मुलुकको आन्तरिक अर्थतन्त्र दबाबमा भए पनि बाह्य सूचक भने निकै मजबुत हुँदै गएका छन्। विप्रेषण (रेमिटेन्स) आप्रवाह ह्वात्तै बढेको छ।
चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति तथा वैदेशिक लगानीका सूचकहरूमा देखिएको सुधारले नेपालको अर्थतन्त्र क्रमशः सन्तुलित बन्दै गएको संकेत गरेको छ।
यद्यपि दीर्घकालीन आर्थिक स्थायित्वका लागि उत्पादन, निर्यात र आन्तरिक लगानी अभिवृद्धिमा अझ बढी ध्यान दिनुपर्ने चुनौती कायम छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।
जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढी हो। वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स आप्रवाहले मुलुकको अर्थतन्त्रलाई थप बलियो बनाएको छ।
प्रतिवेदनअनुसार २०८३ वैशाखमा मात्र दुई खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण प्राप्त भएको थियो। एक वर्षको अवधिमा वैशाखको रेमिटेन्स करिब ९२ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ।
समीक्षा अवधिमा रेमिटेन्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। प्रतिवेदनअनुसार मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित छ। २२ महिनाको आयात धान्ने विदेशी विनिमय सञ्चिति, चालु खाता सात खर्ब २९ अर्ब २८ करोडले बचतमा, पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड, शोधनान्तर स्थिति आठ खर्ब ६३ अर्ब ५६ करोड बचता रहेको छ। यो पोहोरको तुलनामा निकै सुधार हो।
रेमिटेन्स आप्रवाहमा भएको तीव्र वृद्धिले विदेशी विनिमय सञ्चिति वृद्धि, भुक्तानी सन्तुलन सुधार तथा उपभोग खर्च विस्तारमा सकारात्मक प्रभाव पारेको छ। यद्यपि स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा ठुलो संख्यामा युवाशक्ति वैदेशिक रोजगारीमा निर्भर रहनुपरेको अवस्था भने चुनौतीपूर्ण छ।
अमेरिकी डलरमा पनि रेमिटेन्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। समीक्षा अवधिमा डलरमा गणना गरिएको विप्रेषण ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १०.६ प्रतिशत मात्र रहेको थियो।
रेमिटेन्स अर्थतन्त्रको प्रमुख आधार बन्दै गएको अवस्थामा उत्पादनमूलक क्षेत्रको विस्तार, आन्तरिक रोजगारी सिर्जना र विप्रेषणलाई लगानीमुखी क्षेत्रमा परिचालन गर्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन्।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको संख्या तीन लाख ३५ हजार ५१० पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या चार लाख पाँच हजार ६१० थियो।
त्यसैगरी पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ। समीक्षा अवधिमा तीन लाख २६ हजार ३६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या दुई लाख ८० हजार ३१४ थियो।
नेपालको विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। कुल विदेशी विनिमय सञ्चिति २०८३ वैशाख मसान्तसम्म आइपुग्दा ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्र थियो।
अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति गत वैशाख मसान्तमा २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये सबैभन्दा ठुलो हिस्सा नेपाल राष्ट्र बैंकमै छ।
२०८२ असार मसान्तमा राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८३ वैशाख मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
विदेशी मुद्रा सञ्चितिले २२ महिनाभन्दा बढी अवधिको वस्तु आयात धान्न सक्ने अवस्था सिर्जना भएको छ। चालु आवको पहिलो १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त छ।
विदेशी मुद्रा सञ्चितिमा आएको उल्लेखनीय वृद्धिसँगै अर्थतन्त्रका प्रमुख सूचकहरूमा पनि सुधार देखिएको छ। विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँगको अनुपात ६०.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो।
विदेशी विनिमय सञ्चितिका सबै प्रमुख सूचकमा भएको सुधारले नेपालको बाह्य क्षेत्र थप मजबुत बन्दै गएको संकेत गरेको राष्ट्र बैंकले जनाएको छ। पछिल्ला महिनाहरूमा रेमिटेन्स आप्रवाहमा भएको वृद्धि, पर्यटन क्षेत्रको पुनरुत्थान तथा वैदेशिक मुद्रा आम्दानीमा आएको सुधारका कारण विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेको हो।
उच्च विदेशी मुद्रा सञ्चितिले आयात भुक्तानीमा सहजता ल्याउनुका साथै बाह्य क्षेत्रको स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। यसले विनिमय दर व्यवस्थापन, वित्तीय बजारमा विश्वास अभिवृद्धि तथा आकस्मिक बाह्य जोखिम सामना गर्ने क्षमता पनि बढाउँछ।
सामान्यतः कुनै पनि देशसँग कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति भए सुरक्षित मानिने भए पनि नेपालको सञ्चिति त्यसको झन्डै तीन गुणाभन्दा बढी छ। उच्च विदेशी मुद्रा सञ्चितिले बाह्य भुक्तानी सन्तुलन सुधार गर्न, विनिमय दर व्यवस्थापनमा सहजता ल्याउन तथा वित्तीय प्रणालीप्रतिको विश्वास अभिवृद्धिमा मद्दत पुग्छ।
चालु खाता र शोधनान्तर स्थिति दुवै उच्च बचतमा रहँदा अर्थतन्त्रको बाह्य क्षेत्र थप सुदृढ बनेको छ। समीक्षा अवधिमा चालु खाता सात खर्ब २९ अर्ब २८ करोड रुपैयाँले बचतमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ७२ अर्ब ५३ करोड रुपैयाँले बचतमा थियो।
एक वर्षको अवधिमा चालु खाताको बचतमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। त्यसैगरी खुद पुँजीगत ट्रान्सफर पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर आठ अर्ब ४८ करोड रुपैयाँ थियो।
वैदेशिक लगानीतर्फ पनि सकारात्मक संकेत देखिएको छ। समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) अन्तर्गत इक्विटी लगानी १६ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी १० अर्ब ५८ करोड रुपैयाँ रहेको थियो।
यसले विदेशी लगानीकर्ताको नेपालप्रतिको आकर्षण केही बढ्दै गएको संकेत गरेको छ। बाह्य क्षेत्रको अर्को महत्तवपूर्ण सूचक शोधनान्तर स्थिति (ब्यालेन्स अफ पेमेन्ट्स) पनि उच्च बचतमा छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति आठ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो। मुद्रास्फीति भने २.७७ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ।
मुलुकको वैदेशिक व्यापार भने चिन्ताजनक छ। १० महिनामै व्यापार घाटा १४ खर्ब ४३ अर्ब पुगेको छ। चालु आवको १० महिनामा कुल वस्तु निर्यात १४.२ प्रतिशतले वृद्धि भई दुई खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। यसैगरी वस्तु आयात १४.८ प्रतिशतले वृद्धि भई १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
प्रकाशित: २६ जेष्ठ २०८३ २१:२८ मंगलबार
