मुलुकमा दैनिक १९ जनाले आत्महत्या गर्छन् । यो प्रहरीद्वारा सार्वजनिक भएको पछिल्लो तथ्यांक हो । हाम्रो जनसंख्याको अनुपातमा आत्महत्या गर्नेको यो संख्या बढी नै हो । व्यक्ति आफैंले आफ्नो हत्या गर्ने भएकाले आत्महत्या आपराधिक कार्य भए पनि प्रत्यक्ष यो दण्डनीय हुँदैन । तर, व्यक्तिलाई आत्महत्या गर्नेसम्मको अवस्थामा पु¥याउने अन्य कुनै पूर्वाधार कसैले सिर्जना गरेको भए त्यस्तो व्यक्तिउर आत्महत्या दुरुत्साहन कसुरमा कारबाही हुन्छ । यसैले आतमहत्याका सबै घटना दण्डरहित हुँदैनन् ।
आत्महत्याका कारणहरू अनेकौं हुन्छन् । जुनसुकै कारणले आत्महत्या गरे पनि यसको कारकतत्व पहिचान भएपछि व्यक्ति आत्महत्या गर्ने अवस्थामा कसरी पुग्यो ? भन्ने कुरा पहिचान गर्न सकिन्छ । सामान्यतया व्यक्तिमा विविधीकरणबाट बाँच्ने आशा हराउँदै गए, इच्छा आकांक्षा लोप भए, हर्ष र उल्लासलाई निराशा र वैराग्यताले विस्थापित गरे त्यस्तो अवस्थामा जीवन बोझ बनेको र जिउनु नै व्यर्थ ठान्ने अवस्थामा मानिस पुग्छ । त्यस्तो मानसिकताले ग्रसित व्यक्तिलाई सम्झाउने, ढाडस दिने, उसको मानसिकता परिवर्तन गराइदिने कोही नभए व्यक्ति झन् नैराश्यताको खाडलमा डुब्छ । यसरी एकोहोरिएर अन्तिम अवस्थामा पुगिसकेको व्यक्तिले नै आत्महत्या गर्छ । सामान्यतया सोच्ने क्षमता कम भएकै व्यक्ति एवं आवेशमा आउने र मुडी व्यक्ति नै आत्महत्या गर्न अग्रसर बन्छन्् ।
रोजगारीमा देखिएको अवरोध, उद्देश्य साकार पार्न बाधक बनेको आर्थिक अवस्था, हैसियतबेगरको तडकभडक, विश्वासमा आएको ह्रास, देखासिकी गर्ने बानी तथा सञ्चारको नकारात्मक प्रभाव आत्महत्याको अभिप्रेरित माध्यम बनेको देखिन्छ । विरलै हुने गरेको आत्महत्याले अहिले विकराल रूप लिएको छ । नेपालका सन्दर्भमा आत्महत्याको कारकतत्व के हो ? आत्महत्याको विद्यमान अवस्था कस्तो छ ? अक्सर गरी कस्तो प्रकारले आत्महत्या हुन्छ ? विविध कोणबाट हेर्दा आत्महत्याका ’boutमा हामी सबैले गम्भीर रूपमा सोच्नुपर्ने विषय नै यिनै हुन् । यिनै बुँदामा केन्द्रित रही आलेखमा संक्षिप्त चर्चा गरिएको छ ।
(१) आत्महत्याको कारकतत्व
आत्महत्याको प्रकृति र शैलीबाट अहिलेसम्म पाइएको आत्महत्याको कारकतत्व यहाँ उल्लेख गरिएको छ ।
(क) मानसिक तनाव
मानसिक तनावलाई पनि प्रारम्भिक र ग्रसित गरी दुई चरणले हेर्नुपर्छ । प्राप्त तथ्यांकका आधारमा आत्महत्याको प्रमुख कारकतत्व मानसिक तनाव देखिन्छ । तनाव पनि विभिन्न कारणले उत्पन्न हुन्छ । जस्तो कार्य असफलता, प्रेम वियोग, निकटतम् व्यक्तिसँगको सम्बन्धविच्छेद, पारिवारिक कलह र अशान्ति, आफ्नै आचरण र व्यवहार, कुलत वा दुव्र्यसन अप्रत्याशित घटना, दीर्घकालीन स्वास्थ्य समस्या र हकअधिकारमा लाग्ने बन्देज मानसिक तनावका जड हुन् । यसैका कारण मानिस तनावग्रस्त बन्छ । मानसिक तनावले सीमा नाघेमा वा अनियन्त्रित अवस्थामा पुगे व्यक्ति आत्महत्या गर्ने अवस्थामा पुग्छ । तनावमा परेकै कतिपय व्यक्ति सामाजिक वातावरणकै प्रभावको कारण संयमित हुँदै तनावमुक्त पनि बन्न सक्छन् । तर, कतिपयमा हुने एकोहोरो बानी सहनशक्तिको अभाव तथा नैराश्यताले तनावलाई बढावा दिन्छ । यस्तो पृष्ठभूमिका व्यक्तिहरू अन्ततः आत्महत्यातर्फ उन्मुख बन्छन् । मानसिक तनावका कारण आत्महत्या गर्नेको औसत संख्या कुल आत्महत्या गर्ने संख्याको २७ प्रतिशत छ ।
एकोहोरिएर अन्तिम अवस्थामा पुगिसकेको व्यक्तिले नै आत्महत्या गर्छ
तनाव व्यवस्थापन गर्न नसक्ने व्यक्ति तनावकै कारण मानसिक रोगी बन्नसक्छ । मानसिक रोगी भइसकेको व्यक्तिको स्मरण शक्ति ह्रास हुने, निर्णायक क्षमता कमजोर हुने, एकोहोरो टोलाइरहने, एकान्त बस्ने, पारिवारिक संसर्गबाट टाढिने, आफू एक्लो भएको अनुभूति गर्ने लक्षण हुन्छन् । स्वास्थ्यमा पनि असर पर्दै जाने भएकाले मानसिक रोगीले समयमै उपचार नपाए बाँच्नुभन्दा मर्नु निको भन्ने अवस्थामा पुगेपछि आत्महत्या गर्छ । तथ्यांकनुसार सबैभन्दा बढी आत्महत्या कुल आत्महत्याको ३८ प्रतिशत मानसिक रोगका कारण हुन्छ भने मानसिक तनावका कारण २८ प्रतिशत । यी दुवै मिलाउँदा प्रारम्भिक एवं क्रोनिक तनावका कारण ६६ प्रतिशत आत्महत्या हुने गरेको प्रहरीको तथ्यांकले देखाउँछ, जुन अन्य कारणबाट हुने आत्महत्याभन्दा अत्यधिक बढी हो ।
(ख) असफलता
पेसा वा व्यवसायमा कतिपयले सफलता प्राप्त गर्छन् तर कतिपय असफल पनि हुन्छन् । विशेषगरी आत्महत्या गर्नेसम्मको आवस्थामा पु¥याउने प्रमुख कारण, कार्य असफलताभित्र पनि प्रेममा असफलता, गर्न खोजेकै कार्यमा असफलता, आर्थिक कारोबार सम्बद्ध असफलता अग्रस्थानमा पर्छन् । यस्तो असफलताले जीवनयापनसँग प्रत्यक्ष प्रभाव पार्ने, घरपरिवारकै अन्य सदस्यलाई बोझ बनाउने भएकाले यस्तो असफलता विशेष असरदायी हुन्छ । यसका अलावा वैयक्तिक विविध गतिविधि सम्बद्ध असफलता पनि आत्महत्याको कारकतत्व बन्छ । पछिल्लो तथ्यांकका आधारमा असफलताबाट हुने आत्महत्याको औसत प्रतिशत १६ देखिएको छ ।
(ग) दीर्घरोग
मानसिक असन्तुलन, मुटु, मिर्गौला, ब्लडप्रेसर र सुगरजस्ता दीर्घरोगबाट क्रोनिक बनेका तथा बराबर उपचार गराउँदा पनि ठीक नभएका, चिकित्सकको सल्लाहनुसारै पथपरेजमा बस्न नसकी वास्ता नगरी उल्टै आफूखुसी व्यवहार गरेर ठीक हुन नसकेका व्यक्तिहरू अन्ततः आफ्नै जीवन बोझ बनेको अनुभूति गर्न पुग्छन् । यसरी कष्टकर जीवन बिताउनुभन्दा मर्नु निको भन्ने अवस्थामा पुगेपछि त्यस्ता व्यक्तिले आत्महत्या गर्छन् । यस्तो प्रकारले हुने आत्महत्या औसत ७ प्रतिशतभन्दा बढी छ ।
(घ) दुव्र्यसन
मानिस आफ्नो बानीको दास हुन्छ । लागेको बानी जोकोहीले सजिलैसँग त्याग्न पनि सक्दैन । बानी आफ्नै जीउ ज्यानका लागि हानिकारक हुँदै आएको थाहा पाएरै पनि त्यसलाई त्याग्न नसक्दा व्यक्ति दुव्र्यसनको सिकार बन्छ । दुव्र्यसनमध्ये लागूऔषध र मादक पदार्थको सेवन शरीरका लागि घातक ठहरिन्छ । यसबाट ग्रसित व्यक्तिले क्रमशः रोगको सिकार बन्दै जानुपर्ने, स्वास्थ्य कमजोर हुने, इज्जत प्रतिष्ठा गुमाउँदै जाने तथा समाजको नजरमै घृणाको पात्र बन्नुपर्ने भएपछि उसको मानसिकता नै आत्महत्याप्रति आकर्षित बन्दै जान्छ । यसरी हुने आत्महत्याको औसत प्रतिशत ७ छ ।
(ङ) शारीरिक अपांगता
आत्महत्याको अर्को कारकतत्व शारीरिक अपांगता हो । अपांगता होस् वा सपांगता सबैको इच्छा, आकांक्षा, उद्देश्य र विचार उस्तै हुन्छन् । सहज ढंगले यत्रतत्र हिँडडुल गर्ने, चाहेको स्थानमा पुग्ने, सांसारिक सुखसयलमा रहने, अरूकै जस्तो प्रभावशाली कार्य गरेर नाम कमाउने अशक्त वा अपांगताको पनि इच्छा हुन्छ । तथापि, शारीरिक अशक्तताका कारण इच्छा भएर पनि अपांगता भएका व्यक्तिले चाहेअनुरूपको कार्यसम्पादन गर्न सक्दैनन् । यसले त्यस्ता व्यक्तिको मनमा वितृष्णा उत्पन्न गराउँछ । आफ्नै शरीरप्रति घृणा उत्पन्न हुन्छ । यही मानसिकता बढ्दै जाँदा क्रमशः ऊ तनावबाट ग्रसित हुन पुग्छ । अन्ततः परिवारको मात्र नभई पृथ्वीकै बोझ बनेर किन बाँचिरहने भन्ने मानसिकता नै उनीहरूमा जागृत हुँदा कतिपयले आत्महत्या गर्छन् । यस प्रकारले हुने आत्महत्याको औसत प्रतिशत अत्यन्त न्यून १ प्रतिशतभित्रै सीमित छ ।
(च) अनैतिक सम्बन्ध
अनैतिक सम्बन्धको पूर्वाधार प्राकृतिक एवं मानवीय आवश्यकतामा आधारित हुने भए पनि कानुनी बन्देजका कारण समाजको नजरमा मान्य हुँदैन । स्त्री र पुरुषलाई प्रकृतिले नै एक अर्काप्रति आकर्षित हुने विशेषता प्रदान गरेको छ । जवानी उमेरमा यो विशेषता सबैमा देखापर्छ । वैवाहिक सम्बन्ध यसको समाधानको प्रारम्भिक चरण भए पनि एकअर्काप्रतिको आकर्षण निरन्तर रहन सक्छ । कतिपय युवा र युवती, स्त्री र पुरुषबीच हुने सहमतिकै सम्बन्ध पनि अनैतिक सम्बन्ध मानिने भएकाले कानुनमा त्यो दण्डनीय हुन्छ । अनैतिक सम्बन्धको विशेषता नै सहमतिको गोप्यता भएकाले हम्मेसी सार्वजनिक हुँदैन । तर, यस्तै सम्बन्ध जबर्जस्ती भएको अवस्थामा उतिखेरै सार्वजनिक हुनसक्छ । तथापि, अवैध सम्बन्धको दुष्पपरिणामले स्त्री वा युवतीकै शारीरिक स्वरूपलाई परिवर्तन गरायो भने त्यो समाजकै आलोचनाको विषय बन्छ । त्यस अवस्थाको घृणा र उपेक्षाले व्यक्तिलाई तनावग्रस्त बनाउँछ । समाजकै सामु मुख देखाउन नसक्ने अवस्था सिर्जना भए व्यक्तिले आत्महत्या गर्नसक्छ । यस प्रकृतिको आत्महत्या अत्यन्त न्यून वा १ प्रतिशतभित्रै सीमित रहँदै आएको छ ।
(छ) बेरोजगारी
पछिल्लो समयमा बेरोजगारी पनि आत्महत्याको कारण बन्न थालेको छ । तर, यो संख्या अत्यन्त न्यून वा १ प्रतिशतभित्रै सीमित छ । काम गर्ने उमेर र क्षमता भएका दक्ष र योग्य युवा, युवतीले आफ्नो योग्यतानुसारको रोजगारी गर्ने अवसरै नपाउँदा व्यक्ति खिन्न हुनु स्वाभाविक हो । यस अवस्थामा व्यक्ति आश्रित परिवारकै जीवनयापन कष्टकर बन्नसक्ने भएकाले, बेरोजगार व्यक्ति तनावग्रस्त बन्दै आत्महत्या गर्ने अवस्थामा पुग्छ ।
आत्महत्या गर्ने मानिसका अभिभावक समयमै सचेत भए लक्षण देखिनासाथ उपचार गर्न सकिन्छ
(२) आत्महत्याको प्रकृति
प्रहरीले गरेको पछिल्लो सर्वेक्षणले आत्महत्याका घटनामध्ये सबैभन्दा बढी झुन्डिएर हुने गरेको देखिन्छ । आत्महत्याको संख्यालाई हेर्दा झुन्डिएर हुने आत्महत्याको औसत अनुपात ८३ प्रतिशत छ । यसलाई अझै खण्डीकृत गरी हेर्दा करिब ७१ प्रतिशतले घरभित्र र १२ प्रतिशतले घरबाहिरको खुला स्थानमा आत्महत्या गरेको पाइन्छ । यसका अलावा १५ प्रतिशतले विष सेवन गरेर, १ दशमलव १ प्रतिशतले हामफालेर, शून्य दशमलव १ प्रतिशतले आगो लगाएर, शून्य दशमलव १ प्रतिशतले नै डुबेर तथा करिब शून्य दशमलव १ प्रतिशतले हातहतियार प्रयोग गरेर आत्महत्या गरेको तथ्यांकले बताउँछ ।
(३) आत्महत्याको झलक
विविध कोणबाट आत्महत्यालाई वर्गीकृत गरी हेर्दा यसको झलक निम्नानुसारको देखिन्छ ।
(क) महिना र बारका आधारमा आत्महत्या
सर्वाधिक आत्महत्या वैशाख महिनामा ९ दशमलव ६ प्रतिशत र सबैभन्दा कम आत्महत्या पुस महिनामा ६ दशमलव ८ प्रतिशत हुने गरेको देखिएको छ । यसैगरी, बारका आधारमा भने शुक्रबार १५ दशमलव २ प्रतिशत र सोमबार १५ प्रतिशतले आत्महत्या गरेको पाइन्छ ।
(ख) समयका आधारमा आत्महत्या
सबैभन्दा बढी आत्महत्या बिहानको ४ देखि ८ बजेभित्र २८ दशमलव ७ प्रतिशत भएको देखिन्छ भने सबैभन्दा कम रातको ८ देखि १२ बजेसम्मको समयमा ९ दशमलव ५ प्रतिशतले आत्महत्या गरेको तथ्यांकले बताउँछ ।
(ग) उमेरका आधारमा आत्महत्या
सबैभन्दा बढी आत्महत्या ३५ वर्षभन्दा कम उमेरका व्यक्तिबाट हुने गरेको छ । यसको औसत प्रतिशत ५५ रहेको छ । यसमध्ये पनि १५ देखि २५ वर्षभित्रका सबैन्दा बढी २१ प्रतिशत र सबैभन्दा कम १० वर्षभन्दा कम उमेरका शून्य दशमलव ८ प्रतिशतले आत्महत्या गरेको देखिएको छ ।
(घ) जाति वा समुदायका आधारमा आत्महत्या
जातीयताका आधारमा हेर्दा सबैभन्दा बढी ३९ प्रतिशत आत्महत्या आदिवासी जनजाति समुदायबाट र सबैभन्दा कम मधेसी समुदायबाट ९ दशमलव ३ प्रतिशत हुने गरेको अभिलेखले बताउँछ ।
(ङ) शैक्षिक योग्यता र पेसाका आधारमा आत्महत्या
निम्न शैक्षिक योग्यता भएका व्यक्तिबाट सबैभन्दा बढी ६१ दशमलव १ प्रतिशत र सबैभन्दा कम स्नातकोत्तर तहका शून्य दशमलव ४ प्रतिशतले आत्महत्या गरेको पाइएको छ । यसैगरी पेसागत रूपमा कृषिमा आबद्धले सबैभन्दा बढी ४६ दशमलव २ तथा व्यवसायी र बेरोजगार दुवैमा १ दशमलव ९ प्रतिशतले आत्महत्या गरेको देखिन्छ ।
(च) आत्महत्याको प्रादेशिक क्षेत्रको झलक
आत्महत्या सबैभन्दा बढी बाग्मती प्रदेशमा भएको देखिन्छ भने अन्य प्रदेशमा क्रमशः कोशी, लुम्बिनी, मधेस, गण्डकी, सुदूरपश्चिम र सबैभन्दा कम कर्णाली प्रदेशमा हुने गर्छ ।
(४) आत्महत्या रोकथामका उपाय
व्यक्ति आत्महत्याउन्मुख बन्दै छ भन्ने कुरा जानकारी हुने पहिलो व्यक्ति परिवारकै सदस्य हुन् । कसको व्यवहार र मानसिकता परिवर्तन हुन थालेको छ ? भन्ने कुरा परिवारका अग्रजहरूले बुझ्नुपर्छ । अभिभावक सचेत भए लक्षण देखिनासाथ उपचार गर्न सकिन्छ । यसका अलावा आत्महत्या रोकथामका लागि राज्यका तर्फबाट नागरिक सचेतना जगाउने, मनोपरामर्श सेवा प्रदान गराउने, तनाव व्यवस्थापनार्थ सार्वजनिक प्रशिक्षण दिने तथा जोखिमको संकेत पहिचान गरी रोकथामका उपाय अवलम्बन गरे आत्महत्या गर्नबाट सबैलाई जोगाउन सकिन्छ । यसतर्फ सम्बन्धित सबैले संवेदनशील बन्नुपर्छ ।
(Visited 1 times, 1 visits today)