इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीमा सरेपछि सेयर बजारमा तरङ्ग


१२ वैशाख, काठमाडौं । हालै इन्साइडर ट्रेडिङमा रिडी पावरका पूर्व अध्यक्ष गुरु न्यौपानेलाई विशेष अदालतले दोषी ठहर गर्दै १ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना सजाय सुनायो । इन्साइडर ट्रेडिङ गरेर कारबाहीको फैसला भएको नेपालमै यो पहिलो हो ।

न्यौपाने अध्यक्ष भएका बेला रिडी पावर कम्पनीसँग भएको रैराङ हाइड्रोपावरको सेयर बिक्री गर्ने निर्णय भयो । सो निर्णय गर्नुभन्दा अघि नै न्यौपानेले रिडीको करिब ३० हजार कित्ता सेयर २०३ रुपैयाँदेखि २१२ रुपैयाँका दरले किनेर राखे, निर्णयपछि मूल्य बढाएर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचे ।

यो एउटा प्रमाणित घटना हो, तर प्रमाण नहुँदा वा नियामक कमजोर बन्दा इन्साइडर ट्रेडिङ गरिरहेका हजारौं कारोबारी कारबाहीको दायराबाहिर छन् । खेलाडीहरु इन्साइडर ट्रेडिङका आधारमै कारोबार गर्ने गरेका छन् । तर न्यौपानेबाहेक इन्साइडर ट्रेडिङमा संलग्नहरु कारबाहीको दायरामा आएका उदाहरण छैनन् ।

अब धितोपत्र बजारमा हुने इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीले नै गर्न सक्नेगरी धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गरिएको छ । बोर्ड वा अनुसन्धान गर्ने निकायमा परेका उजुरीहरु बोर्डको अधिकृतस्तरको कर्मचारीमार्फत प्रारम्भिक जाँचबुझ गराउने र कसुर गरेको लागेमा प्रहरीमार्फत अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ ।

बोर्डमा उजुरीको प्रारम्भिक जाँचबुझपछि अनुसन्धान गर्न संकलित विवरण तथा प्रमाणसहितको मिसिल कागजात बोर्ड अधिकृतमार्फत ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ ।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले मुद्दा चल्ने ठानेमा जिल्ला अदालतमा दायर गरी कारबाहीका लागि प्रक्रिया अघि बढाउने छ । न्यौपाने दोषी देखिनु र इन्साइडर ट्रेडिङको अनुसन्धानमा प्रहरीलाई शक्तिशाली बनाइएका दुई घटनाक्रमले यतिबेला ठूला खेलाडीहरु झस्किएको चर्चा बजारमा छ ।

अधिकांश लगानीकर्ता र ब्रोकर कम्पनीहरू इन्साइडर ट्रेडिङ अनुसन्धानको जिम्मा नै प्रहरीलाई दिइनु अन्तर्राष्ट्रिय अभ्यासविपरित भएको बताउँछन् । बरु धितोपत्र बोर्डलाई नै शक्तिशाली बनाउने, जनशक्ति, प्रविधि थपेर निगरानीमा शशक्त बनाउनेजस्ता काम गर्नुपर्नेमा प्रहरीमार्फत तर्साउने काम गरिएको लगानीकर्ता बताउँछन् ।

‘इन्साइडर ट्रेडिङ पत्ता लगाउन संयन्त्र परिचालन गर्ने, प्राविधिक निगरानी बढाउने, अध्ययन गर्ने, प्रमाण जुटाउनेजस्ता कार्य त नियामक बोर्डले नै प्रभावकारी रुपमा गर्न सक्थ्यो’ सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले भने । प्रहरीसँग यसबारे विज्ञता पनि नहुने भएकाले हल्लाका भरमा लगानीकर्ताले दुःख ब्यहोर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले अन्तर्राष्ट्रिय अभ्यासविपरित नेपालमा इन्साइर ट्रेडिङको अनुसन्धानमा प्रहरीलाई सक्रिय गराउन खोजिएको बताए ।
‘भोलि प्रहरीले अनुसन्धान गर्ने क्रममा दोषी पुष्टि नभइ जेल बस्नुपर्ने, अनावश्यक धरपकड हुन सक्ने जोखिम पनि रहन्छ’ उनले भने ।

बोर्डले अनुसन्धान गर्दैै जाँदा आवश्यक परेको खण्डमा जुनसुकै बेला प्रहरीको सहयोग लिन सक्ने व्यवस्था छँदैथियो । तर संशोधित व्यवस्थाअनुसार बोर्डले उजुरीमा प्रारम्भिक जाँचबुझ गरी, भएका तथ्य, मिसिल कागजात अनुसन्धानका लागि ३० दिनभित्र प्रहरी प्रधान कार्यालय पठाउनुपर्ने व्यवस्था गरिएको छ । जसले गर्दा अनुसन्धानमा बोर्डको जिम्मेवारी खुम्चिएको छ ।

यो व्यवस्थाले केही हदसम्म अहिले सेयर बजारलाई पनि असर पारेको लगानीकर्ता बताउँछन् । ‘भित्री कारोबारको अनुसन्धानमा प्रहरीलाई सशक्त बनाइनुले कतिपयको मनोभावना नकारात्मक बन्न सक्छ, बजारको संवेदनशीलता ख्याल गरिएन’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने । यसबारे नकारात्मक प्रचारप्रसार पनि बढी भएको उनको भनाइ छ ।

नेपालको धितोपत्र बजारमा इन्साइडर ट्रेडिङ पर्याप्त हुने गरे पनि कारबाही भने ज्यादै न्यून देखिन्छ । विगतमा कतिपय कम्पनीको मूल्य उच्च दरमा बढेको भोलि वा पर्सिपल्ट मात्रै सकारात्मक सूचनाहरु सार्वजनिक भएका तथ्यहरु छन् । मूल्यमा प्रभाव पार्नेसम्बन्धी निर्णय भएपछि भोलिपल्टको कारोबार खुल्नुअघि नै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर यहीं व्यवस्थामा पनि कतिपय कम्पनीले लापरबाही गर्ने गरेका छन् । संचालक वा उच्च व्यवस्थापनले भित्री सूचना दिएर कारोबार सम्पन्न भएपछि मात्रै कम्पनीमार्फत सूचना सार्वजनिक हुने गरेका छन् ।

तर नियामक भने इन्साइडर ट्रेडिङ भइरहेको विषयलाई स्वीकार गर्दैन । धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले कसैले भनेका भरमा वा हल्ला गरेकै भरमा इन्साइडर ट्रेडिङ भयो भन्न नमिल्ने बताए ।

‘भित्री सूचनाका आधारमा कारोबार भएका विषयमा बोर्डलाई शंका लागेमा, उजुरी परेमा प्रमाण जुटाएर कारबाही प्रक्रिया अघि बढ्छ’ उनले भने ‘बोर्डमा आउने उजुरीहरु अध्ययन र अनुसन्धान हुँदै प्रक्रियामा जाने गरेका छन् ।’ अब प्रहरीसँग सहकार्यमा अनुसन्धान हुने भएकाले सहज हुने उनी बताउँछन् ।

सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले उच्च व्यवस्थापकीय कर्मचारी, संचालकले पद छाडेको १ वर्षपछि मात्रै सम्बद्ध कम्पनीको सेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेकाले इन्साइडर ट्रेडिङ कम गर्न सहयोग पुगेको बताए । ‘डेढ वर्षदेखि कम्पनीका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत (सीईओ), लेखापरीक्षक, सचिव लगायत पदाधिकारीले सो कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ’ उनले भने । हाल दोषी देखिएका न्यौपानेले पद सम्हाल्दा भने यो व्यवस्था थिएन । जसले गर्दा उनी संलग्न हुन पुगे ।

‘सूचनाको पहुँच पुग्ने वा प्रभाव पर्ने भनेकै संचालक तथा उच्च व्यवस्थापनको समूह हो, त्यसकारण उनीहरू र तिनका एकाघर परिवारलाई नै सम्बद्ध कम्पनीको सेयर कारोबारमै रोक लागेपछि इन्साइडर ट्रेडिङ नियन्त्रणमा सघाउ पुगेको छ’ आचार्यले भने ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को बुँदा नम्बर ३८ (१–क) मा भनिएको छ ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन ।’

‘अहिले सूचनाको पहुँच पुग्ने उच्च व्यवस्थापन र संचालकहरुले पद सम्हालेपछि सेयर कारोबार रोक्का गर्न भनेर कम्पनीले नै सीडीएससीलाई पत्र लेख्ने गरेका छन्, पद छाडेको एक वर्षपछि फुकुवा गर्नका लागि पनि पत्र आउने गरेको छ’ उनले भने । तल्लो तहका कर्मचारीहरुमा भने सूचनाको पहुँच नहुने भएकाले उनीहरुले भने कारोबार गर्न पाउँछन् ।

यहीं कारण अहिले इन्साइडर ट्रेडिङ घटेको उनको भनाइ । यद्यपि संचालक वा माथिल्लो व्यवस्थापकीय पदमा बसेर नजिकका इष्टमित्र वा साथीभाइलाई भित्री सूचना चुहाएर कारोबार हुन सक्ने संभावनालाई नकार्न नसकिने उनले बताए । ‘पदमा बसेपछि त्यति नैतिकता त हुनुपर्छ, अन्यथा त्यसरी सूचना चुहाएर अर्को पक्षले कारोबार गरेको पुष्टि भएमा सूचना चुहाउनेलाई कारबाही हुन्छ’ उनले भने ।

कसरी हुन सक्छ इन्साइडर ट्रेडिङ ?
सबैभन्दा पहिले कम्पनीका उच्च व्यवस्थापन वा संचालकहरुले नै कम्पनीका भित्री सूचना थाहा पाएका हुन्छन् । सूचना पाएपनि आफ्नो वा एकाघर परिवारका नाममा सेयर खरिद गर्न मिल्दैन ।

तर उनीहरुले नजिकका आफन्त, ब्रोकर कम्पनीका संचालक वा आफूलाई लाभ मिल्ने जुनसुकै पक्षलाई भित्री सूचना दिन सक्छन् । हकप्रद निष्कासनसम्बन्धी, मर्ज वा एक्वीजिसनपछि हुने स्वाप रेसियोका सूचना, लाभांश वितरणसम्बन्धी सूचना, वित्तीय विवरणसम्बन्धी वा मूल्य बढाउने अन्य सूचना पनि हुन सक्छन् ।

संचालक वा उच्च व्यवस्थापनले यसरी भित्री रुपमा दिएका सूचनाको बाहिरी व्यक्ति कसैले अत्तोपत्तो पाउँदैन । जब आफन्त वा ब्रोकर कम्पनीलाई भित्री सूचना आउँछ, त्यसपछि उसले ठूलो परिमाणमा कम्पनीको सेयर उठाउँछ । यसरी सूचना दिएवापत उच्च व्यवस्थापन वा संचालकले कमिसन वा अन्य लाभ वा नाफाको निश्चित अंश लिन पनि सक्छन् ।

जब ब्रोकर कम्पनीले ठूलो परिमाणको सेयर उठाउँछन्, माग नै बढेपछि मूल्य पनि सामान्य बढ्दै जान्छ । सूचना चुहिएको केही दिन वा केही सातापछि मात्रै कम्पनीले सार्वजनिक रुपमा सूचना जारी गर्छन्, त्यसपछि आम लगानीकर्ताले सेयर किन्ने योजना बनाउँछन् ।

कम्पनीको सेयर खरिदमा भीड लाग्न थाल्छ, मूल्य पनि राम्रैसँग बढेको हुन्छ, त्यहीं बेला ठूलो परिमाणमा सेयर उठाइसकेका ब्रोकर कम्पनी वा सूचनाका भरमा पहिले किनेकाले धमाधम बेच्न थाल्छन् । एउटा ब्रोकर कम्पनीले अर्को कम्पनीमा कारोबार खाता खोलेर कम्पनीकै नाममा सेयर किनबेच गर्न, नाफा लिन पाउने व्यवस्था छ ।विगतमा कयौं कम्पनीहरुको मूल्य पहिले नै उच्च दरमा बढ्ने, सकारात्मक सूचना सार्वजनिक भएपछि घटेका उदाहरण छन् ।

तर ब्रोकर कम्पनीहरु यसलाई ठाडै अस्वीकार गर्छन् । ‘उच्च व्यवस्थापक वा संचालकले ब्रोकर कम्पनीलाई सूचना दिन्छन् भन्नु आरोप मात्रै हो एसोसिएसनका अध्यक्ष सापकोटाले भने ‘उनीहरुले हामीलाई भित्री सूचना किन दिनु ? सूचना दिन केही आधार त हुनुपर्‍यो नि ।’

के हो ‘इन्साइडर ट्रेडिङ’, के छ सजाय ?
‘इन्साइडर ट्रेडिङ’ को व्याख्या र यस सम्बन्धी सजायका व्यवस्थाहरु धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१ र १०१ मा तोकिएको छ । ‘भित्री सूचना वा जानकारी भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सम्झनुपर्छ’ दफा ९१ मा भनिएको छ ।

कम्पनीबाट सार्वजनिक सूचना जारी नगरिएको, तर भित्री रुपमा ती सूचना आदानप्रदान गरेर त्यसकै आधारमा कारोबार गरिनुलाई नै इन्साइडर ट्रेडिङ भनिन्छ । कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्न सक्ने, तर सार्वजनिक नभएका सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ । भित्री कारोबार गरेको ठहरेमा विगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

कुनै संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्तिहरु पनि ऐनले प्रष्ट पारेको छ । जसअनुसार संगठित संस्थाका सञ्चालक, कर्मचारी वा सेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति, सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति वा दुवै तवरले सम्बद्ध व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेहरु यसमा सहभागी हुन सक्ने औंल्याइएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School