प्रकाशित मिति : १३ असार २०८३, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एपी/रासस
अमेरिकामा टीपीएस अन्तर्गत कानुनी रूपमा बसोबास गरिरहेका लाखौँ आप्रवासीहरूलाई देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकारलाई सर्वोच्च अदालतले सदर गरेसँगै विज्ञहरूले देश गम्भीर जनसांख्यिकीय संकट तर्फ धकेलिँदै गएको चेतावनी दिएका छन्।
लिवरटेरियन क्याटो इन्स्टिच्युटका जनसंख्या तथा आप्रवासन विज्ञ डेभिड बियरका अनुसार अमेरिकाका अधिकांश काउन्टीहरूमा जन्मदरभन्दा मृत्युदर बढी हुन थालिसकेको छ। उनले अमेरिकाको वर्तमान अवस्था तीव्र गतिमा वृद्धवृद्धाको संख्या बढिरहेका र जनसंख्या घट्दै गएका चीन, इटाली र दक्षिण कोरिया जस्ता मुलुकहरूसँग मिल्दोजुल्दो हुन थालेको बताएका छन्।
अमेरिकामा विगत केही दशकदेखि जन्मदर लगातार घटिरहेको छ। विगतका वर्षहरूमा वैदेशिक आप्रवासनका कारण यो सन्तुलन कायम रहँदै आएको थियो। तर, सन् १९३० को आर्थिक मन्दी पछि पहिलो पटक अमेरिकाले एकैसाथ रेकर्ड न्यून जन्मदर र अत्यन्तै न्यून आप्रवासी संख्याको सामना गरिरहेको छ।
हाम्रो एक शताब्दी अघिको उच्च जन्मदर अब फर्कनेवाला छैन। आप्रवासन बिना दिगो वित्तीय र आर्थिक स्थिति कायम राख्न असम्भव छ,बियरले भने।
ट्रम्प प्रशासनले हाइटी, सिरिया र अन्य देशका नागरिकहरूको टीपीएस समाप्त गर्ने कानुनी लडाइँ मात्र जितेको छैन, बरु सीमा क्षेत्रमा शरणार्थीहरूलाई रोक्ने अधिकार पनि सर्वोच्च अदालतबाट प्राप्त गरेको छ।
यसका साथै, संघीय एजेन्टहरूले विभिन्न सहरहरूमा आप्रवासीहरूलाई तीव्र रूपमा देश निकाला गरिरहेका छन्। गत महिना जारी गरिएको एक कार्यकारी आदेशले पूर्ण कानुनी हैसियत नभएका आप्रवासीहरूका लागि बैंकिङ सेवामा समेत कडाइ गरेको छ।
आप्रवासन विरोधी संस्था ‘फेडरेशन फर इमिग्रेसन रिफर्म’ का प्रवक्ता क्रिस्टोफर हाजेकले यस कदमको स्वागत गर्दै भनेका छन्, “हाम्रा आप्रवासन कानुनहरू कार्यान्वयनका लागि बनाइएका हुन्, खुकुलो पार्नका लागि होइनन्।
अर्थशास्त्री र जनसांख्यिकीविद्हरूका अनुसार आप्रवासीहरूको अभावमा अमेरिकाले ठूला समस्याहरू भोग्नुपर्नेछ, सामाजिक सुरक्षा कोषमा कर जम्मा गर्ने युवा कामदारहरूको संख्या ह्वात्तै घट्नेछ।
बजारमा सामान खरिद गर्ने उपभोक्ता र राज्यलाई कर बुझाउने नागरिकहरूको कमी हुनेछ। युवा परिवारहरूको संख्या घट्दा विद्यालयहरूमा बालबालिकाको अभाव भई धेरे विद्यालयहरू बन्द हुने अवस्थामा पुग्नेछन्।
तथ्याङ्क अनुसार सन् २०२४ मा करिब २७ लाख विदेशी आप्रवासी अमेरिका प्रवेश गरेका थिए भने यस वर्ष यो संख्या घटेर केवल ३ लाखमा सीमित हुने अनुमान गरिएको छ। ब्रुकिङ्स इन्स्टिच्युटका जनसांख्यिकीविद् विलियम फ्रेले आयोवा, कान्सास र नेब्रास्का जस्ता साना राज्यहरू आप्रवासी बिना जनसंख्या वृद्धिमा पूर्ण रूपमा ठप्प हुने बताएका छन्।
यदि आप्रवासनको यो न्यून स्तर कायम रहेमा, सेन्सस ब्युरोको अनुमान अनुसार यस शताब्दीको अन्त्यसम्ममा अमेरिकाले १० करोड ७० लाखभन्दा बढीको जनसंख्या गुमाउन सक्नेछ।
अर्कोतर्फ, ह्वाइट हाउसका प्रमुख नीति सल्लाहकार स्टिफन मिलरले ट्रम्प प्रशासनको कदमको बचाउ गर्दै आप्रवासीहरूलाई आर्थिक मेरुदण्ड नभई सामाजिक बोझ र खतराको रूपमा चित्रण गरेका छन्।
शरणार्थीहरूका लागि अमेरिकाको ढोका पूर्ण रूपमा बन्द भइसकेको छ, मिलरले पत्रकारहरूसँग भने। उनले आप्रवासीका सन्तानलाई अमेरिकामा जन्मिएकै आधारमा पाइने नागरिकता खारेज गर्नु अबको अर्को कदम हुने र अदालतले यसै साता यसबारे फैसला सुनाउन सक्ने जानकारी दिए।
