बाल्यकालको स्मरण गर्दा दसैं केटाकेटीहरूका लागि अत्यन्त रमाइलो चाडका रूपमा अनुभूति हुने गथ्र्यो । त्यसो हुनुको कारण बाल्यपनको रमाइलोपन, गाउँ समाजको वातावरण तथा तत्कालीन परिवेशजस्ता कुराहरूको भूमिका थियो । त्यसो त दसैंको रमाइलो अहिले पनि घटेको छैन । अहिले दसैंका विषयमा परिपक्व बुझाइ नभएको कोरा रमाइलो मात्र नभएर धार्मिक, सांस्कृतिक, सामाजिक तथा पारिवारिक रूपमा महत्वको अनुभूति हुन्छ ।
बाल्यकालमा हुने दसैंको रमाइलोमा अहिलेको भन्दा अर्गानिक भएको स्मरण हुन्छ । गाउँघरमा पिङ खेल्ने, मन्दिरमा पूजाआजा गर्ने, सराएँ नाच हेर्ने, घर टोल छिमेक मिलेर खसी काट्ने, केरा घारीमा रहेका केराका हाताहरू डोको वा बोरामा असुराको पात राखेर पकाउने, जमरा राख्ने, घरमा रङरोगन गर्ने लगायतका दसैंसँग जोडिएका कुराहरूले रोमाञ्चित गराउँथे । यसैगरी, विजयादशमीको दिन घरमा टीका लगाइसकेपछि आफन्तजन तथा गाउँटोलमा आपूmभन्दा ठूलाबडाको हातबाट टीका लगाउँदै आशीर्वाद लिँदै हिँडेको रमाइलोपन मानसपटलमा अमिट भएर बसेको छ । अहिले भन्न मन लाग्छ, आहा ! उसबेलाको दसैंको रमाइलो ।
त्यसो त दसैं अहिले पनि रमाइलो लाग्छ । कुन उमेर समूहका मानिसहरू दसैं नरमाइलो लाग्ला र ? दसैंको महिमा उमेर वा सामाजिक परिवर्तनले घट्दैन । घटाउनुहुँदैन । घटेको पनि छैन । बरू सामाजिक रूपमा यसको महत्व अझै बढेको पाइन्छ । दसैं पारिवारिक रूपमा मेलमिलापको महत्वपूर्ण पर्व हो । अहिले घरघरबाट छोराछोरीहरू देश विदेशका विभिन्न ठाउँमा छरिएर बसेको अवस्था छ । लामो समयदेखि विछोड भएका परिवारका सदस्यहरू देश परदेशबाट घरमा फर्काउने पर्व हो दसैं । पछिल्लो दशकमा दसैंको अवसरमा घरमा फर्कने नेपालीहरूको भीड अझै बढेको देखिन्छ । कमसे कम वर्ष दिनमा भए पनि दसैंले पारिवारिक भेटघाट गराएको छ । पहिले भारतबाट लाहुरेहरू दसैंमा घर फर्कंदा गाउँघरमा चर्चा हुने गथ्र्यो । अहिले नेपालीहरू भारतलगायत विश्वका धेरै देशमा रोजगारीमा गएका छन् । उनीहरू हरेक दशमीमा घर आउन नपाए तापनि दसैंको पर्खाइमा घर आउने दिन गनेर बसेका हुन्छन् ।
दसैंको सांस्कृतिक महत्व पनि त्यत्तिकै महत्वपूर्ण छ । असोज शुक्ल पक्षमा मनाइने दसैं प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । यसमा पनि सबैभन्दा बढी महत्वपूर्ण सप्तमी, अष्टमी, नवमी र दशमीका दिनलाई मानिन्छ । प्रतिपदामा हरेक घरमा दुर्गा भवानीको पूजाआजा गरी जमरा राख्ने चलन छ । ९ दिनसम्म नवदुर्गा भवानीको पूजा गरी दशमीका दिन टीका, प्रसाद ग्रहण गरी यो पर्व मनाइन्छ । यस कोणबाट हेर्दा दसैंका सांस्कृतिक विधिहरू पनि अर्गानिक रूपमा नै अभ्यासमा रहेका छन् । पुस्तान्तरण भएका छन् ।
पिङ खेल्ने, पूजाआजा गर्ने, सराएँ नाच्ने बाल्यकालमा हुने दसैंको रमाइलोमा अहिलेभन्दा अर्गानिक भएको स्मरण हुन्छ
समाज परिवर्तनशील छ । परिवर्तनलाई रोक्न सकिँदैन । तथापि, समाजमा स्थापित कतिपय सामाजिक, धार्मिक, सांस्कृतिक, पारिवारिक तथा मौलिक अभ्यासहरू आधुनिकताले छोप्नुहुँदैन । अन्यायमाथि न्यायको, दानवतामाथि देवताको, अमानवतामाथि मानवताको, अधर्ममाथि धर्मको, विभाजनमाथि एकताको, शत्रुमाथि मित्रताको र निराशामाथि आशाको प्रतीकका रूपमा विजयादशमीको महत्व छ । असत्यमाथि सत्यको विजयको खुसियालीमा बडादसैंको विषय जोडिएकाले दसैंको महत्व सधैं रहिरहनेछ ।
बडादसैंको पौराणिक किंवदन्तीनुसार देवताहरूको समयमा शुम्भ, निशुम्भ, रक्तवीज र महिषासुरजस्ता असुरहरूले देव मानवलाई दुःख दिए । यो दुःखबाट मुक्ति पाउनका लागि देवताहरूले दुर्गा भवानीको पूजा आराधना गरे । देवताहरूको पूजा आराधनाबाट प्रसन्न भई दुर्गा भवानी प्रकट भइन् र असुरहरूको वध गरी देवताहरूलाई रक्षा गरिन् भन्ने रहेको छ । असत्य तथा अत्याचारबाट दुर्गा भवानीले देवताहरूलाई रक्षा गरेको पौराणिक मान्यता छ । अहिले पनि समाजमा अन्याय, विभेद तथा अत्याचार व्याप्त छ । यस सन्दर्भमा दुर्गा भवानीको पूजा आराधना गरेर समाजका विकृतिहरूको अन्त्य गर्ने आशीर्वाद प्राप्त गर्नुपर्छ ।
विजयादशमीको आर्थिक पक्ष पनि त्यत्तिकै महत्वपूर्ण छ । दसैं आयो खाउँला पिउँला भन्ने लोकोक्तिले पनि दसैंलाई नेपाली समाजले मीठो, मसिनो खाने, राम्रो लगाउने पर्वका रूपमा लिने गरेको पुष्टि हुन्छ । त्यसो त अहिले खानपिन गर्न, नयाँ लुगा कपडा लगाउनका लागि दशमी नै कुरिरहनुपर्ने अवस्था छैन । हुने खानेका लागि आर्थिक रूपमा १२ महिना दसैंजस्तै छ । हुँदा खाने वर्गले अझै पनि अभावमा जीवन जिउनुपरेको छ । नेपाली समाजमा ऋण खोजेर दसैं मनाउनेहरूको संख्या ठूलो छ । समाजमा अझै पनि १८ प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि बाँच्न बाध्य छन् । यस वर्गका लागि दसैं दशाका रूपमा आउने गर्छ । आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई भन्ने लोकोक्तिको अर्थ पनि गरिब वर्गलाई दसैंले ऋण बोकाउँछ भन्ने हो । दसैंमा ऋण खोजेर भन्दा पनि मितव्ययी रूपमा मनाउनुपर्छ ।
वर्ष दिनमा आउने बडादसैंमा राम्रो लगाउने, मीठो खाने रहर हुनु स्वाभाविक हो । परन्तु दसैंमा लगाएको ऋणले वर्षभरि तिर्नुपर्ने अवस्था सिर्जना गर्नुहुँदैन । देखासिकी, तडकभडक गर्ने, अरूलाई देखाउनका लागि अनावश्यक खर्च गर्ने बानी विवेकसम्मत कार्य होइन । दसैंलाई आप्mनो गच्छेनुसार मनाउनुपर्छ । दसैंलाई पारिवारिक, मिलन, सामाजिक सद्भाव र दुर्गा भवानीको आशीर्वाद ग्रहण गर्ने उद्देश्यका साथ शुद्धमनले मनाउनुपर्छ ।
आधुनिक समाजको निर्माण प्रक्रियासँगै बडादसैंको कतिपय मौलिक तथा सांस्कृतिक अभ्यासहरूमा परिवर्तन आएको देखिन्छ । दसैं भड्किलो, खर्चिलो तथा महँगो बन्दै गएको छ । दशमीको उत्सवमा मादक पदार्थ सेवन गर्ने, ऋण खोजेर भए पनि अनावश्यक खर्च गर्ने कार्यहरू बढिरहेको अवस्था छ । समाजले यसो गर्नुहुँदैन । घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने लोकोक्तिले आप्mनो क्षमतानुसार खर्च गर्नुपर्छ भन्ने सन्देश दिन्छ । दशमीको नाममा सामाजिक विकृतिहरू पनि बढेर गएको छ । दसैंको मौका छोपेर पैसा कमाउने अभ्यास पनि समाजमा छ । दसैंको अवसरलाई आयआर्जनको माध्यम बनाउने व्यापारी, साहु, महाजनहरूले कालोबजारी, तस्करी गर्ने गरेको जनगुनासो आउने गरेको छ ।
दुर्गा भवानीको आशीर्वादले भड्किलोपन, आडम्बर, लोभ, लालच, ईष्र्या, भ्रष्टाचार, अहमता, दुर्भावना, हत्या, हिंसाजस्ता आपराधिक चिन्तनको बली दिनसकाैं
राज्यले समेत दसैंको मौका छोपी हवाईजहाजको टिकट बढाएर यात्रुहरूलाई मर्का पारेको गुनासो बढिरहेको छ । लोकमार्गका होटेल तथा मोटेलहरूले यात्रुहरूलाई गुणस्तरहीन खना, खाजा खुवाउने गरेको व्यापक गुनासो छ । अरूमाथि अन्याय गर्नु दशमीको विपरीत कुरा हो । बडादसैंले त असत्य होइन, सत्यको सन्देश दिने गर्छ । बडादसैंका नाममा अरूलाई दुःख दिनु अधर्म हो, अन्याय हो, ठगी हो । धार्मिक कोणबाट हेर्दा धर्मको विपरीत कार्य हो ।
दसैं पर्वको अर्को धार्मिक पक्षसँग पशुबलि पनि जोडिएको छ । त्यसो त पशुपन्छीहरूको वध गर्ने कुरालाई राम्रो मानिँदैन । तथापि, परम्परादेखि देशका हिन्दू शक्तिपीठहरूमा हजारौंको संख्यामा पशुपन्छीहरूलाई बलि दिने चलन चलिआएको छ । पछिल्लो समयमा पशुबलिको अन्त्य गर्नुपर्ने कुरा पशु अधिकारकर्मीलगायत शाकाहारी अभियन्ताहरूको अभियानका रूपमा उठाउने गरेका छन् । तथापि, दसैंलाई मासुको पर्व पनि भन्ने गरिन्छ । प्रायजसो घरहरूमा खसी वध गरी मासु खाने चलन बढ्दो रूपमा छ । पशुवध नगर्ने संस्कृतिको विकास गर्दै जानु पशुपन्छीहरूप्रति न्याय गर्नु हो भन्नेमा सबैको एकमत हुनसक्नु राम्रो कुरा हो ।
दसैं असत्य र कुकृत्यमाथि सत्य र सत्कर्मको विजयका रूपमा मनाउने पर्व हो । दुर्गा भवानीको आशीर्वादले समाजमा रहेको भड्किलोपन, आडम्बर, लोभ, लालच, ईष्र्या, भ्रष्टाचार, अहमता, दुर्भावना, हत्या, हिंसा, बलात्कारजस्ता आपराधिक चिन्तनहरूको बलि दिनसकांै । दुर्गामाताले हरेक व्यक्तिलाई सादा जीवन उच्च विचार, अहिंसात्मक भावना तथा मानवीय व्यवहार गर्नसक्ने क्षमता प्रदान गरून् । हामी सबैले विजयादशमीलाई असत्यको बाटो त्यागी सत्यको मार्गमा लाग्ने पे्ररणाका रूपमा लिन सक्नुपर्छ ।
अन्त्यमा देवताको युगमा देवताहरूले र त्रेता युगमा भगवान् रामचन्द्रले शक्ति रुपिणी दुर्गा भवानीको पूजा, आराधना गरी उनको कृपाले असत्यमाथि सत्यको विजय प्राप्त गरेजस्तै नवदुर्गा भावानीको पूजा आराधना गरी व्यक्ति तथा समाजमा रहेका विकृति तथा दुष्कर्महरूको अन्त्य गर्न आशीर्वाद मिलोस् । विजयादशमीको अर्गानिक पक्षलाई आधुनिकताले नबिगारोस् । समाजमा बढ्दै गएको लोभानी पापानी कर्मको अन्त्य हुन सकोस् । हामी सबैलाई दुर्गा भवानीले सत्मार्गमा हिँड्नसक्ने क्षमता र सत्बुद्घि प्रदान गरून् । जय दुर्गा भवानी !
(Visited 1 times, 1 visits today)