‘इलाम-२ का जनतामा विकासको चाहना मात्रै छ’

‘इलाम-२ का जनतामा विकासको चाहना मात्रै छ’


रास्वपा उम्मेदवार मिलन लिम्बूसँग अनलाइनखबरका बसन्त बस्नेतसुदीप श्रेष्ठले माङ्सेबुङमा गरेको कुराकानी :

पहिलेका चुनावमा पत्रकार भएर हिंड्नुहुन्थ्यो, अहिले त आफैं पात्र बन्न पुग्नुभयो । कस्तो अनुभूति हुँदैछ ?

जिन्दगीमा उतारचढाव चलिरहेको छ । यसो भनिराख्दा पहिला समस्या उजागर गर्ने, सम्बोधन गर्नुपर्छ भन्ने ठाउँमा थिएँ । अब चाहिं समस्या आफैंले देख्ने, सँगै अनुभूत गर्ने र समाधान गर्नुपर्छ भन्ने पक्षमा लागेकोले ठिकै लाग्छ मलाई । हामी त गीत गाउँदै, नाच्दै, रमाइलो गर्दै जनतासँग भेट्दै भोट मागिरा’छौं ।

तपाईसँग यतिखेर माङ्सेबुङ खलङ्गेमा भेट भयो । यहाँ विभिन्न पार्टीको विभिन्न प्रचार सामग्री देखिन्छ । तर, तपाईंहरूको त खासै प्रचार सामग्री देखिंदैन नि, किन ?

प्रचार सामग्रीले चुनाव जितिने भए त धेरैले जित्नुहुन्थ्यो होला होइन र ? जनतालाई प्रचारै देखाएर मात्र जितिने त होइन होला । मुख्य एजेन्डा, मुद्दाहरू होलान्, जनतासँग भेट्ने कुरा होला, दैलोमा पुग्ने हाम्रो मुद्दा यो हो, एजेन्डा यो हो भन्ने होला । झन्डा देखाएर, खर्च किन गर्ने धेरै ।

मतदाताहरूको मनोविज्ञान के पाउनुभयो ? उनीहरूको गुनासो, असन्तुष्टि, आशा, अपेक्षा के छ ?

जनतामा सबैभन्दा ठूलो चाहना विकासको मात्रै देखिन्छ, जुन मैले बारम्बार भन्दै आएको छु । सांसदहरूको जिम्मेवारी, नीति–निर्माण गर्ने, कानुन बनाउने हो तर हाम्रो देशमा सबैभन्दा धेरै सपना देखाइयो ।

योभन्दा अगाडिका राजनीतिक दलहरूले सपना देखाउनुभयो । त्यो सपना पूरा भएको छैन । त्यो सपना चाहिं के थियो भने विकास र समृद्धिको सपना थियो । त्यो सपना पूरा नभएका कारण अहिले पनि उहाँहरूले हामीसँग विकासकै चाहना राख्नुहुन्छ ।

विकासको चाहना राखेर पहिलेदेखि नै के देखिन्छ भने परम्परागत मतदाताको बाहुल्य छ । अरू बेला जे जे गुनासो गरे पनि कांग्रेस, एमालेलाई नै भोट हालौं भन्ने देखिन्छ । त्यस्तो खालको मतदाताको परम्परा चिर्न कत्तिको सहज होला तपाईंलाई ?

नेपाली जनताले मतदानकै कुरा गर्दा निश्चित–निश्चित समयमा ‘ब्यालेट विद्रोह’ हुँदै आएको छ । त्यो किन हुँदै आएको छ भने राजनीतिक दलले जनताबाट पाएको अभिमतको दुरुपयोग गर्दाखेरि नेपाली जनताले एउटा मोडमा पुगेर विद्रोह गर्दै आउनुभएको छ ।

यो बाजी इलाममा विद्रोह हुँदैछ । यहाँका राजनीतिक दलहरूले लामो समयदेखि इलामेली जनतालाई गरेको वाचा–बन्धन र प्रतिबद्धता पूरा नगरेका कारण विगतको विरासतको कुरा पनि होइन, कुनै पार्टीको किल्लाको कुरा पनि होइन, योपालि इलामेली जनता जनता भएर विद्रोह गर्दै हुनुहुन्छ ।

यहाँ चाहिं पहिचान राजनीतिको ठूलो प्रभाव छ । तपाईं आफैं पनि पहिचानको आन्दोलनमा हुनुहुन्थ्यो । तर, पछिल्लो दिनमा पहिचानको मत एकदम धेरै खलकमा बाँडिन लागेको हो ?

पहिचानलाई हामीले कसरी व्याख्या गर्ने भन्ने कुरा हो । पहिचानलाई साँघुरो घेरामा राख्दाखेरि त्यो सीमित एउटा सानो गल्लीमा हुन्छ । त्यो पहिचानलाई खुला मैदानमा, सडकमा लैजाँदा सबैको हुन्छ । मत बाँडिंदा राम्रै हुन्छ नि होइन ? त्यो मतलाई भोलि सम्बोधन गर्नुपर्छ । त्यसो हुँदा पहिचान पक्षधरको मत त सबैमा जान्छ नि !

पहिचान पक्षधरको मत संरक्षण हुन सकेन, तपाईंहरूले दिनुभएन भन्ने पनि गुनासो रहेछ नि !

हामीले ? त्यस्तो गुनासो त नहुनुपर्ने, त्यस्तो किन भन्ने र ? त्यस्तो गुनासो छैन । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिचानको मुद्दा समेटेन भन्ने प्रसङ्गमा प्रश्न उठाइए । यो भ्रम फिंजाइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पहिचानको विरुद्धमा बोलेको चाहिं कहीं पनि छैन । भलै, पहिचानलाई किटान गरेर यो हो भनेर स्पष्ट रूपमा आएको छैन होला तर फेरि जलेश्वरबाट पारित भएको प्रस्तावना हेर्दाखेरि पहिचानका सन्दर्भमा यहाँका सभ्यताहरू नै हाम्रो पहिचान हो भनेर लेखिएको छ ।

अब म संघीयताको बारेमा भन्छु । संघीयताको विरुद्धमा हाम्रो पार्टीले कहिले बोलेको छ र ? संघीयता त अहिले सबैभन्दा बदनाम छ । त्यो बदनाम के कारण भयो भन्दा प्रदेश संरचनाका कारण त्यसमा पनि प्रदेश सभाका कारण बदनाम भएको हो । त्यो चाहिं माथि संघ सरकारको फोटोकपी गरिएका कारण न त्यो बिग्रिएको हो । त्यसलाई बलियो बनाउ भन्ने न हो ।

त्यसलाई सच्याएर चलाउनुपर्ने भन्ने हो । त्यसले त संघीयतालाई नै बलियो बनाउने होइन र ? संघीयताको अहिलेको संरचनामा जसले संघीयतालाई नै बदनाम गराउँछ, त्यसलाई बलियो बनाउनुपर्छ भन्ने मत त सबैभन्दा संघीयताको पक्षधर होला नि त !

यहाँ त के छ भने संघीयताको विरुद्ध बोल्नेहरू छन्, गणतन्त्रको विरुद्धमा बोल्नेहरू छन्, धर्मनिरपेक्षताको विरुद्ध बोल्नेहरू छन्, मूल संविधानको ‘स्पिरिट’ र जनताको भावनाको विरुद्ध बोल्ने दलहरू पनि यहाँ छन् नि त !

तपाईंले चाहिं केके कुरा उठाएर जाँदै हुनुहुन्छ चुनावमा ? के वाचा गर्नुभएको छ  ?

सबैभन्दा ठूलो नीतिनिर्माण गर्ने कुरा हो । तर, जनअपेक्षा फरक छ । यद्यपि, कानुन बनाउने सन्दर्भमा हाम्रो भूमिका रहन्छ । मैले अघि भनेका संघीयताका कुरा बलियो बनाएर जानुपर्छ, स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्छ भन्ने सन्दर्भ र हाम्रो पार्टीले अवलम्बन गरेका मुद्दाहरूमा म प्रतिबद्ध भएर जान्छु ।

दोस्रो कुरा के रहेछ भने हामीलाई यस्तो तरिकाले बाध्य पारिंदैछ कि जनताको चाहना विकाससँग जोडिन्छ, विकासको साझेदार बन्छु भनेको छु, त्योभन्दा ठूलो एजेन्डा मैले यो आकाशै पल्टाउँछु, हिजोका नेताहरूले जस्तो म भोलि नै पिच गर्छु चुनाव जिताउनुस् भन्ने मेरो छैन ।

मैले जनतालाई के भनेको छु भने म तपाईंहरूको प्रतिनिधि हो, म एक्लैले केही गर्न सक्दिनँ, सांसद बनाएर पठाउनुभो भने भोलि विकासको साझेदार पनि बन्ने सन्दर्भमा तपाईंहरूसँग सबैभन्दा पहिले आएर यहाँ गर्नुपर्ने के काम हो, त्यसको प्राथमिकीकरण हेरेर पहल गर्नुपर्नेमा पहल गर्छु तर म एक्लैले हुँदैन भनेको छु ।

तपाईंहरूको मुख्य प्रतिस्पर्धी चाहिं को हो यो चुनावमा ?

सबै प्रतिस्पर्धी हो नि ! मैले उहाँहरू फलाना, यो पार्टी भनेर भन्न हुँदैन । किनभने, चुनावी मैदानमा आउनुभएको छ । सबै प्रतिस्पर्धीप्रति सम्मान पनि छ । म सबैलाई सम्मान पनि गर्छु । यसका आधारहरू छन् ।

मैले जनतालाई के भनेको छु भने म तपाईंहरूको प्रतिनिधि हो, म एक्लैले केही गर्न सक्दिनँ, सांसद बनाएर पठाउनुभो भने भोलि विकासको साझेदार पनि बन्ने सन्दर्भमा तपाईंहरूसँग सबैभन्दा पहिले आएर यहाँ गर्नुपर्ने के काम हो, त्यसको प्राथमिकीकरण हेरेर पहल गर्नुपर्नेमा पहल गर्छु तर म एक्लैले हुँदैन भनेको छु ।

जस्तै, काठमाडौंको चुनावमा क-कसलाई प्रतिस्पर्धी मानिएको थियो ? त्यसपछि धरानको ? त्यसअघि २०६४ को चुनाव र विभिन्न कालखण्डको चुनाव हेर्दा को कसलाई प्रतिस्पर्धी मान्ने भन्ने कुराको ‘डिक्लियर’ चाहिं जनताले गर्ने हो । अहिलेको सन्दर्भमा सबै प्रतिस्पर्धी हुनुहुन्छ ।

पहिला कसले कति मत पाएको थियो भनेर मत विश्लेषण गरेर प्रतिस्पर्धी नतोक्ने ?

त्यो मत पाएको आधारमा हेर्ने हो भने त लगातार धेरै मत ल्याउने अर्को पटक पनि जित्नुहुन्थ्यो होला नि होइन ? त्यो मतको त्यति ‘भ्यालु’ हुँदैन । तर, जनताले कसलाई मन पराउँछ, कसको मन कसले जितेको छ भन्नेले निर्धारण होला ।

तपाईंका लागि रोचक अनुभूति भइरहेको होला । किनभने, पहिला तपाईंले स्वतन्त्र रूपमा लड्ने योजना बनाउनुभएको थियो । पछि तपाईंलाई राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट मिल्यो है ?

रोचक पनि हो र मैले पत्रकार सम्मेलन गरेर मुद्दा मिल्ने, उद्देश्य मिल्ने, नीति, कार्यक्रम मिल्नेहरूसँग मेरो सहकार्यको सम्भावना खुलै छ भनेको थिएँ । त्यसो हुनाले रोचक त स्वाभाविक हुनेभयो ।

म हिजो निश्चित टिमसँग काम गरिरहेको थिएँ तर आज आउँदा सिङ्गो पार्टी लागेको छ । यतिखेर देश–विदेशमा रहेका साथीहरू, गाउँ-समाज सबै लागेका छन् । त्यसो हुँदा स्वाभाविक रोचक हुने नै भयो नि !

स्वतन्त्र उम्मेदवार बनेर सुरू भएको मिलन लिम्बूको यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीमा आउँदासम्ममा संशोधन, परिमार्जन, विचलन केही छैन ?

 त्यस्तो विचलन त के छ र ? मैले हिजो पनि के भनेको थिएँ भने म जनताको पक्षमा काम गर्न आएको हो, म जनताको सेवकभन्दा अरू होइन भनेको छु ।

मेरो पार्टीले पनि त्योभन्दा बाहिर भन्दैन । सांसद वा जनप्रतिनिधिको काम त्यही हो, त्यसकारण विचलन हुने कुरो कहीं पनि छैन ।

तपाईंहरूले भ्रष्टाचार, सुशासनका लागि आवाज उठाउने कुराहरू धेरै भन्नुभएको छ । तर, तपाईंकै पार्टीका शीर्ष नेताहरूका बारेमा विभिन्न प्रसङ्गहरू उठिरहेका छन् । यसबारे के भन्नुहुन्छ ?

त्यसमा मेरो ठूलो प्रतिक्रिया छैन । किनकि, यो देशमा यी सबै कुराहरूलाई हेर्ने सरकारी संयन्त्र, निकायहरू छन् । ती निकायले भोलि कसैलाई दोषी ठहर गर्छ भने कानुनको दायरामा रहेर सजायको भागीदार बन्नुपर्छ भने तपाईं हामी सबै बन्नुपर्छ । तर, प्रमाणित नहुने कुराहरूमा धेरै स्यालहुइयाँ गर्ने भन्ने हुन्छ नि, त्यसो गर्नुहुन्न भन्ने मलाई लाग्छ ।

चुनाव जितियो भने एउटा कुरा, जितिएन भने के गर्ने ?

म त साग बेचेर जनताको सेवा गर्ने भनेर बारम्बार भनिरहेको छु । तपाईं हाम्रो गाउँ नजिकै पर्छ, रायो साग कत्रो ठूलो, कति धेरै उत्पादन हुन्छ ।

जनताको सेवा गर्नलाई चुनावै जित्नुपर्छ भन्ने छैन । तर, चुनाव जितेर जाँदा जनतालाई अझै ठूलो ‘भोल्युम’ मा अझै शक्तिशाली भएर सेवा गर्न सकिन्छ । म त जनताकै सेवा गर्न आएको, दुःख–पीरमा सँगै हुन्छु भनेको ।

म चुनाव जित्नुपर्छ, चुनाव जितेर नीतिनिर्माणमा काम गर्नुपर्छ, विकासको साझेदार बन्नुपर्छ भन्ने पहिलो प्राथमिकतामा रहन्छ । चुनाव नजित्दा के गर्ने भन्ने सन्दर्भ बारम्बार आउँछ, चुनाव नजित्दा पनि फेरि जनताकै सेवा गर्ने हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यमबाट ?

त्यो त स्वाभाविक हो नि म सदस्य भइसकें त्यो पार्टीको । मसँग त के–के जोडिन्छ तपाईंलाई थाहा छ । इलाम मात्र होइन, समग्र देशको राजनीति जोडिने कुरा हुन्छ अब । इलाममा त काम गर्नुपर्छ नै, त्यसो हुँदाखेरि पार्टीमै रहेर पार्टीलाई अझै बलियो बनाउँदै अब मिसन–८४ भन्ने छ, मिसन–८४ मा कायापलट गर्ने गरी काम त गर्नुपर्‍यो नि !

कति मतको आशा राख्नुभएको छ ?

जनताले दिने मतको आशा हो, त्यो जित्ने मत हो ।

तस्वीर/भिडियो : आर्यन धिमाल





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School