इरानसँगको युद्ध रोकिएको ट्रम्पको दाबी, इरान भन्छ– ‘यो केवल अड्कलबाजी हो’



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

इरानसँगको युद्ध रोकिएको ट्रम्पको दाबी, इरान भन्छ– ‘यो केवल अड्कलबाजी हो’

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य भएको दाबी गरेका छन्।

जर्जियाका गभर्नर पदका उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका र इरानबीचको तनावपूर्ण अवस्था अन्त्य भएको बताएका हुन्। ट्रम्पका अनुसार इरानले अब कहिल्यै परमाणु हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिका र इरानबीच युद्ध रोक्ने विषयमा ‘बलियो समझदारी’ बनेको दाबी गरेका थिए।

सोही आधारमा उनले इरानमाथि गर्ने भनिएको थप सैन्य कारबाहीसमेत स्थगित गरेको सङ्केत दिएका थिए। ट्रुथ सोसलमा उनले इरानी नेतृत्वको उच्च तहबाट वार्ताले स्वीकृति पाएपछि आफूले सैन्य कारबाही रोक्ने निर्णय गरेको उल्लेख गरेका छन्।

तर, ट्रम्पको दाबीलाई इरानले भने तत्कालै अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग कुनै अन्तिम सहमति भइसकेको भन्ने समाचारलाई ‘अनुमान र अड्कलबाजी’ मात्र भएको बताएका छन्।

इरानसँगको युद्ध रोकिएको ट्रम्पको दाबी, इरान भन्छ– ‘यो केवल अड्कलबाजी हो’

बाघाईले इरानले हालसम्म कुनै पनि सम्झौताबारे अन्तिम निर्णय नगरेको स्पष्ट पारे। उनका अनुसार कतार र पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छन्, तर अमेरिकी गतिविधिले कूटनीतिक प्रयासलाई प्रभावित बनाइरहेको छ।

उनले आफ्नो राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा कुनै सम्झौता नगर्ने इरानको अडान कायमै रहेको पनि बताए। “हालसम्म इरानले कुनै पनि सम्झौताबारे अन्तिम निर्णय गरेको छैन,” उनले भने।

बाघाईले अमेरिकी गतिविधिका कारण होर्मुज जलमार्गको सुरक्षा अवस्था झनै संवेदनशील बनेको दाबी पनि गरे।

इरानले कुनै अन्तिम सहमति भएको पुष्टि नगरेकाले दुवै देशबीचको वार्ता वास्तवमै निष्कर्षमा पुगेको हो वा होइन भन्ने विषय अझै अनिश्चित छ। यस अन्यौलताका बीच मध्यपूर्वको पछिल्लो तनावपूर्ण अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको चासो भने यथावत् रहेको छ।





Source link

Leave a Comment