प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अमेरिकाको क्यालिफोर्नियामा “नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट अपर्च्युनिटी” कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमका अवसरमा दुई देशका सरकारी प्रतिनिधि तथा आर्थिक क्षेत्रका विज्ञहरूबीच महत्वपूर्ण संवाद भएको छ।
वाशिङ्गटन डीसीस्थित नेपाली राजदूतावास, सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास तथा सान डिएगोस्थित मानार्थ महावाणिज्य दूतावासको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमले नेपाल–अमेरिका आर्थिक सम्बन्ध विस्तारका नयाँ सम्भावनाहरू उजागर गरेको जनाइएको छ। कार्यक्रममा नेपालको फेरिएको राजनीतिक परिदृश्य, लगानीमैत्री वातावरण निर्माणका प्रयास तथा नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा छलफल केन्द्रित रहेको मानार्थ महावाणिज्यदूत ऋषि पुनाखर ढकालले बताउनुभयो। विशेषगरी नेपालमा वैदेशिक लगानी कसरी वृद्धि गर्ने भन्ने विषयलाई मुख्य प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमको नेतृत्व वाशिङ्गटन डीसीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत (चार्ज डी’अफेयर्स) शरदराज आरनले गर्नुभएको थियो। छलफलमा सान फ्रान्सिस्कोका महावाणिज्यदूत लक्ष्मण खनाल तथा क्यालिफोर्नियाका लागि नेपाली मानार्थ महावाणिज्यदूत ऋषि ढकालको सक्रिय सहभागिता रहेको थियो। नेपाली कूटनीतिक टोलीले अमेरिकी संघीय प्रतिनिधि तथा आर्थिक निकायका अधिकारीहरूसँग नेपालको आर्थिक विकास, व्यापार विस्तार तथा लगानी साझेदारीका विषयमा विस्तृत छलफल गरेको थियो।

छलफलमा अमेरिकी संघीय प्रतिनिधिहरू लेटिसिया एरियास, क्रिस्टोफर विल्केन र विलियम पावेल्सका साथै लस एन्जलस काउन्टी इकोनोमिक डेभलपमेन्ट कर्पोरेसनका प्रतिनिधि तथा अमेरिकी वाणिज्य मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा द्विपक्षीय व्यापार विस्तार, नयाँ लगानी अवसरहरूको प्रवर्द्धन तथा दीर्घकालीन आर्थिक साझेदारी निर्माणका विषयमा विशेष जोड दिइएको थियो।

उक्त अवसरमा नेपालको जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा रहेका लगानीका सम्भावनाबारे विस्तृत प्रस्तुति समेत गरिएको थियो। दुवै पक्षले आगामी सहकार्यलाई थप संस्थागत र परिणाममुखी बनाउने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्।

नेपाली उत्पादनहरूको निर्यात विस्तार तथा अमेरिकी लगानीकर्ताका लागि नेपालमा उपलब्ध अवसरबारे केन्द्रित यस संवादले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको अन्त्यमा आयोजित अन्तरक्रिया सत्रमा व्यवसायी तथा समुदायका सदस्यहरूले राखेका जिज्ञासाले आगामी दिनमा कूटनीतिक सेवा तथा व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।