उत्कट जिजीविषाको एक कथा

उत्कट जिजीविषाको एक कथा


जीवन अनिश्चित र मृत्यु शाश्वत छ। युधिष्ठिरलाई यक्षले आश्चर्य के हो भनेर प्रश्न गर्दा युधिष्ठिरले मृत्यु शाश्वत हो भन्ने थाहा हुँदाहुँदै मानिसले आफू मर्छु भन्ने नठान्नु ठूलो आश्चर्य हो भनेर जवाफ फर्काएका थिए। जन्म र मृत्युबीचको अनिश्चित जीवनमा विशिष्ट भावना जिजीविषा हुनुपर्छ जसले मानिसलाई अविरल मृत्युबाट टाढा छस् है भन्ने ढाडस दिन्छ।

जीवन खुसी र सुखको सन्दुक मात्र होइन दु:ख, पीडा, अवसाद जस्ता भावनाको ककटेल हो जसका प्रत्येक विषाक्त घुट जिजीविषायुक्त मानिसले घुटुघुटु पिएर संघर्ष गरिराख्छ। मान्छेहरू त्यसैले जीवन संघर्षको पर्याय भनेर अर्थ लगाइरहन्छन्।

आडुजीवितम – द गोट लाइफ’ – कथा

नजिव मोहम्मद (पृथ्वीराज सुकुमारण) र हकिम (के आर गोकुल) दक्षिण भारतको केरलाबाट पैसा कमाएर प्राप्त हुने सुखसयलयुक्त जीवनको कल्पनाले पुलकित भएर साउदी अरब पुगेका छन् जहाँ दुई मलयाली भाइलाई अरब पुग्ने तारतम्य मिलाउने श्रीकुमारले पर्खिनु भनेका कम्पनीका मान्छेलाई पर्खिरहेका छन् तर मान्छे आइपुगेका छैनन्।

नजिवसँग अरब आउँदा घरबाट बोकेर ल्याएको सामान, युवा उमेर, पाखुरामा बलसँगै आफ्नो मातृभाषा मात्रै छ। नजिव साउदीमा ४-५ वर्ष कम्पनीको काम गरी एसी जडित रूममा बसेर कामको थकाइ मार्दै स्वदेशमा राम्रो घर बनाउने र जन्म नभइसकेको सन्तानको उज्ज्वल भविष्यको सुनिश्चितताको लागि साउदी आइपुगेको छ।

नजिवसँगै केरलाबाट आइपुगेका हकिमसँग पनि सपना त्यस्तै होलान् तर हकिमलाई भाषाको सुविधा छ, हकिम हिन्दी बोल्छ उस्तै परे अङ्ग्रेजी नि बोलिभ्याउँछ।

साउदीमा आफ्ना कफिल पर्खिएर एयरपोर्ट बाहिर उभिएको दुई भाइ मलयालीलाई जसै कफिल आएर जबर्जस्ती आफ्नो भ्यानको पछाडि राख्छ र घरमा परदेश पुगे है भन्ने खबर गर्न फोन समेत गर्न दिंदैन दुई भाइको मनमा चिसो पस्छ। सुरूमा हकिमलाई मरूभूमिको एक दिशाको बाख्रागोठमा ओरालेर नजिवलाई अर्को मसरामा लैजान जसै कफिलले कोर्रा बर्साउँछन्, नजिवलाई अझै संकटासन्न दु:खको आभास भइसकेको हुन्न।

नजिवको मसरामा हिन्दीवालासँग (रविन दास) भेट हुन्छ जसले नजिवलाई नबुझ्ने भाषामा सबै बुझाइदिन्छन् कसरी सुखको खोजीमा निस्केको एक मलयाली नर्कमा गर्तमा उभिइरहेको छ। केही दिनको हिन्दीवालासँगको भौतिक संगत र केही दिनपछि मरूभूमिको खुला मैदानमा गिद्धले लुछ्दै गरेको शव देखेर नजिवले आफ्नो अनिश्चययुक्त जीवनको झल्को देखिसकेको हुनुपर्छ।

कफिलले दिएको मोटो रोटी (खबुज ?) पानीसँग चोपेर खानु, कफिलले दिएको पानीले आफ्नो तिर्खा मेटाउनु र भेडा र ऊँट लिएर डुलाउन जानुलाई नै नियति ठानिसकेको नजिवको झुत्रोझाम्रो परिधान ओढेको कायाले जबसँगै स्वदेशबाट परदेश आएर छुटिएको हकिमलाई मरूभूमिको अर्को कुनामा भेट्छ नजिवलाई जीवन त्यति पनि नराम्रो हुँदैन भन्ने लागेको हुनुपर्छ। हकिमसँगै गोठमा काम गर्ने इब्राइम खादरीले (जिमी जीन लुइस) जब नजिव र हकिम दुवैलाई त्यो नर्कको गर्तबाट निकालेर सुरक्षित बाटोबाट पुन: शहर पसाइदिने आशाको झिल्को देखाउँछन्, दुवै मलयाली पात्रभित्र जिजीविषा तीव्र भएर प्रकट हुन्छ।

त्यो जिजीविषा दुवैलाई नर्कको जीवनबाट निकाल्न पर्याप्त हुन्छ र सकुशल पुन: सामान्य जीवनमा पुर्याउन भूमिका खेल्छ भन्ने प्रश्नको उत्तर चलचित्र अघि बढ्दै जाँदा दिने सफल प्रयत्न गर्छ।

कफिलको छोरीको विवाहको रात जब नजिव, हकिम र इब्राइम मसराबाट मरूभूमिको बाटो भाग्छन्, नजिव र हकिमभित्र उत्कट जिजीविषाको भावनाले घर गर्छ जसले उनीहरूलाई मरूभूमि पार गरेर नर्कमय जीवनबाट मुक्ति दिलाउने सपना देखाउँछ।

आँखाले भ्याएसम्मको दृश्यमा मरूभूमि बाहेकको स्थान नदेखिने ठाउँबाट के दुई भाइ आफ्नो पर्थप्रदर्शक सहित सकुशल शहर पुग्न सक्छन् भन्ने प्रश्नले दर्शकलाई बाँधिराख्न सफल हुन्छ।

निर्देशक, संगीत निर्देशक र कलाकारको खुबी

ब्लिसीले निर्देशन गरेको चलचित्रलाई निर्देशकले आफ्नो तवरबाट पूर्ण रूपले न्याय गरेका छन्। निर्देशकले पात्रहरूबाट लिनुपर्नेसम्म काम लिएका छन् भने आफूले दिनुपर्ने थोकमा कुनै कन्जुसी गरेका छैनन्। बेन्यामिनको उपन्यास आडुजीवितमकै मूल कथालाई सापट लिएर १६ वर्ष लगाएर मिहिनेत गरिएको भन्ने चलचित्रमा त्यो मिहिनेत पनि झल्किएको देखिन्छ।

फिल्मका मुख्य पात्र नजिवको भूमिका निर्वाह गरेका पृथ्वीराजले पूर्ण पोषणयुक्त खाना नपाइरहेको मरुभूमिको बाख्रागोठालोको भूमिकालाई पूर्ण रूपमा सफलतापूर्वक न्याय गरेका छन्। नजिवले बन्दुकको काठजडित भागको चोटले खल्च्याङ गरेर हिंड्ने पात्रदेखि खाना नपाएर नुहाउन नपाएर कालो दुब्लो भएको कायाले चलचित्र हेर्ने दर्शकलाई चित्त बुझाउँछ। अझ, बाख्राको पानी पिउने भाँडोबाट पानी पिउँदाको दृश्य र घरबाट परदेशमा आउँदा ल्याएको आचारको डिब्बाको बिर्को खोलेर वासना महसुस गर्नु, एक-एक पित्को आचार खानु लगायत दृश्यमा नजिवले देखाएको कलाकुशलतालाई प्रमाणित गर्दछ।

त्यस्तै, हकिमको चरित्र गरेका के आर गोकुलको भूमिका पनि चित्तबुझ्दो छ। मरूभूमिमा हिंडिरहँदाको समयमा बढी पर्दामा देखिने हकिमले आफ्नो चरित्र बलियोसँग निर्वाह गरेका छन् भने छोटो भूमिकामा रहेका हिन्दीवाला (रोविन दास) र साइनु (अमला पल) को भूमिका पनि खोट लगाउने खालको छैन।

फिल्ममा संगीत भरेका एआर रहमानले पनि आफ्नो नामको साख जोगाउने गरी काम गरेका छन्। चलचित्रका गीतमा र विभिन्न समयमा बज्ने ब्याक-ग्राउण्ड म्युजिकले केही पट्यारलाग्दो दृश्यलाई पनि हेरेर सुनिराखौं जस्तो बनाइराख्छ।

सुनिल केएससीको छायांकन पनि प्रशंसायोग्य छ। मरूभूमिको लङ सर्ट होस् या रातिको बेला खिचिएको दृश्यमा होस् वा नजिकबाट हकिमको अनुहार लगायत हाउभाउका दृश्यहरू, राम्रो खिचेका छन्।

प्रशंसा (केही बिम्व) र आलोचना (केही कमजोरी)

चलचित्रमा नजिवले बाख्राको पानीदानमा घाँटी डुबाएर पानी पिएको दृश्य होस् वा कफिलले विवाहको एक दिन अगाडि खुसी भएर मासु दिंदा नजिवले नखानुको दृश्य त्यसले मानिस ढिलो चाँडो बाध्यतालाई कसरी स्वीकार गर्न बाध्य हुन्छन् भन्ने कुरालाई घतलाग्दो किसिमले बुझाउन निर्देशक सफल भएका छन्।

नजिवले घरकी प्रियसीलाई सम्झेर उनको नाम पुरानो गाडीमा लेख्नु, घरबाट ल्याएको अचार फारो गरेर पित्को पित्को गरेर खानु र घर सम्झेर त्यही अचारको वासना सुघ्नु जस्ता दृश्यले दर्शकलाई भावुक बनाउँछन् भने नजिवले मसरा छोड्ने बेला निर्धक्क भएर मनलाग्दी पानी प्रयोग गरेर नुहाउनु, घरबाट आउँदा ल्याएको कपडा मसराबाट भागेर जाँदा लगाउने सोचले पात्रभित्रको आशावादितालाई दर्शाउँदछ।

केही बिझाउने कुराहरू

नजिव, हकिम र इब्राइम मसराबाट भाग्दाको दृश्यमा लामो समयसम्म देखाइने मरूभूमिको दृश्य हेर्नेहरूलाई पट्यारलाग्दो लाग्न सक्छ। मरूभूमिमा हिंडिरहँदा देखाइने मिराजको दृश्य र छेपारो देखिनु, बिस्कुटको प्लास्टिक खोल भेटिनु, पानी पिउन बोटल भेटिनुलाई संयोग मात्रै मान्न सकिन्न, यी दृश्यहरू सजिलै अनुमान गर्न सकिने किसिमको छ।

मरूभूमिको लामो यात्रामा हकिमले ज्यान गुमाउनु, नजिव मरणासन्न अवस्थामा पुग्नु र इब्राइमलाई सामान्य थकाई मात्र लाग्नुलाई सजिलै पचाउन सकिंदैन। इब्राइमको विषयमा चलचित्रको अन्तिममा राखिएको तस्विरयुक्त स्पष्टीकरणले मात्र त्यो सजिलोपनालाई जस्टिफाई गर्न सक्दैन।

र, स्पष्टीकरण

नजिवले भगवान् भएको भए हामीले यति दु:ख झेल्नुपर्थ्यो होला र भनेर प्रश्न सोधेको केही समयभित्रै उत्तर पाउँछन्, भगवान् रहेछन् र त आज सकुशल रहन पाएँ।

कफिलले जब पुलिस चौकीमा मेरो कानुनी कामदार नभएर बाँचिस् नत्र मसरा लगेर हत्या गरिदिन्थें भनेर स्पष्टीकरण दिन्छन्, नजिवको फेरि भगवान्‌ले किन यति दु:ख दियो भन्ने प्रश्नमा पुग्छन् होला कि ? कि आफ्नो जीवनलाई स्पष्टीकरण मान्छन् ?

र, एउटा आफ्नै, मैले चलचित्रको कथालाई पहिलो पल्ट चलचित्रमै हेरें। आडुजीवितमको अङ्ग्रेजी अनुवाद द गोट डेज र नेपाली अनुवाद खबुजलाई चलचित्रमा हेर्नुअघि उपन्यासमा पढेको भए सायद अझ धेरै कुराको समीक्षा हुन्थ्यो होला।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School