आमाको थैलीमा सुरक्षित खुशी

आमाको थैलीमा सुरक्षित खुशी


प्रकृतिको वितण्डाले दशैंलाई विस्मात् उपहार छोडेर गएको छ । नजिकिंदै गएको दशैंको मेसो पहिल्याउँदै गर्दा कतिले घरभित्रै पुरिएर ज्यान फालेका छन्, अनि कतिले सवारी यात्रामा जाम खुल्ने प्रतीक्षा लामो भएपछि सुस्ताउँदै गर्दा सवारी साधन भित्रै देहत्याग गरेका छन् ।

प्राकृतिक प्रकोपमा विनाशको शृङ्खला बढ्दै जाँदा धेरैले वर्षात् र भूबनोटलाई धारेहात लगाएको देखिन्छ । तर यो न्यायोचित कुरा हैन । खोला थुनेर भौतिक संरचना निर्माण गर्ने, आधुनिकताको नाममा परम्परागत विधिलाई नामेट गर्ने, वन विनाश र कङ्क्रिट शहर निर्माणमा अग्रसर हुने जस्ता लापरबाहीको हद पार निरन्तरताको परिणाम हो भन्न किञ्चित सङ्कोच मान्नुपर्ने अवस्था छैन ।

असार–साउन–भदौतिर पानी पर्ने कुरा प्राकृतिक हो, तर त्यसको मात्रा प्राकृतिक दोहन पछि उत्पन्न जलवायु परिवर्तनको असरले निर्धारण गर्न थालेको छ । कहिले अति वर्षा हुने, कहिले सुक्खा लाग्ने, हिमाल काला हुँदै जाने, कृषि उत्पादन हाइजनिक हैन हानिकारक बन्दै जाने जस्ता समस्या जलवायु परिवर्तनको परिणाम हो । र जलवायु परिवर्तन मानिसहरूको हदपार निरन्तरताको उपज ।

प्रत्येक दशैंमा म मेरी आमाको धुमिल मुहार परिकल्पना गर्छु । क्षितिजपारि गौरीशङ्कर हिमशृङ्खलाको चेपबाट छरिएको प्रकाशका किरणहरूलाई बादलुले छायाँ पारेर मैलो बनाए जस्तै मेरो खुशीको चिन्तामा मेरी आमाको मुहार धुमिल भएको तर्कना मनभित्र कुदिरहन्छ ।

दशैं सुरुवातसँगै मेरी आमा, कष्टसँग जोहो गरेर थैलीमा सुरक्षित राखेको पैसा निकालेर मेरो खुशी किन्न कपडा पसल र टेलरतिर दौडिएको पल कतै अलमलिएको मेरो दैनिकीसँग अहिले पनि हातेमालो गरिरहेको जस्तो लाग्छ । कर्तव्यको संस्कार र समस्याको पहाडले अँचेटिएको यो समय मेरो लागि आमाको स्नेही दरिलो हात कति भरोसायोग्य हुने थियो । रोगैरोगले थलाएर मेरी आमालाई लैजाने यमराजलाई मेरो सरापले कहिल्यै फरक पारेको देखिनँ ।

चित्रगुप्तको लेखाजोखामा यमराजले यो दशैंमा समेत सयौंका खुशीहरूलाई झ्याप्ले खोला, रोशी खोला लगायत ठाउँमा पुर्दै र बगाउँदै लगिदिएको छ । मैले मेरी आमाको अभावमा यमराजलाई सरापेको थिएँ, उसले त म जस्तो सयौंको अभिभावक र परिवार खोसिरहेको छ ।

आमाको स्मृतिसँग प्रकृतिको काखमा रमाएको धेरै अतीत गुजुल्टिएको छ मेरो मानसपटलमा । चरिकोटको बतासे डाँडामा चोथ्रो र घँगारुको पोथ्रामा रमाउँदै गौरीशङ्कर हिमशृङ्खलाको सेताम्य हिउँका थुप्राहरूले लोभ्याउने दृश्यलाई अहिले कङ्क्रिटका बडेमानको बिल्डिङहरूले छेलिदिएको देख्दा कताकता आतेस लाग्छ । कोटिहोमको दायाँ हुँदै बगेको खोलामा पौडिएर बडेमानको ढुङ्गामा पल्टिंदै दिनभरि पारिलो घाममा रमाएको सम्झना खोलै थुनेर बनेको घरले भताभुङ्ग बनाइदिएको छ ।

कुनै दिन प्रकृति रिसाएर खोलाले आफ्नो ठाउँ खोज्यो भने के होला हालत ? चित्रगुप्तको निर्देशन पालना गर्न यमराजलाई यो उपयुक्त बहाना बन्दैन र ! अनि फेरि हामी प्रकृतिलाई नै दोष दिइरहेका हुन्छौं । कङ्क्रिट र अप्राकृतिक दोहनले बढ्दै गएको जलवायु परिवर्तनको कारण आकाशको गर्जन र पानीको भेललाई थेग्न खोलाले आफ्नो बाटो खोज्नु कहाँ अपराध हुन्छ ? यसमा प्रकृतिको दोष कसरी हुन्छ ? आफ्नो अपराध लुकाउन प्रकृतिलाई सत्तोसराप गर्ने मानिसको स्वभाव कतैबाट पनि स्वाभाविक लाग्दैन ।

उबेला आमाले चोथ्रो र घँगारुले बारेको बारीका पाटाहरूमा उमारेको लसुन, प्याज, रायोको साग, केराउ, डल्ले खुर्सानी कति स्वादिला हुन्थे । मौसम अनुसार हुने विभिन्न तरकारी र अन्न बालीका लागि थुपारिएको बाख्रा, कुखुराका कम्पोष्ट मल फिजाउँदै बारीको झ्यास पोल्ने बेला हामी केटाकेटी रमाएर माटोमा लडीबुडी गर्थ्यौं। अस्ताउँदो सूर्यको घुर्मैलो उज्यालोमा कपडाभरि माटो दलेर कान्ला उफ्रँदै रमाउनुको मज्जा नै छुट्टै थियो ।

फुस्रो अनुहार र फोहोर लुगासँग विछ्याउनामा लम्कने पाइलालाई आमाको चड्कन र गालीले रोकिदिंदा पनि पीडा हैन खुशीसँग धड्कन्थ्यो मुटुको चाल । अनवरत मनका चाहनाले उछालिरहने छालहरू आमाको त्यही स्नेही चड्कनसम्म पुग्न उद्वेलित छन् अहिले पनि ।

अब त काँडेतारको बार र युरिया मलको गन्धले बारीका पाटातिर टेक्नै नसकिने हुन्छ । अनि त्यस्तो विषादी युरिया मल प्रयोग भएको तरकारीको न स्वाद हुन्छ, न स्वास्थ्यलाई नै राम्रो गर्छ ।

अब त दशैंमा आफन्त घर फर्कने हैन शहर र विदेश जाने क्रम बढेको छ, अनि मुलाको सागसँग मकै खाने कुरा पनि हराउँदै गए जस्तो लाग्छ ।

विभिन्न विषादीको कारण माटोको उर्वर क्षमता ह्रास हुने क्रम एकातिर बढ्दैछ, अर्कोतर्फ आकाशको पानीलाई जमिनले उपयुक्त मात्रामा सोस्न नसकेपछि अतिवृष्टि र अनावृष्टिको समस्या पनि बढ्दै गएको छ । चरिकोटमा पुस–माघमा फुसफुसाउने हिउँका अल्लारे छिर्काहरूले बाटो मोडेका छन् । अब चरिकोटमा यस्ता छिर्काहरू देखिन छोडेका छन् । आक्कल–झुक्कल केही वर्षको अन्तरालमा आउने त्यस्ता छिर्का पनि चैत– वैशाखतिर पो वर्षन्छ !

उबेला पुस–माघमा वर्षने हिउँका छिर्काहरू र शीतका सेताम्य लहर तरकारी तथा अन्नबालीको लागि बरदान थियो । अब चैत–वैशाखतिर वर्षने तिनै हिउँका छिर्का कृषकलाई अभिशाप बन्ने गरेको छ ।

तरङ्गित स्मृतिका पलहरू कति सुखद् । जब दशैं आउँथ्यो घरमा मामा, माइजु, दाजु लगायत परिवारका धेरै सदस्यको आगमन हुन्थ्यो । मुलाको सागसँग भुटेको मकै टोक्दै घरको आँगनमा बसेर वर्षभरिका परिघटनासँग सरोकार राख्ने विषयमा बात मार्दा कम्ती रमाइलो हुँदैन थियो । अनि आफन्तसँग रमाइलो गर्दै जुटपत्ती खेल्ने मेसोमा घरका केटाकेटीले सुटुक्क पैसा लगेको र जिताउरी लिन खेल स्थलमै धर्ना दिएको सम्झनाले अहिले पनि रक्तसञ्चारलाई तेज गरिदिन्छ ।

अब त दशैंमा आफन्त घर फर्कने हैन शहर र विदेश जाने क्रम बढेको छ, अनि मुलाको सागसँग मकै खाने कुरा पनि हराउँदै गए जस्तो लाग्छ । साहित्य लेखन, अध्ययन र जलवायु परिवर्तनको विषयमा चासो राख्ने भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउत भन्दैथिए– यो पटक हाम्रो परिवारको आधा संख्या अमेरिका र म समेत आधा संख्या काठमाडौंमा दशैं मनाउने तयारीमा छौं । राउतजीको जस्तै गाउँघर मुकाम भएका धेरै परिवार अहिले, यसैगरी विदेश र काठमाडौंमा दशैं मनाउने तयारीमा देखिन्छन् । किनभने गाउँघरका अधिकांश युवा–युवती अध्ययन र रोजगारीको लागि कि विदेश, कि शहरतिर लागेका छन् । उनीहरू गाउँ फर्कन नसक्ने भएपछि बाबु–आमा र परिवारका सदस्यलाई आफू भएतिरै बोलाउँछन् ।

युवा विदेशिने क्रमसँग जलवायु परिवर्तनको सरोकार होला कि नहोला ? मेरो मनमा शूल झैं गडेको छ यो जिज्ञासा । पछिल्लो परिघटनालाई नियाल्दा धेरै हदसम्म जलवायु परिवर्तनको असरले गाउँघरका मानिस शहर र विदेशमा पलायन हुँदै गएको निष्कर्षमा म पुगेको छु । जलवायु परिवर्तनकै कारण पानीको अभाव, भू–क्षयको त्रास, बाँदर आतङ्क जस्ता समस्याले गाउँका धेरै बस्तीहरू नै स्थानान्तरण हुनुपरेको उदाहरण पनि छन् । त्यसरी आफ्नो मुकाम छोडेर बस्ती नै स्थानान्तरण हुनुपरेको पीडामा उनीहरूको दशैं कति सुखद् हुन सक्ला र ! आफ्नो रैथाने भूमिमा चाडबाडमा गरिने पूजा–आराधना, भेटघाट, नाचगान जस्ता सुखद संस्कार पक्कै पनि अर्को समाज र भूमिमा हुन सक्दैन ।

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीसँग गाउँबाट युवा पलायन र जलवायु परिवर्तन बीचको सम्बन्ध केलाउने प्रयत्न गरें । यो विषयमा डा. उप्रेतीले लामै व्याख्या गर्नुभो । प्रकृतिलाई बुझ्न नसक्दा मानिसले धेरै गल्ती गर्ने र त्यसैबाट अति वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक विपत्ति आइलाग्ने जलवायु विज्ञ डा. उप्रेतीको विश्लेषण छ । यसरी सुरु हुने प्राकृतिक विपत्तिका कारण बस्ती सर्नुपर्ने, कृषि उत्पादनमा ह्रास आउने लगायत समस्या भई आर्थिक सन्तुलनमा गडबड हुने र युवाहरू शहर वा विदेशतिर पलायन हुनुपर्ने जलवायु विज्ञ डा. उप्रेतीको निचोड थियो ।

मेरो कोरा अनुमान र जलवायु विज्ञ डा. उप्रेतीको अध्ययनको निष्कर्ष बीच समानता भेटियो । जलवायु परिवर्तनका कारण गाउँ–गाउँबाट युवा पलायनको क्रम बढिरहेको छ भन्ने कुरा झट्ट सुन्दा अनौठो लाग्छ तर सत्य यही हो । आफ्नै गाउँठाउँ सुरक्षित, सुविधासम्पन्न र आर्थिक उपार्जनको हिसाबले उर्वर छ भने कसलाई मन हुन्छ र आफ्नो थातथलो छोडेर हिंड्ने । तर मानवीय त्रुटिकै कारण पृथ्वीको तापक्रम बढ्दै जाने, वर्षा र हिमपातमा अनियमितता, भू–क्षयको खतरा जस्ता समस्याले कृषि उत्पादनमा ह्रास आउने र आर्थिक उपार्जन शून्य हुने अवस्थाले मानिसलाई विदेशी भूमिमा घचेटिरहेको छ ।

पछिल्लो समय नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा अन्तर्गतको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इबीए) आयोजनाले दोलखा लगायत देशका विभिन्न जिल्लामा पारिस्थितिकीय प्रणालीमा आधारित कार्यक्रम अन्तर्गत बारीमा लगाइने तरकारी तथा अन्नबाली जोगाउन चोथ्रो, घँगारुहरूको बार लगाउने, जङ्गली जनावर र घरपालुवा जनावरकै लागि पनि चरन क्षेत्रहरूमा पोखरी बनाउने, बारीका कान्लाहरू जोगाउन वाल लगाउने जस्ता साना–साना काम गरिरहेको छ । यो काम हेर्दा सामान्य लाग्छ तर यसले जलवायु परिवर्तनबाट हुने असर कम गर्न निकै सहयोग पुगिरहेको छ ।

समयसँगै भित्रिने प्रविधि र विकासलाई रोक्न सकिंदैन । तर हामीले आधुनिक प्रविधिलाई परम्परागत मान्यता र प्राकृतिक सुरक्षामा सतर्क रहेर उपयोग गर्न सक्ने हो भने यसले जमिनको उर्वरता र कृषि उत्पादनमा टेवा पुग्नेछ । र गाउँघरमै रोजगारी सृजना भई युवा पलायनको आवश्यकतै हुँदैन ।

अनि यसको प्रभावले विस्तार–विस्तार मानिसहरू गाउँ नै फर्कने र विगतमा झैं सबै जम्मा भएर आफ्ना परम्परागत संस्कृति अनुसार दशैं मनाउने अवसर जुट्ने अपेक्षा गर्न सकिन्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School