चाबहिलको हेल्पिङ्ग ह्यान्ड्स सामुदायिक अस्पतालको ‘अन्डरग्राउन्ड’ । जहाँ मिटिङ हल छ । हलको दायाँबायाँ ठूला–ठूला किताबका ठेलीहरू लहरै छन् । कति किताबका कभरहरू खुस्किएका छन् ।
यी कार्ल मार्क्स, लेनिन, स्टालिन … आदिका दुर्लभ किताब हुन् । केही किताबका पानाहरूमा धमिराको रजगज छ । बन्धक झैं बसेका किताबहरू खुला हुन चाहेका छन् । पाठक पर्खिरहेका छन् ।
बेलाबेलामा यो पुस्तकालयमा पुग्छन् पाठक पुष्कर गौतम । सोही ‘अर्ध भूमिगत’ पुस्तकालयमा फागुनको अन्तिम साता उनले हामीलाई पनि पुर्याए ।
‘जो–कोहीलाई यहाँ पस्न मनाही छ’ पुस्तकालयको ढोका खोल्दै गर्दा गौतमले भने, ‘दुर्लभ किताबहरू छन् । किन्छु भन्दा पनि विश्व बजारमा पाइँदैन । हरायो भने के गर्ने ?’
पुष्करले एक एक किताबहरू देखाउन थाले । ‘विश्वमा किन युद्धहरू भए ? मार्क्सले के गर्न खोजेका थिए ? स्टालिनको भित्री रोल कस्तो थियो ? सीआईएले क्यास्ट्रोलाई मार्ने योजना कसरी कति पटक बनाए ? माओत्सेतुङ कसरी शक्तिमा आए ? गुट उपगुटलाई कसरी ठेगान लगाइयो ?’ यिनै प्रश्नहरूको जवाफ पुस्तकहरूमा छन् ।
यी मात्र होइन, विश्वमा भएका क्रान्ति, नेताहरूको उदय र पतनसम्मको पाटोहरूलाई संग्रहित गरिएका पुस्तकहरू छन् । ‘महँगा किताब छन् । एक करोड बढीको होला’ गौतमले भने, ‘ऊ बेलामै सय, दुई सय डलर पर्ने किताब हुन् ।’
यी पुस्तकहरू कहाँबाट ल्याइएको हो त ? ‘द्वन्द्वको समयमा अमेरिकाबाट ह्यारी म्यागडफले पठाउनुभएको हो । १७–१८ हजार वटा पुस्तक आएको हो । यसको सूत्रधार चाहिं डा. महेश मास्के हुनुहुन्छ । इतिहास लामो छ । उहाँलाई सम्पर्क गरेर बुझ्नुहोस्’, पुष्करले सुझाए ।
त्यसपछि हामीले मास्केलाई सम्पर्क गर्यौं । र, उनले सुनाए अर्ध भूमिगत वामपन्थी पुस्तकालयको इतिहास । सन् १९९९ को कुरा हो । अध्ययनको लागि मास्के अमेरिकामा थिए । सोही क्रममा मास्केको चिनजान मानवशास्त्री डा. मेरी डेशेनसँग भयो । डेशेनको नेपाल सम्बन्ध पनि प्रगाढ थियो ।

‘कोलम्बिया विश्वविद्यालयमा प्रोग्राम हुँदैछ । प्रख्यात विद्वान् विलियम हिन्टन आउनुहुन्छ । कार्यक्रममा सहभागी हुने हो ?’ मेरीले मास्केलाई कार्यक्रममा आउन अनुरोध गरिन् । भव्य कार्यक्रम थियो । मास्केले छुटाउन चाहेनन् । उनी बोस्टन विश्वविद्यालयमा अध्ययन गरिरहेका थिए, न्यूयोर्क पुगे । त्यो कार्यक्रममा ‘मन्थ्ली रिभ्यु’ पत्रिकाका सम्पादक ह्यारी म्यागडफका किताबहरूका संकलन बारे मास्केले थाहा पाए ।
‘म्यागडफले संकलन गरेका पुस्तकबारे चर्चा भइरहेको रहेछ । राम्रोसँग उपयोग गर्ने देशमा पठाउन चाहेको थाहा पाएँ । जहाँ वामपन्थीहरू छन् त्यहाँ पठाउन खोजेका रहेछन् । मेरीले नेपालमा लैजाने सम्भावनाबारे जान्न खोज्नुभयो’, मास्केले भने ।
कार्यक्रम सकिएपछि मास्के र मेरी मन्थ्ली रिभ्यूका अर्का सम्पादक जोन मेजसँग भेट्न गए । ‘संकलित पुस्तकहरूलाई नेपाल लैजाने योजनाको सुरुवात त्यहींबाट भयो’, मास्केले सुनाए ।
नेपालमा माओवादी आन्दोलन चलिरहेको थियो । अर्कोतिर एमाले पनि छ । नेपालमा लेफ्टको बलियो उपस्थिति देखेर मन्थ्ली रिभ्यू पत्रिकाले पनि नेपालमा पठाउँदा उपयोग हुने विश्वास गर्यो ।
यसरी आएको पुस्तकालय प्रस्ताव मास्केले स्वीकार गरे र उनले नेपाल आएपछि झिकाउने वचन दिए ।
त्यसपछि उनी सन् २००१ मा नेपाल फर्किए । तर उनले तत्कालै किताब ल्याउने स्थिति बनेन । वामपन्थी किताब ल्याउन अप्ठ्यारो मात्र होइन, जोखिमपूर्ण नै हुन्थ्यो ।
मास्केले तत्कालीन परिस्थिति सम्झिए । अझ उनी नेपाल आएको केही समयमै तत्कालीन राजा ज्ञानेन्द्र शाहले संकटकाल लगाए ।
एकातिर माओवादीले गणतन्त्र भनिरहेको थियो । अर्कोतिर संसद्वादी दलहरू थिए । साझा बिन्दु पहिचान गर्न बौद्धिक समूह बनाएर बीचको बाटो संविधानसभामा जान सकिन्छ कि सकिंदैन भनेर विमर्श सुरु भएको थियो । सोही समूहमा मास्के पनि थिए ।
शान्ति प्रक्रियाको लागि बीचको बाटो खोजिरहेको भारतका वामपन्थीहरूले थाहा पाएपछि मास्के सहितको टोलीलाई निम्तो आयो । श्याम श्रेष्ठ, प्रमोद काफ्ले र मास्के भारत जाने भए ।
तर, उनीहरू विमानस्थलबाट सादा पोशाकमा आएका सेनाका अधिकृतबाट पक्राउ परे । भारत जानै पाएनन् ।
‘आँखामा पट्टी बाँधेर लगियो । स्वयम्भू लगिएको रहेछ । पछि हात पनि बाँधे । निकै भयावह अवस्था थियो । ११ दिन बन्धक बनाएपछि बल्ल छाडे’, मास्के भन्छन् ।
उनीहरू पक्राउ परेपछि खोजबिन गर्न पद्मरत्न तुलाधर, मथुरा श्रेष्ठ लगायतका १०१ जनाको समिति बन्यो । त्यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी दलको नेता एमालेका माधवकुमार नेपाल थिए ।
तत्कालीन प्रधानमन्त्री देउवा पनि भारत जान लागेका थिए । यही समयमा माधवकुमार नेपाल उनीहरूलाई भेट्न पुगे ।
‘पक्राउ परेको ८–९ दिनमा उहाँ भेट्न आउनुभएको थियो । छुटाउन पहल गर्ने वचन दिएर फर्किनुभयो’ मास्के ती दिन सम्झँदै भन्छन्, ‘त्यसपछि सदनमा नेपालले हामी सकुशल रहेको जानकारी गराउनुभएछ । तर कहाँ राखेको भन्ने चैं सदनलाई पनि जानकारी गराउन सक्नु भएनछ सेनाकै डरले ।’
नेपालले भेटेको तीन दिनपछि उनीहरू छुटे । यस्तो परिस्थितिमा अमेरिकाबाट किताब ल्याउने विषय उठिरहेको थियो । ‘छुटेको केही समयपछि फेरि किताब ल्याउने प्रक्रिया अगाडि बढ्यो । पानीजहाजबाट भारत हुँदै किताब नेपाल ल्याउने कुरा भयो’, मास्के भन्छन् ।
अमेरिकाबाट भारत आइपुगेको किताब केही समय कोलकातामा अड्कियो । त्यहाँबाट रक्सौल ल्याए । तर वीरगन्ज नाका हुँदै कसरी नेपाल ल्याउने त ? अर्को संकट आइलाग्यो ।
नाकाबाट किताब ल्याउने प्रक्रियामा मास्केसँग जोडिए डा. शरद वन्त । मास्के र वन्त दुवै जना डाक्टर भएकाले स्वास्थ्य मन्त्रालयको सचिवलाई किताब ल्याउन सहयोग गरिदिन प्रस्ताव राखे ।
‘स्वास्थ्यको किताब आउँदै छ, छुटाइदिनुपर्यो भनेर सचिवलाई भन्यौं तर आनाकानी गर्नुभयो’, मास्के भन्छन् । किताब सीमापारि धेरै समय राख्दा झन् खतरा हुनेभयो ।
त्यसपछि मास्के र वन्तले श्रम मन्त्रालयका सहसचिव ऋतु राजभण्डारीलाई भेटे । ‘सहसचिव नजिकको साथी हुनुहुन्थ्यो । स्वास्थ्य सम्बन्धी किताब हो छुटाइदिन चिट्ठी लेख्दिनु पर्यौ भन्यौं । उहाँले जोखिम लिएर लेख्छु भन्नुभयो । यसरी स्वास्थ्य सम्बन्धी किताब हो भनेर नेपाल ल्यायौं’, मास्के भन्छन् ।
वामपन्थी किताबहरू अंग्रेजीमा थिए । अमेरिकाबाट पठाउँदा माथि अंग्रेजी बाहेकका राखेर सुरक्षित रूपमा पठाइएको थियो ।
यसरी सन् २००३ तिर अमेरिकाबाट किताब नेपाल आइपुग्यो । ‘यो किताबको लागि वन्त र म धेरै दौडियौं’, मास्के भन्छन् ।
किताब नेपाल त आइपुग्यो तर देशमा संकटकाल छ । कहाँ राख्ने ? फेरि अर्को आपत् आइलाग्यो । ‘यस्तो किताब देख्यो कि जलाउने समय थियो । बालुवाटारमा मेरो घर बनाउने काम भइरहेको थियो । गोदाम जस्तो बनाएर प्याकिङ गरेर राख्यौं’, मास्के भन्छन् ।
समय त्यस्तै थियो, किताबलाई पनि भूमिगत बनाएर लामो समय राख्ने काम भयो । त्यसपछि यो किताबलाई फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) संस्थाको संरक्षणमा राख्ने सहमति भयो । यो संस्थामा सबै चिकित्सकहरू थिए ।
‘चिकित्सकको किताब हो भनेर राखेका हौं’ मास्के भन्छन्, ‘किताब लुकाएर राख्न डा. भरत प्रधानले सहयोग गर्नुभयो ।’ मास्के पनि पीएसआरएनमा आबद्ध थिए । यी किताब संरक्षण गर्न डा. मथुरा श्रेष्ठको पनि उत्तिकै सहयोग छ ।
‘पीएसआरएनको कार्यालयसँगै यसैको पुस्तकालय हो भनेर राख्यौं’ मास्के भन्छन्, ‘घरमा गोदाम बनाएर राखेको किताबलाई पछि बागबजार सारियो । जहाँ एमालेको कार्यालयले थियो । कार्यालय सरेपछि खाली भएको ठाउँमा पुस्तकालय बनायौं । पीएसआरएनको अफिस पनि त्यहीं राख्यौं’, मास्के सुनाउँछन् ।
केही समयपछि बागबजारबाट बागबजारकै अर्को फराकिलो ठाउँमा पुस्तकालय सारियो । त्यहाँबाट उठाएर फेरि चप्पल कारखाना नजिकको घरमा पुर्याइयो । चप्पल कारखानामा पनि अनुकूल नभएपछि फेरि पद्मकन्या क्याम्पस अगाडि बागबजारमै पीएसआरएनको अफिसमा लगियो । भूमिगत पुस्तकालयलाई भूमिगत तवरमै ठाउँ–ठाउँमा सारियो ।
बागबजारमा भाडा तिर्न गाह्रो भएपछि पुस्तकालयलाई अहिले हेल्पिङ ह्याण्ड्स अस्पतालमा ल्याइएको हो । अस्पतालका सीईओ डा. गुप्तबहादुर श्रेष्ठको सहमतिपछि यो पुस्तकालय अस्पतालमा राखिएको छ ।
सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक संघ नेपाल (पीएसआरएन) का अध्यक्ष डा. गणेश गुरुङ पनि सोही अस्पतालमा कार्यरत छन् । अस्पतालको हलमा पुस्तकालय राखिए पनि संरक्षणको काम यही संस्थाले नै गरिरहेको उनी बताउँछन् ।

‘द्वन्द्वमा पनि भूमिगत रूपमा यो पुस्तकालय सञ्चालनमा थियो । निश्चित मानिसको लागि मात्र प्रवेश दिइन्थ्यो । बागबजारमा भाडा तिर्न कठिन भएपछि अस्पतालमा ल्याएर राखेका छौं । संरक्षणको काम हामीले नै गरिरहेका छौं’, अध्यक्ष डा. गुरुङ भन्छन् ।
पुस्तकालयका लागि कसैले ठाउँ दिन्छ भने सबैको लागि अब खुला गर्न सकिने प्रस्ताव छ अध्यक्ष गुरुङको । ‘अस्पतालभित्र राखेका छौं । सबैको पहुँचमा हुने गरी कसैले कोठा दिन्छ भने राम्रो हुन्छ’, उनी भन्छन् ।
यस पुस्तकालयका सूत्रधार मास्के पनि ‘अर्ध भूमिगत’ रहेको पुस्तकालय बारे सबैलाई थाहा दिने बेला आएको बताउँछन् । ‘लुकाएर राखेको पुस्तकालयबारे धेरैलाई थाहा छैन । अब थाहा दिने बेला आएको छ’ मास्के भन्छन्, ‘बहुमूल्य किताब छन् । अनलाइनमा पनि पाइँदैन । किताब हरायो भने ठूलो घाटा हुन्छ ।’
‘ह्यारी म्यागडफ मेमोरियल पुस्तकालय’ का सबै किताबहरूलाई स्क्यान गरेर पीडीएफ बनाउने योजना आर्थिक अभावले अगाडि बढ्न सकेको छैन ।
‘राजनैतिक अर्थशास्त्र, समाजशास्त्र, इतिहास अध्ययनका लागि ठूलो रिसर्चको सम्भावना भएको पुस्तकालय हो’ मास्के भन्छन्, ‘सरकारी तवरबाट सम्भव भयो भने हुनेथियो । वामपन्थी सरकार भए पनि पुस्तकालयमा ध्यान जाला जस्तो लाग्दैन ।’
मार्क्सवाद लेनिनवाददेखि हालका समकालीन समाजवादी चिन्तकका अध्येताहरू विश्वभर अहिले पनि छन् । जनस्तरको सहयोग र जसले पुस्तक योगदान गरे ती ह्यारी म्यागडफका साथीहरूको सहयोगमा पनि राम्रो पुस्तकालय बनाउन सकिने परिकल्पना प्रस्तुत गर्छन् मास्के ।
‘अबको पुस्ताको लागि यो पुस्तकालय एउटा राम्रो अध्ययनको केन्द्र बन्न सक्छ’, मास्के भन्छन् ।
यो पुस्तकालयका नियमित पाठक पुष्कर पनि यसलाई रिसर्च सेन्टर बनाउन सकिने बताउँछन् । ‘व्यवस्थित गर्नुपर्नेछ । घर राम्रो मिल्यो भने रिसर्च सेन्टर बनाउन सकिन्छ’, उनी भन्छन् ।
विश्व प्रसिद्ध वामपन्थी चिन्तक सामिर अमिन पनि नेपाल आउँदा यो पुस्तकालयको अवलोकन गरेका छन् । नेपालका वामपन्थी नेताको नजरमा भने परेको छैन ।
तर, कांग्रेसका स्व. नेता प्रदीप गिरीले पुस्तकालय बनाउन प्रस्ताव पनि गरेका थिए । ‘उहाँ बागबजार आउनुभएको थियो । किताबहरू देखेर छक्क पर्नुभयो । मिलेर लाइब्रेरी बनाउने भन्नुभएको थियो’ मास्के भन्छन्, ‘सञ्चालनको मोडालिटी बनाएर जाने कुरा पनि भएको हो ।’ बौद्धिक नेता गिरी मास्केलाई भेट्न बालुवाटार मास्केको निवासमा पनि पुगेका थिए ।
तर थप प्रक्रिया अगाडि बढ्न सकेन । त्यसैगरी एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल पनि यो पुस्तकालयको पाठक हुन् । तर पछिल्लो समय उनी पनि जान छोडेका छन् ।
केही समयअघि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अस्पतालमा अवलोकनका लागि पुगेका थिए । ‘पुस्तकालयलाई पाठकहरूका बीच पुर्याउन छलफल भएको छ । आर्थिक व्यवस्थापन पनि गर्नुपर्नेछ । तर अहिले पनि पुस्तकालय अर्ध भूमिगत नै छ’, मास्के भन्छन् ।