लोकप्रियतावाद अहिले समग्र विश्वभरि नै मौलाएको छ । एक्काइसौं शताब्दीमा मिडियामा आएको क्रान्तिकारी परिवर्तनसँगै पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जाल लोकप्रियतावाद तथा यस्ता नेताहरूको उदयको माध्यम बनिरहेको छ ।
वैकल्पिक भनी उदाएका लोकप्रिय नेताहरूले स्थापित संयन्त्र र प्रणालीमाथि कटाक्ष र आक्रमण गरी वैकल्पिक र विकेन्द्रीकृत तथा नियमनको दायरा भन्दा बाहिर रहेका सामाजिक सञ्जालहरूको माध्यमबाट मूलधारको मिडियालाई बाइकट गर्ने तथा बौद्धिक वर्गको प्रश्नबाट पन्छिएर जनता माझ उत्तेजित भाषण, असन्तुष्टिका स्वर र भावनाहरूलाई गुञ्जायमान गरी आफूलाई स्थापित गरिरहेका छन् । तर जनताले वर्तमान नेतृत्वका कारण उत्पन्न असन्तुष्टिबाट बाहिर निस्किने आशमा भिजन र नीतिविहीन भएकालाई चयन गरेर भए पनि नेतृत्वमा पुर्याई अनिश्चित भविष्यतिर धकेल्न किन उद्यत छन् ?
सबै जनालाई राम्रो भविष्यको आशा छ तर वर्तमान लोकप्रियतावादबाट आएका नेताहरूको नीति र एजेन्डा के हुन् भन्दा सबै अक्क न बक्क हुने अवस्था छ । तर पनि जनताले उनीहरूसँग कुनै पनि प्रश्नको उत्तर नखोजी/नमागी विश्वास गरिरहेका छन्, आखिर किन ?
भावनामा बगी ज्ञान–विज्ञान, तथ्य, सत्य मतलब नगरी आफूलाई जेमा विश्वास लाग्छ त्यही सत्य ठान्ने प्रवृत्ति किन मौलाएको छ ? किन जनता भावनामा बहकिरहेका छन् ? लोकप्रियतावादी नेता र समूहको मुख्य ध्यान किन यथार्थमा भन्दा आफ्नो उद्देश्य प्राप्तिमा मात्र छ ?
कसरी सामाजिक सञ्जाल प्लाटफर्महरू पोस्ट–ट्रूथ लोकप्रियतावादी राजनीतिकर्मीका लागि साधन बनेका छन् ? के लोकप्रियतावाद लामो समय टिक्छ ? लोकप्रियवादबाट नेतृत्व जन्माएका देशहरूले कस्तो नियति भोगिरहेका छन् र हाम्रो देशले कस्तो नियति भोग्नु पर्ला ? आजको यस स्तम्भमा मैले यिनै प्रश्नको उत्तर खोज्ने प्रयास गरेको छु ।
लोकप्रियवादको उदय
लोकप्रियवादको उदय र करिस्मायुक्त नेताको उदय कसरी हुन्छ ? भन्दा झट्ट र ठ्याक्कै उत्तर दिन सकिंदैन किनभने संसारमा नेतृत्व जस्तै अनुयायी सबैभन्दा धेरै अवलोकन गरिने र सबैभन्दा कम बुझिने घटनाहरू मध्ये एक हो ।
भ्यान वुक्त भन्छन् कि ‘मनोवैज्ञानिक साहित्यमा नेतृत्वको उत्पत्तिमा दुई प्रतिस्पर्धी सैद्धान्तिक दृष्टिकोणहरू छन् ।’ पहिलो दृष्टिकोण अनुसार गुण/लक्षण मोडेलले मान्छ कि नेतासँग विलक्षणहरूको प्रतिभाका कारण नेताहरूलाई अनुयायीहरूबाट छुट्याउँछ, अर्थात् फरक प्रतिभा र कला र प्रभावको कारण नेतृत्व स्वतः उसका अनुयायी भन्दा फरक नेताको रूपमा स्थापित हुन्छ ।
यस दृष्टिकोणले करिस्माको महत्वलाई औंल्याउँछ, केवल नेतासँग त्यस्तो लक्षणहरूको प्रतिभा हुन्छ, जसले उसलाई आफ्नो इच्छा र शक्ति अनुयायीहरूमाथि थोपर्न सक्ने ल्याकत र कला हुन्छ । जबकि दोस्रो दृष्टिकोण अनुसार ‘पहिलो सिद्धान्त विपरीत, नेतृत्वको अवस्थागत सिद्धान्तले को नेतृत्व गर्छ वा को अनुयायी हुन्छ भन्ने निर्धारण निर्णयको परिस्थितिले गर्ने कुरामा जोड दिन्छ ।’
एइरम्यानको दृष्टिकोण अनुसार, ‘लोकप्रियवाद पनि अन्य सामाजिक आन्दोलनहरू जस्तै, राजनीतिक वितृष्णा तथा असन्तुष्टि राजनीतिक परिचालनको चिंगारी बन्ने बेला, व्यक्तिगत गुनासाहरू साझा निराशाको रूपमा प्रकट हुँदा र सडकमा छरिएका असन्तुष्टिहरूलाई सामूहिक रूपमा समेटेर परिचालन गर्दा यसरी, सामाजिक निराशा र असन्तुष्ट मागहरूले लोकप्रियवादी आन्दोलनहरू तिनीहरूको विरोधी– एलिटिस्ट स्वरहरूको बावजुद कहिलेकाहीं बलियो र करिस्माई नेताहरूको पछाडि एकत्रित भई लोकप्रियवाद नेतृत्वको उदय हुने बताउँछन् । यस सन्दर्भमा अन्य विद्वान्हरूले आ–आफ्नै मत अघि सारेका छन् । समग्रमा हेर्दा लोकप्रियवादले फरक–फरक समय र परिस्थितिमा आफ्नै किसिमको अवधारणा प्रस्तुत गर्दछ ।
वैश्विक स्तरमा मौलाएको लोकप्रियवाद र लोकरिझ्याइँ
लोकप्रियतावादले जन्माएको नेतृत्व र देशले भोग्नुपर्ने नियतिको जल्दोबल्दो उदाहरण भनेको युक्रेनको राष्ट्रपतिमा हास्यव्यंग्य कलाकार भ्लोदिमिर जेलेन्स्कीको जित र त्यसपछि युक्रेनले भोगिरहेको नियतिलाई हेर्न सकिन्छ । निर्वाचन अघि जसको न कुनै नीति थियो न त एजेन्डा नै तथा उनीसँग न कुनै राजनीतिक अनुभव नै थियो, तर उनीसँग भएको प्रचारप्रसार गर्ने करिस्मा अनि परिवर्तन गर्ने हुटहुटीले उनलाई चुनाव जितायो । त्यसैगरी अर्को उदाहरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयलाई लिन सकिन्छ ।
पछिल्लो एक कार्यकालको हारपछि भर्खरै ट्रम्पको जबर्जस्त कमब्याक भएको छ । संसारकै सुपर पावर कहलिने अमिरिका झन् नेपाल जस्ता मुलुकका नागरिकको त सपनाको देश समेत हो, त्यसैले अमेरिका जस्तो महान् देश छोडेर नेपालमा केही गर्छु भनेर आएकोलाई गर्न नदिने भन्ने भाष्य समेत जबर्जस्त स्थापित छ तर वास्तविकतामा अमेरिकी नागरिकहरू आफूहरू ग्रेट (महान्) छैनौं वा रहेनौं भन्नेमा विश्वस्त रहेछन् भन्ने जसको चरितार्थ ट्रम्पको प्रमुख नारा मध्येको ‘मेक अमेरिका ग्रेट अगेन’ ले समेत पुष्टि गर्छ । यसरी उदाएका अन्य धेरै उदाहरण छन् । तर यहाँ प्रतिनिधि पात्र स्वरुप हामी यिनै दुई नेताको देश अमेरिका र युक्रेनमा यिनीहरूको उदयलाई हेरौं ।
अमेरिकामा ट्रम्पको उदयः मिल्स (१९८१) का अनुसार, अमेरिकी जीवनलाई शासित गर्ने एलिट र कुलीन वर्ग तीन छन्ः राजनीतिक, आर्थिक र सैन्य । यस अर्थमा, डोनाल्ड ट्रम्प राजनीतिक कुलीन वर्गको सदस्य बन्नु अघि आर्थिक कुलीन वर्गमा पर्थे । यद्यपि, न्यूयोर्कमा आधारित अर्बपति, र मिडिया सेलिब्रिटी र रियालिटी–टीभी सुपरस्टारहरूको रूपमा सर्वत्र परिचित भए तापनि, डोनाल्ड ट्रम्पले आफूलाई वाशिंगटनमा आधारित भ्रष्ट राजनीतिक कुलीन वर्गको विरुद्ध लड्ने बाहिरी व्यक्ति भनेर चित्रण गरी राजनीतिमा स्थापित गर्ने आफ्नो रणनीतिमा सफल भए ।
उनको सफलताको राज मतदाताहरूसँगको संवादको एक अव्यवस्थित शैलीलाई पनि प्रमुख मान्ने गरिन्छ । डोनाल्ड ट्रम्प अमेरिकी लोकप्रियवादको इतिहासमा कसरी फिट हुन्छन् भन्ने व्याख्या गर्दा, एइरम्यानले स्वीकार्छन् कि ट्रम्पको अद्वितीय अभियान, बयानबाजीको विषाक्तता र अमेरिकी राजनीतिका स्थापित संस्थाहरू माथिको आक्रमण । उनका अनुसार अर्को शब्दमा ट्रम्प यो व्यवस्थाका उत्पादन मात्र नभई आफ्नै किसिमको व्यवस्था स्थापित गर्न उद्यत छन् । ट्रम्पले कुलीन वर्गद्वारा परित्याग भएको महसुस गर्ने मानिसहरूको डर, गुनासो र क्रोधमा खेल्ने गर्छन् ।
ट्रम्पको अभियान र कार्यकालको क्रममा पोस्ट–ट्रूथ/सत्योत्तर (राजनीतिक विषयमा वास्तविकता र तथ्यभन्दा भावुकतालाई प्रयोग गरी गलत सूचना प्रसार गरेर जनमानसमा भ्रम स्थापित गर्नु तथा घटनामा भावनात्मक अपिल, षड्यन्त्र सिद्धान्तहरूको प्रयोग, तथ्यहरूको हेरफेर र गलत सूचनाको प्रयोग) तर्क निरन्तर रह्यो जसले तुच्छ झूट, अतिशयोक्ति, आत्म–प्रशंसा गर्ने झूट, सार्वजनिकलाई धोका दिने झूट र घृणित झूटहरू सहित उनको पछिल्लो चार वर्षको कार्यकालमा ३० हजार ५७३ झूटहरू बोलेका थिए भने पछिल्लो चुनावको प्रचार दौरान पेन्सिल्भेनियाको दुई स्पिचमा मात्र ४० भन्दा बढी झुट बोले ।
सन् २०२० को चुनाव हारिसकेपछि उनले पराजय स्वीकार गर्न अस्वीकार गरे, धोकाधडीको आरोप लगाएर यसलाई पार गर्न प्रयास गरे, सन् २०२१ जनवरी ६ मा उनको तर्फबाट भीडले क्यापिटलमा आक्रमण समेत गर्यो । उनको यति प्रभाव रह्यो कि लगभग डेढ वर्षपछिसम्म पनि करीब ७० प्रतिशत रिपब्लिकनहरूले बाइडेनलाई वैध विजेता मान्दैनथे । उनको कार्यकालमा पोस्ट–ट्रूथको एक प्रकारको सुनामी बन्यो । वास्तवमा, भनिन्छ ट्रम्पको कार्यकालमा, ट्रम्प ‘कमाण्डर इन चीफ’ भन्दा बढी ‘स्टोरीटेलर इन चीफ’ थिए ।
युक्रेनमा जेलेन्स्कीको उदयः कमेडियनको रूपमा परिचित भ्लोदिमिर जेलेन्स्की एकाएक राजनीतिमा उदाएर राष्ट्रपतिमा जिते । निर्वाचन अघिसम्म जसको उनीसँग न त नीति र एजेन्डा थियो न कुनै राजनीतिक अनुभव नै थियो । तर उनीसँग भएको प्रचारप्रसार गर्ने करिस्मा अनि परिवर्तन गर्ने हुटहुटीले उनलाई चुनाव जितायो । यस सन्दर्भमा राजनीतिक रणनीतिकार ओलेक्सी गोलोबुत्स्कीले फेब्रुअरीमा एनबीसी न्यूजलाई भनेका थिए– ‘मानिसहरूले जेलेन्स्कीमा उनीहरू के चाहन्छन् भन्ने कल्पना गर्छन्ः उदारवादीहरूले उनलाई उदारवादी ठान्छन्, देशभक्तहरूले देशभक्त ठान्छन्, वामपन्थीहरूले उनलाई वामपन्थी ठान्छन् ।’
अर्थात् लोकप्रियतावाद आफैंमा दक्षिणपन्थी वा वामपन्थी विचारधारामा निर्भर गर्दैन । दुवैमध्ये कुनै एकलाई वा दुवैलाई माने जस्तो र ठाडै विरोध गरेजस्तो प्रवृत्ति देखाउँछ । लोकप्रियतावाद आफ्नो विशेष सञ्चार र अभिव्यक्ति शैलीको लागि प्रसिद्ध छ । जेलेन्स्कीका सल्लाहकार दिमित्री रजुमकोभले भनेका थिए कि, अधिकांश युक्रेनीले राष्ट्रपतिको भूमिकालाई आफ्नो संवैधानिक अधिकारको रक्षा गर्ने र उनीहरूको हितका लागि लबिङ गर्ने व्यक्तिको रूपमा हेर्छन् । ‘तपाइँलाई यो गर्नको लागि कुनै अनुभव चाहिंदैन, तपाईं केवल एक सभ्य मानव हुन आवश्यक छ ।’
जेलेन्स्कीले आफ्नो क्याम्पेनिङलाई सोसल मिडियाहरूबाट प्रचार गरेका थिए । उनले भनेका थिए, हाम्रो प्रचारप्रसारका लागि एउटा मात्र प्लाटफर्म छ त्यो हो, इन्टरनेट र उनले त्यसको भरपुर फाइदा उठाएका थिए । त्यसैले न्बिमपथपज ले भनेका थिए कि ‘जेलेन्स्कीको चयन भनेको असन्तुष्ट र निश्चित वर्तमान भन्दा अनिश्चित भविष्यको लागि हो ।’
नेपालमा लोकप्रियतावादको ललकार
विश्वभरि लोकप्रियतावाद (पपुलिजम) बढ्दै गएको छ । माथि उल्लेख गरेझैं लोकप्रियवादले फरक–फरक समय र परिस्थितिमा आफ्नै किसिमको अवधारणा प्रस्तुत गर्दछ र पनि करिस्मायुक्त नेता, सामाजिक–राजनीतिक वातावरण र मानव प्रकृति लोकप्रियवादको उदयको मुख्य कारकहरू हुन् जसमध्ये सामाजिक–राजनीतिक वातावरण, विशेषगरी सामाजिक विभाजन र खाडलहरू, करिस्माभन्दा महत्वपूर्ण छन् ।
सबैजनामा राम्रो भविष्यको आशा छ तर वर्तमान लोकप्रियतावादबाट आएका नेताहरूको नीति र एजेन्डा के हुन् भन्दा सबै अक्क न बक्क हुने अवस्था छ । तर पनि जनताले उनीहरूसँग कुनै पनि प्रश्नको उत्तर नखोजी नमागी विश्वास गरिरहेका छन् । आखिर किन ? किनभने लोकप्रिय नेताहरू प्रणालीको कारणभन्दा परिणाम हुन्, तिनीहरू सामाजिक विभाजनहरू गहिरो हुँदा देखा पर्छन्, आफूलाई उद्धारकर्ताको रूपमा प्रस्तुत गर्छन्, आफूलाई मात्र जनताको इच्छालाई बुझ्ने र राजनीतिक भ्रष्ट अभिजात वर्गलाई पराजित गर्न सक्षम छन् भन्ने तरिकाले प्रस्तुत हुन्छन् ।
मूलतः वर्तमान सन्दर्भमा नेपालको राजनीतिक वर्गमा दुई विभाजित भाष्य छ– भ्रष्ट वर्ग र शुद्ध वर्ग । जसमा मूलतः पुराना नेताहरू भ्रष्ट हुन् र त्यसको विकल्पमा उदाएका वर्तमान नेताहरू शुद्ध हुन् भन्ने मान्यता स्थापित गर्न खोजिंदैछ । यसका पछाडिका थुप्रै कारण मध्ये प्रमुख कारण हो, व्यवस्थालाई दोष दिएर हरेक व्यवस्थामा राजनीतिक मुखुन्डो लगाएर मूल नेतृत्वमा बारम्बार तिनै नेताहरू आउने तथा बारम्बार विफल हुँदा समेत त्यसको जिम्मेवारी आफूले लिनुको सट्टा व्यवस्था र अन्य कुराहरूलाई देखाई पन्छिने प्रवृत्ति, चरम राजनीतिक अस्थिरता, हरेक क्षेत्रमा भएको चरम राजनीतीकरण, बेरोजगारी लगायत थुप्रै कारण देखिन्छन् ।
काठमाडौं लगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजय भएपछि २०७९ को निर्वाचन स्वतन्त्र–वैकल्पिक राजनैतिक अभियानको मुख्य घटक देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लौरो लगायत पार्टीहरू तथा जबर्जस्त रूपमा चलेको ‘नो, नट अगेन’ अभियानले पुराना र बारम्बार टेस्टेड र फेल्ड नेताहरूबाट आजित भएका नेपाली जनताले सामाजिक सञ्जाल लगायत प्लाटफर्ममा ‘नो नट अगेन’ अभियान चलेको थियो । त्यसको विकल्पको रूपमा एकाएक उदाएका नीति र एजेण्डाविहीनलाई समेत चौथो दलको रूपमा नेतृत्वमा पुर्याए । त्यसकारण भनिन्छ, ‘अधैर्य मतदाताहरू लोकप्रिय नेताहरूलाई निर्वाचित गर्छन् ।’
दोस्रो सामाजिक सञ्जाल र पोस्ट–ट्रुथ इरा/सत्योत्तर युगः एकातिर सामाजिक सञ्जाल र इन्टरनेटको व्यापक प्रयोगले गलत सूचना र दुष्प्रचारलाई फैलाउने सुविधा दिएको छ, जसले सत्य र असत्यको सीमा मेट्दै गएको छ भने अर्कोतिर सञ्चारप्रविधिको विकास र सामाजिक सञ्जालको उदयले पोस्ट–ट्रुथ सत्योत्तर राजनीतिलाई स्थापित गरिरहेको छ । कल्पोकस (२०१९) का अनुसार, पोस्ट–ट्रूथले साँचो र झूटो बीचको भिन्नतालाई मेट्छ । साधारण झूटमा सत्य र असत्यको भेद कायम रहन्छ, तर पोस्ट–ट्रूथ सन्दर्भमा, यो भिन्नता नै धुमिल पारिन्छ । पोस्ट–ट्रूथ युगमा जनताले सत्यलाई महत्व दिन छोडेका छन् । उसो त उत्तर आधुनिक युगमा ‘सत्योत्तर’ एक स्वाभाविक विशेषता हो भन्ने पनि कतिपयको धारणा हुन्छ ।
तर अक्सर विश्लेषकहरू यो तर्कमा सहमत छैनन् । तिनीहरूका अनुसार सत्योत्तर पोस्ट–ट्रूथ कुनै युग नभएर ‘एक मानसिक स्थिति, एक मनोदशा’ भएको बताउँछन् । अर्थात् ज्ञान–विज्ञान, तथ्य, सत्य मतलब नगरी आफूलाई जेमा विश्वास लाग्छ त्यही सत्य ठान्ने प्रवृत्ति र आफूलाई मन परेको वा मनमा लागेको सत्यका लागि आफू जे पनि बोल्न, भन्न सक्ने र त्यो आफ्नो स्वतन्त्रताको रूपमा हेर्ने समेत गरिएको छ । उनीहरूलाई सत्य थाहा पाउनु आवश्यक नै हुँदैन जसमा मानिसहरू प्रायः सही जानकारीको सट्टा भावनात्मक अपिललाई प्राथमिकता दिन्छन् । जसले सत्यलाई विस्थापित गर्न सक्छ ।
अहिलेको परिप्रेक्ष्यमा सामाजिक सञ्जाल प्लाटफर्महरू पोस्ट–ट्रूथ लोकप्रियतावादी राजनीतिकर्मीका लागि साधन बनेका छन् । जसले साझा चासो र भावनाहरूको आधारमा अनलाइन समुदायहरू सिर्जना गर्छन् । उनीहरू विशेष अपिल, कथा र मिथकहरू प्रयोग गरेर जनतालाई प्रभावमा पादर्छन् । मानिसले आफ्ना भावनात्मक प्रतिक्रिया अनुकूलका जानकारी मात्र खोज्छन्, जुन अनलाइन एल्गोरिदम मार्फत सजिलै उपलब्ध हुन्छ । आफ्नो विश्वास प्रणालीसँग मेल खान्छ भने मानिसले गलत जानकारी, नक्कली समाचार, असत्य र आधा–सत्यहरू पनि स्वीकार गर्छन् ।
यस्ता पोस्ट–ट्रूथ कथनहरू तथ्यभन्दा बढी भावनात्मक सहानुभूति र व्यक्तिपरक सत्यमा आधारित हुन्छन् । लोकप्रियवादी नेता र समूहको मुख्य ध्यान आफ्नो उद्देश्य प्राप्त गर्नेमा हुन्छ, न कि यथार्थमा आधारित जानकारी प्रस्तुत गर्नमा । राजनीतिक समूहहरूले वैकल्पिक तथ्यहरूको प्रयोग गरेर आफ्नो एजेन्डा अघि बढाउँछन्, नयाँ नेता र दलहरूको उदय मुख्यतः भावनात्मक तर्क, गलत सूचना, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र परम्परागत मिडियाको अविश्वासलाई उपयोग गरेर भइरहेको छ । उनीहरूले सत्यको सट्टा भावना र आस्थाको आधारमा समर्थन जुटाउने प्रयास गरेका छन् ।
परम्परागत मिडियालाई विश्वास नगर्ने र नयाँ माध्यमहरू मार्फत आफ्नो सन्देश फैलाउने रणनीतिले पोस्ट–ट्रूथ युगमा उनीहरूलाई फाइदा पुर्याएको छ । नयाँ नेता र दलहरूले आफ्नै माध्यमद्वारा (सामाजिक सञ्जाल, युट्युब, अनलाइन प्लाटफर्म) मा सन्देश फैलाउने गर्छन् । अझ सामाजिक मनोदशा र परिस्थिति यस्तो भएको छ कि झुट यति आत्मविश्वासका साथ बोल्ने गरिन्छ कि त्यो भाइरल हुनुपर्यो र त्यसको लोकप्रियताबाट कुनै न कुनै फाइदा हुनुपर्यो । यसरी सामाजिक सञ्जालको प्रभावकारिता, सूचनाको स्रोतमा विविधता, राजनीतिक असन्तुष्टि र सञ्चारमाध्यमको ध्रुवीकरणले समेत लोकप्रियवादलाई ललकारी रहेको छ ।
लोकप्रियवादले निम्त्याउने परिदृश्य
लोकप्रियतावाद लामो समय टिक्दैन किनकि लोकप्रियवाद चरित्र आफैंमा अस्थिर हुन्छ । लोकप्रिय नेताहरू सत्तामा पुगेपछि यसलाई कब्जा गर्न प्रयास गर्छन् । चेस्टरली र रोबर्टी (२०१८, पृ. २) ले भनेका छन् कि लोकप्रिय र गैर–लोकप्रिय दुवै नेताहरूले आफ्नो पुनः निर्वाचन सुनिश्चित गर्न संस्थाहरू कब्जा गर्ने प्रलोभन हुन्छ । तर लोकप्रिय नेताहरूमा विशेषगरी यस्तो गर्ने सम्भावना बढी हुन्छ किनभने लोकप्रिय नीतिहरूको बूम–बस्ट गतिशील प्रोफाइलले गर्दा मतदाताहरूले लोकप्रिय नेताहरूलाई जब तिनीहरूको नीतिहरूको लागत प्रभावमा आउँछ तब प्रतिस्थापन गर्न चाहन्छन् । त्यसकारण एक लोकप्रिय नेताले सत्ता गुमाउनबाट बच्न संस्थाहरू कब्जा गर्ने प्रलोभन हुन्छ ।
लोकप्रियतावादबाट सत्ता र शक्तिमा पुगेका नेताहरू देश र जनताको लागि काम गर्नु भन्दा स्थापित परम्परा तथा संयन्त्रमाथि आक्रमण गरी आफ्नो सार्वजनिक छवि सुधारमा तथा आफूलाई मसिहा र ईश्वरको वरदानको रूपमा प्रस्तुत गर्छन् र समग्र दुःखकष्ट र समस्याको समाधान गर्ने एउटा मात्र विकल्पको रूपमा प्रस्तुत हुने गरी आफ्नो छवि निर्माणमा ध्यान दिने गर्छन् । जस्तैः पछिल्लो समय भारतमा नरेन्द्र मोदीले एउटा अन्तर्वार्तामा चुनाव प्रचारका दौरान आफूलाई भगवान्को दूत भनेका थिए ।
यसरी, लोकप्रिय नेताहरूले राजनीतिक प्रणालीसम्म परिवर्तन गर्न प्रयास गर्छन्; जस्तै पुटिनले रूसमा २०३६ सम्म दुई थप कार्यकालसम्म सत्तामा बस्ने गरी संविधान संशोधन गरे । तर, पूर्ण वा त्रुटिपूर्ण प्रजातन्त्रहरूमा लोकप्रिय सत्ताधारीहरूले सत्ता कब्जा गर्न कठिनाइ हुन्छ, विशेषगरी जब उनीहरूले योग्य बहुमत प्राप्त गर्दैनन् । जस्तैः अमेरिकामा, ट्रम्प पुनः निर्वाचित हुन असफल भए । ट्रम्पले पराजय स्वीकार गर्न अस्वीकार गरे र प्रणालीलाई धोकाधडीको आरोप लगाए । ट्रम्प केवल तब मात्र संस्थाहरूमा विश्वास गर्छन् जब उनीहरू जित्छन् । अन्यथा भ्रष्ट प्रणाली भनी दोष दिन्छन् ।
यसरी विना भिजन र नीति लोकप्रियवाद र करिस्माई चरित्रबाट उदाएका नेताहरूले तत्काल जनताको राजनीतिक वितृष्णा र असन्तुष्टिलाई प्रोभोक र उपयोग गरी सत्तामा पुगे भने समग्र प्रणाली र संयन्त्र माथि आक्रमण गरी आफू र आफ्नो छवि सुधार र स्थापित गर्न तथा आफ्नै प्रणाली स्थापित गर्न समेत पछि हट्दैनन् जुन लोकतन्त्रकै लागि समेत खतरा हो ।