इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि इलाम सदरमुकाममा आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

नेपाल बार एसोसिएसनको भवनमा कार्यालय स्थापना गरिएको हो। निर्वाचन आयुक्त जानकी तुलाधरले कार्यालय उद्घाटन गरिन्।

कार्यालय स्थापना गर्दै आयुक्त तुलाधरले शान्तिपूर्ण र सभ्य ढंगले नमुनाकै रूपमा यहाँ उपनिर्वाचन गराउने बताइन्। उनले उपनिर्वाचनका लागि आवश्यक सबै संयन्त्र तयारी अवस्थामा रहेको पनि जनाइन्।

निर्वाचन कार्यतालिका अनुसार आज यो कार्यालय स्थापना गरिएको हो। कार्यतालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ।

चैत २८ देखि वैशाख १२ सम्म प्रचार अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ।

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आउँदो उपनिर्वाचनका लागि २० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८० २२:२२ बिहीबार





Source link

Leave a Comment