मनोचिकित्सक डेबिड डि. बर्न्सको एउटा ख्यातिप्राप्त पुस्तक छ– ‘द फिलिङ गुड: द न्यू मूड थेरापी। नकारात्मक भावनासँग कसरी लड्ने र आफ्नो मानसिक अवस्थालाई कसरी ठिक बनाइराख्न सकिन्छ भन्ने बारेमा लेखिएको स्वसहयोगी (Self-Help) पुस्तक हो, यो।
डा. बर्न्सले विशेषगरी तनाव व्यवस्थापन एवं डिप्रेसनको उपचारका विभिन्न आयामको बारेमा चर्चा गरेका छन्। यो संसारमा धेरै प्रति बिक्री हुने किताबमध्येको एक हो। अन्य साहित्यको तुलनामा चर्चा अनुसारको बिक्री हुने भनेको स्वसहयोगी पुस्तकहरू नै हुन्।
यसबाट पनि थाहा हुन्छ कि ‘सुखको खोजी’ मानिसहरूको प्राथमिक महत्वको विषय हो। सकारात्मक सोचको विकास गर्ने तथा व्यावसायिक प्रेरणा दिने पुस्तकहरू पाठकहरूको सदासर्वदा सर्वाधिक रोजाइमा पर्ने गरेको देखिन्छ। संसारभर भएको यो चल्ती नेपालमा पनि छ।
एउटा प्रश्न छ- के स्वसहयोगी पुस्तकले जीवनमा साँच्चैको परिवर्तन ल्याउँछ त ?
यसका समर्थकहरू के भन्छन् भने यस्ता पुस्तकहरूले व्यक्तिगत उपलब्धिका निम्ति उपयोगसिद्ध उपायहरू प्रदान गर्दछ। यसले व्यक्तिमा आत्म सचेतना बढाउँछ। मानिसहरूलाई खराब आचरणहरूलाई छोड्न र आफ्नो जीवनको लक्ष्यहरूलाई पछ्याउन मद्दत गर्दछ। प
छिल्लो समय सर्वाधिक रुचाइएको पुस्तक Atomic Habits का लेखक जेम्स क्लियर भन्दछन्- साना बानीहरूमा परिवर्तन गर्दा त्यसले सम्पूर्ण जीवनलाई नै परिवर्तन गर्ने सकारात्मक परिणामहरू दिन सक्छ।
साथै यसका आलोचकहरू पनि उत्तिकै छन्। उनीहरू के जिरह गर्दछन् भने धेरैजसो स्वसहयोगी पुस्तकहरूले जस्तोसुकै जटिल समस्याहरूको पनि यति सरल समाधानको उपाय दिन्छन् कि यथार्थमा ती उपायहरू उपयोगी हुँदै हुँदैनन्।
यस्ता पुस्तकले सामाजिक परिवेशलाई बेवास्ता गर्न सिकाउँछ र केवल व्यक्तिगत मामिलामा मात्रै अत्यधिक ध्यान केन्द्रित गर्न सिकाउँछ। यसले व्यक्तिको अवास्तविक आकांक्षाहरूलाई बढाएर पाठकहरूलाई झन् असफलतातर्फ उन्मुख गराउन सक्छन्।
Bright-sided: How Positive Thinking Is Undermining America कि लेखिका बार्बरा एरेनरिच भन्छिन्- स्वसहयोगी पुस्तकहरूले प्रायः अत्यधिक आशावादी संस्कृतिलाई बढावा दिन्छ। सकारात्मक सोचको अत्यधिक अनुराग हानिकारक हुन सक्छ। जसले मानिसहरूलाई निजको वास्तविक स्वास्थ्य, आर्थिक वा वैश्विक समस्याहरूलाई बेवास्ता गर्न प्रोत्साहित गर्छ।
विविध विधाका पुस्तकहरू आइरहेको सिलसिलामा यसपटक नेपाली पुस्तक बजारमा घनश्याम खड्काको ‘आनन्द संहिता’ पुस्तक ‘दर्शनशास्त्र’ विधामा प्रकाशमा आयो।
एउटा आयामबाट हेर्दा वा प्रथमदृष्टिमा यो पुस्तक पनि स्वसहयोगी रचना हो नै। तर यति मात्रै हो भन्नु पुस्तकप्रति अन्याय हुन्छ। किनभने निर्धक्कसँग भन्न सकिन्छ यो पुस्तक पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टाले रचना गरिएको कृति हो।
कर्मका दृष्टिले उनी आफूलाई के भन्न रुचाउँछन् थाहा भएन तर पाठकहरूको नजरमा घनश्याम खड्काको प्रथम परिचय भनेको पत्रकारिता नै हुनुपर्छ। यसअघि २०७२ सालमा उनको ‘निर्वाण’ नामक उपन्यास प्रकाशमा आयो। उनी उपन्यासकार बने। त्यो उपन्यासको भावभूमि पनि मनोविज्ञान र दर्शन नै थियो ।
यसपटक उनले आनन्द संहिता नामक गैरआख्यान पाठकमाझ पेश गरेका छन्। विधाका रूपमा यसलाई उनले दर्शनशास्त्र भनेका छन्। यो पुस्तकमा उनी दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन्। यद्यपि, सारमा यो कृति आध्यात्मिक देशना हो। जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्।
यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसको सन्दर्भमा बुद्ध, कृष्ण, शंकराचार्य, कविर, ओशो, सिग्मण्डफ्राइड, कार्ल युङ्ग, एमिल कुए, जीएन एक्टरवर्ग, म्याक्सवेल माल्टज, कार्ल रोजरर्स र आब्राहम मास्लो, म्याक्स वेर्थहाइमर, रुथ बेनेडिक्ट, चोआ कोक सुइ समेतका दृष्टिहरू समावेशित छन्। बुद्ध भन्छन्- दुःख छ र दुःखबाट मुक्तिको उपाय पनि छ। यो कृति दुःख मुक्तिको प्रयत्नतर्फ अभिमुख छ। जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेश छन्।
आनन्द संहिताको अध्याय १८ वटा शीर्षकमा प्रस्तुत छन्। ती प्रत्येक पाठले पाठकलाई आफ्नो अन्तःकरणको दर्शन र त्यसको स्वपरीक्षण गर्ने मार्गमा लैजान्छन्। शंकराचार्यले अन्तःकरण चार प्रकारको हुन्छ भनेका छन् जसमा मन, बुद्धि, चित्त र अहंकार पर्दछन्।
सुन्दा एउटै लागे पनि यी मानव स्वभावका चार प्रकारका वृत्ति हुन्। यिनैमा जमेको हुन्छ- क्लेश। जो मानिसको आत्मिक र मानसिक शान्तिको अवरोधक हो। राग एक प्रकारको क्लेश हो र रागबाटै जन्म हुन्छ द्वेष, ईर्ष्या, लोभ र लालच पनि। सामान्य भाषामा यसलाई मनको मैलो भनिन्छ।
जसरी शरीरमा कुनै रोग लाग्दा शल्यक्रिया गरी शारीरिक उपचार गरिन्छ, त्यस्तै मनको विकृत अवस्थालाई ठीक पार्न मानसिक शल्यक्रियाको आवश्यकता पर्दछ। जब मन विभिन्न विकार र अस्वस्थ विचारमा फस्छ, तब यसलाई शुद्ध गर्नको लागि उपचार आवश्यक हुन्छ। यही मानसिक उपचारको सूत्र हो- आनन्द संहिता।
‘मानिस जीवनमा के चाहन्छ?’ पुस्तकको पाठ यही प्रश्नबाट शुरू हुन्छ। यो प्रश्न स्वाभाविक छ। र यो प्रश्न ठिक ठाउँमा पनि छ। त्यसपछि सारा अध्याय यही प्रश्नको सेरोफेरोमा विस्तारित भएको छ। वेदान्त दर्शन ब्रह्मसूत्र पनि ‘अथातो ब्रह्मजिज्ञासा’बाटै शुरू हुन्छ।
अष्टावक्र-महागीता राजा जनकको प्रश्नमा विस्तारित छ। भागवतगीता अर्जुनको प्रश्नमा। सुकरात पनि प्लेटोहरूकै प्रश्नमा विस्तारित भएका हुन्। सारा दर्शनशास्त्र जीवन र जगतकै प्रश्नमा विस्तारित हुन्छन्।
तर सबै प्रश्न उत्तरका रूपमा विस्तारित हुन लायक हुँदैनन्। किनभने गलत प्रश्नको सही उत्तर मिल्न सक्दैन। कहिलेकाहीं त झन् उत्तर नै प्रश्न भएर वा प्रश्न नै उत्तर भएर प्रस्तुत भएको पनि हुनसक्छ। दार्शनिक ज्याँ पल सार्त्रको अस्तित्ववादी विचारमाथि ओशोले ‘प्रश्नलाई नै उत्तर बनाएको’ भनी टिप्पणी गरेका छन्।
त्यसकारण एकफेर प्रश्न यसरी पनि सोध्न मन लाग्यो कि ‘मानिस जीवनमा के चाहँदैन ?’ यसको सरल उत्तर छ- दुःख चाहँदैन सट्टामा सुख चाहन्छ। विपत्ति चाहँदैन बरु सम्पत्ति चाहन्छ। सुखको सवालमा लेखक लियो टोल्सटोयले आफ्नो उपन्यास ‘अन्ना केरेनिना’को शुरुआतमै उल्लेख गरेका छन्- “Happy families are all alike; every unhappy family is unhappy in its own way.”
सुखको दर्शनशास्त्र केवल अध्यात्ममा मात्रै सीमित छैन। यो त राजनीतिसम्म फैलिएको छ। त्यसैले त अमेरिकी स्वतन्त्रताको घोषणापत्र (The Declaration of Independence) को लेखक मध्येका एक, अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सनले अमेरिकी संविधानलाई दिएको मूल्य हो- Life, Liberty and pursuit of happiness. जीवन, स्वतन्त्रता र सुखको खोजी व्यक्तिगत हुन्छ। प्रजातान्त्रिक देशको संविधानले दिने जीवन, काम र अभिव्यक्ति स्वतन्त्रतारूपी मौलिक हक (Fundamental Rights) पनि व्यक्तिगत नै हुन्छ।
आनन्द संहिताले भन्छः हामी आफ्नो दृष्टिकोणका कारण दुःखी वा सुखी छौं। सफलता वा असफलता पनि दृष्टिकोण मात्र हुन्। दृष्टिकोण ठिक भयो भने कुनै पनि विषय असल वा खराब भन्ने हुँदैन, ती घटना मात्र हुन्छन्। बुद्धले यसैलाई सम्यक् दृष्टिको नाम दिएका छन्। बुद्धले दुःख निवारणका निम्ति सुझाएको साधन हो अष्टाङ्गिक मार्ग। सम्यक् दृष्टि यसको पहिलो अंग हो।
घटना केवल घटना मात्र हो भनेर हेर्दा जन्म कुनै सुखद् घटना होइन, न त मृत्यु नै कुनै दुःखद् घटना हो। न विवाह कुनै सुखद् घटना हो न सम्बन्धविच्छेद कुनै दुःखद् घटना हो। यी केवल घटना मात्र हुन्। तर हामी अभ्यस्त छौं- सुख वा दुःखको निर्णय दिन।
सुखको इच्छाले दुःखको निर्माण गर्छ। बुद्ध भन्छन् इच्छा दुःखको कारण हो। आनन्द संहिता भन्छ- दुःखको विपरीत अवस्थाको नाम सुख हो र सुखको विपरीत अवस्थाको नाम दुःख हो। आनन्दको विपरीत अवस्था छैन। त्यसैले सुख र आनन्द एउटै होइनन्। यो पुस्तकले सुखतर्फ होइन आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिन्छ।
पढ्दा सुन्दा एकैछिन त हो जस्तो लाग्छ। जसरी घाटमा जानेहरूमा उत्पन्न हुने वैराग्य पनि केहीबेरकै हो। पुस्तकका प्रारम्भिक अध्याय पूरा गर्दा नै चित्त शान्त हुन थाल्दछन्। पाठकलाई आनन्द लाग्न थाल्दछ।
बोधको तीव्रता बढ्दै जान्छ अनि बुद्ध नै हुन आँटे कि जस्तो महसुस पनि हुनसक्छ। मानौं अब बुद्ध बन्न केही पाइला मात्रै बाँकी छ। तर आम समस्या यो हो कि यो आनन्दलाई चिरस्थायी बनाउन कठिन छ। कठिन यसकारण छ कि आनन्दित रहनु एउटा विशेष कला हो। कला एकै दिनमा सिद्ध हुँदैन। कला सिद्ध गर्नका लागि साधना चाहिन्छ। साधनका विविध आयामको विवेचना हो- आनन्द संहिता।
भोक, भय, मैथुन र निद्रा यी चार गुणहरू प्रत्येक जीवको अस्तित्वको आधार हुन् र यसैको वरिपरि उनीहरूको जीवन घुमिरहन्छ। त्यसभन्दा फरक मानिससँग हाँसो छ। हाँसो केवल आनन्दको अभिव्यक्ति मात्र होइन, यो मानिसले आफूलाई सहज, हल्का र सन्तुष्ट महसुस गराउने एक अद्वितीय कला हो।
अर्थपूर्ण, संरचित र विचारहरूलाई स्पष्ट पार्ने एउटा साधन हो भाषा जो मानिससँग छ। भाषा मार्फत मानिसले आफ्नो भावना, ज्ञान र विचारहरूको आदानप्रदान गर्न सक्छ। सञ्चारको यो जादु मानिसलाई अरूसँग सम्बन्ध गाँस्न, विचारहरूको मन्थन गर्न र ज्ञानको सम्प्रेषण गर्न सक्षम बनाउँछ। मानिसले व्याख्या गर्ने बुद्धि पनि प्राप्त गरेको छ।
उसले परिस्थितिहरूलाई केलाउन सक्छ, अनुभवहरूलाई अर्थ दिन सक्छ र गहन विश्लेषण मार्फत सत्यको खोजी गर्न सक्छ। यस बुद्धिमत्ताले नै मानिसलाई संसार बुझ्न, नयाँ आविष्कार गर्न र प्रगतिको मार्ग प्रशस्त गर्न सक्षम बनाएको छ। मानिसको यही वैशिष्ट्य क्षमताको मूल केन्द्रमा छ मन।
‘मन’ नै यस्तो तत्त्व हो जसले मानिसलाई अनेक मोहजालमा बाँध्न पनि सक्छ र आनन्द, मोक्ष वा निर्वाण दिलाउन सक्ने साधन पनि यही नै हो। मोक्षप्रदायक ग्रन्थका रूपमा मानिएका विवेक चूडामणि, अष्टावक्रगीता र योगवाशिष्ठको सार पनि यही नै हो। आनन्द संहिता यही मनको चिकित्साशास्त्र हो।
ध्यानका सम्बन्धमा मेरो मान्यता
पुस्तकको एउटा विशेष पक्ष के छ भने, यसको हरेक पाठको अन्त्यमा ध्यान विधिहरू समावेश गरिएका छन्। यी विधिहरू ध्यान साधनाका विभिन्न पद्धतिहरूलाई पाठकहरूसम्म पुर्याउने उद्देश्यले राखिएका छन्, ताकि पाठकले तिनको अभ्यास गरुन् र आत्मिक शान्ति तथा मानसिक स्थिरताको अनुभव गर्न सकून्।
तथापि कि योग्य गुरुको मार्गदर्शन विना ध्यानको गहिरो अभ्यासमा प्रवेश गर्नु उचित हुँदैन भन्ने मलाई लाग्दछ। ध्यान केवल शारीरिक वा मानसिक अभ्यास मात्र होइन, यो एउटा गहिरो साधना हो, जहाँ आन्तरिक यात्रामा सुरक्षापूर्वक अघि बढ्न गुरुको ज्ञान र संरक्षण आवश्यक हुन्छ।
अहिलेको समयमा ध्यान एक प्रकारको ‘फेसन’ जस्तो देखिन थालेको छ, जहाँ धेरैले यसलाई गहिरो आत्म-साधना होइन, बरु सतही गतिविधिका रूपमा लिइरहेका छन्। तर वास्तविकता यसभन्दा धेरै फरक छ। ध्यान केवल एक अनुकरणीय अभ्यास होइन, बरु यो आत्म-उत्थानको मार्ग हो, जहाँ सही विधि र उद्देश्यले मात्र लाभ प्राप्त हुन्छ। यसका लागि, सही गुरुको दीक्षा र मार्गदर्शनले साधकलाई सही दिशा देखाउन र कठिनाइहरूबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
ध्यानको वास्तविक गहिराइलाई बुझ्न, यसको शक्ति र प्रभावलाई अनुभव गर्न, र यो साधना साँचो अर्थमा आत्मसात् गर्नको लागि, गुरुको सान्निध्य अपरिहार्य छ। पुस्तक मार्फत ध्यानका विधिहरू सिक्न र अभ्यास गर्न प्रयास गर्नु लाभदायक हुन सक्छ, तर त्यो मार्गदर्शक स्रोत विना अपूर्ण हुनेछ। यो एक जीवन परिवर्तनकारी यात्रा हो, जसले सही मार्गदर्शन प्राप्त गरेपछि मात्र सम्पूर्ण प्रभाव देखाउँछ।
र अन्त्यमा, यो कृति एउटा साधारण सिर्जना मात्र होइन आध्यात्मिक चिन्तनको परिणाम हो। जहाँ लेखकले आफ्नो गहन अनुभूति र जीवनप्रतिको दृष्टिकोणलाई पुस्तकमा उतार्न सफल भएका छन्। पाठकहरूलाई बोधको तहमा लैजाने, आफैंभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक रूपमा सफल भएका छन्।
लाग्न सक्छ, आनन्द संहिता कुनै नयाँ चिन्तनको आविष्कार होइन। यो त हाम्रै पूर्वीय ज्ञान चिन्तनकै व्याख्या र विस्तार हो। तर भन्नैपर्दछ विचार, विचारमाथिको व्याख्या अनि व्याख्याहरूको पुनर्व्याख्याले नै कुनै पनि ज्ञान, चिन्तन र दर्शनको परम्परालाई जीवन्त राख्दछ। यसको निरन्तरता स्वाभाविक छ र आवश्यक पनि। यसअर्थमा आनन्द संहितालाई स्वागत गर्नैपर्छ।
पुस्तकका नाममा कथा-अकथा, ज्ञान-अज्ञान एवं विचार-कुविचार आदि अनेक कोलाहलका माझ यति मनमोहक कृतिको रचना गर्ने लेखक घनश्याम खड्कालाई हृदयदेखि नै हार्दिक बधाई। यो कृति मुमुक्षु पाठकहरूको मनमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहार हो, जसको महत्त्व समयसँगै झनै बढ्दै जानेछ भन्ने विश्वास लिएको छु।
साधु ! साधु !! साधु !!!