प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन्। तीन महिनादेखि जारी द्वन्द्व अन्त्यका लागि भइरहेको कूटनीतिक पहलमा प्रगति भएको संकेत देखिए पनि महत्वपूर्ण विषयमा अझै सहमति जुट्न नसकेको जनाइएको छ।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी जहाजमाथि स्ट्रेट अफ होर्मजुमा लगाइएको अमेरिकी नाकाबन्दी सम्झौता अन्तिम रूप नपाएसम्म कायम रहने स्पष्ट पारेका छन्।
“सम्झौता सम्पन्न, प्रमाणीकरण र हस्ताक्षर नभएसम्म अमेरिकी नाकाबन्दी पूर्ण रूपमा लागू रहनेछ,” ट्रम्पले लेखेका छन्। उनले दुवै पक्षले समय लिएर सही निर्णयमा पुग्नुपर्ने पनि बताएका छन्।
यस विषयमा इरान सरकारले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर इरानको तस्निम न्यूज एजेन्सीले अमेरिका अझै सम्भावित सम्झौताका केही महत्वपूर्ण बुँदामा अवरोध बनिरहेको जनाएको छ। विशेषगरी विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तेहरानको मागमा प्रगति हुन नसकेको समाचारमा उल्लेख गरिएको छ।
यसअघि शनिबार ट्रम्पले अमेरिका र इरानबीच शान्ति सम्झौतासम्बन्धी समझदारीपत्रमा “धेरै हदसम्म वार्ता टुंगिएको” दाबी गरेका थिए। उक्त सहमतिपछि स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको थियो। युद्धअघि विश्वको झन्डै २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने गरेको थियो।
तर वार्ताका मुख्य विषयमा अझै दुवै पक्षबीच मतभेद कायमै छ। इरानको आणविक कार्यक्रम, इजरायल र लेबनान केन्द्रित क्षेत्रीय तनाव, इरान समर्थित हिजबुल्लाहको भूमिका, इरानमाथिका आर्थिक प्रतिबन्ध हटाउने विषय तथा विदेशी बैंकमा रोक्का गरिएका अर्बौँ डलर बराबरको इरानी तेल आम्दानी फुकुवा गर्ने माग वार्ताका विवादित मुद्दा बनेका छन्।
ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले इरानको निर्णय प्रक्रिया ढिलो रहेको उल्लेख गर्दै वार्ता अझै समय लाग्ने बताएका छन्।
नाम नखुलाउने सर्तमा बोल्दै ती अधिकारीले इरानले सैद्धान्तिक रूपमा स्ट्रेट अफ होर्मुज पुनः खुला गर्न सहमति जनाएको बताएका छन्। त्यसको बदलामा अमेरिकाले आफ्नो नौसैनिक नाकाबन्दी हटाउने र इरानले उच्चस्तरमा समृद्ध बनाइएको युरेनियमको व्यवस्थापन गर्ने प्रस्तावमा छलफल भइरहेको जनाइएको छ।
उनका अनुसार इरानका सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीले पनि सम्झौताको मूल ढाँचालाई समर्थन गरेको अमेरिकी पक्षको बुझाइ छ। तर इरानबाट यसबारे कुनै औपचारिक पुष्टि आएको छैन। सैद्धान्तिक सहमतिले वास्तवमा के जनाउँछ भन्ने पनि स्पष्ट भएको छैन।
अमेरिकी अधिकारीहरूका अनुसार पहिलो चरणमा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने र अमेरिकी नाकाबन्दी हटाउने योजना छ। त्यसपछि आणविक कार्यक्रमसम्बन्धी विस्तृत प्राविधिक सहमति गर्ने प्रक्रिया अघि बढाइनेछ।
इरानले उच्चस्तरमा समृद्ध बनाइएको युरेनियम नहटाउने भन्ने चर्चा अस्वीकार गर्दै एक अधिकारीले भने, “मुद्दा सहमतिको होइन, कार्यान्वयन कसरी गर्ने भन्ने हो ।”
अर्का वरिष्ठ अधिकारीका अनुसार प्रस्तावित वार्ता ढाँचाअनुसार अन्तिम सम्झौतामा पुग्न वार्ताकारहरूलाई ६० दिनको समय दिइनेछ।
यसअघि इरानी स्रोतहरूले रोयटर्ससँगको कुराकानीमा भविष्यका चरणमा युरेनियम भण्डारणसम्बन्धी विवाद समाधानका लागि व्यावहारिक उपाय खोज्न सकिने बताएका थिए। त्यसमा संयुक्त राष्ट्र संघको आणविक निगरानी निकायको निगरानीमा उक्त सामग्रीको घनत्व घटाउने विकल्प पनि समावेश हुन सक्ने जनाइएको थियो।
इरानले भने आफूले आणविक हतियार विकास गरिरहेको अमेरिकी र इजरायली आरोपलाई लामो समयदेखि अस्वीकार गर्दै आएको छ। नागरिक प्रयोजनका लागि युरेनियम समृद्ध बनाउने अधिकार आफूलाई रहेको इरानको दाबी छ। यद्यपि उसले हासिल गरेको युरेनियमको शुद्धताको स्तर विद्युत् उत्पादनका लागि आवश्यक स्तरभन्दा निकै माथि रहेको अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ।