अमेरिकाको हमलापछि इरानद्वारा कुवेत र बहराइनमा आक्रमण



प्रकाशित मिति : १३ असार २०८३, शनिबार

अमेरिकाको हमलापछि इरानद्वारा कुवेत र बहराइनमा आक्रमण

फाइल फोटो : एएफपी/रासस

इरानले पनामाको झण्डा बोकेको तेल ट्याङ्करमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले इरानविरुद्ध पुनः हमला गरेको छ। होर्मुज जलमार्गमा उक्त ट्याङ्करमाथि आक्रमण भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य कारबाही गरेको हो।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार व्यावसायिक जहाजहरूमाथि इरानले निरन्तर आक्रमण जारी राखेपछि त्यसको जवाफस्वरूप इरानी सेनाका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई हमला गरिएको हो।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनस्थित अमेरिकी पूर्वाधारहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। आईआरजीसीले अमेरिकी हमला युद्धविराम उल्लङ्घन र दुई देशबिच भएको सम्झौताविपरीत भएको उल्लेख गर्दै यसले शान्ति प्रक्रियालाई पूर्ण रूपमा रोक्न सक्ने चेतावनी दिएको छ।

सेन्टकमले जारी गरेको विज्ञप्तिमा इरानलाई युद्धविराम सम्झौताको पालना गर्ने अवसर दिइएको भए पनि इरानी सेनाले एकतर्फी रूपमा आक्रमणकारी ड्रोन प्रयोग गरी पनामाको झण्डा बोकेको ‘एमटी किकु’ नामक ट्याङ्करमा आक्रमण गरेकाले प्रतिकारात्मक कारबाही गरिएको उल्लेख छ। अमेरिकाले इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र तथा ड्रोन भण्डारण स्थलहरूलाई निशाना बनाएको जनाएको छ।

यता आईआरजीसीले भने आफ्नो नौसेनाले उक्त जहाजलाई नियन्त्रणमा लिने प्रयास गरेको विषयलाई बहाना बनाएर अमेरिकाले इरानका पाँच वटा तटीय सैन्य चौकीमा आक्रमण गरेको आरोप लगाएको छ। आईआरजीसीका अनुसार यसै महिनाको सुरुवातमा भएको समझदारीअनुसार होर्मुज जलमार्गमा जहाजहरूको आवतजावत र मार्ग व्यवस्थापन गर्ने अधिकार इरानसँग छ। अबदेखि नियम उल्लङ्घन गर्ने जहाजहरूमाथि विगतभन्दा अझ कडा कारबाही गरिने चेतावनी पनि उसले दिएको छ।

अमेरिकाको हमलापछि इरानद्वारा कुवेत र बहराइनमा आक्रमण

नयाँ अमेरिकी आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा इरानले “सायद कहिल्यै पाठ सिक्ने छैन” भन्दै टिप्पणी गरेका छन्। इरानले आक्रमण बन्द नगरे अमेरिकाले संयमता गुमाउने चेतावनीसमेत उनले दिएका छन्।

यस आक्रमणपछि कुवेत र बहराइनले आफ्ना हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जानकारी दिएका छन्। कुवेती सशस्त्र बलले जारी गरेको विज्ञप्तिमा देशको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल र ड्रोन आक्रमणको प्रतिकार गरिरहेको उल्लेख गर्दै नागरिकहरूलाई सुरक्षा निर्देशनको पालना गर्न आग्रह गरिएको छ।

यो पछिल्लो आक्रमण अमेरिकाद्वारा शुक्रबार गरिएको प्रतिकारात्मक हवाई हमलापछिको अर्को सैन्य कारबाही हो। अमेरिकाले जुन २५ मा सिङ्गापुरको झण्डा बोकेको ‘एमभी एभर लभ्ली’ नामक मालवाहक जहाजमाथि भएको ड्रोन आक्रमणको जवाफस्वरूप ती आक्रमणहरू गरेको जनाएको थियो।





Source link

Leave a Comment