आँपको मौसममा मिठाई नखानेहरू

आँपको मौसममा मिठाई नखानेहरू


इन्सानके हाथो के बनाई नही खाते  

हम आमके मौसममे मिठाई नही खाते।

भारतका प्रसिद्ध सायर मुन्नवर राणाको यो सायरीको भाव हो– आँपको मौसममा म मान्छेले बनाएको मिठाई हैन प्रकृतिले पकाएको आँप खान्छु। उनले भनेझैं यो आँपको मध्य मौसम हो। यति बेला थुप्रै ‘मुन्नवर’हरू भेटिन्छन्। उनीहरूलाई ‘सायराना’ लवज त आउँदैन। तर हलवाईले बनाएको मिठाईभन्दा प्रकृतिले बनाएको आँप प्यारो लाग्ने सोझै बताउँछन्।

‘पानी परेपछि असारमा जब आँप निस्कन्छ, मेरो मन भित्रैबाट खुसी हुन्छ,’ सिन्धुली घर भई गोठाटार बस्दै आएका मनोज धमला भन्छन्, ‘पाकेको आँपलाई बजारको कुनै मिठाईले भेट्दैन।’ राजधानीमा शुक्रबार आयोजित ‘प्रथम नेपाल आँप फेस्ट’ मा आएका माल्द आँपका पारखी धमला यो मौसममा जुनसुकै जातको भए पनि स्वादिष्ट हुने सुनाउँछन्। ‘मलाई त सिंगो आँप नकाटी मुखैले टोकेर खान मन लाग्छ,’ उनी भन्छन्, ‘मुठीमा रहेको आँप मुखमा लगेर टोक्नुको रमाइलो नै बेग्लै छ।’

आँपका अर्का पारखी हुन कपनका केदार बराल। ओखलढुंगामा जन्मेका बराल राजधानी आएको तीन दशक भइसक्यो। बाल्यकालमा गाउँको आँप खाएर रमाएका उनी राजधानी आएपछि थरथरीका आँपमा रमाउँदैछन्।

‘पहाडको आँप अमिलो भए पनि निकै स्वादिलो,’ राजधानीमा आयोजित आँप महोत्सवमा आएका बरालले भने, ‘राजधानीमा आएपछि झन् थरी–थरीका आँप।’ महोत्सवमा आँप किनेर जाँदै गरेका उनले घरमा रहेका ८० वर्षका बा–आमालाई पनि आँप निकै मन पर्ने सुनाए। ‘उहाँहरूले निकै स्वाद मानेर आँप खानुहुन्छ,’ उनले भने, ‘त्यसैले राम्रो आँप खोज्दै यहाँ आए।’

आँप वृद्ध, युवा र बालक सबैले मन पराउँछन्। केएमसी कलेजमा कक्षा १२ मा पढ्ने प्रनिशा रिजाल पनि आँप भनेपछि हुरुक्कै हुन्छिन्। ‘आँपलाई चिरा पारेर चम्चाले निकालेर खानुको मज्जा बेग्लै छ,’ साथीभाइसँग आएकी उनले किनेको आँप देखाउँदै भनिन्, ‘मलाई मन पर्ने मिठाई बर्फी हो तर अहिले सबैभन्दा आँप मन पर्छ।’

उनी आँपको सिजनमा कुनै पनि मिठाई नखाने गरेको सुनाउँछिन्।’ उनी दही–चिउरा, ओट तथा अन्य परिकारसँग पनि आँप मिसाएर खाने गर्छिन्। ‘आँपले मेरो सबै परिकार मिठो बनाएको छ,’ उनले हाँस्दै भनिन्, ‘आँपको सिजन कहिल्यै नसकिए पनि हुन्छ।’ उनले यसो भने पनि आँपको सिजन लामो समयसम्म नरहने किसान सुनाउँछन्।

नेपालमा आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतबाट आँप आयात गर्नुपर्ने बाध्यता छ। ‘राज्य आँप किसानका के समस्या छ भन्नेमा अनभिज्ञ छ,’ धनुषाका किसान पवन घिमिरे भन्छन्, ‘भण्डारणको अभावमा आँप लामो समय टिक्न सकिरहेको छैन।’

५ सय बोट लगाएर वार्षिक ८ लाख आम्दानी लिइरहेका घिमिरे राज्यले सहयोग गरे आँपलाई विभिन्न तरिकाबाट लामो समयसम्म राख्न सकिने बताउँछन्। ‘आँपबाट अचार, आँपको पाउडर, डिहाइड्रेट म्यांगो आदि तयार गरेर पनि आम्दानी लिन सकिन्छ। अन्य परिकार बनाएर पनि किसानलाई जोगाउन सकिन्छ,’ उनले भने, ‘यसतर्फ राज्यको ध्यान जानु जरुरी छ।’

दुई मिनेटमा ८ आँप कपाकप

शुक्रबारको आँप महोत्सवमा आयोजित आँप खाने प्रतियोगिता निकै रोचक थियो। आठवटा माल्द आँप दुई मिनेटमा खाइसक्नुपर्ने नियमका कारण प्रतियोगिता नियाल्न धेरै उत्सुक देखिए। सहभागीले हातैले छोडाएर कपाकप पाकेको आँप खाँदै गरेको दृश्यले धेरैको मन छोएको थियो। खाने र हेर्ने दुवैको अनुहार आँपमय बन्यो।

प्रतियोगितामा मनिराज कार्की र रिचा गौतमले दुई मिनेटभन्दा कममा ८ वटा आँप खाएर आँपै पुरस्कार हात पारेका छन्। ‘मलाई आँप निकै मन पर्छ,’ मनिराजले हाँस्दै भने, ‘आँप अगडि देखेपछि कपाकप खाइहालें।’ आँप जति खाए पनि नअघाउने उनले बताए।

आँपको पानी पुरी

आँप महोत्सवमा धेरै युवतीको ध्यान आँपले भन्दा पनि आँपको रस र गुदी राखेर बनाएको पानीपुरीले खिच्यो। प्रतिगोटा ३० रूपैयाँ पर्ने पानी पुरी सबैले मज्जा मानेर खाइरहेका देखिन्थे। ‘निकै नौला स्वाद लाग्यो,’ अर्चना पराजुलीले भनिन्, ‘पहिलो पटक पानीपुरीको फरक स्वाद भेटे।’

आँपका किस्सा

आँपका धेरै किस्सा छन्। आँपलाई फलको राजा भनिन्छ। त्यसैले यो मौसममा मिठाई मात्र हैन, स्याउ केराको समेत बिक्री कम भएको कमलादीस्थित फल पसले राजु यादवले बताए। ‘अहिले ८० प्रतिशतभन्दा बढी आँप किन्न आएका छन्,’ उनी भन्छन्, ‘यसमा पनि आँपको राजा माल्द किन्नेको संख्या धेरै छ।’

त्यस्तै ‘आए आँप गए झटारो’ भन्ने उखान नै चल्तीमा रहेको छ। सफलतालाई पनि आँप जत्तिकै मिठो ठानेर यस्तो उखान चलेको हो। आँपको मूल्य पनि देश र भूगोल अनुसार थरथरीका हुन्छन्। अहिले चल्तीको आँपको मूल्य काठमाडौंमा किलोको १ सय रूपैयाँभन्दा तल झरेको छ। कसैले त सयको डेढ किलोसमेत दिन थालेका छन्।

अन्तर्राष्ट्रिय बजारमा केही अपवाद आँपको मूल्य लाखौं रूपैयाँसमेत पर्ने गरेको समाचार बेलाबेलामा आउँछ। जापानमा पाइने मियाजाकी आँप उत्पादनको तरिका आदिका कारण अत्यन्त महँगो हुन्छ। यसलाई अचेल भारत र नेपालमा पनि केही किसानले उत्पादन गर्न थालेका छन्।

२०२३ जुलाई २८ को लाइभमिन्टडटकमका अनुसार प्रतिकिलो मियाजाकी जातको आँपको मूल्य २.५ देखि ३ लाख भारतीय रूपैयाँ पर्ने गरेको छ। यसको अद्वितीय स्वाद र औषधीय गुणका कारण अन्तर्राष्ट्रिय बजारमा ठुलो माग छ।

मियाजाकी आँप महँगो हुनुको अर्को कारण प्रत्येक दानाको उत्पादनमा विशेष ध्यान दिनुपर्छ। यसलाई सानो जातिभित्र राखेर किराबाट जोगाउने र बोटमै पाकेपछि खानयोग्य हुन्छ। यस्तो आँप आफैं बोटबाट झारेर जालीमै अड्काइन्छ। यस्तो आँप तापक्रम, आद्रता र सौर्यकिरणलाई आवश्यकताअनुसार मात्र दिएर उत्पादन गरिन्छ।

आँप कूटनीति

आँप राम्रोसँग उत्पादन हुने कतिपय मुलुकले ‘म्यांगो डिप्लोमेसी’ अर्थात् आँप कूटनीति गर्छन्। आफ्नो मुलुकमा फलेका स्वादिला आँप संसारका प्रभावशाली व्यक्तिलाई पु¥याएर तिनले यो फलमार्फत आफ्नो प्रभाव विस्तार गर्छन्। यसमा अग्रणी मुलुक रहेको छ, पाकिस्तान।

उसले प्रत्येक वर्ष विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख मात्र होइन, त्यो देशका अन्य प्रभावशाली व्यक्तिलाई समेत सद्भावको कोसेली पठाउने गर्छ। पाकिस्तानी अखबार द नेसनका अनुसार सन् २०२१ मा पाकिस्तानले भारत, श्रीलंका, नेपाल, अफगानिस्तान र अन्य देशमा यस्तो कोसेली पठाएको थियो।

रित्तो बोटमा आँपको किनबेच

तपाईंहरूले अहिले बजारमा आँपको किनबेच भएको देखिरहनुभएको छ। तर तराईमा भने आँपको किनबेच आँपको फूल फुल्नुभन्दा अगाडि नै हुन्छ। किसानका आँपको बोट किनेर ठेकेदारले पहिल्यै पैसा दिने गर्छन्।

‘बोट हेरेर आँपको कारोबार हुने तराईको पुरानै चलन हो,’ वीरगन्ज–३२ का विजय पन्जियार भन्छन्, ‘अहिले तराईको गाउँ र बजार आँपमय भएका छन्।’

आँप पारखी उनी हरेक आँप स्वादिलो हुने सुनाउँछन्। प्राकृतिक ढंगबाट पाकेको आँप सबै मिठो हुन्छ,’ उनले भने, ‘जब रसायन हालेर पकाइन्छ तब आँपको मज्जा कम हुँदै जान्छ।’

अझ उनी, आँपको बगैंचामा पुगेर बोट हल्लाएर आँप खानुको मज्जा बेग्लै रहेको सुनाउँछन्। ‘हामी गछपकुवा आम अर्थात् बोटमै पाकेको आँप भन्छौं,’ उनले भने, ‘त्यसको स्वाद संसारको कुने मिठाईले पनि भेट्दैन।’

आँप किन्दा होसियारी

बजारका लागि टाढा लैजानुपर्ने भएकाले नेपाल तथा अन्य देशमा पनि आँप काँचैमा टिपेर पकाउने गरिन्छ। आँप पकाउने होडबाजीमा प्रयोग गरेका रसायनले मानव जीवनलाई जोखिममा पार्न सक्छ। त्यसैले जानकारहरू बजारमा गएर पाकेको आँप किन्नुभन्दा हरियो आँप किनेर घरमै पकाएर खान सुझाव दिन्छन्।

आँपको मौसममा मिठाई नखानेहरू

‘यो जोखिम न्यूनीकरण गर्ने एउटा उपाय हो,’ आँपका जानकार गोपालप्रसाद श्रेष्ठ भन्छन्, ‘राज्य जिम्मेवार नभएका समयमा उपभोक्ता चनाखो बन्नुपर्छ।’

उनी उपभोक्तालाई आँपको मौसमबारे पनि जानकारी राख्न सुझाउँछन्। ‘जेठमा तपाईंले पाकेको माल्द खान खोज्नुभयो भने तपाईंले औषधि प्रयोग गरेको फल खाएको पक्का हुन्छ,’ उनले भने, ‘असार १५ पछि माल्द खानुभयो भने त्यो प्राकृतिक हुन्छ।’

त्यसैगरी बम्बइया, आम्रपाली, कलकत्तैदेखि भदैया आँपसम्मको मौसमबारे जानकारी राख्नुपर्ने उनको सुझाव छ। आँपको गुणस्तरमा टिप्नेदेखि ढुवानी र भण्डारणको व्यवस्थासम्मले असर पर्छ।

व्यवसाय गर्नेहरूले यसमा धैर्य अपनाउन नसक्दा यस्ता रसायन प्रयोग चलन बढेको उनको बुझाइ छ। ‘चार÷पाँच दिनसम्म तातो ठाउँमा बफाएर राख्ने हो भने कुनै रसायनको प्रयोग नगरी आँप पकाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर हतारका व्यापारीमा यो धैर्य भेटिन्न।’

उनले बजारमा आँप किन्दा सकेसम्म खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त हुने बताए। ‘आँप किन्दा सकेसम्म काँचो किन्नुहोस्,’ उनी भन्छन्, ‘ताकि घरमा लगेर आफैँले पकाउन सकियोस्।’ उपभोक्ताले बढी पाकेको आँप खोज्ने गरेका कारण व्यवसायीहरूले त्यस्ता रसायन प्रयोग गर्ने गरेको उनको बुझाई छ। ‘उपभोक्ताले धैर्य गर्ने हो भने व्यापारीले पनि धैर्य गर्छन्,’ उनी भन्छन्, ‘आँपलाई सुरक्षित बढाउने यही अचुक उपाय हो।’

प्रथम नेपाल आँप फेस्ट सुरु

किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा राजधानीमा शुक्रबारबाट ‘प्रथम नेपाल आँप फेस्ट’ सुरु हुने भएको छ। नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्‍याउनु फेस्टको प्रमुख उद्देश्य रहेको आयोजकले जानकारी दिए। विषादी प्रयोग गरिएको महँगा आँपहरू उपभोग गर्नुको सट्टा स्वदेशी उत्पादनलाई बढवा दिनुपर्ने आयोजकले बताए।

आयोजकका अनुसार फेस्ट काठमाडौंमा शुक्रबारदेखि आइतबारसम्म चल्नेछ। सर्लाही, सप्तरी र सिरहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गरिएको हो। फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका माल्द, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरीलगायत १५ भेराइटीका आँपहरू उपलब्ध छन्।

आँपको मौसममा मिठाई नखानेहरू

आँप फेस्टमा ग्राहकले आँपको स्वाद चाखेर पाँच र बिस किलोको बक्समा किन्ने सुविधा पनि हुनेछ। फेस्टको उद्घाटन पानीपोखरीस्थित वालनट बिस्ट्रोमा भएको छ। त्यसपछि काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादन प्रदर्शनी एवं बिक्रीमा राखिने आयोजकले जानकारी दिएको छ।

तीन दिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य आयोजकको रहेको छ। आँप फेस्टको नारा ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ रहेको छ।

‘किसानले उपभोक्ता र उपभोक्ताले किसानलाई माया गर्नुपर्ने अवस्था आएको छ,’ आयोजकमध्येका एक भुवन केसीले भने, ‘विषादी प्रयोग नगरिएको आँप केही महँगो लागे पनि किन्दा स्वास्थ्यलाई फाइदा हुनेछ।’

त्यस्तै नेपालमा विभिन्न होटेल तथा रेस्टुरेन्टले आँपका विभिन्न परिकार आफ्नो मेन्युमा राख्न थालेको पनि उनले सुनाए। ‘आँप सबैको प्यारो हो,’ केसीले भने, ‘सबैले आँपलाई माया गरौं।’

प्रकाशित: ८ असार २०८१ ०६:२९ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School