नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ


अन्य देशमा पहिले खेलाडीलाई पर्याप्त सुविधा दिएर विजेता बनाइन्छ । तर नेपालमा पहिले आफूलाई प्रमाणित गरेपछि मात्र सुविधा दिने प्रचलन छ ।


१ वैशाख, काठमाडौं । चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड)मा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भए । इतिहासकै सबैभन्दा धेरै खेलाडी सहभागी भएको उक्त संस्करणमा पदक भने दुई वटामै सीमित रह्यो ।

करातेकी एरिका गुरुङले रजत पदक र महिला कबड्डी टोलीले कांस्य पदक जित्दै नेपालको साख जोगाएका थिए ।

ओलम्पिकपछिको सबैभन्दा ठूलो मानिने एसियाली खेलकुदमा नेपालले पहिलो संस्करणबाट सहभागिता जनाउन थालेको हो । तर, हालसम्म एउटा पनि स्वर्णपदक जित्न सकेको छैन । केही रजत र कांस्य पदकमै नेपाली खेलकुद अडिएको छ ।

एसियाली खेलकुदमा ऐतिहासिक पदक जितेर आएपछि कबड्डीकी कप्तान मेनुकाकुमारी राजवंशी भनेकी थिइन्, ‘न कबड्डीको हल थियो, न त लगानी तर हामीले मेडल लिएर आयौँ । राज्यको लगानीबिना पनि खेलाडीको मिहिनेतको बलमा यो पदक आयो ।’

नेपालले खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागिता जनाउन थालेको ६ दशक बढी भइसकेको छ । तर, नेपाल सहभागितामै सीमितजस्तो अवस्था छ । गत वर्ष भएको पेरिस पारा ओलम्पिकमा पलेसा गोवर्धनले जितेको कांस्य पदक नै पहिलो तथा एक मात्र पदक हो ।

पलेसाले पारा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहमा ऐतिहासिक पदक जितेकी हुन् । जुन नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा जितेको ऐतिहासिक र सबैभन्दा ठूलो पदक हो ।

पलेसा गोवर्धन

ओलम्पिक र एसियाली खेलकुदसहितका विश्वस्तरमा सहभागिता जनाउने गरेको नेपालको उपलब्धि भने शुन्यप्राय: छ । अझ भनौं– खेलाडी खेलकुद दक्षिण एसियाभन्दा माथि उठ्न सकेको छैन ।

घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल २०२ मेडलसहित दोस्रो स्थानमा रह्यो । त्यति बेला मेडल जितेका एक सय भन्दा बढी खेलाडी खेल छाडेर विदेश पलायन भइसकेका छन्  । राज्यबाट उचित व्यवस्थापन हुन नसक्दा उनीहरू बिदेसिन बाध्य भएको सरोकारवालाको ठहर छ ।

राज्यबाट प्रतियोगितामा मात्रै लगानी गर्दा खेलाडीहरू बीचमै हराउने गरेको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार बताउँछन् । ‘सुरुवातमा खेलाडीको चामिङ एकदमै बढी हुन्छ,’ उनी भन्छन्, ‘त्योभन्दा माथि जाँदा चाहिने सेवा सुविधा नपाउँदा एउटा टुर्नामेन्टबाट अर्को टुर्नामेन्टमा जाँदा ५० प्रतिशत खेलाडी कम हुन्छन् ।’

ग्रासरुटदेखि नै नेपाली खेलकुद धरमराइरहेको छ । राष्ट्रिय टिमको ‘ब्याकअप’ तयार गर्नेदेखि सक्षम खेलाडी पहिचान गर्ने यात्रामा न राज्य लागेको छ, न खेल संघ नै । आफ्नै खर्चमा खेलेर उत्पादन भएका खेलाडीहरूको भरमा नेपाली खेलकुद चलिरहेको छ भन्दा फरक पर्दैन । तल्लो तहदेखि राष्ट्रिय टिमसम्म पनि प्रशिक्षण गर्ने ठाउँ र खेलकुद सामग्रीको अभाव हुँदै आइरहेको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्ड हल छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९७१ मा बनाएको कभर्ड हलमा नेपाल भलिबल संघले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । त्यसबाहेक अधिकांश भलिबल प्रतियोगिता आउटडोर खेलाउन बाध्य छन् ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको भनिने दशरथ रंगशाला एसियाली फुटबल महासंघ (एएफसी)बाट अयोग्य हुँदा नेपाली खेलाडी घरेलु मैदानमा हुनुपर्ने खेल विदेशमा गएर खेल्न बाध्य छन् । एकपछि अर्को सफलता पाइरहेको क्रिकेटले पनि मैदानका लागि त्रिभुवन विश्वविद्यालयसँग हारगुहार गर्नुपरिरहेको छ । कबड्डीदेखि दृष्टिविहीन क्रिकेटरले मैदानबिना नै विश्वसामु नेपालको साख जोगाइरहेका छन् ।

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम

देशमा खेलेर भविष्य नदेखेपछि एकपछि अर्को खेलाडी विदेश पलायन भइराखेका छन् । पछिल्लो समय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही सुटुक्क अस्ट्रेलिया लागिन् । पछिल्लो केही वर्षयता खेलाडी पलायनको दर ह्वातै बढेको छ ।

राज्यबाट आउने पैसाले अधिकांश खेलका खेलाडीलाई खाना–खाजा खानसमेत पुग्दैन । खेलाडीलाई नेपालमै जोगाइराख्न न राज्यले काम गर्न सकेको छ, न खेल संघले । उनीहरू त एक आपस भिडेर खेलाडीको भविष्य बिगार्न तल्लीन देखिन्छन् ।

अहिले राखेप र अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादका कारण खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाइरहेका छन् । जसका कारण खेलाडीले खेल्नका लागि परिवारबाट समेत सहयोग पाउन छाडेका छन् ।

परिवारबाट समेत खेलाडीले खेलमा लाग्न उचित सहयोग नपाउने गरेको अध्यक्ष गोदारको अनुभव छ । उनी भन्छन्, ‘जहाँसम्म प्रशिक्षण गराइराखेका छौं । त्यो भोलेन्टियर प्रशिक्षकले नै हो । प्रदेश स्तरसम्म एकदम राम्रो छ । त्योभन्दा माथि खेलकुदको प्रशिक्षण गर्ने ठाउँको कमी र खेल सामग्रीको अभावले गर्दा हामी एकदमै पछि छौं ।’

सरकारले खेलाडी पहिचानको एक महाकुम्भ रहेको राष्ट्रिय खेलकुद पनि समयमा गर्न सकेको छैन । १० औं राष्ट्रिय खेलकुद गत वर्षको मंसिरमा हुनुपर्ने हो । तर, राजनीतिक हस्तक्षेपका कारण २०८३ लाग्दासमेत हुने नहुने निश्चित छैन । जसका कारण खेलाडीहरूले आफ्नो प्रतिभा नै देखाउन नपाउँदै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

‘१० औं खेलकुद नहुँदा खेलाडीको प्रतिभा देखाउन नपाउँदै मरेर गएको छ’, धाविका सन्तोषी श्रेष्ठ दुखेसो पोख्छिन् । समयमा खेल हुन नसक्दा खेलाडीहरूको मनोबल पनि न्यून छ । खेलाडी छनोटदेखि अवसर दिने कुराहरूमा हुने राजनीतिक हस्तक्षेपबाट पनि खेलाडी मानसिक रूपमा कमजोर बन्दै आएका छन् ।

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ
धाविका सन्तोषी श्रेष्ठ

राखेप र एन्फाको विवादपछि फिफा सिरिज खेल्न नपाएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान एञ्जिला तुम्बापो सुब्बाले लेखेकी थिइन्, ‘खेलाडी र देशको १० वर्षको मेहनत खरानी बनाउन स्वार्थ केन्द्रित राजनीतिक दाउपेचमा १० मिनेट पनि लागेन ।’

एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङ आफ्नो सफलतालाई कडा परिश्रम, निरन्तरता र प्राप्त अवसरहरूको सही सदुपयोगको परिणाम मान्छिन् । नेपालमा खेलाडीको विकासमा उल्टो प्रवृत्ति रहेको उनी बताउँछिन् । ‘अन्य विकसित देशहरूमा पहिले खेलाडीलाई सबै सुविधा दिएर विजेता बनाइन्छ,’ उनी भन्छिन्, ‘तर नेपालमा पहिले आफूलाई प्रमाणित गरेपछि मात्र सुविधाहरू पाइन्छ ।’

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ
कराते खेलाडी एरिका गुरुङ (दायाँ)

प्रतियोगिता नआउँदै रोकिन्छन् प्रशिक्षण

जापानमा आगामी असोजमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित नेपालले विशेष प्रशिक्षण (मिसन–२०२६) सुरु गर्‍यो । २०८० माघ १५ गतेबाट सुरु भएको विशेष प्रशिक्षण अहिले भने रोकिएको छ ।

प्रशिक्षणका लागि बजेट नभएको भन्दै प्रशिक्षण रोकिएको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए । प्रशिक्षणका लागि अहिलेसम्म करिब ४/५ करोड खर्च भइसकेको छ । तर, प्रतियोगिता आउन ५ महिना बाँकी हुँदा प्रशिक्षण भने रोकिएको छ ।

तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले राखेपले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन निर्देशन दिएकी थिइन् । तर, हालसम्म बजेट नआएको उपनिर्देशक श्रेष्ठले बताए ।

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ

‘बजेट अभावका कारण अहिले विशेष प्रशिक्षण रोकिएको छ,’ उनले भने, ‘११ करोड ४५ लाख बराबरको बजेट प्रस्ताव पठाएका छौं । ४/५ पटक मन्त्रालयमा पनि गयौँ । तर, बजेटको व्यवस्था भएको छैन ।’ उनले प्रतियोगिता नजिकिएको बताउँदै तयारी तीव्र बनाउनुपर्ने बेला बजेट अभावले प्रशिक्षण रोक्नुपरेको बताए ।

विशेष प्रशिक्षणमा १० खेलका ३३७ खेलाडी प्रशिक्षणमा थिए । तर, प्रशिक्षण रोकिँदा उनीहरू लय बिग्रिने जोखिममा छन् ।

यो एक उदाहरण मात्र हो । मेडल ल्याउँदा मात्रै प्रोत्साहन गर्ने राज्यको नीतिका कारण खेलकुदका धेरै योजना बीचमै ओइलाउन बाध्य छन् । खेलकुदमा बजेट हाल्नु भनेको खर्च गर्नु हो भन्ने सरकारी मानसिकताका कारण नेपाली खेलकुद पछि परेको देखिन्छ ।

विश्वका कति देश छन् । जसको नाम खेलकुदकै कारण चिनिएको हुन्छ । नाइजेरियामा गृहयुद्ध रोक्नेदेखि शीतयुद्धका कारण दशकौँसम्म संवादविहीन अमेरिका र चीनबीचको सम्बन्ध सुधारको सुरुवात गर्नसमेत खेलकुदले नै सहयोग गरेको छ । त्यसकारण सरकारले खेलकुदलाई लगानीको रूपमा हेर्नुपर्छ ।

कीर्तिमानी खेलाडी एरिका गुरुङ राष्ट्रिय टोलीको प्रशिक्षण नियमित हुनुपर्नेमा जोड दिन्छिन् । उनी भन्छिन्, ‘केही महिना प्रशिक्षण रोकिँदा खेलाडीको लय बिग्रिन्छ र यसले अन्तर्राष्ट्रिय प्रतियोगितामा असर पार्छ ।’

‘जित्न विश्वले गरेका प्रोसेसलाई पनि फलो गर्नुपर्छ’

सर्वाधिक सफल खेलाडीमध्येका एक हुन्, तेक्वान्दोका दीपक विष्ट । नेपालका लागि दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण पदक ल्याउने कीर्तिमानी ओलम्पियन विष्टको नाममा छ । यस्तै विष्टले एसियाली खेलकुदमा दुई कांस्य जितेका छन् । उनी ओलम्पिकमा छनोट चरण पार गर्ने दोस्रो खेलाडीसमेत हुन् ।

उनै विष्ट नेपाली खेलाडीमा एक्पोजर र अहिलेको साइन्टिफिक टेनिङको कमी भएको बताउँछन् । ‘हामी फाइनल पुगेर हार्ने, पहिलो, दोस्रो चरण खेल्ने र त्यसपछि तेस्रो, चौथो चरणमा हाम्रो प्रदर्शन कमजोर हुने कारण नै अनुभवको कमी हो,’ उनी भन्छन् ।

नेपाली खेलकुद : खेलाडीको मेहनतमा उभिन्छ, व्यवस्थापनका कारण ढल्छ

खेलाडी खेलकुदको ग्रासरुटमा प्रशिक्षणको बेस नै नभएको विष्टको अनुभव छ । उनी भन्छन्, ‘विद्यालय, विश्वविद्यालयहरूमा पनि खेलकुद हुनुपर्छ । अरू देश चाइना, कोरिया, थाइल्यान्ड, अमेरिका जहाँ हेर्नुस् । खेलकुद शिक्षासँग जोडिएर अनिवार्य गरेको छ ।’

विश्वले गरेको कामहरूलाई हातेमालो तथा अनुसरण गर्न आवश्यक रहेको विष्टले बताए । ‘गेम खेल्नुभन्दा अघि जुन तयारी हुन्छ । त्यो तयारीमा पनि अरू देशलाई जित्नुपर्‍यो नि । उनीहरूको खेलाडीले कस्तो तयारी गर्‍यो, कुनकुन डाइट खायो यी कुराहरूमा पनि हामीले ख्याल गर्नुपर्छ,’ उनी भन्छन्, ‘जुन हामीमा कमी भइराखेको छ ।’

अन्तर्राष्ट्रिय स्तरमा मेडल ल्याउन ग्रास रुटको कार्यक्रम, राष्ट्रिय स्तरको कार्यक्रममा पनि अरू देशलाई जित्नपर्ने विष्टको तर्क छ । ‘ग्रासरुटमा खेलकुदलाई अनिवार्य बनाउने, राष्ट्रिय टिमलाई एकेडेमिक हिसाबले अगाडि बढाउनुपर्‍यो । १२ महिना नै प्रशिक्षण गर्ने माहौल बन्नुपर्‍यो,’ उनी भन्छन्, ‘एक्प्रोजर र अनुभवका लागि बढी भन्दा बढी अवसर दिनुपर्‍यो । र, नेपालमै बसेर केही गर्न सक्छु भन्ने आधार बनाइदिनुपर्‍यो ।’





Source link

Leave a Comment