अस्पतालको भुइँमा सुतिरहेकी एक बिरामी

अस्पतालको भुइँमा सुतिरहेकी एक बिरामी


शनिबार अस्पतालमा राउन्ड गर्ने पालो थियो। बिहान हल्का वर्षा भएकोले मौसम शीतलै थियो। आकाशमा बादल ढपक्क ढाकिएको थियो। सिरसिर बतास पनि आफ्नो बाटोमा परेका सबैलाई स्पर्श गर्दै बहिरहेको थियो। सोझो भाषामा भन्दा, मौसम हिंड्नलायक थियो।

प्रायः शनिबार हिंडेरै अस्पताल पुग्छु। आज पनि हिंडेरै जाने निधो गरें। पेट घटाउन, प्रेसर, सुगर कम गर्न, मुटु जोगाउन बाटोमा हिंड्नेहरूको लस्कर भेटिए। कोही समूहमा त कोही एक्लै। कोही जोडी कुरेर बसेका छन्। अनेक स्वरूप र समूहमा मान्छेहरू आफ्नो जिन्दगी लतार्दै छन्।

म एकनाश हिंडिरहेको छु, मनमा कुराहरू खेलिरहेकै छन्। एउटा खुला मैदान छ, यो मन पनि … यदि कुराहरूको ओलम्पिकको खेल हुन्थ्यो भने, खेलाउने रंगशाला मेरै मन हुन्थ्यो होला। यति धेरै कुराहरू अटाउँछन् यो मनमा तर सधैं प्रश्न बनेर।

एकाध अवस्था बाहेक कुनै पनि प्रश्नको सही जवाफ भेट्टाएको छैन। वरपर हेर्छु– सडक, सवारी, पेटी, ढल, बिजुलीका पोल, झुन्डिएका तार, सडक बत्ती, जेब्रा क्रसिङ, ट्राफिक प्रहरी, वरपरका पसल, पसलेहरू, पसलमा बेच्न राखिने सामान, सडक किनारका बोटबिरुवा, फूलहरू, शहरिया पार्क, पोखरी, मन्दिर अनि भगवान् … अक्सर हरेक बाटोमा देखिने कुराहरू यिनै त हुन्। के के मात्रै कुराहरू खेल्दैनन् मनमा ? जे देख्यो त्यही विषयमा एउटा कथा नै तयार हुन्छ।

अस्पताल पुगें। कसैले याद गरे पनि नगरे पनि। अहिलेसम्म शनिबार अस्पताल गएकोमा, तेरो यति दिन सट्टा विदा छ भनेर कसैले भनेका छैनन्, आफूले खोजेको पनि छैन। मेरो काम हो, कर्तव्य हो भन्दै जाने, हाजिर पनि गर्ने गरेको छु। म शनिबार पनि आउँछु नि भन्ने प्रमाणका लागि भए पनि हाजिर मेसिनमा मुहार जुधाउँछु। एकपटक इमर्जेन्सीसँगैको शौचालयमा छिरेर मात्र वार्डतिर जान्छु। सधैंको रीत हो यो।

अस्पतालको अवस्था यो शौचालयले नै दर्शाउने हो। सबै सरकारी कार्यालयका शौचालयहरू, हाकिम र सेवाग्राहीका लागि समान पहुँचका बनिदिए अलि सफा रहन्थे कि भन्ने मेरो चाहना मसँगै मर्ने भो, यो पनि पक्का छ।

ढोका भन्दा अगाडिको गल्लीमा, ट्रलीमा एक दुई थान बेवारिसे लाश नदेखिए भने त लौ आज के अचम्म भयो भन्ठान्छु। एउटा लाश घरको लागि पदाधिकारीहरूसँग गुनासो गरेको वर्षौं भयो, खै कसैको प्राथमिकतामा यो परेन।

कम्तीमा मरेपछि त अलिकति सहानुभूति पाइने यो समाजमा यी बेवारिसे शवहरूले त त्यति पनि पाउँदैनन्। यहाँबाट कता जान्छन्, मलाई त्यति जानकारी पनि छैन। जे होस् शौचालय आज सफा थियो। भर्खर सफा गरेर गएका रहेछन् सफाइकर्मी, सन्तोषले। एक थैलो पिसाब फेरियो, अझ भनौं फ्याँकियो।

भित्तामा डेंगुका खानी लामखुट्टेहरू जात्रा मनाउँदै थिए। काठमाडौंमा मान्छेहरूले धेरै जात्रा मनाउँछन्, यिनले चाहिं किन नमनाउनु ? नाचगान चलिरहेको थियो, सायद भोज बिहानै सकिएको हुनुपर्छ! प्रायः यिनीहरू बिहानको समयमा मानव शरीरबाट रगत चुस्ने गर्छन्।

अस्पतालमा पक्कै डेंगुका बिरामी भर्ना भएका होलान्, यिनलाई नष्ट गर्न सकिएन भने अझ महामारी कति बढ्ने होला ? ओ हो, के–केको मात्र पिर गर्नु ?

फर्केर हेरेको मेरै जुत्तामा टाँसिएको माटोले, सफा गरेको भुईं फोहोर गरिसकेको रहेछ। कसलाई दोष दिऊँ अब ? कम्तीमा ढोका बाहिर केही थान डोरम्याटहरू भए, यो जुत्ताको फोहोर यति अनुशासनहीन हुन पाउँदैनथ्यो कि ? कसले ध्यान दिनुपर्ने हो यसमा कुन्नि ? सबैले हाम्रो नियति नै यही हो भनेर स्वीकार गर्ने त होला नि ! हुनत मेयर सा’बले शहर नै चिटिक्क पारिदिए जुत्तामा हिलो नै आउँदैनथ्यो कि है ?

वार्डमा पुगें। एक जना सिस्टर, बीस जना बिरामी, एउटै बेड खाली थिएन। साथीहरूलाई म नौ बजे आउँछु भनेको थिएँ, दश मिनेट अझै बाँकी रहेछ।

‘सिस्टर, म नै दश मिनेट छिटो भएँ, अलि एक राउन्ड बाहिर लगाएर आउँछु’ भनेर निस्केको। अस्पतालको एउटा कुनातिर पुगें, जहाँ प्रायः जाने काम पर्दैन। अनि यो दृश्य देखें, तस्वीर खिचें र आज केही लेख्छु सोचें। लेखुँ कि नलेखुँ, लेखेर के हुने हो र, नलेखे के हुने हो र ? मेरो मनमा जुन बेचैनीपनको ज्वारभाटा उठ्छ, त्यो शान्त हुने होइन, भोलि फेरि अर्को कहानी निस्किहाल्छ।

मेरा प्रश्नको जवाफ आउने पनि होइन, म अनुत्तरित नै रहने हो। यिनको जिन्दगीमा तात्विक परिवर्तन आउने होइन, देशभरिका भुईंमान्छेहरूको जिन्दगी यही हो। यथार्थता यही हो, नियति यही हो।

यी र यिनी जस्ताको नाममा राजनीति बन्द हुने होइन, चर्का भाषण बन्द हुने होइनन्। नेता जन्मिन छाड्ने होइनन्, उनीहरू आफ्नो उपचार गर्न भारत, सिंगापुर, चीन, जापान, थाइल्यान्ड जान छोड्ने होइनन्। मैले लेखेर, यिनको दुःख देखाइदिएर के हुन्छ र ? लेख्ने काम त कवि, साहित्यकार, पत्रकारहरूको हो, लेखन्दासहरूको हो, शिक्षक, विद्यार्थीको हो, मैले किन लेख्नु, मनमा यी भावहरू उछलकुद गरिराखे।

नौ बज्यो, राउन्ड सुरू गर्‍यौं। वार्डमा ज्वरो नाप्ने थर्मोमिटरसम्म नभएको, बिग्रिएको कुरो सुन्नु पर्‍यो। हरेक बिरामीका आफ्नै कथा छन्। कोहीको औषधि महँगो छ, कोहीका सन्तान छैनन्, कोहीको काठमाडौंमा घर छैन। सबैलाई उही जवाफ हो मेरो।

कसैका कुरूवा भागेका छन्, कसैका कुरूवा काममा गएका छन्, कतिलाई ज्वरो बढेको छ (कतिको डेंगु हो कि ?)। कसैको प्रत्यारोपण गरेको मिर्गौला फेरि बिग्रिएको छ, कसैको डायलाइसिस गर्ने बाटोहरू सबै खत्तम भएर अलपत्र परेका छन्।

अस्पतालमा सुत्ने खाट राख्नुलाई बेड थपेको भनियो, तर त्यो बेडमा बिरामी बनेर कोही सुतेपछि, उसले पाउनुपर्ने नर्स, डाक्टर, औषधि, उपचार, सहयोगी कसरी व्यवस्थापन गर्ने हो, कोही नीति निर्माताको आँखामा यो परेन।

कोही आईसीयूमा छन्। कसैको अस्ति नयाँ मिर्गौला राखिएको छ। कोही आमा २० वर्षे छोरोको डायलाइसिस कसरी निरन्तर गर्ने भनेर चिन्तित छन्, कोही छोरा एचआईभी संक्रमित आमाको कहाँ डायलाइसिस गराउने भनेर विलखबन्दमा छन्। कोहीको फिस्टुलाको डेट डेढ वर्षपछि छ। कोही केही हुन्छ कि भन्ने आशमा पाँचवटा अस्पताल दौडेर यहाँ आएका छन्।

‘तपाईंको नाम सुनेर आएका’ भन्दिने पनि छन् कोही त। यो आउने–जाने ठाउँ हो, हिजो, आज, भोलि यस्ता पात्रहरू यहाँ आइरहन्छन्, गइरहन्छन्।

कोही सदाकै लागि जान्छन्, कोही फेरि आउने गरेर जान्छन्। सबैको आशाको केन्द्र ‘म’ … म अर्थात् म जस्तै यहाँ जागिर खाने स्वास्थ्यकर्मी।

सबैलाई अनेक अनेक कहानी सुनाउँछु, रोग ठिक नभए पनि पीडा कम हुन्छ कि भनेर प्रयास गर्छु। संसारको पूरा व्यवस्थापन मेरो नियन्त्रणमा छैन हजुर भनेर पनि सम्झाउन भ्याउँछु।

प्रायः राउन्डबाट खिन्न भएरै निस्किने हो। खिन्न थर्मोमिटर नभएकोमा होइन, कठैबरा यी एक एक आत्माहरूको आशाहरू सुन्दा हाँस्न नसकेर हो। कति धेरै कुराहरू गर्नुपर्ने छन् हरेकका लागि, तर कति निरीह छु म।

हुनत सारा संसारको दुःख म एक्लैले सिउन सक्ने पनि होइन, तर पनि यतिका वर्ष राज्य, समाज निर्माण भन्दै, अनेकन् व्यवस्था खोजेको यो भूगोलमा किन केही प्रणाली बसाउन सकिएन ? शिक्षा, स्वास्थ्य, अपाङ्गता, बुढेसकाल … यतिको व्यवस्थापनमा यो राज्यले किन ध्यान दिन सकेन।

अस्पतालमा सुत्ने खाट राख्नुलाई बेड थपेको भनियो, तर त्यो बेडमा बिरामी बनेर कोही सुतेपछि, उसले पाउनुपर्ने नर्स, डाक्टर, औषधि, उपचार, सहयोगी कसरी व्यवस्थापन गर्ने हो, कोही नीति निर्माताको आँखामा यो परेन। खैर, आफूले सकेको गर्ने हो क्यारे भन्दै, कसैलाई गाली, कसैलाई घुर्की, कसैलाई माया, कसैलाई सान्त्वना … जेनतेन राउन्ड सकिन्छ।

घर आएँ माइक्रोमा चढेर। हाम्रा सार्वजनिक यातायातको वर्णन शेषनाग, सरस्वती वा ब्रह्मा स्वयम्‌ले पनि गर्न सक्दैनन्। मैले प्रयास पनि गरिनँ। भोग्नेहरूलाई थाहा छ, जो योसँग सरोकार राख्नुपर्ने हो, उनीहरू कहिल्यै यिनमा चढ्नुपर्दैन …। कथा खत्तम् !

खाना खाएँ, यसो पल्टिन्छु भन्ने विचार गरेको, त्यो बिहान खिचेको तस्वीर फेरि याद आयो। अहो, वास्तविक कहानी त त्यहाँ पो छ। लगभग दुई वर्षदेखिको म डाक्टर, उनी बिरामी, हाम्रो लुकामारी त त्यहाँ पो छ।

अब चाहिं पक्का लेख्छु, केही भए पनि नभए पनि, फरक परे पनि नपरे पनि। आखिर मेरो अस्तित्वसँग उनको पनि साइनो छ। मेरा भावनाहरूमा उनको पनि योगदान छ।

००० ०००

उनी हुन् कल्पना श्रेष्ठ। घर त के भनु ? ठेगाना सायद सिन्धुली हो। मिर्गौला फेल भएर डायलाइसिस गराइरहेकी एक पात्र। डायलाइसिस नियमित चल्छ, हप्ताको दुईपटक, वीर अस्पतालमा। सरकारले डायलाइसिस नि:शुल्क गरिदिएको छ। यस्तो मोरो देशमा सरकारले यति भए पनि गरेको छ है भनेर ढाडस दिने यही कुरो छ।

भलै यस पछाडिका कथा, यसभित्र जेलिएका पीडा आफ्ना ठाउँमा छन्। यो देशमा यसलाई कसरी सुधार्ने भन्दा, यसको जस कसले लिने भन्नेमा बहस बढी हुन्छ। सायद उनले भोट दिएको त्यसैको लागि होला, नत्र राज्यबाट के लिइन्, मलाई थाहा छैन।

पहिलो पटक हामीकहाँ भर्ना हुँदा, डिस्चार्ज गर्ने बेलामा मेरो त जाने ठाउँ छैन भनेर रून थालिन्। श्रीमान् त साथमै थिए, किन के भयो भनेर बुझ्न प्रयास गर्‍यौं। डेरा भाडा पनि नतिरेको र सिरियस बिरामी भएकोले ‘अब यिनी बाँच्दिनन्, हाम्रो घरमा मर्न दिन्नौं’ भनेर घरबेटीले निकालिदिएका रहेछन्। त्यसैबेला पत्रिकामा उनको समाचार बनेछ, ‘अस्पतालले जबरजस्ती निकाल्न लाग्यो!’ अहो कस्तो आपत् !

त्यसपछि आफैंले चिनेको व्यक्ति मार्फत एउटा संस्थामा सम्पर्क गरेर तीन महिनाको लागि बस्ने व्यवस्था मिलाइयो। श्रीमान् भएकालाई नराख्ने भन्दैथिए, मैले नै बिरामीलाई राखिदिनुस्, श्रीमान् आफ्नो व्यवस्था मिलाउलान्, अनि लिएर जालान् नि भनेर अनुरोध गरेको थिएँ।

सामाजिक सञ्जाल मार्फत नै केही सहृदयीहरूसँग अनुरोध गरेर अलिकति नगद पनि जम्मा गरिदिएर पठाएको थिएँ। केही दिनपछि नै उनलाई यही कुनामा सुतेको देखें। के भयो भनेर बुझ्दा त श्रीमान् त्यही संस्थामा आश्रित अर्की महिलासँग रंगेहात समातिएर त्यहाँबाट निकालिदिएका रे! (रे, हो। मैले सत्य जान्ने कोसिस गरिनँ।)

केही बोल्ने, गर्ने कुरो नै भेट्टाइएन, अवाक् भइयो। कहिलेकाहीं त्यो श्रीमान्‌को मनोभाव बुझ्ने कोसिसमा आफूलाई डुबाउन खोज्थें। उसका चाहना, आवश्यकताहरूको पनि कुरो त होला नि ? श्रीमती त बिरामी नै भइन्, उसको जिन्दगी के हो त? कम्तीमा उनलाई छोडेर हिंडेको त छैन नि ? यसो कहिलेकाहीं आफैंलाई चित्त बुझाउँथें। खै के हो, म कसैको भाग्य लेख्ने मान्छे होइन, यी कुरामा के दिमाग लगाउनु ?

फेरि मिर्गौलाको मात्र रोग भएको भए त नियमित डायलाइसिस पछि जिन्दगी लगभग सामान्य नै हुन्छ। बीस–पच्चीस वर्षसम्म डायलाइसिस गरेर जीवन लम्ब्याएका (वा मृत्यु लम्ब्याएका?) थुप्रै व्यक्तिहरू हुनुहुन्छ, हाम्रो नियमित निगरानीमा।

यिनको त रोगको सूची पनि कत्रो पो छ। एउटा विद्यार्थी उनको हेरचाहमा लगाइदियो भने, पूरा डाक्टर नै बनेर निस्किने, मेडिकल कलेज नै हुन् यिनी। अनि अस्पतालको त्यो कुनामा तीन जना सुत्छन् रे बेलुका। उनी, उनको श्रीमान्, अनि श्रीमानको सहयोगी (वा महिला साथी?) … भन्न त उसले श्रीमतीको सहयोगी भनेर चिनाउँछन् रे!

दिनभरी काममा जान्छन् रे, खै, के काम हो ? उनलाई यहीं सुताएर, बेलुका खाना ल्याइदिन्छन् रे, उनको लागि पनि (यो चाहिं मैले देखेको कुरो होइन, सुनेको मात्र हो) यो फोटो खिच्न र यो लेख्न मैले उनको सहमति लिएको छैन, विचरा उनलाई सहमति (कन्सेन्ट) भनेको पनि थाहा छैन। मैले भनें भने केही बोल्ने पनि होइनन्, भो चाहिं भन्दिनन्।

डायलाइसिसको दिनमा उनी सँगैको वार्डमा गएर डायलाइसिस गर्छिन्, अरू सबै समय त्यही कुनामा सुतेर बिताउँछिन्। खाना पाएकी छन्, कोठाको भाडा तिर्नुपर्दैन, डायलाइसिस भएकै छ। अलि रोगले च्याप्यो भने, हामी भित्र वार्डमा भर्ना गर्छौं। डिस्चार्ज भएपछि उनको जाने घर त्यही हो।

भर्ना भएको बेलामा श्रीमान्‌सँग भेट हुन्छ। अब उसको निजी जिन्दगीको बारेमा सोध्न पनि छोडें मैले। सोधेर पनि मैले समाधान गर्न सक्ने केही होइन। सही के हो, गलत के हो, मेरो र उसको परिभाषा पक्कै फरक हुन्छ।

म न्यायाधीश भएको भए, कुनै फैसला सुनाउँथे होला। न्यायालयका फैसलामा त वादविवाद हुन्छ, झन् यति कसिलो गाँठोमा, हामी जस्ता असम्बन्धितले फैसला सुनाउनु मूर्खता नै होला नि!

तर पनि, करीब २२/२४ वर्षको चिकित्सकीय जीवनमा दिनहुँ बन्ने, सुन्ने र देखिने कहानीहरूमा यो अलि विशेष छ। दोष कसको हो, समस्या कहाँ छ। रोग के हो, उपचार के हो ? नाता के हो, सम्बन्ध के हो ? माया के हो, हेलाँ के हो ? पैसा कोसँग छ ? कति पैसा भयो भने पुग्ने हो ?

समाज के हो, राज्य के हो ? अधिकार के हो, जिम्मेवारी के हो ? कति कति प्रश्न छन्, यो मनमा … उत्तर के हो ? कोसँग छ ?





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School