अर्जेन्टिनी सुपरस्टार मेसी अमेरिकामा निलम्बित, कारण यस्तो रहेछ



प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार


मेजर लिग सकर (एमएलएस) ले इंटर मियामीका सुपरस्टार खेलाडीहरू लियोनल मेसी र जोर्डी आल्बालाई निलम्बन गरेको छ । उनीहरुलाई शनिबारको एफसी सिन्सिनाटीविरुद्धको खेलमा निलम्बन गरिएको हो ।

दुबै खेलाडीले यस हप्ता अमेरिकाको टेक्सासको अष्टिनमा आयोजना भएको एमएलएस अल स्टार खेल बिना अनुमति नखेलेको कारण निलम्बनको निर्णय लिइएको हो।

एमएलएस ले जारी गरेको वक्तव्यमा ‘लिग नियमअनुसार, यदि कुनै खेलाडीले लिगको पूर्वस्वीकृति बिना अल स्टार खेलमा भाग लिँदैन भने, उनी आफ्नो क्लबको अर्को खेलमा सहभागी हुन अयोग्य हुन्छन् ‘ भनेर भनिएको छ ।

मेसी र आल्बाले निलम्बनको विषयमा अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर क्लबका मालिक जोर्ज मासले यस निर्णयलाई “कडा र अनुचित” भन्दै आलोचना गरेका छन् ।

‘उनीहरूले यो निर्णय बुझ्न सकेनन्,’ मासले भने। “एक खेलमा नगएकै कारण सिधै निलम्बन गर्नु अन्याय हो । यो खेलाडीहरूका लागि ठीक छैन।”

३८ वर्षीय मेसी र ३६ वर्षीय आल्बाले यस सिजन एमएलएस खेल, फिफा क्लब विश्वकप र अन्य प्रतियोगिताहरूमा व्यस्त कार्यक्रम पूरा गरेका छन् । मेस्सीले यस गर्मीमा आफ्नो देश अर्जेन्टिनाका लागि दुई मैत्रीपूर्ण खेल पनि खेलेका थिए ।

एमएलएस आयुक्त डन गार्बरले निलम्बनपछि जारी गरेको वक्तव्यमा ‘म जान्दछु लिओनेल मेसीलाई यो लिग निकै मनपर्छ । उनको योगदान एमएलएस मा अरू कुनै खेलाडीकोभन्दा बढी छ’ भनेका छन ।

‘म उनको क्लबप्रतिको प्रतिबद्धतालाई सम्मान गर्छु। तर अल स्टार खेलमा सहभागिता सम्बन्धी हाम्रो दीर्घकालीन नीति भएकाले त्यसलाई लागू गर्नुपर्ने भयो । यो निर्णय सजिलो थिएन’ गार्बर भने ।

अर्जेन्टिनी सुपरस्टार मेसी अमेरिकामा निलम्बित, कारण यस्तो रहेछ

अब इन्टर मियामीको लागि प्लेअफ होडमा रहेको टोलीविरुद्ध मेसी र आल्बा बिना खेल्नु थप चुनौतीपूर्ण हुनेछ । सिन्सिनाटी पूर्वी सम्मेलनको शीर्ष स्थानमा रहेको टोली हो ।

मेसी र आल्बा अब बुधबार इन्टर मियामीको लिग्स कप अभियानअन्तर्गत एटलासविरुद्ध हुने खेलमा मैदानमा फर्कन योग्य हुनेछन् । इन्टर मियामीको अर्को एमएलएस खेल अगस्ट १० मा ओर्लान्डो सिटी एससी विरुद्ध हुनेछ ।





Source link

Leave a Comment