प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : मार्क शिफेलबेन/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति अपनाइने नीतिमा आफ्नै प्रशासनभित्र मतभेद रहेको संकेत दिएका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गब्बार्ड आफूभन्दा इरानको परमाणु कार्यक्रम नियन्त्रण गर्ने विषयमा केही नरम रहेको बताएका हुन्।
फ्लोरिडास्थित मार-ए-लागोबाट वासिङ्टन डि.सी. फर्किने क्रममा एयर फोर्स वनभित्र ट्रम्पले भने, ‘मेरो सोच र गब्बार्डको दृष्टिकोण केही फरक छ। तर, यसले उनलाई जिम्मेवारी सम्हाल्न अयोग्य बनाउँदैन।’
उनले थप स्पष्ट पारे, ‘म दृढ छु, इरानसँग परमाणु हतियार हुनु हुँदैन। यदि भयो भने उनीहरूले तुरुन्तै प्रयोग गर्न सक्छन्।’
ट्रम्पले इरानको परमाणु महत्वाकांक्षा नियन्त्रण गर्न सम्भावित सम्झौता नजिकै पुगेको संकेत पनि दिएका छन्। गब्बार्डप्रति विश्वास कायम छ कि छैन भन्ने प्रश्नमा उनले ‘पक्कै छ’ भन्दै समर्थन जनाएका थिए।
अमेरिका–इजरायल संयुक्त अभियान अहिले दोस्रो महिनामा प्रवेश गरिरहेको छ। यसैबीचमा ट्रम्प प्रशासनभित्रै यस युद्धप्रति दृष्टिकोण फरक–फरक देखिएको हो ।
उपराष्ट्रपति जेडी भान्सले द्वन्द्वप्रति सावधानीपूर्ण नीति अपनाउनुपर्नेमा जोड दिएका छन्। त्यस्तै, केही रिपब्लिकन नेताहरूले आन्तरिक रूपमा युद्धका आर्थिक तथा राजनीतिक असरबारे चिन्ता व्यक्त गरिरहेका छन्।
ट्रम्प प्रशासनले इरानको परमाणु कार्यक्रमको अवस्थाबारे एकरूप सन्देश दिन सकेको छैन।
यस्तै, यस महिनाको सुरुवातमा गब्बार्डले अमेरिकी गुप्तचर निकायसँग इरानले अत्यधिक समृद्ध युरेनियम कहाँ राखेको छ भन्नेबारे “उच्च विश्वास” रहेको जानकारी दिएकी थिइन्। तर, सार्वजनिक रूपमा उनले त्यस भण्डार नष्ट गर्ने अमेरिकी क्षमताबारे खुलाउन अस्वीकार गरिन्।
त्यस्तै, गब्बार्डसँग निकट सम्बन्ध भएका जो केन्ट (जसले नेशनल काउन्टरटेरोरिज्म सेन्टरको नेतृत्व गरेका थिए)ले युद्धको विरोध गर्दै राजीनामा दिइसकेका छन् । उनले इरानले अमेरिकाका लागि तत्काल कुनै प्रत्यक्ष खतरा नरहेको बताएका थिए।