‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’


३० कात्तिक, काठमाडौं । सहकारी संस्थाको बचत अपचलन आरोपमा सभापति रवि लामिछाने २ कात्तिकमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सडक प्रदर्शनमा छ । अदालतलाई प्रभावित पार्न  सडकमा गएको भनेर आलोचना भइरहँदा पार्टीभित्र आन्दोलन प्रभावकारी नभएको भनेर असन्तुष्टिका स्वरहरू पनि सुनिएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका उपसभापति डीपी अर्याल भने रविमाथि सरकारले प्रतिशोध साँधेको भनेर स्थापित गर्न आफूहरू सफल भएको दाबी गर्छन् । साथै अरु मुद्दाहरू लिएर रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने उनले बताए । प्रदर्शन अनि पार्टीभित्र देखिएको असन्तुष्टि लगायतका विषयमा रास्वपा उपसभापति अर्यालसँग अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी :

सभापति लामिछानेलाई पक्राउ गरेपछि तपाईंहरू सडक प्रदर्शनमा हुनुहुन्छ । तपाईंहरूकै सांसद समेत रहेका संसदीय समितिले सर्वसम्मत रूपमा कारबाही सिफारिस गरेको, अनि अदालतले पक्राउ पुर्जी दिएर पक्राउ गर्दा राजनीतिक प्रतिशोध कसरी हुन्छ ?

यो किन राजनीतिक प्रतिशोध हो भनेर बुझ्नलाई सहकारी नियमनसँग जोडेर बुझ्नुपर्ने हुन्छ ।

सहकारीलाई नियमन र अनुगमन गर्ने संस्थाहरू छ । संघीयता हुनुअघिदेखि नै सहकारी डिभिजन थियो । सहकारी मन्त्रालय, सहकारी विभाग छ । संघीयता आइसकेपछि त संघ, प्रदेश र पालिकाहरूले हेर्ने सहकारी छुट्याइयो । तीनवटै तहले सहकारीहरूलाई नियमन र अनुगमन गर्ने संस्थाहरू छ । ती संस्थाहरूले आफ्नो काम गरिरहेका छन् कि छैनन् भन्ने विषयमा बहस चलेन । नागरिक समाज र मिडियामा यसको बहस हुनुपर्दछ जस्तो लाग्छ ।

२०६१ सालपछि सहकारीहरूमा समस्या आएको देखिन्छ । बचतकर्ताको रकम फसेपछि सञ्चालकहरूलाई बोलाउने, ऋण दिन नहुने ठाउँमा किन दियो भनेर प्रश्न गर्ने, ऋण उठाउन उनीहरूलाई नै जिम्मा लगाउने काम सरकारले गर्नुपर्ने थियो । यी कामहरू गरिएन । यो समस्या जटिल बन्दै आयो ।

पछिल्लो पटक संसदमा विशेष छानबिन समिति बनाइयो । नियमन, अनुगमन, अनुसन्धान गर्ने निकायहरू हुँदाहुँदै पनि त्यसलाई विश्वास गरिएन ।

संसदीय समितिले पनि रवि लामिछानेले प्रत्यक्ष रूपमा सहकारीबाट पैसाको कारोबार गरेको भेटिएन भनेर लिखित कागजात दियो । ११०० भन्दा बढी पेजमा रहेको समितिको प्रतिवेदनमा ८७/८८ अर्ब पैसा अपचलनमा विभिन्न संस्था, व्यक्तिका नामहरू छन् । पैसा कसरी उठाउन सकिन्छ भनेर ती संस्थाका सञ्चालकहरूलाई खोजी गर्ने, समाउने, उहाँहरूको जायजेथा रोक्का गर्ने, बेचबिखन गरेर जनताको रकम फिर्ता गराउने कामहरू गरिएन । मात्रै रवि लामिछानेलाई आक्रमण गरिएको छ, त्यसकारण यो राजनीतिक प्रतिशोध हो ।

तर सहकारीको रकम अपचालनमा रवि मात्र होइन, सत्ता पक्षको नजिक रहेका मानिसहरू पनि पक्राउ परेका छन् । पुर्पक्षका लागि थुनामा छन्, होइन र ?

जो-जो व्यक्ति पक्राउ परेका छन्, सहकारीमा उहाँहरूको संलग्नता र रवि लामिछानेको संलग्नता एकै ठाउँमा राखेर तुलना गर्न सकिँदैन ।

जो मान्छे सहकारी सञ्चालक भयो, अध्यक्ष भयो । वर्षाैंदेखि सहकारी सञ्चालन गर्‍यो, सहकारीसँग ऋण लिएर दुरूपयोग गर्‍यो, त्यस्तो मान्छेसँग रवि लामिछानेलाई तुलना गर्न मिल्दैन । कांग्रेस–एमाले नजिकका जो व्यक्ति पक्राउ परेका छन्, तिनीहरूको नाम र रवि लामिछानेको संलग्नता उस्तै हो कि होइन ? बहस गरौं ।

मेरो पार्टी सभापति भनेर भनेको होइन, रवि लामिछाने जस्तै केस भएका मान्छेलाई यस्तो व्यवहार सरकारबाट हुनु हुँदैन ।

तपाईंहरूले भने जस्तो सरकारले पूर्वाग्रह नै राखेको रहेछ भने त अदालतले हेर्ला नि ? अदालतले पक्राउ अनुमति दिएर हिरासतमा लिएको छ, अदालतले नै पटक-पटक म्याद थप गरेको छ । यो बेला सडक आन्दोलन किन चाहियो ?

हामीले व्यक्ति बचाउन होइन, सिस्टम बचाउन खोजेको हो । सरकारमा भएकै अर्को मान्छेको रवि लामिछानेको जस्तै केस छ भने हिरासतमा राखेर अनुसन्धान गर्नुपर्दैन । बाहिर राखेर अनुसन्धान गरे हुन्छ ।

हामीले अनुसन्धान नगर्नुस् भनेका छैनौं, हिरासतभन्दा बाहिर राखेर अनुसन्धान गर्नुस् भन्ने हाम्रो माग हो । किनभने उहाँ भागेर जानुहुन्न, प्रमाण नष्ट गर्नुहुन्न ।

माइतीघर वा टुँडिखेल छाडेर अदालत अगाडि नै भीड जम्मा गरेर प्रदर्शन गरेपछि न्यायालयलाई दबाव वा प्रभावमा पार्न खोज्यो भन्ने आरोप लाग्नु त स्वभाविक होइन र ?

सिंहदरबारअघि आन्दोलन गर्दा अदालत प्रभावित नहुने, पोखरामा गएर प्रदर्शन गर्दा अदालत प्रभावित हुने भन्ने कुरा हुँदैन । अदालत प्रभावित हुने हो भने जहाँ विरोध गरे पनि प्रभावित हुन्छ ।

र, हामीले अदालतलाई प्रभाव पार्ने, न्यायलयप्रतिको विश्वास गुम्ने काम केही पनि गरेका छैनौं । न्यायलयप्रति विना कुनै संकोच  शतप्रतिशत विश्वास छ । जहिले पनि सम्मान छ, निष्पक्ष रूपमा सत्यको पक्षमा निर्णय हुन्छ भन्ने विश्वास छ ।

पार्टी सभापतिले भोग्नुपर्ने कारबाही भोग्न उहाँ तयार हुनुहुन्छ, त्यसमा सहयोग गर्न हामी पनि तयार छौं । हाम्रो भनाइ यत्ति हो, प्रणाली खराब भयो, गृह प्रशासन र सरकारले यस्तो गर्नुभएन । न्यायलयलाई छुट्याएर हेरिदिनु पर्दछ ।

तर मानिसहरूले तपाईहरूको प्रदर्शनमाथि प्रश्न गरिरहेका छन्, तपाईंहरूले बुझाउन सक्नु भएन ?

व्यक्तिगत रूपमा कसले के भन्दै हिंड्नुभयो, त्यतातिर गइन । तर आन्दोलन सञ्चालनको मूल समितिको संयोजक भएको हैसियतले भन्दैछु, रवि लामिछानेको प्रक्राउ राजनीतिक प्रतिशोध हो भन्ने कुरा स्थापित भयो ।

नेपालमा मात्रै होइन, विश्वभरि यो बुझिएको छ । नागरिक समाजले पनि राजनीतिक प्रतिशोध भएको बुझेको छ । विभिन्न राजनीतिक दलहरूले पनि भन्न थालिसकेका छन् । त्यसैले मुद्दा स्थापित भयो कि भएन भनेर अब बहस गरिरहनु पर्दैन ।

तर आन्दोलनका लागि केन्द्र चुक्यो भनेर त तपाईहरूको प्रदेश कमिटीबाट पत्र नै आयो । आफ्नै पार्टीका कार्यकर्तालाई चाहिं बुझाउन नसक्नुभएको कि के हो ?

आरोप त लगाउन मिलिहाल्छ । आरोप प्रमाणित हुने नहुने अर्को कुरा भयो । मैले कसरी लिने कुरा भन्ने पनि होला ।

पार्टी स्थापना भएको साढे दुई वर्ष हुँदैछ । रास्वपामा भएका साथीहरू पनि यही समाजका हुन् । विगतमा विभिन्न दलमा आस्था राखेका साथीहरू पनि छन् । नेपालमा भएका सबैजसो आन्दोलन रक्तपातपूर्ण भएका छन्, हुलहुज्जत, ढुंगा मुढा, लाठी भाटाका आन्दोलन हुँदै आए । रास्वपाले शान्तिपूर्ण, सभ्य र सकेसम्म बौद्धिक तरिकाले जानुपर्छ भनेर बुझाउने कोसिसमा छ ।

यसो गर्दा पार्टीमा कसै कसैलाई चित्त नबुझेको हुनसक्छ । एकदमै आक्रामक हुनुपर्छ, प्रहरीसँग जुध्नुपर्छ भन्ने कसैलाई लागेको हुनसक्छ । तर आन्दोलन सफल नै छ । काठमाडौंमा मात्रै आन्दोलन गरेर देशैभरिको नागरिकले बुझ्न सक्नुहुन्न । उहाँहरूको ठाउँमा गएर आन्दोलन गर्दा नजिकबाट बुझाउन सक्छौं ।

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने भन्दै हुनुहुन्थ्यो, सडक प्रदर्शन नै रोकिएको छ । रूपन्देहीबाट म फर्कन ढिलो भएकोले विहीबार आन्दोलनको कार्यक्रम घोषणा हुन सकेन । पत्रकार सम्मेलन गरेर मैले केही कुरा भन्नु थियो । आन्दोलन परिचालन समितिको संयोजक नै उपस्थित हुन नसकेपछि पत्रकार सम्मेलन रोकिएको हो ।

के भन्ने खोज्नु भएको थियो, भन्नुस् न ?

रास्वपाको आन्दोलन रवि लामिछानेको रिहाइका लागि मात्रै हो भन्ने तपाईंहरूलाई लागेको होला । त्यो होइन । हामीले उठाउनुपर्ने राष्ट्रिय एजेण्डा थुप्रै छन् ।

पहिले सदन र मन्त्रिपरिषद्बाट कुरा राखिरहेकै थियौं । बचतकर्ताको रकम फिर्ता गर्ने, मिटर ब्याजपीडित, लघुवित्त पीडितका कुरामा हामीले खबरदारी गरिरहेका छौं ।

सरकारमा गएपछि पाँच लाख भन्दा मूनिको बचत रकम फिर्ता गर्ने बजेट भाषण हाम्रै प्रयासमा लेखिएको हो ।

पछिल्लो समय सदनबाट नसुनेको अवस्थामा सडकमा जानुपर्छ भनेर तयारीमै थियौं हामी । सभापति गिरफ्तार नभएको भएपनि एक किसिमको तयारी थियो नै ।

रास्वपाको विचार रवि लामिछानेले सुरु गर्नुभएको हो । उहाँसँग हामीहरू जोडिंदै आएको हो । १२ लाख जनता त रवि लामिछानेप्रति आशा राखेर आएको हो नि !

तपाईंहरूले अब गर्ने आन्दोलनको प्रकृति कस्तो हुन्छ ?

आन्दोलन शान्तिपूर्ण हुनुपर्‍यो, बौद्धिक हुनुपर्‍यो, नागरिकलाई बुझाउन पर्‍यो भनेर सभापतिले भन्नुभएको छ । राष्ट्रिय मुद्दामा बोल्नका लागि तपाईंहरू तयार हुनुपर्‍यो भन्नुभएको छ ।

प्रेस मिट गरेर दोस्रो चरणको आन्दोलन घोषणा गर्छौं । त्यसअघि पार्टीमा छलफल पनि हुन्छ । सभापतिको जिम्मेवारीमा उहाँ आफैं हुनुभएकाले सल्लाह पनि गर्नुपर्ने हुन्छ ।

रविमाथि लागेको यो मुद्दामा त रास्वपा बन्नुभन्दा अगाडि गरेका कामकारबाहीका कारण हो, तर रास्वपा रविको व्यक्तिगत मुद्दामा किन यसरी लागेको भनेर प्रश्न गर्नेहरू पनि छन् । तपाईंहरूलाई चाहि रास्वपा र रविको मुद्दा फरक किन लागेन ?

रास्वपाको विचार रवि लामिछानेले सुरु गर्नुभएको हो । उहाँसँग हामीहरू जोडिंदै आएको हो । १२ लाख जनता त रवि लामिछानेप्रति आशा राखेर आएको हो नि !

मैले पार्टी सभापतिको नाम नलिएर कसको नाम लिऊँ ? उहाँको विचार नमानेर कसको विचार मानौं ? रवि लामिछानेको नाम लिनु कहाँ व्यक्तिवादी भयो ? सत्यलाई सत्य भन्न सक्नुपर्‍यो । हामीले त्यही गरेका हौं । होइन भने रवि लामिछानेको पछि लागेर गलत गरिस् भनेर मलाई प्रमाणित गरिदिनुस् ।

आलोचना गर्नेहरूलाई चाहि रास्वपा भनेकै रवि हो, रवि भएन भने पार्टी बनाउन सकिन्छ आँट तपाईंहरूले देखाउनु सक्नु भएन भन्छन् नि ?

रवि लामिछाने एक्लैले पार्टी बनाउनुभएको भए उहाँ नै पार्टी र पार्टी नै उहाँ हुनुहुन्थ्यो । ५–१० वर्षअघि नै दल खोल्नुहुन्थ्यो होला । किन हामीहरू जोडिएपछि खोलेको त ?

हामीहरू सबै जना चाहिन्छ भन्ने उहाँलाई थाहा छ । उहाँ जस्तो नेता चाहिन्छ भनेर हामीलाई पनि थाहा छ । यो पनि सत्य हो कि उहाँको फेस र कामले २१ जना सांसद हुन सकेको हो । रवि लामिछानेले नेतृत्व गरेकै कारणले २१ जना सांसद भएको ध्रुवसत्य हो । तर रवि लामिछाने छ रास्वपा छ, होइन भने छैन भन्ने कुरा गलत हो ।

रवि लामिछाने पक्राउ परेपछि पार्टीको नियमिति गतिविधि नै ठप्प जस्तो भएको छ । आगामी वैशाखमा गर्ने तय भएको महाधिवेशनको कार्यतालिका नै प्रभावित भए जस्तो छ ?

सभापति पक्राउले पार्टीका गतिविधि अवश्य प्रभावित हुन्छ, भएका छन् । सुरुमा हामीले महाधिवेशनको कार्यतालिका एक साताको लागि रोकेका पनि थियौं ।

तर महाधिवेशनको कार्यतालिका अघि बढिसकेको छ । काठमाडौंको जिल्ला भेला मंसिर १ मा गर्दैछौं । उपनिर्वाचनको तयारीका कामहरू पनि गरिरहेका छौं ।

२०८२ वैशाख अन्तिम साता महाधिवेशन हुन्छ ?

जुन मिति तोकेका छौं, त्यसमा हामी दायाबाँया भएका छैनौं । त्यही मितिमा महाधिवेशन गर्ने तयारीमा छौं ।

‘आन्दोलनप्रति पार्टीभित्र कसै कसैलाई चित्त नबुझेको हुनसक्छ’

त्यसबेलासम्म पनि सभापति (जेल) बाहिर आउनु भएन भने पनि महाधिवेशन त्यही समयमा हुन्छ ?

काल्पनिक कुरातिर नलागौं । महाधिवेशन समयमा हुन्छ । नियमित कामहरू निरन्तर भइरहेको छ । वडा, पालिका, जिल्ला, प्रदेशका अधिवेशन पहिले सकिनुपर्‍यो, त्यसअनुसार २०८२ वैशाखमा महाधिवेशन गर्न सक्छौं भनेर नै मिति घोषणा गरिएको हो ।

कसरी विश्वास गर्ने, सभापति प्रहरी हिरासतमा गएपछि कार्यबाहक त तोकिएको छैन ?

अहिले कार्यबाहक सभापतिको जिम्मेवारी दिनु आवश्यक छैन, कार्यवाहक नलिई नहुने अवस्था रह्यो भने हामी तपाईंलाई भन्छौं भनेर हामी दुवै उपसभापतिले सभापतिलाई भनेका छौं ।

हामीले कामै गर्न नपाउने अवस्था बन्यो भने कार्यवाहकको जिम्मेवारी लिन्छौं । हिजोका दिनमा पनि कार्यवाहक सभापति मैले लिएको थिएँ, जिम्मेवारीका लागि त अहिले पनि तयारै छु । तर हाम्रा लागि यो गौण कुरा हो ।

तपाईंहरूको पार्टीमा महामन्त्री पनि छैन, कार्यवाहकको भरमा चलाउनु परेको छ । सभापति प्रहरी हिरासतमा हुनुहुन्छ, कार्यवाहक तोकिएको छैन । सभापति पक्राउसँगै रास्वपा सबैभन्दा कठिन अवस्थाबाट गुज्रिरहेको छ, होइन ?

होइन भनेर सिधै भन्ने अवस्था छैन । कठिन थिएन, म भन्दिनँ । त्यसोभन्दा झुटो बोले जस्तो हुन्छ ।

तर राजनीतिमा प्रवेश गर्दैगर्दा नै राजनीतिक जीवन सहज हुँदैन भन्ने हामीहरूलाई लागेकै थियो । परिकल्पना नगरेको, यस्तो हुँदै हुन्न र राजनीति सहजै जान्छ भन्ने मलाई लागेको थिएन । देशमा लामो समयदेखि केही दलको हालिमुहाली छ । त्यस्तो अवस्थामा हामी आएकाले केही कठिन हुन्छ भन्ने अनुमान थियो ।

प्रदेश, जिल्ला, पालिका, वडा तहमा तालमेलको बहस भएको हुनसक्छ । कुरा भएकै छैन म भन्दिनँ तर, चुनावी तालमेल गर्न भनेर केन्द्रले भने कुनै निर्देशन दिएको छैन ।

सानो तिनो कठिनाइ हामीलाई सुरुवातकै दिनदेखि आइरहेकै हो, सबै जनतालाई छर्लङ्गै जानकारी छ । यसपटक चाहिं हामीलाई अलि कठिनाइ नै भयो । उपनिर्वाचन पनि आइरहेको छ । पार्टीका नियमित कार्यक्रमहरू पनि अघि लिएर जानुपर्ने छ । यो समयमा हामीलाई कठिनाई आएकै हो, यसमा दुईमत रहेन ।

त्यही कारण उपचुनावमा कीर्तिपुरमा माओवादी केन्द्रसँग तालमेल गर्ने तयारी गर्नु भएको हो ?

हामी लिडरसीप एकेडेमीको अभ्यास गर्न पनि खोज्दैछौं । त्यो तयारी भएको ठाउँमा हाम्रो उम्मेदवार हुनुहुन्छ । हाम्रो तयारी नभएको ठाउँमा स्वतन्त्र कोही राम्रो उम्मेदवार हुनुभयो भने त्यो पनि निर्णय लिन सक्छौं । कोही राम्रो व्यक्तिले घण्टी चुनाव चिन्हबाट लड्छु भनेर आउनुभयो भने चिन्ह दिन्छौं ।

जहाँसम्म तालमेलको विषय छ, स्थानीय तहको निर्वाचन भएकाले निर्णय लिनका लागि धेरै जिम्मेवारी प्रदेशलाई दिएका छौं । प्रदेशले जिल्लालाई अलि जिम्मेवार बनाएको छ ।

प्रदेश, जिल्ला, पालिका, वडा तहमा तालमेलको बहस भएको हुनसक्छ । कुरा भएकै छैन म भन्दिनँ तर, चुनावी तालमेल गर्न भनेर केन्द्रले भने कुनै निर्देशन दिएको छैन ।

अरु दलबाट चुनावी तालमेल गरौं भन्ने प्रस्ताव आयो भने ?

रास्वपा तालमेल गर्ने पक्षमा छैन, कुनै दलबाट मिलेर चुनाव लड्न अनुमति केन्द्रबाट जाँदैन ।

फोटो/भिडियोः आर्यन धिमाल/अनलाइनखबर





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School