शिवको आराधनाका लागि साउनको तथा साउने सोमबार नेपाल, भारतलगायत विश्वभरका हिन्दुहरूका लागि ठुलो महत्त्व छ। साउनको सोमबारमा पशुपतिनाथ र शिपाडोलमा अवस्थित डोलेश्वर महादेवलगायत गोकर्ण, कुम्भेश्वर, गोसाईकुण्ड, पिण्डेश्वर आदि शिव मन्दिरहरूमा भक्तजनहरूको ठुलो संख्यामा महिला पुरुषहरूको पूजा आराधनाका लागि उपस्थिति हुन्छ।
पशुपतिनाथ र केदारनाथ र डोलेश्वर महादेवको अपरम्पार महिमा छ। डोलेश्वर महादेव केदारनाथको शिरका रूपमा मानिन थालिएको छ। पशुपतिनाथ र डोलेश्वर महादेवको महिमा अपरम्पार छ। हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो। प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ। पशुपतिनाथलाई शिव, महादेव, रुद्र, किरातेश्वर, शंकर, शंम्भु, ज्योतिर्लिङ्ग आदि विभिन्न नामले पुकारिन्छ।
हिन्दु तथा बौद्धहरूले पशुपतिनाथका साथै डोलेश्वर महादेव, अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवर, गोसाईकुण्डलाई शिवजीको तपोभूमिका रूपमा मान्छन्। महादेवको पूजा आराधनामा शिवरात्री, बालाचतुर्दशी, साउने सोमबारहरू अति नै प्रिय मानिन्छन्। नेपाल र भारतका शिव मन्दिरहरूमा सोमबार राताम्य महिलाहरू र विभिन्न भेषका पुरुष भक्तजनहरूबाट बोलबम भन्दै पवित्र नदी, तालबाट घडाका घडा जल ल्याएर महादेवमा चढाइन्छ।
विशेष गरेर साउने सोमबार महिलाहरूले आफ्ना पति, सन्तानको समृद्धिको कामना गरेर उपवास–व्रतमा लीन रहन्छन्। हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र मानिन्छ। पशुपतिनाथकै प्रतापले गोसाईकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रका रूपमा लिइन्छ। त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन्।
वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यस क्षेत्रलाई सिञ्चित गर्न सकेकाले विश्वमा हिमवतखण्ड नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको जेष्ठभूमि मानिएको छ। यही भूमिमा गौेतमबुद्धको जन्म भएर विश्वभर बुद्धको प्र्रकाश छरिएको छ। भनिएको छ– ‘बोधिसत्य महासत्यः, स्वयम्भू चैत्य नमाम्यहं।’ हिमवत् खण्डमा अनादिवासी, आदिवासी र आप्रवासी तीन प्रकारका बासिन्दाहरूको बसोबास छ।
धर्मका हिसाबले अनादिवासी, आदिवासीहरू सबै हिन्दु तथा बौद्ध संस्कारमा आबद्ध छन् भने मारवाडी, बंगाली तथा सिखहरू हिन्दु धर्म तथा संस्कृतिका समर्थक हुन्। हिन्दु तथा बौद्धदेखि पृथक् आप्रवासीहरूमा मुस्लिम धर्मावलम्बीहरूसमेतको सामञ्जस्यपूर्ण बसोबास रहँदै आएको छ। पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सन्दर्भमा बनारसबाट हतियार बनाउन मुस्लिम कालीगड र केही युद्धकलामा माहिर मुसलमानहरू समेत भित्र्याएकाले धर्मको हिसाबमा आआफ्नै धर्म मान्ने गरेको र नेपाली नागरिकको हैसियतमा हिन्दु र मुसलमानबीच एकअर्कामा सामञ्जस्य रहँदैआएको छ।
हिमवत् खण्ड नेपाल, जसलाई शक्तिस्वरूपा देवीदेवताको बासस्थान र मानव सभ्यताको उद्गम मानिन्छ। विश्वमा ॐकार जगत् हिन्दु र बौद्धको आधिकारिक थलोका रूपमा हिमवत् खण्ड तथा भारत खण्डको ठुलो महिमा छ। पूर्वमा ब्रह्मपुत्र, पश्चिममा हिन्दकुश, उत्तरमा कैलाश मानसरोवर र गंगासम्मको भूभाग हिमवत् खण्ड हो भने गंगादेखि हिन्द महासागरसम्मको भूभाग भारतखण्ड हो। पहिलाको नेपाल अहिलेको भन्दा ठुलो थियो।
पाँचौं शताब्दीतिर चन्द्रगुप्त विक्रमादित्यका छोरा समुन्द्रगुप्तको प्रयागको अभिलेखमा– ‘कामरूप (आसाम) र कर्कपुर (कुमाउ र गडवाल क्षेत्र) बीचको देशलाई ‘नेपाल’ भनी लेखिएकाबाट पनि यो तथ्य सिद्ध हुन्छ। हिमवत् खण्ड नेपालको विषयलाई लिएर वशिष्ट ऋषिले वशिष्ट उपनिषद्मा उल्लेख गरेका छन्– ‘भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि।’ कालीदासले पनि कुमार सम्भवको पहिलो श्लोकमा ‘हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्म नै यो आर्यभूमि हो,’ भनेका छन्।
महादेवका मन्दिरहरूमा अविवाहित महिलाहरू पूजा आराधनामा आफ्नो, आफ्नो देश, परिवार, श्रीमान्, छोराछोरीको समृद्धिको कामनामा व्रत बसेर आराधना गर्छन्। महादेवको मन्दिरहरूमा सोमबारका दिन राताम्य नेपाल र भारतका महिलाहरूको ठुलो भिड लाग्छ। साउनमा शिवजीको पवित्र महिना मानेर के महिला के पुरुष सबै हिन्दुहरूले पहेँला वस्त्र लगाएर नजिकमा रहेका शिवमन्दिरमा पवित्र नदी, कुण्डहरूबाट बोलबम भन्दै घडामा जल बोकेर चढाउँछन्।
नेपाल र भारतलगायत विश्वका अनेकौं स्थानमा स्थापित महादेव, शिवालय मन्दिरहरूमा सोमबार त्यत्तिकै हिन्दु नारीहरूको जमगठ हुन्छ। आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुमा आस्तिकहरू आत्मगौरव मान्छन् भने नास्तिकहरू परम्परागत अस्तित्व ठान्छन्।
शिवजीबारे पौराणिक इतिहासमा उल्लेख छ-हिमालयको दक्षिण, गंगाको उत्तर, काठमाडौं उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो। यसरी नै गोसाईकुण्ड, पिण्डेश्वरलाई समेत त्यत्तिकै पवित्र क्षेत्रका रूपमा लिइन्छ। त्यस्तै अमरनाथ, विश्वनाथ, कैलाश–मानसरोवरलाई शिवजीको तपोभूमिका रूपमा विश्वभरका हिन्दु तथा बौद्धहरू मान्ने गर्छन्।
पशुपतिनाथलाई शिव, महादेव, किरातेश्वर, शंकर, शम्भु, ज्योतिर्लिङ्ग, कैलाशपति आदि विभिन्न नामले पुकारिन्छ। पशुपतिनाथका तीन नेत्र हुन्छन्, तीनलाई ज्ञानचक्षु मानिन्छ। पशुपतिनाथको निधारको नेत्रमा पवित्र चन्दन लगाइएको हुन्छ, जसको प्रतापले विश्वभरका हिन्दुहरूले निधारमा टीका ग्रहण गर्नु आफ्नो पहिचान ठान्छन्। महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेको इतिहासमा उल्लेख छ।
लिच्छविवंशका पहिला राजाले ‘विक्रमादित्य’को उपाधि धारण गरेर, विक्रम संवत्को उठान गरी, वैशालाधिपतिका रूपमा पशुपतिनाथ र बज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुतलीमा आफ्नो सिंहासन कायम गरेका र उनैबाट काशीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवत् खण्डमा उल्लेख छ।
कैलाश–मानसरोवर शिवजीको क्रिडा तथा तपस्थान हो। यो क्षेत्र हिमवत् खण्डको भूभाग हो। मानवकल्याणका लागि विषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाई त्यही कुण्डमा विराजमान भएकाले गोसाईकुण्डको पनि ठुलो महिमा छ। अठार पुराणहरू सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृत्तान्त हो।
हिमवत् खण्डको पुस्तकमा-‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिहरूले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। पौराणिककालदेखि नेपालका राजाहरूले पशुपतिनाथप्रति पूजा–अर्चना, सम्मान गर्दैआएका छन्। पौराणिककालमा नेवार राजोपाध्यायहरूबाट पशुपतिनाथको पूजाआजा हुन्थ्यो।
१७१४ सालपछि राजोपाध्यायहरूको सहायताका लागि बनेपाबाट नेवार जातिका पुजारीहरूलाई पशुपतिको भण्डारे बनाइएको थियो। पछि यक्ष मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरू पशपतिनाथका पुजारी बनाइएका थिए।
१४०० सालतिर बंगालका नबाब सुल्तान समसुद्दिनको पशुपतिक्षेत्रमा भएको आक्रमणको मुकाबिला गरेर जयस्थिति मल्ल काठमाडौं उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्घार र पुनरुत्थान गरी पशुपतिपारि राम मन्दिरको निर्माण गरेर ललितपुर कुम्भेश्वरमा महादेव स्थापना गरी कोटिहोम गर्दै शुद्धशान्ति गरेर पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धबाहेक अरूहरूको प्रवेश निषेध गर्ने नियम चलाएका थिए। राजाहरूमा प्रताप मल्लले पशुपतिनाथको धेरै सेवा गरेको कुरा पशुपतिनाथमा रहेका शिलालेखहरूमा पाइन्छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाको समयमा पशुपतिनाथको पूजाअर्चना गरेको कुरा भाषावंशावलीमा उल्लेख छ। पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका विजयपछि १८२६ सालमा वसन्तपुर दरबारको अभिलेख लेखिएको र उक्त अभिलेखमा उल्लेख छ– ‘राजा पृथ्वीनारायण शाहको वंश गुह्येकाली र पशुपतिको दुईपाउका धुलाका प्रसादले नेपाल स्थिर भइरहोस्।’
यसैगरी शाहवंशीय राजाहरूमा रणबहादुर शाह र १८६७ साल मंसिरमा राजा गिर्वाणयुद्ध विक्रम शाहबाट पुजारीहरूको अलग अलग खान्की तोकिदिएका थिए। शाहवंशीय राजाहरूलगायत राजा महेन्द्र, राजा वीरेन्द्र तथा राजा ज्ञानेन्द्रबाट पनि साबिक बमोजिम चल्दै आएका पशुपतिनाथका पूजाआजा सम्बन्धि अनेकौं लालमोहहरू लागु हुँदै आएका छन्। यो पुण्यभूमिभित्रका मान्यता, परम्परा, अस्तित्व बाँचिरहून्। पशपतिनाथले सबैको कल्याण गरून्!
प्रकाशित: ७ श्रावण २०८१ ०६:१७ सोमबार