अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा


७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ ।

कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर नहुने अडानमा अडिग छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले समेत पोखेरललाई कार्यालयमा पठाउन सकेका छैनन् । यस्तो विकृत अभ्यास तोड्न वा  पोखरेलको ठाउँमा अन्य कर्मचारी खटाउन पनि पुनले रूचि देखाएका छैनन् ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १९ माघमा उनलाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेका थिए । त्यतिबेला पोखरेल जापान भ्रमणमा थिए ।

आफूसँग सल्लाह नगरिएको र विभागको उपमहानिर्देशक पदबाट कार्यालयमा सरुवा गरेको भन्दै उनले विमानस्थलमा हाजिर नहुने अडान लिंदै आएका छन् ।

सरूवा अमान्य, विदेश भ्रमण मान्य

पोखरेल यसअघि उपसचिव भएकै बेला फागुन २०७२ देखि भदौ २०७५ सम्म वीरगञ्ज भन्सार कार्यालयमा प्रमुख भन्सार प्रशासक भएर काम गरेका थिए । विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा पनि काम गरेर अनुभव बटुलेका उनी अब विभागकै नेतृत्वमा जान चाहिरहेका छन् ।

कार्यालय जान नमानेका पोखरेलले भन्सारसम्बद्ध कार्यक्रममा भाग लिन विदेश जाने मौका भने गुमाउन चाहेका छैनन् । पोखरेलले अहिले पनि भन्सार विभागबाट विदेश भ्रमणसम्मको सुविधा भने लिइरहेका छन् ।

चैत पहिलो साता उनी भन्सार अधिकारीकै हैसियतमा स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा निस्किएका थिए । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँगै जेनेभा पुगेका उनी काठमाडौं फर्किएपछि पनि कार्यालयमा हाजिर हुन गएका छैनन् ।

‘भन्सारकै कर्मचारीका रुपमा डिजीसा‘ब उहाँलाई लिएर घुम्न जानुभयो, तर कामका लागि भन्सार कार्यालयमा पठाउन सक्नुभएन,’ कार्यालयका एक अधिकारीले भने,‘यति लामो समयसम्म उहाँले कसरी विदा मिलाएर बस्नु भएको भएको हो भन्ने पनि थाहा छैन ।’

समान्यतयाः सहसचिव श्रेणीका कर्मचारीले धेरै लामो समय बिदा लिंदैनन् । झन् महत्वपूर्ण कार्यालयहरुमा जिम्मेवारी पाएकाहरुलाई लामो विदा स्वीकृत गर्ने प्रचलन छैन ।

सहसचिव सेवन्तक पोखरेल

सरुवा भएको १८ दिनसम्म पनि पोरखेल विदामा बसेर हाजिर हुन नगएपछि  भन्सार कार्यालयबाट सरुवा भएका सहसचिव टोकराज पाण्डेले ६ फागुनमा रमाना लिएका थिए । त्यसपछि पनि कार्यालय नगई सहसचिव पोखरेलले थप एक महिना विदा लिइसकेका छन् ।

सामन्यतया कर्मचारीले एक महिना घरविदा र ६ दिन भैरपरी आउने विदा पाउँछन् । ढुक्कसँग विदेश भ्रमणमा पनि हिँडिरहेकाले पोखरेलले यति लामो अवधि कस्तो विदा लिएर बसेका हुन् भन्नेबारे विभागकै अधिकारीहरु अनभिज्ञ छन् ।

भन्सार विभागमा भने पोखरलेको स्थानमा टंकप्रसाद पाण्डेय हाजिर भइसकेको लामो समय भइसकेको छ । राजनीतिक नेतृत्व रिझाउन सिपालु मानिएका पोखरेलले नयाँ अर्थमन्त्री पुनलाई विश्वासमा लिएर आकर्षक पद लिन सक्ने अनुमान अधिकारीहरुको छ ।

३ माघमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको सहसचिव सरुवाको सूचीमा पोखरेल अर्थ मन्त्रालयबाट मधेश प्रदेशको अर्थ मन्त्रालयमा जाने तय थियो । ९ माघमा निर्णय प्रमाणीकरण हुँदा भने २८ जना सहसचिवको मात्रै सरुवाको सूची बन्यो, जसमा उनको नाम हट्यो ।

पोखरेलले राजनीतिक पहुँच प्रयोग गरेर सरुवा थमौती गरेको भन्दै तत्कालीन अर्थमन्त्री महतले पोखरेललाई विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सारमा पठाउने निर्णय गरेका थिए ।

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

निमित्तका भरमा सम्वेदनशील कार्यालय

तर, पोखरेल जाँदै नगएपछि भन्सार विभागले उपसचिव (प्रमुख भन्सार अधिकृत) गगनबहादुर बिकेलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । निमित्त कार्यालय प्रमुखले नै विमानस्थल भन्सार कार्यालय चलाउनेमा विभाग ढुक्क छ ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल विमानस्थल भन्सारका निमित्त प्रमुखलाई सबै आर्थिक तथा प्रशासनिक अधिकार दिइएकाले समस्या नरहेको दाबी गर्छन् । कार्यालय प्रमुख नहुँदा केही पनि फरक पर्दैन त ? भन्ने अनलाइनखबरको जिज्ञाशामा महानिर्देशक पौडेलले भने,‘के फरक पर्छ र, त्यही जाँचपास गर्ने त हो ।’

कार्यालयमा हाजिर नभएका पोखरेल विदामा बसेको भन्दै उनले पोखरेल सरकारी प्रक्रियाबाट मनोनयन भएर नै जेनेभा भ्रमणमा गएको पनि स्पष्टीकरण दिए । ‘उहाँ विज्ञका रुपमा त्यहाँ जानु भएको हो,’ उनले भने,‘मनोनयन भएपछि कर्मचारी विदेश जानु सामान्य नै हो ।’

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा
भन्सारका महानिर्देशक शोभाकान्त पौडेल

तर, कार्यालय प्रमुखहीन विमानस्थल भन्सार कार्यालयको अवस्था महानिर्देशक पौडेलले दाबी गरेजस्तो सहज छैन । कार्यालयमा दरबन्दीअनुसार उपसचिवहरु समेत उपलब्ध छैनन् । ७ जना उपसचिवको दरबन्दी रहेको अहिले ३ जना मात्रै कार्यरत छन् ।

भन्सार कार्यालयमै रहँदा उपसचिवबाट सहसचिव बनेका नरबहादुर थापा त्रिभुवन विमानस्थल अध्यागनम कार्यालयको प्रमुखका रुपमा मंगलबार मात्रै गृह मन्त्रालयबाट पदस्थापन भएका छन् ।

कार्यरतमध्ये उपसचिव श्रीधर टण्डनलाई सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा कारबाही सिफारिस गरेको छ । त्यसैले टण्डनले कार्यालयमा दरिलो मनोबलका साथ काम नगरिरहेको अधिकारीहरु बताउँछन् ।

कार्यालयका अर्का उपसचिव मणिराम पौडेल अहिले कम्बोडिया भ्रमणमा छन् । यसरी एक सहसचिव र ७ उपसचिवले नेतृत्व गर्ने विमानस्थल भन्सार कार्यालय अहिले निमित्त प्रमुख गगनबहादुर बिकेको भरमा चलिरहेको छ । भन्सार अधिकृतहरु पनि दरबन्दी अनुसारको संख्यामा छैनन् ।

निर्णय गर्ने जनशक्ति कम भएपछि विमानस्थल भन्सार कार्यालयमा दैनिक कामकाज छिटो छरितो हुन नसकेको गुनासो कर्मचारीहरुले नै गरिरहेका छन् । कतिपय जोखिम लिएर गर्नुपर्ने निर्णयमा ढिलासुस्ती भइरहेको उनीहरुको भनाइ छ ।

कार्यलय प्रमुख नहुँदा भन्सारमा भएका विभिन्न घटनाले कर्मचारी झस्किने गरेका छन् । गत ३ साउनमा तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल विदामा बसेर निमित्त प्रमुखले नै भन्सार सम्हालेका बेला सुन तस्करीबारे भन्सारमा आउनुपर्ने सूचना राजस्व अनुसन्धान विभागमा पुगेको थियो । ६१ किलो सुनसहितको ‘ब्रेक सु’ विमानस्थल भन्सारबाट बाहिरिएपछि मात्रै राजस्व अनुसन्धान विभागले समातेको थियो ।अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई संगठित अपराधमा अनुसन्धान गर्न जिम्मा दिएको सो प्रकरणमा भन्सारकै कर्मचारीहरु पनि समातिएका थिए । प्रहरीले कर्मचारीलाई मानसिक तनाब दिएको भन्दै विमानस्थल भन्सारभित्रै कर्मचारीले प्रहरीविरुद्ध आन्दोलन  समेत गरेका थिए । अहिले पनि सुन तस्करीका विभिन्न घटनामा भन्सार कार्यालयका कर्मचारीहरु तानिने क्रम रोकिएको छैन ।

सिलसिलावद्ध सुन तस्करीको घटनाका बीचमा विमानस्थल सुरक्षा हेर्ने मूल जिम्मेवरी पाएको नेपाल प्रहरीसँग विमानस्थल प्रशासनको सम्बन्ध सुमधुर हुन सकेको छैन । अर्थ मन्त्रालयले विमानस्थलको भन्सार क्षेत्रमा नेपाल प्रहरीको असन्तुष्टिका बीच माघ पहिलो हप्तादेखि सशस्त्र प्रहरी बललाई चेकजाँचको जिम्मा दिएपछि झन् आगोमा घ्यु थपिएजस्तो भएको छ ।

यस्तै कारणहरुले विभिन्न तस्करीका घटनाका कारणा  पछिल्लो समयमा विमानस्थल भन्सार ‘करियर’ भएका कर्मचारीको रोजाइमा पर्न कम भएको छ । पछिल्लो समयमा प्रमुख भन्सार प्रशासक, प्रमुख भन्सार अधिकृत र भन्सार अधिकृत भएर विमानस्थलमा लामो समय बस्न नखोज्ने प्रवृत्ति बढेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख गगनबहादुर बिके कार्यालय प्रमुख र दरबन्दीअनुसार जनशक्ति नहुँदा पनि सेवा चुस्त राखिएको दाबी गर्छन् । ‘मैले निमित्त प्रमुखका रुपमा काम गर्दा खासै समस्या परेको छैन,’ उनले भने,‘जनशक्ति कम हुँदा कार्यालयलाई समस्या परेपनि अहिलेसम्म कतैबाट सेवामा समस्या भयो भने गुनासो आएको छैन ।’





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School