आत्मकथाको आत्मकथा

आत्मकथाको आत्मकथा


आत्मकथाको प्रसङ्ग

अचेल आत्मकथा प्रकाशनको बाढी नै आएको छ । पेशा–व्यवसायी, राजनीतिज्ञ, प्रशासक, उद्योगपतिका आत्मकथाहरू ह्वारह्वार्ती प्रकाशन भइरहेका छन् । साहित्यकारहरू त आत्मकथा वा जीवनका संस्मरणहरू लेखेर समाजलाई गुन लगाउन पहिलेदेखि नै सक्रिय थिए र यसलाई पनि साहित्यको एक उपविधा नै बनाए । विश्व वाङ्मयमा आत्मकथा निकै विस्तारित छ । नेपाली वाङ्मय त्यसको अपवाद होइन ।

महान् व्यक्तिका वैयक्तिक भोगाइ, व्यक्तित्व विकास, सङ्घर्ष र सफलताका कथाहरू समाज उपयोगी हुन्छन् । व्यक्ति समाजको अभिन्न भाग हो, व्यक्तिका उपलब्धि र सफलता, ऊर्जा र उत्साह, प्राप्ति र पीडा समाजका उत्पादन पनि हुन् । यसले समाज र आउने पुस्ताका लागि मार्गदर्शन र शिक्षा दिन्छ । कतिपय व्यक्तिका विषयमा भनिएका कुराहरूमा प्रामाणिकता पनि दिन्छ । यो इतिहास, प्रेरणा, तथ्य र कलाको सङ्गम हो ।

त्यसैले आत्मकथा समाज उपयोगी विधा हो । पौराणिक–वैदिक कालदेखि नै श्रुति तथा स्मृतिका रूपमा यस्ता कथाहरू आएका छन् । पश्चिमी इतिहासमा प्लेटोद्वारा लिखित सुकरातको आत्मकथाले लोकतन्त्र, धर्म, नैतिकता र साहसको वर्णनले त्यसपछिका दिनमा राज्यव्यवस्था र शासन प्रणालीलाई निकै गहिरो दर्शन दिएको छ ।

आत्मकथा गैरकथा (नन्फिक्सन) विधा भए पनि व्यक्तिका घटनाहरू सिलसिलाबद्ध संस्मरणमा उल्लेख गरिन्छन् र व्यक्ति स्वयम् पात्र बनेर घटनाको परिवेश, कार्यवातावरण, साथी–सङ्गाति, वृत्ति–प्रवृत्ति, भावना–भोगाइ र उन्मेद–अवसादको प्रकाशन गर्ने भएकाले यसलाई कथा नै भनिदिए पनि हुन्छ । त्यसैले कतिपय विद्वान्हरू यसलाई आत्मकथा भन्न रुचाउँछन्, आत्मवृत्तान्त भन्दैनन् । आत्मकथा आत्मकथाकारका जीवनका उपलब्धि र संघर्षका परिणाम हुन्, जुन समाजलाई शिक्षा, साहस, शक्ति र सम्झना दिने गर्दछन् । स्वयम् कथाकार भने आनन्दित, विरेचित र नियमित हुुन्छ ।

आत्मकथा, आत्मवृत्तान्त, स्मरण, दैनिकी, मेम्वाएर, जीवनी आदि नामबाट आत्मकथा लेखिंदै आएको छ । जे जसरी लेखिए पनि र जे नाम दिए पनि यसले समाज निर्माण, सामाजिक प्रजननशीलता वा विनिर्माणका लागि शिक्षा र साहस दिन्छ । यसले आत्मकथाकार रहेको समाजको इतिहास बताउँछ, विश्लेषण गर्छ, कतिपय विषयमा प्रामाणिकता पनि दिन्छ ।

आफैंंप्रति इमानदार आत्मकथाकार छ भने ठूला व्यक्तिका लुके/लुकाइएका विषयमा समेत प्रकाश पार्छ । महात्मा गान्धीले आत्मकथामा आफ्ना कमजोरी देखाएर प्रायश्चित समेत गरेका छन् । त्यसैले यो कसैको सत्यापन पनि हो, स्वयम् प्रकाशन पनि हो । तर प्रलापन होइन, हुनु पनि हुँदैन ।

आत्मवृत्तान्तको शब्दकोशीय अर्थ आफैंंद्वारा लेखिएको आफ्नो वृत्तान्त हो । यो अटोबायोग्राफीको नेपाली अनुुवाद हो । जस अनुसार अटो (आफू) बायोस् (जीवन) र ग्राफी (बयान वा लेखन) को संयुक्त रूप हो । रोय पास्कल सम्झना, संस्मरण र आफैंंले लेखेको आफ्ना कथालाई आत्मकथा भन्दछन् । जुन विगतको चिन्तन, दैनिकी र पात्रहरूको आधारमा सिर्जना गरिन्छ । आत्मवृत्तान्त वा आत्मकथा व्यक्तिको जीवनवृत्तिको सिलसिलाबद्ध (कालानुक्रमिक) प्रस्तुति हो, जसमा जन्म, बाल्यावस्था, किशोरावस्था, जवानी, परिपक्वता र प्रौढावस्थासम्मका वैयक्तिक घटनावृत्तिहरू समेटिन्छन् । त्यसैले आत्मकथा व्यक्तिको आफ्नो (आफैंंले लेखेको) जीवनी हो, जीवनयात्राको आरोह–अवरोह, सङ्घर्ष–सफलता, उन्मेद–उत्साह–निरुत्साह, प्राप्ति–पीडा, परित्याग, प्रायश्चित, देख्य–अदेख्य विषयको वृत्तान्त हो । भुल्नै नहुने कुरा के हो भने आत्मकथाले स्वयम् लेखनको सीमाबाट बाहिरिनुहुँदैन ।

सबै व्यक्तिका यस्ता विषयवृत्तिहरू हुन्छन् तर विशेषतः साहित्यकार र चिन्तकहरू आत्मवृत्तान्त लेख्दै आएका छन् । उनीहरू अरूको जीवन, घटना र प्रवृत्ति देख्ने, विश्लेषण गर्ने सामाजिक भूमिका निर्वाह गर्दै आएका हुन्छन् तर आफ्नै विषयमा चाहिं त्यो प्रवृत्ति, व्यवहार र दृष्टिकोण कस्तो थियो भन्ने महत्वपूर्ण हुन्छ । समाजले त्यो जान्ने अधिकार पनि राख्छ । सामान्य मानिस आफूमाथि त्यति न्याय गर्न सक्दैन । सामान्य मानिसका विषयहरू कथा बनेर आउलान् तर आत्मकथा बनेर आउँदैन, आए पनि धेरै कुरा प्राप्त गर्न सकिंदैन । तर महत्वपूर्ण विषय के हो भने आफैंमाथि आफैंले लेख्ने काम असाधारण हो, किनकि त्यसले न्याय, निष्पक्ष र इमानदारिता राख्नुुपर्छ । यसलाई आत्मरति, आत्मश्लाघा, आत्मप्रशंसा र आत्मप्रवञ्चनाबाट सावधानी साथ बचाउनुुपर्छ ।

आत्मकथाको विकासक्रम

आत्मकथा/आत्मवृत्तान्त लेखनको लामो परम्परा छ । ‘सुकरातको आत्मकथा’ इसापूर्व ४०० शताब्दीको कथा हो, जसलाई प्लेटोले सुकरात मरिसकेपछि लिपिबद्ध गरे । पाश्चात्य जगतमा सुकरात नै यस्ता महान् दार्शनिक थिए, जसका विचार, कुराकानी, व्यक्तित्व, दुःखमा देखाएको संयम र आदर्शले आफूूभन्दा धेरै पछिको पुस्तालाई प्रभाव पारिरहेको छ । प्लेटोले त्यो नलेखिदिएको भए सुकरात शायद इतिहासको गर्तमा बिलाउँथे, समाजले सुकरातको दर्शनबाट लाभान्वित हुन पाउने थिएन ।

इसापूर्व दोस्रो शताब्दीमा चिनियाँ इतिहासकार सीमा कियानले आफ्नो विषयमा लेखेको विवरण संभवतः आफैंले लेखेको पहिलो आत्मवृत्तान्त हो । इसापूर्वको पहिलो शताब्दीमा सिरिको चिठी, जुलिएस सिजरको आलोचनाले आत्मप्रकाशनको इतिहासलाई केही फराकिलो बनाए । तर आधुनिक समयमा आत्मवृत्तान्त भनिने खालको आलेख भने इसाको चौधौं शताब्दीमा सेन्ट अगस्टाइनको ‘कन्फेसन’ हो, यो नै आत्मकथाको पहिलोे मानक पनि थियो । पन्ध्रौं शताब्दीमा आत्मवृत्तान्त लेख्ने क्रम अरू बढ्यो । १४५८ मा इनी सिल्भियो पिक्कोलोमिनीले आत्मवृत्तान्तको विस्तृत किताब लेखे ।

सोह्रांै शताब्दीको इटालियन खगोलविद् गिरिनिमो कार्डानो, सत्रौं शताब्दीको कोली सिब्बर, त्यसपछिका दिनमा बेञ्जामिन फ्रेन्कलिन, जिएन ज्याकुस रुसोहरूले आत्मवृत्तान्तलाई धेरै फराकिलो बनाए ।

अठारौं शताब्दीमा रोमान्टिक कवि विलियम वर्डस्वर्थको ‘प्रेल्युड’ र लर्ड वाइरनको ‘चाइल्ड ह्यारोल्ड’ साहित्यिक कलेवरमा लेखिएका आत्मवृत्तान्त हुन् । माया आङ्गेलुको ‘माया आङ्गेलु’, बेन्जामिन फ्रेन्कलिनको ‘बेन्जामिन फ्रेन्कलिन’, फ्रेडरिक डग्लसको ‘न्यारेटिभ अफ फ्रेडरिक डग्लस’, अन्ना फ्रेन्कको ‘डायरी अफ योङ गल्र्स’, नेल्सन मण्डेलाको ‘लङ वाक टु फ्रिडम’, ग्रेस ली वोग्सको ‘लिभिङ फर चेन्ज’ र मोहनदास

करमचन्द गान्धीको ‘माइ एक्स्पेरिमेन्ट वीथ ट्र्यू’ चर्चित आत्मकथा हुन् ।

संसारभरिका मानिसहरू हिटलरलाई निरंकुशताको प्रतीक मान्छन् । तर ‘मेन क्याम्फ’ ले बाहिर ल्याएको पक्ष के पनि हो भने प्रथम विश्वयुद्धपछि जर्मनमाथि भएको अन्याय र हारको क्षतिपूर्ति खोज्छ, आक्रोस राख्छ र बदला लिन्छ । त्यसैले उनीमा जन्मिएको उग्र भावना, जसले उनलाई निरंकुश बनायो, त्यसका कारणका विषयमा निष्पक्ष विचरण गरिएको छैन । त्यसै उनका आत्मकथाले रगत उमाल्ने र दिमाग रन्थनाउने शक्ति पाएको होइन

त्यस्तै, मिसेल ओबामाको ‘विकमिङ’, मलाला योउफसाफजाईको ‘आइ एम मलाला’, योगी परमहंश योगानन्दको ‘अटोग्राफी अफ अ योगी’, अगाथा क्रिष्टीको ‘आत्मवृत्तान्त’, लुुइज रोड्रीगोजको ‘अल्वेज रनिङ्’, मार्क ट्वीनको ‘आत्मकथा’, जोन्नी क्याशको ‘क्याश’, एडोल्फ हिटलरको ‘मेन केम्फ’, जेनेट मकको ‘सरासिङ सर्टेनिटी’, सिसिलया आरागोनको ‘फ्लाइज फ्री’, साइमोन बाइलनको ‘करेज टु सोरः अ बडी इन मोशन’, विश्वेश्वरप्रसाद कोइरालाको ‘आफ्नो कथा’ र जेल जर्नल, बिल क्लिन्टनको ‘माइ लाइफ’, जवाहरलाल नेहरूको ‘मेरी कहानी’ ब्रिटनी स्पेयर्सको ‘द ओमन इन मी’ र नन्दा गुप्ताको ‘सच कहूँ तो’ अरू चर्चित आत्मकथा हुन् ।

यी आत्मकथाले इतिहास, सङ्घर्ष, साहस र सफलताको शिक्षाका साथै समाजमा बाहिर नआएका कतिपय तथ्यहरू समेत उद्घाटन गरिदिएका छन् ।

कुनै व्यक्ति मनैदेखि कुनै कर्ममा समर्पित हुन्छ भने सफलता प्राप्त गरेरै छाड्छ, नियतिले त्यो प्राप्तिको मार्ग देखाएर नै छाड्छ भन्ने पाउलो कोहलो अभिव्यक्ति महान् व्यक्तिका आत्मवृत्तान्तले दिएका छन् ।

अर्को कुरा प्रत्येक सफल व्यक्तिका पछि दुःखद् कथा हुन्छ । प्रत्येक दुःखपूर्ण कथाको सफल अन्त्य हुन्छ, त्यसैले दुःख स्वीकार्ने र सफलताको मार्ग हिंड्ने शिक्षा यस्ता आत्मकथाले दिएका हुन्छन् ।

नेल्सन मण्डेलाको कथा कति दुःखद् छ तर निष्ठा र समर्पणले शताब्दीको महापुरुष बने । बाराक ओबामा, स्टेभ जब्स, जेफ बिजोसदेखि धिरुभाइ अम्बानीसम्मका कथाले बताउने कुरा यही हो ।

आत्मकथा र यसको चरित्र

आत्मवृत्तान्त धेरै प्रकारका हुन्छन्, विचारपरक, धार्मिक, साहित्यिक, बौद्धिक, कथात्मक, बहुुआयामिक आदि । एडोल्फ हिटलरको मेन केम्फ (मेरो सङ्घर्ष) विचारपरक आत्मवृत्तान्त हो, आफैंं उत्साहको ऊर्जा पनि हो ।

जोन हेनरीको आत्मकथा एपोलोजिया धार्मिक हो, जे एस मिलको आत्मवृत्तान्त दार्शनिक हो । पहिला नैतिक तथा धार्मिक उद्देश्यका आत्मकथाहरू लेखिन्थे, अब साहसिक, वैचारिक र साहित्यिक आत्मकथाहरू लेखिन थालेका छन् । जे जसरी लेखिए पनि यसको एकै उद्देश्य सामाजिक परिस्कार हो, जसका लागि उत्साह र ऊर्जाका बाटोहरू देखाइएको हुन्छ ।

आत्मवृत्तान्त, जीवनी र संस्मरण (मेम्वाएर) लाई समान अर्थमा लिने, बुुझ्ने बुुझाउने गरिएको पाइन्छ । जसले कहिलेकाहीं भ्रम पनि पार्न सक्छ । यी तीन बीच रहेको सामान्य भिन्नतालाई खुट्याउनुपर्छ । अन्यथा संस्मरण र जीवनी भन्नुपर्ने आलेख पनि आत्मकथा र आत्मकथा भन्नुपर्ने चाहिं संस्मरण र जीवनी बन्ने गर्दछ ।

जीवनी जीवनको विवरण हो । यसलाई अर्को व्यक्तिबाट लेखिएको हुन्छ, वस्तुुगत हुन्छ, लेखनीको कच्चा पदार्थ विभिन्न माध्यमबाट टिपिएको हुन्छ, अरूलाई जानकारी दिन लेखिन्छ, भावना र विचारहरू उल्लेख गरिंदैन । यो जहिले पनि लेख्न सकिन्छ ।

आत्मकथा चाहिं लेखकको आफ्नो जीवनको विवरण हो, जो आफैंबाट लेखिन्छ, विषयगत (मनोगत) रूपमा डुबेर लेखिन्छ, तथ्य र विवरण आफैंले राख्छ । यो जानकारी दिन वा अरूलाई प्रेरणा दिन लेखिन्छ ।

लेखाइमा तथ्यका साथ विचार, भावना र दृष्टिकोणहरू सरोबरी आउँछन् । सामान्यतः आत्मकथा जीवनको उत्तराद्र्धतिर लेखिन्छ । तर विशिष्ट अवस्थामा भने जहिले पनि लेख्न नसकिने होइन ।

संस्मरण (मेम्वाएर) चाहिं विशेष घटनाको सम्झना हो । यो व्यक्ति आफैंंद्वारा लेखिन्छ, विषयगत (मनोगत) हुन्छ । तथ्य र विवरण संस्मरणकार आफैंं राख्छ । यो आवेग, भावना र जानकारीका लागि लेखिन्छ । यसमा विचार, भावना, प्रतिक्रिया र दृष्टिकोणहरू हुन्छन् । यसले जीवनको सम्पूर्णता समेट्दैन, अविस्मरणीय घटनाको वर्चस्व हुन्छ । संस्मरण जहिले पनि लेख्न सकिन्छ ।

आत्मकथाका खास संरचना हुन्छन् । खास अवयव र चरित्र नभई लेखिएको वृत्तान्त आत्मकथा बन्न सक्दैन । डा. देवी नेपालका अनुसार आत्मकथा हुनका लागि जीवनसँग सम्बन्धित घटना, आख्यानात्मकता, गद्यात्मक संरचना, घटनाको रोचक तथा कलात्मक प्रस्तुति, अनुुभूतिको सूक्ष्म रेखाङ्कन, सरल र सरस अभिव्यक्ति, अघोषित उत्प्रेरणा र जीवनमुखी सन्देश तत्वहरू आवश्यक पर्दछ । यी चरित्र भएका जीवनीमूलक आलेखहरू नै आत्मकथा हुन् । जीवनका सबै घटनाहरू आत्मकथामा समेटिन सकिंदैन किनकि अक्षरमा जीवन उठाउन सकिंदैन । तर महत्वपूर्ण घटनाको आकर्षक प्रस्तुति हुनैपर्छ ।

आत्मकथाका विशिष्ट विशेषता वा चरित्र हुन्छन् । आत्मकथा प्रथमवचनमा लेखिन्छ, किनकि त्यहाँको प्रमुख पात्र आफैं हो, आफैंले आफ्नो कथा बताइरहेको हुन्छ ।

आफ्नो कथा र स्वतन्त्रताको लामो यात्रा जति स्वाधीनता र सहनशीलताका शालीन शिक्षा अन्य आत्मकथामा विरलै पाइन्छ

घटनाका सहपात्र र स्थानको वास्तविक नाम उल्लेख गरिन्छ, तोडमोड वा काल्पनिकता रहँदैन । भूतकालमा लेखिन्छ । घटना, पात्र र परिवेशप्रति लेखकीय अनुुभूति रहन्छ । विचार र तथ्यका साथ लेखकीय दृष्टिकोण पनि राखिन्छ । तथ्य बङ्ग्याएर कसैप्रति अन्याय गरिंदैन ।

आत्मकथा एउटा सिलसिलाबद्ध कालानुक्रममा लेखिन्छ । पहिला त मानस रचना वा के लेख्ने भन्ने निर्धारण गरिन्छ । त्यसपछि विशेष घटना लिइन्छ, कथाको केन्द्रीय पात्र आफैंलाई बनाइन्छ । सबैभन्दा महत्वपूर्ण पक्षलाई विश्लेषण साथ प्रस्तुत गरिन्छ । जीवनका सबै घटना दैनिकीका अभिन्न भाग भए पनि आत्मकथामा सबै अटाउँदैनन् ।

घटनाका साथ आत्मकथाकार आन्तरिक र भावनात्मक यात्रा (इमोशनल जर्नी) गर्दछ । विगतको प्रतिबिम्बात्मक कल्पना (रिफ्लेक्टिभ इमाजिनेशन) गर्न सक्ने व्यक्ति मात्र आत्मकथाकार हो । ऊ विगतलाई वर्तमानको स्मृतिमा ल्याएर फेरि विगतको विचरण गर्दछ । स्मृतिको पहिलो महत्वपूर्ण क्षणदेखि आफू सक्रिय भएको अन्तिम अवस्थासम्मलाई शब्दमा उठाउँछ, भन्नुपर्ने कुरा भन्छ, भन्न छुटेका गर्न नभ्याएका कुराहरूमा कोकिन्छ, पश्चाताप पनि गर्न बेर लगाउँदैन । गिरिजाप्रसाद कोइरालाले भने झैं आफ्नो कथाको अन्तिम भाग भने आफ्नै स्पर्श र अनुुभवमा लेख्न सक्तैन । कथाको क्लाइमेक्स लिङ्क जस्तै कालानुक्रम भावनात्मक र भौतिक यात्रा गर्छ । विश्वेश्वरको आत्मकथा होस् कि नेल्सन मण्डेलाको स्वतन्त्रताको लामो यात्रा होस्, माल्कोमको एक्सको माल्कोमको आत्मकथा होस् कि माया आँगेलुको पिंजडाको चराले किन गाउँछ ? (ह्वाई दी केग्ड वर्ड सिङ्गस) होस्, सबै भावना र भौतिक यात्राका अनुक्रम हुन् ।

विश्वेश्वरप्रसाद कोइरालाको आत्मकथा ‘आफ्नो कथा’ का भूमिकाकार गिरिजाप्रसाद कोइरालाले निकै गहन कुरा भनेका छन्, ‘वास्तवमा कुनै पनि महामानवले आफ्नो जीवन वृत्तान्तलाई आफैंले पूरा गरेका छैनन् । मृत्यु शय्यामा मात्र शारीरिक सत्ता समाप्त हुँदा एक अध्याय त पूरा हुन्छ, उनीहरूको । त्यसबेला मृत्युको स्पर्शलाई स्पष्ट अनुुभूत गर्दै आफ्नो लामो र घुमाउरो यात्राको समापन भाग कसैले पनि लेख्न सक्तैन । त्यो त इतिहासको पत्रमा सुरक्षित भएर रहन्छ र शताब्दी–शताब्दीसम्म त्यसको शोध र सन्धान भइरहने छ ।’

त्यस्तै जन्मको अनुुभव पनि ऊ स्वयम्ले लेख्न नसकी अन्यको बताइमा भर पर्नुपर्दछ । व्यक्तिले आफूलाई बताउने भनेको उसको पहिलो सम्झनादेखि सक्रिय जीवनको घटनासम्म मात्र हो । विश्वेश्वरको आफ्नो कथा भोला चटर्जी, प्रदीप गिरी, गणेशराज शर्माहरूले पूरा गरे, कतिपय तथ्य अझै आएका छैनन् ।

मण्डेलाको स्वतन्त्रताको लामो यात्राले उनको आत्मकथा पूरा भएन, जेल डायरी आफैंसँगको संवाद (कन्भरसेसन विथ माइसेल्फ) मा पनि पूरा भएको छैन, बाराक ओबामा लगायत अन्य प्रकाशकहरूले केही बताए तर अझै बताउने क्रम बाँकी छ ।

सोचनीय कुरा के छ भने यसरी बाँकी कथाहरू पूरा गर्ने क्रममा भ्रम पनि सिर्जना हुन सक्छ, व्यक्ति देवत्वकरणमा पनि पुुग्न सक्छ, आग्रह पनि राख्न सकिन्छ । किनकि आफ्नो विषयमा सबैभन्दा जानकार व्यक्ति आफैं हो । उसको अवसान पछि तथ्यले विषयलाई पुष्टि नगर्न सक्दछ ।

आत्मकथाको कार्य

आत्मकथाका तीन कार्य रहन्छन् :

पहिलो काम दिशाबोध हो । यसले वर्तमान र भविष्यलाई दिशाबोध गर्दछ । इतिहासका कठिनाइको बोधले भविष्यको यात्रालाई बाटो देखाउँछ ।
दोस्रो सामाजिक काम हो । आवेग र तथ्य मात्र प्रस्तुत गरेर आत्मककथा लेखिंदैन । व्यक्तिको अनुुभूति, कार्य, सूचना–घटनाहरू साझा गर्नु आत्मकथाको सामाजिक काम हो । यो साझा गराइले सामाजिक सम्बन्ध, सहिष्णुता र हार्दिकता बढ्छ । सामाजिक सम्बन्ध र हार्दिकतालाई प्रोत्साहन गर्दछ ।
तेस्रो काम स्वयम् सुसूचित वा आत्मिक आनन्द हो । विगतका आफ्ना घटना र अनुुभूतिको विचरणले व्यक्ति आफैं रमिन्छ, उत्साह र ऊर्जा पाउँछ । साहस र शक्ति पाउँछ । पृष्ठपोषण र आलोचनात्मक चेतबाट आफू सुध्रिने आधार पाउँछ । यसर्थ आत्मकथामा लेखकले आफूलाई प्रकाशन वा विरेचन गर्ने आशय रहे पनि यो विवेचना, विश्लेषण र विमर्शसम्म फैलिन्छ र स्वयम् सुधारको मार्ग दिन्छ ।
फ्योदोर दोस्तोएभ्स्की भन्छन्, ‘मानव अस्तित्व र संघर्ष जीवन निर्वाहका रूपमा मात्र सीमित रहँदैन, बाँच्नका लागि केही नयाँ खोजले यसलाई पूर्ववत् बनाउँछ ।’
सर्जक वा आत्मकथाकार समाजको अभिन्न अंश हो । उसका भोगाइ निजी भए पनि ती सामाजिक प्रक्रियाका उत्पादन हुन् । ऊ समाजको सदस्य भएका कारण व्यक्तिले निजत्वको अनुुभूतिसाथ समाजको उत्थान चाहेको हुन्छ । सर्वश्रेष्ठ र विवेकशील प्राणी भएका नाताले सामाजिक परिष्कार र सभ्यताको प्रवद्र्धन उसको आत्मिक कर्तव्य हो ।
समाजको सचेत व्यक्ति नै आत्मकथाकार हुन्छ, त्यसैले सुधारको दायित्वबाट ऊ उम्किन सक्दैन । यसर्थ आत्मकथाका यी उद्देश्य हुन्छन् :

  • आउने पुस्ताका लागि विगत देखाउनु,
  • आफू र आफ्नो भूगोल, परिवेश, संस्कृति र कार्यको थाहा दिनु,
  •  आफ्नै जीवनयात्रा अन्तरबोध गर्नु, स्मृतिमा ल्याउनु र आफैं विरेचित आनन्दमा पुुग्नु,
  • जीवन (इतिहास) का क्रिटिेल जङ्कचर (कठिन मोड) र आवेगहरूको मुक्ति देखाउनु,
  • समय र पुस्ताको सम्बन्ध सेतु बन्नु,
  • स्वयम् उत्साह सिर्जना गर्नु,
  • परिस्थितिको बोध, विश्लेषण र व्यवहारको बाटो देखाउनु,
  • साहित्य सिर्जना गर्नु,
  • पाठक/पुस्तालाई प्रेरणा र प्रोत्साहन दिनु ।

यो वृत्तान्तकारका लागि स्वयम् खोज वा प्रकाशन (सेल्फ डिस्कभरी) पनि बन्न सक्नुपर्छ । किनकि उसका विषयमा जान्ने ऊभन्दा अर्को जानकार पात्र हुँदैन । आफैंमाथि पुनर्खोज र प्रकाशनले ऊ आफैं पनि सच्चिन, सुध्रिन सघाउ पुुग्दछ । यो आत्मश्लाघा, आत्मरति, आत्मप्रशंसा र कुण्ठा निष्कासनभन्दा माथि उठेर समाज, समय र स्वयम् आफैंलाई न्याय गर्ने गरी लेखिनुपर्दछ ।

केही चर्चित आत्मकथा

आत्मकथाको इतिहासमा धेरै महत्व राख्ने सुकरातको आत्मकथालाई उनका शिष्यले लेखिदिए । आत्मकथा भने पनि आफैंले लेखेको आफ्नो कथा थिएन । तर पनि यसको चर्चा समाज व्यवस्थामा फैलिएको छ । आधुनिक विश्वमा धेरै पढिएको आत्मकथामध्ये नेल्सन मण्डेलाको ‘स्वतन्त्रताको लामो यात्रा’ (लङ वाक् टु फ्रिडम) अग्रस्थानमा आउँछ । जीवनमा जति बढी संघर्ष र उपलब्धि त्यति नै उचाइको आयतन हुुन्छ भन्ने पुष्टि यसले गर्दछ । उनकै अर्को संस्मरण ‘आफैंसँगको संवाद’ (कन्भरसेसन विथ माइसेल्फ) ले बन्दी जीवनका वैचारिक र साहित्यिक संस्मरणलाई मात्र प्रकाशन गर्दछ, यसलाई आत्मकथा भनिहाल्न सकिंदैन ।

परमहंस योगानन्दको ‘योगीको आत्मकथा’, बाराक ओबामाको ‘मेरो पिताको सपना’, माया आङ्गेलुको ‘पिंजडाको चरा किन गाउँछ भन्ने म जान्दछु’, माल्कम दशौको ‘माल्कमको आत्मकथा’, मलाला युसुफजाईको ‘म मलाला हूँ’, फ्रेडरिक डग्लसको ‘जीवनको कथा’, बेन्जामिन फ्रेङ्कलिनको ‘आत्मवृत्तान्त’, आन्ने फ्रेङ्कको ‘जवान केटीको दैनिकी’, जवाहरलाल नेहरूको ‘मेरो कहानी’, महात्मा गान्धीको ‘माइ एक्सपेरिमेन्ट विथ ट्रुु’ विश्वेश्वरको ‘आफ्नो कथा’ धेरै रुचाइएका आत्मकथामा पर्दछन् । नेपाली वाङ्मयमा विश्वेश्वरप्रसाद कोइरालाको ‘आफ्नो कथा’ धेरै रुचाइएको आत्मकथा हो ।

नेल्सन मण्डेलाको आत्मकथा (स्वतन्त्रताको लामो यात्रा) ले मण्डेलाको व्यक्तिगत जीवनका कुुरा मात्र समेटेको छैन, त्यतिखेरको दक्षिण अफ्रिकी समाजको जीवनशैली, ग्रामीण सामाजिक अवस्था, सामुदायिक परिपाटी, राजनीति, शासन, रङ्गभेद, धर्म, संस्कार, सभ्यता, स्वतन्त्रताको अनुराग, आपसी सहयोग र सेताहरूको दमनमा पिल्सिएको समाजको सिलसिलाबद्ध विषयको प्रस्तुति छ ।

उनको आत्मकथा नियति, भाग्य र कर्मको त्रिवेणीमा उभिन्छ । उनी भाग्यमा अति नै विश्वास गर्दथे । यसको उदाहरण उनको नामको प्रसंगबाट पनि पाउन सकिन्छ । उनको जन्मको नाम रोलिहल्लाला हो, जसको अर्थ आगो सल्काउने वा झगडाको बीउ भन्ने रहेछ । जब उनी विद्यालयमा भर्ना भए शिक्षिका डिङ्गेनले त्यो नाम मन पराइनन् र नयाँ नाम ‘नेल्सन’ राखिदिइन् । अफ्रिकी नाम उच्चारण गर्न असजिलो भएर डिङ्गेनले नाम परिवर्तन गरिदिएकी थिइनन्, समुद्री जहाजका प्रसिद्ध कप्तान नेल्सनसँग उनको नाम जोडिएको थियो ।

अर्को अर्थमा ‘रोलिहल्लाला’ (सामान्य अफ्रिकी गाउँले) लाई ‘नेल्सन’ बनाउने भाग्यको नाम थियो त्यो । शायद डिङ्गेनले रोलिहल्लालालाई नेल्सन जस्तै महान् पहिचानमा देख्न चाहन्थिन् ।

नेल्सन मण्डेला नियतिवादी थिए । उनी उल्लेख गर्छन्, आफू जन्मेको समय उथलपुुथलको थियो । त्यस समय भर्खर प्रथम विश्वयुद्ध सकिएको थियो । त्यही वर्ष इन्फ्लुएन्जाको महामारीले लाखौं मानिस मरेका थिए ।

त्यही वर्ष अफ्रिकी मानिसको कथाव्यथा जान्नका लागि अफ्रिकन नेशनल कङ्ग्रेसको शान्ति समिति ब्रसेल्स यात्रामा गएको थियो । आत्मकथामा उत्रने संकेत गर्न खोजेको कुरा आफूू विशिष्ट समयमा जन्मेको र समयले आफूूबाट त्यसै अनुरूपको विशिष्ट भूमिका अपेक्षा गरेको थियो भन्नेमा छ । उनको नाम त त्यसै अनुरूप भैहाल्यो ।

कर्ममा त उनी यति विश्वास राख्थे कि आफ्नो इमानको लागि कहिल्यै सम्झौता गरेनन् । न अङ्ग्रेज शासकको प्रलोभनमा परे न कुनै मानले उनलाई प्रभाव पार्‍यो । प्रेम र मायाको निष्ठामा एल्विनसँग विवाह भयो, राजनीतिक निष्ठाका लागि विछोड भयो । एल्विनलाई नेल्सन अति नै माया गर्थे, एल्विन पनि त्यत्तिकै माया गर्थिन् । एल्विनको छलछलाहट यौवनले नेल्सनलाई ट्रान्स्की फर्केर वकालत गरोस्, आफूसँग रहोस् र राजनीति छाडोस् भन्ने माग गथ्र्यो । तर नेल्सनले सामान्य र सुखपूर्ण जीवन बिताउन चाहेनन्, संघर्षको बाटो बीचमा छाडेर अफ्रिकी जनतालाई अन्योलमा पार्न चाहेनन् ।

नेल्सन जेल परेपछि घरको पर्दा समेत लगेर एल्विनले छाडेर गइन् । तर नेल्सन भने एल्विनसँगको मायावी जीवनको पारख गरेरै बसे । ‘उनी असल, सुन्दर, स्वस्थ, निष्ठावान् महिला र समर्पित आमा थिइन् ।’ नेल्सनको मनमा एल्विनको माया थियो, मस्तिष्कमा राष्ट्रलाई स्वतन्त्र बनाउने अनन्तचेतको अदम्य ऊर्जा । दुवैमा न्याय थियो ।

पछि विवाह गरेकी विन्नीलाई पनि नियतिले छाड्न लगायो । तर उनले अफ्रिकी जनता र स्वतन्त्रताप्रेमी विश्वका नागरिकलाई माया गरिरहे, उनले पनि सबैबाट माया पाइरहे ।

स्वतन्त्रताको लामो यात्राको सिंहावलोकनमा नेल्सनले भने ‘मैले स्वतन्त्रताको लामो यात्रा गरें र बाँचुञ्जेल गरिरहने छु । संसारमा स्वतन्त्रता अविभाज्य छ । यात्राका क्रममा अनेकन् उतारचढाव आए तैपनि हिम्मत हारिनँ । स्वतन्त्रताका साथसाथै नयाँ जिम्मेवारी पनि आउँछन् । म अहिले रोकिन्न किनकि स्वतन्त्रताको लामो यात्रा अहिले समाप्त भएको छैन । अझै जारी छ ।’

मण्डेलाको ‘स्वतन्त्रताको लामो यात्रा’ र विश्वेश्वरको ‘आफ्नो कथा’ बीच धेरै कुरामा समानता छ । त्यस्तै दुवै आत्मकथाकारको जीवनबीच धेरै घटनाक्रम समान छन्, सोचवृत्ति र निष्ठामा समानता छ । फरक के मात्र भने रङ्गभेद र औपनिवेशिक थिचोमिचो विरुद्धको यात्रामा नेल्सनले जीवनकालमा नै सफलता पाए, निरंकुशता विरुद्धको आन्दोलनमा विश्वेश्वरले जीवनपछि मात्र विजय पाए ।

नेल्सनको जस्तै विश्वेश्वरको परिवार पनि धर्मभीरु, नियति र कर्मलाई साथसाथै विश्वास गर्ने खालको थियो । विश्वेश्वरको जन्म प्रथम विश्वयुद्धको आसपासमा भएको थियो । प्रथम विश्वयुद्धले एउटा युुगलाई समाप्त गर्‍यो र ठूलो प्रसवपछि नयाँ युगको सुरु गर्‍यो । उनी जन्मिंदा विश्वभरि लडाइँहरू भैरहेका थिए, युुरोेपमा उथलपुुथल थियो ।

कला-अभिनय (ग्ल्यामर) क्षेत्रमा ख्याति कमाएका (सेलिब्रेटी) हरूको आत्मकथाले नलेखिएको, नदेखिएको, लुकाइएका र दबाइएका कुराहरू बाहिर ल्याएर त्यस क्षेत्रमा लाग्नेहरूलाई व्यावसायिक पवित्रता कायम गर्न शिक्षा दिंदै आएको छ

युद्धोत्तर पिंढी भएकाले उनको बाल्यावधि पनि अनिश्चिततामा बित्यो । समाजवाद र स्वतन्त्रताको आवाज विश्वभरि घन्किएको थियो । त्यसले विश्वेश्वरको व्यक्तित्व विकास र चिन्तन वृत्तिमा प्रभाव पार्‍यो, जसरी मण्डेलालाई उनका जन्मका समयको घटनाक्रमले पारेको थियो ।

नामकरणपछि पनि त्यस्तै मिल्दो प्रसंग छ । उनको न्वारानको नाम चूडामणि भए पनि उनका ठूलोबुुबाले उनलाई विश्वेश्वर नाम दिए । रोलिहल्लालालाई शिक्षिका डिङ्गेनले ठूलो मानिस बनोस् भनेर नेल्सन नाम राखे जसरी नै चूडामणि विश्वेश्वर बन्नु काशी (विश्वेश्वर) को प्रसाद भएकोले काशीको प्रसाद वा विश्वेश्वरप्रसाद वा विश्वमा नै ख्याति बढाउने व्यक्ति भन्ने संकेत गरियो । नेल्सन र विश्वेश्वर त्यस्तै ख्यातिमा पुुग्नुको पछि जन्म, नामकरण र घटनावृत्तिका समानखाले सन्दर्भ रहेछन् ।

नेल्सनका पिता अफ्रिकी थिम्बु शाही घरानाका मुखिया (खान्दानी) थिए, विश्वेश्वरका पितापुर्खा पनि सापेक्षिक रूपमा समाजका मान्य व्यक्ति थिए । नेल्सन १० हजार दिन कारगारमा रहेर स्वतन्त्रता र स्वाधीनताको कठिन यात्रा गरे, विश्वेश्वरले पनि अधिकांश जीवन कारागार र निर्वासनमा बिताए ।

विद्यालय उमेरका दुःख पनि उस्तै थिए । मण्डेलाका पिताले विद्यालय पढ्न जाँदा आफ्नो पाइन्ट काटेर ह्वाङ्ग्रे पाइन्ट छोरालाई लगाइदिएका थिए, विश्वेश्वर पनि एकमुठी भिजाएको चनामा दिन बिताउन परेको र खद्दरको एकजोर सादा कमिज सुुरुवालमा बनारस पढेको उल्लेख गरेका छन् ।

मण्डेलालाई बाल्यकालमा मार्क्सवादी विचारको प्रभाव पर्‍यो, विश्वेश्वरलाई पनि । माक्र्सको ‘प्रत्येक व्यक्तिबाट उसको क्षमता अनुरूप काम लिनुपर्छ र आवश्यकता अनुरूप पारिश्रमिक दिनुपर्छ’ भन्ने भनाइबाट नेल्सन प्रभावित थिए । दुवै आ–आफ्ना समयका समाजवादी नेता बने । मेलमिलापको नीति लिएर विश्वेश्वर नेपाल आए, राजालाई समर्थन गर्न थाले, नेल्सन पनि मुलुकको स्वाधीनता पछि एफ डब्लू डे क्लार्क जस्ता आफैंलाई बन्दी बनाउने अंग्रेजलाई क्षमादान दिन पुुगे । बन्दी हुँदा दुवै राजनेताले उस्तै यातना पाए र राजनैतिक साथीहरूबाट उस्तै–उस्तै धोका–षड्यन्त्र पनि व्यहोरे ।

दुुवै महान् नेताको सोचवृत्ति समान भएको एक उदाहरणबाट अनुमान लगाउन सकिन्छ । आफूलाई दुःख दिने मानिसहरूका सन्दर्भमा नेल्सन भन्ने गर्दथे ‘मानिसहरूमा अवगुणको साथसाथै गुणहरूको पनि पौल प्रकाश हुन्छ, जुन लुकेर–दबेर बसेको हुन्छ । तर समय आएपछि ज्योति छर्न थाल्छ ।’ बारम्बार राजद्रोहको मुद्दामा जेल बसाइपछि उनमा सहनशीलताको भावना जागेको थियो ।

विश्वेश्वर भन्ने गर्दथे, ‘प्रत्येक मानिस पागलपनको संभावनालाई आफूमा धारण गरेर हिंड्छ । आफूमा अट्न नसक्नु, आफूूभन्दा बाहिर पोखिन खोज्नु या आफूभन्दा माथि उठ्ने प्रयास गर्नु अथवा आफ्नो स्थितिबाट असन्तोष भैरहनु मानिसको अन्तरनिहित पागलपनका कारण हुन् । र, यदि यी कारणहरू कसैमा साधारणभन्दा अधिक शक्तिका साथ सक्रिय हुन गए भने त्यो व्यक्ति सध्ये पागल हुन्छ, र यसप्रकारको विक्षिप्तता नभइकन मानिसको नियतिको विकासमा संभावनाको पनि क्रमागत प्रस्फुटन तथा वास्तवीकरण (एक्चुएलाइजेसन) सम्भव छैन ।’

त्यस्तै अर्को प्रसंगमा भनेका थिए, ‘विरोधीको लागि प्रयोग गरिएका कडा भाषाले लाभभन्दा हानि बढी हुन्छ, किनभने विरोधीलाई त्यसले झन् उत्तेजित पार्छ र युद्धका लागि ललकारेको भनेर ऊ झन् बढी युद्ध–प्रस्तुत हुन्छ ।’

दुवै आत्मकथाकारको व्यवहारमा यी सोचले गहिरो प्रभाव पारेको छ । नेल्सन तथा विश्वेश्वरको चिन्तन, विचार र व्यवहारमा यो देखिन्छ । दक्षिणपन्थ राजनीतिको हावी भैरहेको र विरोधीका लागि दुर्वाच्य प्रयोग भैरहेको वर्तमान राजनैतिक समाजमा यी दुुई नेताले संयमको शक्ति दिएका छन् ।

आफ्नो कथा र स्वतन्त्रताको लामो यात्रा जति स्वाधीनता र सहनशीलताका शालीन शिक्षा अन्य आत्मकथामा विरलै पाइन्छ । यी आत्मकथाले धेरै हदमा आत्मकथाको मानक पनि स्थापित गरेका छन् । समाज र पुस्ताले आत्मकथाबाट के पाउन सकिन्छ भन्ने सादाचित्र यी आत्मकथाले दिएका छन् ।

कारागारमा लेखिएको एडोल्फ हिट्लरको ‘मेरो संघर्ष’ (मेन क्याम्फ) (भाग–१, १९२५, भाग–२, १९२६) पनि संघर्ष, रहस्य र क्रान्तिको चर्चित आत्मकथा हो । यसमा उनले चाहेको नयाँ व्यवस्था सिर्जना गर्ने उग्र महत्वाकाङ्क्षाका आरोह–अवरोहहरू समावेश छन् । पहिलो खण्डमा रिकोनिङमा उनको जीवनको सुरुवाती अवस्था, संघर्ष, प्रथम विश्वयुद्ध, उग्र राष्ट्रियता र उग्र–जातीयताका कुराहरू रौं ठाडो हुने गरी उल्लेख गरिएको छ ।

दोस्रो खण्डमा राष्ट्रिय समाजवादी आन्दोलन, राजनैतिक सङ्गठन, दर्शन, युद्ध र भ्रामक समाचार (प्रोपोगाण्डा) रणनीति र आपत्कालीन प्रतिरक्षा सन्दर्भहरू उल्लेख छ । झण्डै विश्व विजेता बनेका तानाशाहको आत्मकथाले दिने शिक्षा एक बलियो मानिस कसरी एक्लै शक्तिशाली बन्न सक्छ र युद्धमा मिथ्या समाचारले कसरी महत्व पाउन सक्छ भन्ने हो ।

हिटलरका शब्दमा उनका (जर्मनका) दुुई शत्रु थिए, पहिलो कम्युनिष्ट र दोस्रो यहुदीहरू । यी दुवै शत्रुको विनास गरी आर्य समाजवादी निरंकुशता (नाजी नश्लवाद) कायम गर्ने उनको चाहना थियो । हिटलरका अनुसार यहुदी र बोल्सेभिकहरू निम्न वैचारिक धरातलका मानिस हुन् भने आर्य र राष्ट्रिय समाजवादीहरू राम्रो सोच राख्ने उच्च वर्ग हुन् । उनको जातीय उच्चताभाष र उग्र वैचारिक अहम् यहुदी र साम्यवादीप्रति मात्र होइन, अर्का तानाशाह मुसोलिनीसँगको सहकार्यपछि पश्चिमी लोकतन्त्रप्रति पनि आक्रामक रह्यो ।

वाइमर गणतन्त्रमा रहेका समस्या भनेको संसद्, समाजवादी लोकतान्त्रिक र मार्क्सवादी हुन् भन्ने हिटलरको निष्कर्ष थियो । साथै जातीय उग्रताले व्यक्तिलाई कसरी अमानवीय बनाई मानव सभ्यतालाई च्यातच्युत पार्न सक्छ भन्ने हो । गान्धीको अहिंसा, विश्वेश्वरको चिन्तनशीलता र नेल्सनको क्षमाशीलतालाई हिटलरको उग्रजातीय राष्ट्रवादसँग राखेर विश्लेषण गर्दा धेरै राजनैतिक समस्याको निकास आउन सक्छ ।

संसारभरिका मानिसहरू हिटलरलाई निरंकुशताको प्रतीक मान्छन् । तर ‘मेन क्याम्फ’ ले बाहिर ल्याएको पक्ष के पनि हो भने प्रथम विश्वयुद्धपछि जर्मनमाथि भएको अन्याय र हारको क्षतिपूर्ति खोज्छ, आक्रोस राख्छ र बदला लिन्छ । त्यसैले उनीमा जन्मिएको उग्र भावना, जसले उनलाई निरंकुश बनायो, त्यसका कारणका विषयमा निष्पक्ष विचरण गरिएको छैन । त्यसै उनका आत्मकथाले रगत उमाल्ने र दिमाग रन्थनाउने शक्ति पाएको होइन ।

बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलका शब्दमा हिटलर सत्तामा पुुगेपछि उनको विषयमा जानकारी दिने योभन्दा अरू कुनै कृति छैन । जर्ज स्टेनर हिटलरको ‘मेरो संघर्ष’ लाई उच्च प्रशंसा गर्दै दार्शनिक अन्स्र्टब्लोचोकको ‘द स्पिरिट अफ युटोपिया’ सँग तुलना गरेका छन् । यस कृतिलाई आलोचकले पनि यति महत्व दिए कि यो पुस्तक अनुवाद गर्दा पनि मानिस आधा पागल हुनसक्ने सन्दर्भ फ्रेन्च आलोचक ओलिवर मलोनीले उल्लेख गरेका थिए ।

यस आत्मकथाले त्यस बखत पूरै युरोप र अमेरिका नै हल्लायो, प्रशंसाले वा आलोचनाले । आत्मकथा आफ्नो कथाकुुथुङ्ग्री मात्र हो भन्ने सामान्य बुुझाइलाई पनि ‘मेन क्याम्फ’ ले परिवर्तन गरी साहस, उत्साह, आत्मबल, संघर्ष, विचार र सौर्यको निरन्तर ऊर्जा दिने आत्मकथा जीवन्त बन्दछ भन्ने देखायो । निरन्तर उत्साहको यात्रामा लाग्दा सफलताको शक्ति प्राप्त गर्न सकिन्छ भन्ने देखाइदियो ।

आत्मकथा साहित्यकार र राजनीतिक व्यक्तित्वहरूको वर्चस्व रहँदै आएकोमा विभिन्न पेशा व्यवसाय र सामान्य जीवनको भोगाइलाई उल्लेख गरेर संस्मरणात्मक विवरणहरू लेख्ने चलन निकै बढेको छ । यसले आत्मकथालाई सर्वसाधारणसम्म पुुर्‍याएको छ, जुन निकै राम्रो हो । अर्कोतर्फ आत्मकथाको स्फिति भएको छ, जुन त्यति राम्रो होइन

पण्डित जवाहरलाल नेहरूको ‘मेरी कहानी’ उनी सन् १९३४–३५ मा कारागारमा रहँदा फुर्सद उपयोग गरिएको कृति हो । प्रायःजसो राजनेता जेलमा पर्दा वा जीवनको अन्तिम अवस्थामा स्मृतिका विम्बहरू टिपेर निवृत्त जीवनमा आनन्दित मात्र हुँदैनन्, समाजलाई दिने गर्दछन् । त्यसले आफ्ना भोगाइ साझा गर्ने र समाजलाई शिक्षा दिने अभीष्ट राखेको हुन्छ । नेल्सन मण्डेला, विश्वेश्वर कोइराला, एडोल्फ हिटलर जसरी नै नेहरूले पनि कारागारकै समय उपयोग गरेर अन्तरमनको यात्रा गरे ।

‘मेरी कहानी’ मा आफ्नो बाल्यावस्था, आपूm र परिवारसँग सम्बन्धित घटना, सामाजिक इतिहास र राजनीतिक प्रसंग भए पनि नेहरूले यो समाजका लागि लेखेको बताएका थिए । यस अर्थमा ‘मेरी कहानी’ इतिहास र ऊर्जाका लागि लेखिएको थियो । उनले इमानदार भएर भूमिकामा भनेका छन्– ‘आफ्नो कथा केवल व्यक्तिगत र एकाङ्गी छ, जसले पाठकलाई भ्रम पनि पार्न सक्छ, सोचेभन्दा बढी महत्वमा लिइन सक्छ, त्यसका लागि आफू क्षमापात्रका रूपमा रहेको छु ।’

मेरी कहानी प्रथम खण्डमा नेहरू आत्मकथाकार अब्राहम लिङ्कनको भनाइ उद्धृत गर्दै भन्छन्- ‘आफ्ना बारेमा आफैंले लेख्नु असजिलो र अभिरुचि दुवै हो । किनकि आफ्ना कमजोरी लेख्न हामीलाई मन लाग्दैन, साथै आफ्नो प्रशंसा गरेमा पाठकहरू खास चाख राख्दैनन् ।’ यसरी सावधान भएर आत्मकथा लेख्नेहरू आफ्ना कमजोरी र लुकेका तथ्यहरू पनि बाहिर ल्याउँछन् ।

जस्तो कि महात्मा गान्धी, नेल्सन मण्डेला, विश्वेश्वर, लिङ्कन, ब्रिट्नी स्पेयर्स, रमेश विकलले आ–आफ्नो आत्मकथामा आफ्नै कमजोरीलाई पाठकसमक्ष साझा गरेका छन् । महान् हुनु भनेको कमजोरी नहुनु होइन, कमजोरीको प्रस्तुुति र त्यसप्रतिको प्रायश्चित गर्ने साहस पनि हो । नेहरूले पनि त्यो महानता देखाए ।

पण्डित नेहरूको ‘मेरी कहानी’ मा उनका पितापुर्खाको कानूनी घराना, मुुगल साम्राज्य उत्थान र पतनको इतिहास र अंग्रेजको औपनिवेशिक रजगजका विवरणहरू समेटिएका छन् । विश्वेश्वरको आफ्नो कथा र मण्डेलाको स्वतन्त्रताको लामो यात्रा र नेहरूको ‘मेरी कहानी’ मा शासन र समाजका कालक्रमिक विवरणहरू उस्तै उस्तै गरी प्रस्तुत छन् ।

कृतिका प्रकाशक यशपाल जैन मन्त्री भन्छन्, ‘यो सामान्य आत्मकथा नभै असामान्य कृति हो । जहाँ जवाहरलालको सम्पूर्ण जीवन, समाज, राष्ट्र र विश्वको साथ संस्मरण छ । किताब कारागारको चारदिवारीमा लेखिए पनि लेखकका दृष्टिको व्यापकता र हृदयको विशालता छ ।’ यसले नेहरू राजनीतिज्ञ र स्वतन्त्रता सेनानीका साथै उत्कृष्ट लेखक पनि हुन् भन्ने देखाउँछ ।

महात्मा गान्धीको ‘माइ एक्सपेरिमेन्ट विथ ट्रु’ मा उनको बाल्यावस्था, दक्षिण अफ्रिकाको केप कोलोनीको तनाव, दक्षिण अफ्रिकामा परिवारसँग रहँदाका प्रसंग, बोअर युद्ध, बम्बईको अनुुभव, प्रथम विश्वयुद्धको त्रासदी र बेलायती औपनिवेशिक दमनका कुराहरू समेटिएका छन् । जर्ज अर्वेलका भनाइमा गान्धीको आत्मकथा प्राकृतिक तथा भौतिक उतारचढावको विवरण हो । गान्धीको मनोव्रत र अहिंसावादको अन्तरहीन विवरण हो । आत्मकथाले संयम, शान्ति, विनय र निष्ठाको आदर्शलाई शृङ्खलाबद्ध प्रस्तुुति गरेको छ ।

गान्धीको आत्मकथाले शत्रुलाई पनि माया गर्ने, संयमसाथ महिला पुरुष सँगै रहने सामाजिक मर्यादाका कुराहरू उल्लेख गरेको छ, जुन सामाजिक मान्यतामाथिको द्वन्द्व हो । गान्धीको आर्थिक दर्शन भने जोन रस्किनको पुस्तक ‘अन टु दिस लास्ट’ को अध्ययनबाट प्रभावित छ । मानव कल्याणको दृष्टिबाट अर्थशास्त्र पर रहनुहुँदैन, औद्योगीकरण यस कारण खराब भयो कि यसले साथसाथै गरिबी र सामाजिक अन्याय पनि पैदा गर्‍यो ।

गान्धीको अर्थमा प्रजातन्त्र संयम, सहिष्णुता र अहिंसाबाट संरक्षित गर्न सकिने विषय हो, लादिने विषय होइन । यसर्थ प्रजातन्त्र, सामाजिक व्यवस्था र आर्थिक विषयमा गान्धीका आदर्श सिद्धान्तहरूलाई उनको आत्मकथाले सरल रूपमा पछिल्ला पुस्तालाई बताइदिएको छ ।

योगी परमहंस योगानन्दको ‘योगीको आत्मकथा’ अन्तरज्ञानको पुञ्ज हो । यसले आत्मिक यात्राबाट जीवनको अर्थ खोज्ने बाटो देखाएको छ । त्यतिवेला योगीले आफ्नो साधना यात्रा र क्रियायोग बताएको वृत्तान्त अहिलेको पुस्तामा आत्मिकचेत र अन्तर आनन्दको खोजी गर्न, यान्त्रीकृत समाजलाई आत्मिक निष्ठामा पुुर्‍याउन शिक्षा दिन्छ ।

बाहिरी विश्वलाई नियन्त्रण गर्ने सामथ्र्य व्यक्तिमा त्यति नहोला तर अन्तरमन (आन्तरिक विश्व) लाई गुल्जार बनाएर आत्मानन्द (सेल्फ एक्चुुएलाइजेशन) मा पुुर्‍याउन यसले दिने ऊर्जा अनौठो छ ।

राजनैतिक, दार्शनिक र विशिष्ट विद्वान्हरूका आत्मकथाहरूले समाजलाई शिक्षा, शक्ति र साहस दिएका छन्, इतिहास बताएर भविष्य निर्माणको बाटो देखाएका छन् । ती आफैंमा महान् अनुुभव हुन् । आत्मकथामा आएका ती अनुुभवहरू अब सबैका साझा विषय बनेका छन् । आत्मकथाले महान् कथाहरूलाई साझा गर्ने महान् काम गर्दछ । सच्चा इतिहास र समाजका सादाचित्र उतार्ने गर्दछ ।

आत्मकथाको अर्को पाटो पनि हेरौं । कला-अभिनय (ग्ल्यामर) क्षेत्रमा ख्याति कमाएका (सेलिब्रेटी) हरूको आत्मकथाले नलेखिएको, नदेखिएको, लुकाइएका र दबाइएका कुराहरू बाहिर ल्याएर त्यस क्षेत्रमा लाग्नेहरूलाई व्यावसायिक पवित्रता कायम गर्न शिक्षा दिंदै आएको छ ।

रङ्गीन क्षेत्र (रङ्गमञ्च र डिजिटल पर्दा) मा धेरै नसुनिएका र नदेखिएका विषय हुन्छन् । जोनिफर लोपेज, एन्जोलिना जोली, एलिजावेथ स्टामाटिना फे (टिना फे), ब्रिट्नी स्पेयर्स, ब्राड पिट, पप सम्राट माइकल ज्याक्सन, पप साम्राज्ञी म्याडोना जस्ता ख्यातिको शिखर चुमेका कलाकारहरूको आत्मकथाले अभिनय/गायन क्षेत्रमा उनीहरूले गरेको संघर्ष र पाएका पीडाहरू बाहिर्‍याएर भावी पुस्तालाई पेशागत पवित्रताको मार्गदर्शन गरेका छन् ।

यस शताब्दीकी विख्यात पप स्टार, सर्वाधिक रुचाइएकी गायिका ब्रिट्नी स्पेयर्सको ‘द ओमन इन मी’ ले महिला हुनुुको विशिष्ट अनुुभूतिका साथ जटिलता र दायित्व, त्यसमा पनि एउटी नशालु गायिका, सेलिब्रेटीका छुपाइएका, लुकाइएका कुराहरू आफैंले बाहिर ल्याएकी छन्, जुन सामान्य मानिस भनौं उनका प्रशंसकको भीडले थाहा सुुइँको पाएको थिएन ।

समाजले उनलाई देवत्वकरण नै गरेको थियो । तर ब्रिटने भित्रकी नारीले प्रेम, सङ्घर्ष, रोमान्स, गर्भपतन, अरूको आश्रय, भावावेग, रेगिङ, सामाजिक निगरानी लगायतका उतारचढाव भोगेको थियो, त्यसलाई आफैंले बाहिर ल्याएकी छन् । एउटा सेलिब्रेटी, यौवना, नारी, ख्यातिको शिखर चुमेकी गायिकाले पनि समाजमा कसरी थुनिनुपर्छ, आफैंभित्र कसरी कैद हुनुुपर्छ भन्ने प्रकाशन हो यो ।

आजभोलि आत्मकथा वा संस्मरण लेखनको प्रवृत्ति बढेको छ । साहित्यिक मात्र नभएर विभिन्न वृत्ति तथा व्यवसायमा लागेका व्यक्तिहरूले आफू वा सहयोगी लेखक (घोष्ट राइटर) मार्फत आफ्ना कुराहरू लेखाइरहेका छन् । यस अवस्थामा ती आत्मकथा वा आफैंले अन्तरबोध गरेका, आफ्नै मथिङ्गलमा प्रशोधित भएका आत्मवृत्तान्त हुन् कि होइनन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ

त्यस्तै चर्चा र वाह्वाहीको शिखर चुमेकी भारतीय चलचित्र अभिनेत्री निना गुप्ताले आफ्नो आत्मकथा ‘सच कहूँ तो’ भारतीय रङ्गसमाजमा अभिनेत्रीहरूले सामना गर्नुपर्ने भौतिक–भावनात्मक हिंसा (कास्टिङ काउच) र यसका मानसिक उत्पीडनलाई बाहिर ल्याएकी छन् । उनका चलचित्र निर्देशकले राखेको यौन प्रस्तावले उनमा सिर्जना भएको मनोत्रास उनका निजी पीडा मात्र नभै यसले साझा गरेका विषयबाट चलचित्र क्षेत्रलाई मर्यादित बनाउने शिक्षा र सावधानीको बाटो देखाएको छ ।

निना गुप्ता जस्तै मल्लिका शेरावत, दिव्यन्का त्रिपाठी, सुविन चावलाले पनि रङ्गसमाजका नदेखिएका कुरालाई उजागर गरेका छन् । निनाको ठीक विपरीत शोनाली बेन्द्रेको ‘गुरुकुुलको सम्झना’ ले अभिभावकत्व र उत्प्रेरणाको आदर्श उदाहरण दिएको छ । जेनिफर लोपेजको ‘सच्चा प्रेम’ सफलताका लागि चाहिने प्रेम र प्यासनको प्रस्तुति गर्दछ ।

पप सम्राट माइकल ज्याक्सनको ‘मुन वाक’ ले घृणाले भरिएको विश्वमा सफलता चुम्न चाहिने हिम्मतका कथाहरू उल्लेख गर्दछ । यस्ता आत्मकथाले नराम्रा कुराहरू परित्याग गर्न र राम्रा व्यवहारलाई अपनाउन बाटो देखाउँदै आएको छ ।

‘वी वेएर ड्रिमर एन इम्मिग्रेन्ट सुपरहिरो ओरिजन स्टोरी’ मा सिमी लिउले चीनदेखि हलिउडसम्मको खतरनाक सङ्घर्ष यात्रा गरेर सुुपरहिरो बनेको आफ्नै कथा लेखेका छन्, त्यो पनि इमानदार भएर । यसले बेग्लै संस्कृति, संस्कार र परिवेशमा पुगेकाहरूका सपनाहरू कसरी यथार्थमा परिणत गर्न सकिन्छ भन्ने अजस्र प्रेरणा डायस्पोरिक समाजलाई दिएको छ ।

नलेखिएका आत्मकथाहरू

सबै व्यक्ति, पेशाकर्मी र महान् व्यक्ति आत्मकथा लेख्न मन पराउँछन् भन्ने छैन । साहित्य सर्जक, पेशा व्यवसायी, समाजसेवी र राजनेताहरूका प्रशस्त आत्मकथाहरू विभिन्न भाषा र माध्यमबाट प्रकाशनमा आएका छन् । यसबाट समाज मनग्य लाभान्वित भएको छ । तर वैज्ञानिक तथा आविष्कारकहरूका आत्मकथाहरू विरलै लेखिएका छन् । अमेरिकी वैज्ञानिक बेञ्जामिन फ्रेन्कलिनको आत्मकथा प्रकाशित भएको थियो ।

अन्य वैज्ञानिक तथा आविष्कारका अनुुभवहरूबाट समाज लाभान्वित हुन पाएको छैन । फ्रेन्कलिन वैज्ञानिकका साथसाथै प्रशासक (हुलाक विभागका महानिर्देशक) कूटनीतिज्ञ (फ्रान्स तथा स्वीडेनका लागि अमेरिकी राजदूत) र राजनीतिकर्मी (संविधानसभा सदस्य र फेलाडेल्फियाका गभर्नर) थिए । वैज्ञानिक र आविष्कारकका आफैंले लेखेका जीवनवृत्तान्त खासै छैनन् । रोस नाजिर उल्लाहले ‘महान् वैज्ञानिक दयनीय पक्षहरू’ मा ४२ वैज्ञानिकहरूको जीवनका कठिन आयामहरू उद्घाटन गरेका छन् तर वैज्ञानिकहरूले आफैंले लेखेका आत्मकथा भएका भए पछिल्ला पुस्ताका वैज्ञानिकहरू पनि लाभान्वित हुन पाउने थिए ।

वैज्ञानिक र आविष्कारकहरूको जीवनमाथि केही चलचित्रहरू भने निर्माण भएका छन् । जस्तो कि गणितज्ञ जोहन नासको जीवनमा आधारित ‘ब्यूटिफूल माइन्ड’ सूक्ष्मजीव वैज्ञानिक लुुई पास्चरमा आधारित ‘लुुई पास्चरको जीवन कथा’, म्याडम क्युरीको जीवनमा ‘म्याडम क्युरी’, एलान टुरिङमा आधारित ‘दि इमिटेसन गेम’ श्रीनिवास रामानुजनमा आधारित ‘द म्यान हू नो इन्फिनिटी’, नासा वैज्ञानिक होमर हिक्काममा आधारित ‘अक्टोबर स्काइ’ जे रबर्ट ओपनहाइमरमा आधारित ‘ओपनहाइमर’, चाल्र्स डार्बिनमा आधारित ‘क्रिएसन’ जस्ता कौतूहल, शिक्षा र साहसका रोमाञ्चक चलचित्रहरू बनेका छन् ।

यस्ता आविष्कारकहरू जसको दिमागी नतिजामा विश्वले सुख–सुविधा उपयोग गरिरहेको छ, उनीहरूले ती आविष्कार र खोज गर्न के–कस्ता कामहरू गरेका थिए भन्ने आफैंले आफ्ना आत्मकथा लेखेका थिए भने संसारलाई सुखमय बनाउन भावी पुस्ताका जिज्ञासु खोजकर्तालाई दिमागी खुराक हुनेथियो । उनीहरूले पूरा गर्न बाँकी कुराहरू पूरा गर्न सजिलो हुुनेथियो ।

आइन्स्टाइन, स्टेफेन हकिन्स, निकोला टेस्ला, थोमस अल्वा आडिसन, युरी गागरिन, विलियम हार्वे, जोसफ प्रिस्टले, स्टिभ जब्स, माकल फेराडे, एपिजे अब्दुल कलामहरूका आत्मकथाबाट विश्व निकै लाभान्वित हुनेथियो । जीवनकालमा उनीहरूले काम र संघर्षमै बिताए, अन्य कुरा सोच्न न उनीहरूको अभियानले सम्मति दियो वा प्राथमिकतामा पनि परेन । त्यसैले उनीहरूको जीवनपछि उनीहरूको अनुुभव सञ्चय गर्न सकिएको छैन । समाजमा धेरै आवश्यक कामले त्यति प्राथमिकता नपाउने र सामान्य कुराले बढी प्राथमिकता र प्रचार पाउने प्रवृत्तिलाई पनि यसले देखाएको छ ।

नेपाली साहित्यमा आत्मकथा

नेपाली आत्मकथाको इतिहासको विस्तृत खोज अनुसन्धान भएको छैन, साथै आत्मकथाका विषयमा समान मत पनि छैन । कतिपय विद्वान्हरूले १८३१ सालको पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आत्मकथा मानेका छन् । तर आत्मकथाका विशेषता समेटिएको चिरञ्जीवी शर्मा पौडेलको १९७४ सालमा लेखिएको ‘आफ्नूकथा’ पहिलो आत्मकथा हो । विश्वेश्वरप्रसाद कोइरालाको ‘आफ्नो कथा’ (२०४०) मा प्रकाशित आत्मकथा सर्वाधिक चर्चित आत्मकथा हो ।

त्यस्तै बालकृष्ण समको ‘मेरो कविताको आराधना’, जगदीश घिमिरेको ‘अन्तरमनको यात्रा’, रमेश विकलको ‘मेरो अविरल जीवन गीत’, पारिजातको ‘धुपी, सल्ला र लालीगुराँसको फेदमा’, कृष्णप्रसाद भट्टराईको ‘मेरो म’, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’, झमककुमारीको ‘जीवन काँडा कि फूल’, धनुषचन्द्र गौतमको ‘सम्झनाका गल्छेडाहरू’, राधाकृष्ण मैनालीको ‘लुटिएका दुुई थुँगा फूल’, मञ्जुलको ‘पहाड जस्तो बाटो जस्तो म’, कृष्ण धरावासीको ‘आधा बाटो’ नयनराज पाण्डेको ‘यार’, नरेन्द्रराज पौडेलको ‘सिडिओका सत्र वर्ष’ लक्ष्मणप्रसाद रिमालको ‘बितेका ती दिन’ खड्गमान सिंहको ‘जेलमा बीस वर्ष’ टेकनाथ रिजालको ‘निर्वासन’ विनोद चौधरीको ‘विनोद चौधरी’, अच्युतकृष्ण खरेलको ‘अच्युतकृष्ण खरेल’, नेपाली वाङ्मयका चर्चित केही आत्मकथा र संस्मरण हुन् ।

आत्मकथा साहित्यकार र राजनीतिक व्यक्तित्वहरूको वर्चस्व रहँदै आएकोमा विभिन्न पेशा व्यवसाय र सामान्य जीवनको भोगाइलाई उल्लेख गरेर संस्मरणात्मक विवरणहरू लेख्ने चलन निकै बढेको छ । यसले आत्मकथालाई सर्वसाधारणसम्म पुुर्‍याएको छ, जुन निकै राम्रो हो । अर्कोतर्फ आत्मकथाको स्फिति भएको छ, जुन त्यति राम्रो होइन ।

आत्मकथा आफू पात्रको कथा बन्ने परिस्थितिबाट कसरी जोगाउने भन्ने अर्को चुनौती देखिंदैछ । कथा र आत्मकथामा धेरै भिन्नता छ । तर आत्मकथाकार आत्मकथा लेख्ने नाममा आफू पात्रको कथा लेख्न उद्यत भएको देखिन्छ । नन्फिक्सन भए पनि फिक्सन जस्तो हुन थाल्यो

एउटा संरचना र भावनामा रहेर लेखिएका आत्मकथा राम्रो हुन्छ । उपलब्धि र संघर्षका यात्रा भएका आत्मकथाले समाजलाई उपयोगिता दिन्छ । आत्मकथा सिर्जना, संघर्ष, सफलता जस्ता कुराहरूलाई बताउने र आत्मकथाको आत्मत्व भएको कृति भएमा मात्र त्यसले सर्जक पाठक सबैलाई न्याय गर्छ । तर पछिल्लो समय सहयोगी लेखकबाट लेखिएका, आत्मरति र आत्मप्रशंसा गरिएका, आत्मकथाको चारित्रिक गहिराइमा नपुुगेका संस्मरण आलेखहरू प्रकाशन हुने गरेको छ ।

पूर्व प्रशासक, राजनीतिकर्मी र व्यवसायीहरूका यसप्रकारका आलेखहरूमा आफ्ना कमजोरी र गल्तीहरू उल्लेख गरिएको पाइँदैन भने नभएका कामको जस लिन खोजिएको र तथ्यहरूलाई बङ्ग्याइएको पनि पाइन्छ । मुख्य रूपमा उल्लेख गरिएका व्यक्तिको निधन भएपछि प्रकाशित भएका आलेखहरूले लेखकको महत्वसिद्ध गर्ने क्रममा अरूप्रति अन्याय गरेको पनि भेटिन्छ ।

तथ्य–जाँच गर्ने अवसरहरू साँघुुर्‍याइएको पाइन्छ । व्यक्तिको मृत्युपछि प्रकाशनमा आएका आत्मकथा बेवारिस जस्ता देखिएका छन् । यी प्रवृत्तिले आत्मकथा नाममा प्रकाशित कृतिहरू आत्मरति र आत्मश्लाघाका बखान लाग्न सक्छन् । यसले विधा, व्यक्ति र विषयलाई न्याय गर्न सावधानी अपनाउनुपर्ने आवश्यकता देखाएको छ ।

फ्योदोर दोस्तोभ्एस्कीले आग्रह गरेका थिए ‘सबैभन्दा ठूलो कुरा आफैंलाई नढाँट’ (एवोभ अल, डन्ट लाई टुयोरसेल्फ) । अब्राहम लिङ्कनले भने झैं आफ्नो लागि आफैंले लेख्नु असजिलो र अभिरुचि दुवै हो । अभिरुचि मात्र राखेर असजिलो काम गर्न सकिंदैन । यसका लागि न्याय गर्ने सामथ्र्य र सत्यप्रतिको निष्ठा चाहिन्छ । सुकरातले भने झैं हामीले बारम्बार गर्ने काम हामी हौं । त्यसकारण उत्कृष्टता कार्य होइन, बानी हुने गरेको छ । त्यो बानी र अभिरुचिबाट बाहिरिएर सहनशीलता, संयम र समाजप्रतिको समर्पण सामथ्र्यले आत्मकथा भनिए जस्तो बन्दछ । यो रहर भन्दा सामर्थ्य र प्रज्ञाको विषय हो ।

आत्मकथा लेखनका चुनौती

इतिहास, साहित्य र आत्मप्रकाशनको प्रवृत्तिबाट लेखन सुरु भएको आत्मकथा चरित्र, पहिचान, आत्मप्रकाशन र आत्मप्रतिनिधित्वका कतिपय आयाममा आलोचनामा पर्दै आएको छ । अरूको पात्रमाथि कथा लेख्दै आएका सर्जकहरू आफैं पात्र बनेर लेखिंदा आत्मकथाका आधार चरित्रबाट बाहिरिन थालेका छन् । घटना र भोगाइभन्दा विचार र भावनाको उरोल राख्ने प्रवृत्ति पनि छ । यसैले गर्दा पनि आत्मरति र आत्मप्रशंसाले आत्मकथालाई विस्थापन गर्न पुुग्छ ।

आजभोलि आत्मकथा वा संस्मरण लेखनको प्रवृत्ति बढेको छ । साहित्यिक मात्र नभएर विभिन्न वृत्ति तथा व्यवसायमा लागेका व्यक्तिहरूले आफू वा सहयोगी लेखक (घोष्ट राइटर) मार्फत आफ्ना कुराहरू लेखाइरहेका छन् । यस अवस्थामा ती आत्मकथा वा आफैंले अन्तरबोध गरेका, आफ्नै मथिङ्गलमा प्रशोधित भएका आत्मवृत्तान्त हुन् कि होइनन् भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

‘आत्मा’ नभएका आत्मकथा हुन्छन् र भन्ने प्रश्न पनि उठाएको छ । साथै कतिपय सामान्य उमेरमै लेखिएका छन्, आफ्नो पहिचान प्रतिष्ठाका लागि लेखिएका छन् भने कतिपय आफैंप्रति न्यायनिष्ठामा देखिएका छैनन् । यसले आत्मकथाको परिभाषालाई पुनर्बोध गर्नुपर्ने सवाल पनि जबर्दस्त उठाएको छ ।

साहित्य स्रष्टाहरू आत्मकथा प्रायः आफैं लेख्न सक्छन्, लेख्ने गर्छन् । लेख्न नभ्याउने अवस्थाका व्यक्तिहरू, समय दिन नसक्ने व्यवसायी, राजनीतिकर्मी र समाजसेवीहरूका आत्मकथाहरू सहयोगी लेखक मार्फत आउने गर्दछन् । सिर्जनालाई समय र सामथ्र्यले सम्मति दिनुपर्छ । त्यसो नहुँदा त्यही अभाव सहयोगी लेखकले पूरा गरिदिन्छ । मृत्युुको देशमा जीवनको कथा लेख्नु असजिलो कुरा भएको कुरा घोष्ट राइटिङ प्रशिक्षण चलाइरहनुभएका किताब कुञ्जका संस्थापक कमल ढकालको तर्क छ ।

घोष्ट राइटिङले दुुई कुरा गरिरहेको छ, पहिलो जीवनका अमूल्य कुरा, संघर्ष र विचारलाई संस्थागत गर्दछ, दोस्रो अक्षरको उद्योगलाई पनि व्यावसायिक रूप दिन्छ । तर कसैको विषयमा सहयोगीले लेख्दा पात्रको भावना, संवेग र अनुुभूतिलाई अन्तरबोध गर्न लेखकमा छिर्न, उससँग डुब्न र त्यही स्थितिको विचरण गर्न सक्ने खुबी र कला चाहिन्छ । अन्यथा सहयोगी लेखन बुझिए जस्तै घोष्ट राइटिङ (भूत लेखन) बन्ने गर्दछ, लेखनमा आत्मत्व रहँदैन । आत्मा नभएको आत्मकथा कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ ।

आत्मकथा लेखन विस्तारै मिश्रित (हाइब्रिड) लेखनमा पुुग्ने खतरा पनि छ । भनिएका आत्मकथाहरू कति आख्यान–उपन्यास जस्ता, कतै नियात्रा जस्ता त कतै संस्मरण जस्ता देखिन थालेका छन् । आत्मकथाको मौलिकपन कायम राख्न यो ‘निख्खर आत्मकथा’ नै बन्नुपर्छ । सिर्जना विधा/प्रविधाहरू आ–आफ्नै मौलिक विधामा रहन्छन् । भनाइ र गराइमा भिन्नता आएमा त्यो मिसमास बन्न सक्छ ।

जस्तो कि संस्मरण र आत्मकथा बीचको भिन्नता ठम्याइ आत्मकथा भनिदिनु विधामाथि पनि अन्याय हो । सबै प्रकारका गैरआख्यान निजी अनुुभवका लेख आत्मकथा होइनन् । न दैनिकी नै आत्मकथा बन्न सक्छन् ।

आत्मकथा आफू पात्रको कथा बन्ने परिस्थितिबाट कसरी जोगाउने भन्ने अर्को चुनौती देखिंदैछ । कथा र आत्मकथामा धेरै भिन्नता छ । तर आत्मकथाकार आत्मकथा लेख्ने नाममा आफू पात्रको कथा लेख्न उद्यत भएको देखिन्छ । नन्फिक्सन भए पनि फिक्सन जस्तो हुन थाल्यो । कथाका पात्रले आख्यानिक चरित्र देखाउँछ तर आत्मकथा आफ्नो कालक्रमिक घटनामा सादा यात्रा गर्दछ । कथाकारको व्यक्तित्वले आत्मकथालाई थिच्नुहुँदैन ।

आत्मकथा सामाजिक सम्मति र स्वीकार्यताको विषय पनि हो । त्यतिखेर मात्र यो लेखाइले सामाजिक सम्मति र स्वीकार्यता प्राप्त गर्दछ जब त्यसको आधार सत्यमा हुन्छ । सामाजिक अन्तरबोध त्यतिबेला गर्छ जब सर्जक समाजलाई केन्द्रविन्दुमा राखेर आफूपात्रले खेलेको भूमिकालाई उठाउँछ । शिल्पसन्धानले आत्मकथालाई सम्प्रेष्य बनाउँछ । जब त्यसको सामाजिक उपयोगिता पनि हुन्छ अनि कालजयी स्वीकार्यता प्राप्त गर्छ । त्यसैले आत्मकथा लेख्दा विषयवस्तुमा चुर्लुम्म डुबेर आत्मविचरण गर्नुपर्छ ।

आत्मकथाकारले विधाप्रति न्याय गरेन भने त्यो आत्मश्लाघा वा आत्मप्रशंसाको थुप्रो बन्छ । नेपाली वाङ्मयमा पछिल्लो समय देखिएका पूर्व प्रशासक, व्यवसाय, राजनीतिज्ञका आत्मकथा भनिएका प्रकाशनमा आत्मतुष्टि पूरा गर्ने, आफ्नो महत्व देखाउने, नभएका कुरालाई प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ । कतिपय प्रसंगले उल्लेख भएका व्यक्ति र प्रणालीमाथि अन्याय समेत गरेको छ । यो प्रवृत्तिले आत्मकथा उपविधालाई नै प्रश्न उठाएको छ ।

– क्षितिज मार्ग, शङ्खमूल, काठमाडौं





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School