिटल तथा ‘डिजिटल्ली इनेबल’ सेवा निर्यात हुने गरेको तथ्यांक विभिन्न अध्ययनले देखाएका छन् । यो नेपालको कुल निर्यातको करिब आधा हो ।

पछिल्लो २० वर्षमा संसारमा डिजिटल सेवा निर्यात वृद्धिदर उच्च रहेको डब्लूटीओ र विश्व बैंकको संयुक्त प्रतिवेदनले देखाएको छ ।

२००५ देखि २०२२ सम्म डिजिटल सेवा व्यापार चार गुणाले बढेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘यसबीच व्यावसायिक सेवा निर्यात तीन गुणाले बढेकोमा डिजिटल सेवा निर्यात भने चार गुणाले बढेको छ,’ प्रतिवेदनमा छ ।

यसबीच अल्पविकसित देशबाट हुने सेवा निर्यात चार गुणाले बढेको पनि प्रतिवेदनमा छ । तर, यस्तो सेवा निर्यातमा विश्वका सरकारहरू तथा डब्लूटीओ जस्ता संस्थाको योगदान न्यून मात्रै रहेको सरोकारवालाले बताएका छन् ।

उद्योग होइन, सेवाले नेतृत्व गरेको विकास सम्भव छ ?
इन्दरमिट गिल ।

भारतको डिजिटल सेवा क्षेत्रले सरकारको वा विश्व बैंकजस्ता विकास साझेदारको सहयोग नलिई प्रगति गरेको विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमिट गिलले बताए ।

‘सेवा निर्यातमा विश्व बैंकको सहयोग कति प्राप्त भयो भनेर सोधेको थिएँ । करिब जिरो (शून्य) भन्ने उत्तर आयो । उनीहरू आफैंले गरेका हुन्,’ उनले भने ।

दक्षिणपूर्वी एसिया औद्योगिक उत्पादनले नेतृत्व गरेको विकासको पाठ्यपुस्तकका रूपमा स्थापित त्यो क्षेत्र पनि अब सेवातिर जान थालेको उनले बताए । ती क्षेत्रमा पनि सेवाले उत्पादनमूलक उद्योगको तुलनामा बढी रोजगारी दिइरहेको उनको भनाइ थियो ।

यो क्षेत्रमा काम गर्ने जनशक्ति उच्च शिक्षा हासिल गरेको र सिपयुक्न हुनुपर्ने भन्दै उनले पनि शैक्षिक बेरोजगारी अन्त्य गर्न यो क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए ।

लैंगिक समनताका हिसाबले पनि सेवा क्षेत्रको विकास महत्त्वपूर्ण छ, किनभने यस क्षेत्रमा काम गर्ने जनशक्तिमध्यै आधाजसो महिला छन् । ‘उद्योगभन्दा अघि सेवा लाग्यो भनेर डराउनुपर्दछ ? अहँ पर्दैन,’ उनले भने ।

चीनमै पनि १० वर्षअघि अर्थतन्त्रमा सेवाको योगदान ४४ प्रतिशत रहेकोमा अहिले बढेर ५३ प्रतिशत पुगेको उनको भनाइ थियो । तर, निम्न आय भएका देशमा सेवा क्षेत्रको विस्तार हुन नसक्नु भने चिन्ताको विषय भएको उनको भनाइ छ । ‘सन् १९७० पनि यो ४० प्रतिशत थियो । अहिले पनि त्यति नै छ,’ उनले भने ।

भारतीय उद्योग परिसंघ सल्लाहकार सुमन्त चौधरीले सन् २०३० सम्म भारतले हरेक वर्ष १० खर्ब डलरको सेवा निर्यात लक्ष्य राखेको बनताए । ‘भारतको जीडीपीमा आईटी र आईटी इनेबल सेवाको हिस्सा ७ प्रतिशत पुगेको छ र यो बढ्दै जाने छ,’ उनले भने, ‘यस क्षेत्रमा काम गर्नेमध्ये ४० प्रतिशत महिला छन् ।’

भारतले डिजिटल पूर्वाधार निर्माणमा पनि ठूलो लगानी गरेको उनको भनाइ थियो । यस क्षेत्रमा काम गर्ने जनशक्तिलाई पुनः दक्ष बानाउने र दक्षता वृद्धि गर्ने काममा जोड दिनुपर्ने उनले बताए ।

विशेषगरी विकासशील देशमा सेवा व्यापार सम्भावना उपयोग गर्न कठिन भएको डब्लूटीओकी उपमहानिर्देशक जोहाना हिलले बताइन् । सेवा क्षेत्रको आपूर्ति विभिन्न मोडमा हुने भएको यसको सञ्चालन कठिन हुने उनले बताइन् । त्यसो हुँदा विकासशील देशले ती जटिलताबीच व्यापार गर्न र त्यसको उपलब्धि मापन गर्न कठिन भएको उनको भनाइ थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School