प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार
अमेरिकाले इजरायल र हमासकाबीचमा युद्धविराम अन्तर्गतको दोस्रो चरणको वार्ता चाँडै सुरु हुने बताएको छ ।
मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च दूतले इजरायली प्रतिनिधि युद्धविरामको अर्को चरणका लागि वार्ताका लागि तयार रहेको बताएका हुन । अर्को चरणका वार्ता कतारको दोहा वा इजिप्टको कायरोमा हुने बताइएको छ ।
इजरायलले पठाउने वार्ता टोलीसँग हमासको वार्ता चाँडै हुने उच्च दूत स्टिभ विटकोफले भनेका छन । उच्च दूत विटकोफको टिप्पणी बारेमा इजरायलको प्रतिकृया आएको छैन ।
लडाकूहरूले अझै पनि कब्जामा राखेका दर्जनौं बन्धकहरूको रिहाई पनि गर्नुपर्नेछ । हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ।
सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ ।
यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।
बुधबार राति फिर्ता गरिएका चार बन्धकको शवको बदलामा इजरायलले बिहीबार ५९६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नाबालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ ।
युद्धविरामका बावजुद गाजामा छिटपुट हिंसाका घटना भने भएका छन् । इजरायली सेनाले बुधबार त्यहाँबाट क्षेप्यास्त्र प्रहार भएपछि विभिन्न प्रक्षेपण स्थलमा हवाई आक्रमण गरेको जनाएको छ ।