इरानका दिवंगत सैन्य प्रमुख सोलेइमानीका आफन्त अमेरिकामा पक्राउ, ग्रीन कार्ड खोसियो



प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार

इरानका दिवंगत सैन्य प्रमुख सोलेइमानीका आफन्त अमेरिकामा पक्राउ, ग्रीन कार्ड खोसियो

वाशिंगटन, डी. सी. मा रहेको अमेरिकी विदेश मन्त्रालयको भवनको लबीको प्रवेशद्वार । (सेर्कन गुर्बुज/विदेश मन्त्रालय)

इरानको ‘इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स’ (आइआरजीसी) का दिवंगत कमाण्डर जनरल कासेम सोलेइमानीकी भतिजी र नातिनी अमेरिकामा पक्राउ परेका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार हमिदेह सोलेइमानी अफ्शार र उनकी छोरीको ‘ग्रीन कार्ड’ विदेशमन्त्री मार्को रुबियोले खारेज गरिदिएका हुन्।

यद्यपि, सोलेइमानीकी छोरीले अमेरिकी विदेश मन्त्रालयको दाबीलाई असत्य भन्दै पक्राउ परेका व्यक्तिहरूको आफ्नो बुवासँग कुनै सम्बन्ध नभएको बताएकी छन्। इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डर मानिएका सोलेइमानी सन् २०२० मा इराकमा भएको अमेरिकी हवाई आक्रमणमा मारिएका थिए। उक्त आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा गरिएको थियो।

विदेशमन्त्री रुबियोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ती दुई महिला अमेरिकी ‘आप्रवासन तथा भन्सार प्रवर्तन’ (आइस) को नियन्त्रणमा रहेको र उनीहरूलाई देशनिकाला (डिर्पोटेसन) को प्रक्रियामा लगिएको जानकारी दिएका छन्। उनले ती महिलाहरू अमेरिकामा विलासी जीवन बिताइरहेका ग्रीन कार्डधारी भएको दाबी समेत गरेका छन्।

अमेरिकी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) का अनुसार सोलेइमानी अफ्शार सन् २०१५ मा पर्यटक भिसामा अमेरिका प्रवेश गरेकी थिइन्। उनले सन् २०१९ मा शरण पाएकी थिइन् भने सन् २०२१ मा ग्रीन कार्ड प्राप्त गरेकी थिइन्।

सन् २०२५ मा नागरिकताका लागि आवेदन दिने क्रममा उनले ग्रीन कार्ड पाएपछि चार पटक इरान भ्रमण गरेको खुलासा भएको थियो। डीएचएस ले भनेको छ, “उनको इरान यात्राले शरणको दाबी झूटो भएको पुष्टि गर्छ।”

त्यसैगरी, उनकी छोरी सारिनासादत होसेइनी सन् २०१५ मा विद्यार्थी भिसामा अमेरिका आएको र पछि शरणार्थी प्रक्रियामार्फत सन् २०२३ मा ग्रीन कार्ड प्राप्त गरेको डीएचएस ले जनाएको छ।

विदेश मन्त्रालयले सोलेइमानी अफ्शारलाई “इरानको तानाशाही तथा आतंकवादी शासनको खुलेआम समर्थक” भन्दै सामाजिक सञ्जालमार्फत “इरानी शासनको प्रचार” गरेको आरोप लगाएको छ। वक्तव्यअनुसार उनका श्रीमानलाई पनि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ, तर उनको नाम भने सार्वजनिक गरिएको छैन।

स्मरण रहोस्, सोलेइमानीले इरानको ‘कुद्स फोर्स’का प्रमुखका रूपमा मध्यपूर्वमा इरानी सैन्य अभियानहरूको नेतृत्व गरेका थिए। ६२ वर्षीय सोलेइमानी बग्दाद विमानस्थलमा इरान समर्थित मिलिसिया समूहका अन्य सदस्यहरूसहित मारिएका थिए।





Source link

Leave a Comment